२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

बान्तुका कविताले सजियो काव्य साँझ

पुसको आरम्भ। चिसो साँझ। राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि,कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट। हलमा एकाएक नेपथ्यबाट गुन्जियो कविता–

‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी

अलिक वरै रोकिएछ घात भयो जिन्दगी।’

कवि एवं गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुन्जिनासाथ मञ्चमा देखिइन् कार्यक्रम सञ्चालिका भावना केसी। त्यसपछि सुरु भयो ‘अमर बान्तु काव्य साँझ’।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरेपछि सुरु भयो कार्यक्रम। कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुबारे प्रकाश पारे। ‘माझ किरातको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य,कला तथा संस्कृतिको उर्वर बगैंचा भोजपुरको दिल्पा–नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौं सन्तानमध्येका काहिँला सन्तानका रूपमा यस धर्तीमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ,’ उनले भने,‘काव्य–नायक अमर बान्तुबारे केही बोल्ने प्रयत्न गर्नु भनेको सूर्यसामु बत्ती देखाउनुजस्तै हो। स्रष्टा बान्तुलाई सादर अभिनन्दन गर्छु।’

त्यसपछि मञ्चमा निम्त्याइएका बान्तुले काव्य साँझको माहोल जगाए, शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर। त्यसपछि सुनाउन थाले कविता–

‘मेरी प्रिय कविता

किनकिन घुमाउरो भए पनि

तिम्रै घरको बाटो हिँड्न मन लाग्छ

एकतर्फी प्रेममा परेछु कि कसो

सधैंसधैं तिम्रै याद आइरहन्छ

अघोरै माया लागिरहन्छ।’

झन्डै एक घन्टाबीचमा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे। त्यसपछि सुनाए प्रेमिल गजल– नजरैले घाइते पार्न माहिर हजुर’। आफ्नै जिन्दगीबारेको गजल सुनाएर उनले माहोललाई स्तब्ध पनि पारे। अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को जगल सुनाएर कविता/काव्य प्रस्तुति मैझारो गरे। दशकदीर्घाबाट आएको ‘वान्स मोर’लाई स्विकार्दै फेरि सुनाए–‘मेरी प्रिय कविता।’

कुलपति उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताए। साहित्यसाधनाका साथै व्यवसाय र समाजसेवामा लगावसाथ लागेका स्रष्टा बान्तुका रचनाले समाज रूपान्तरणमा योगदान पुग्ने उनको भनाइ थियो। ‘बान्तुजीमा कविता कण्ठस्थ सुनाउने कला बेजोड रहेछ। यो अनुकरणीय कुरा हो,’ उनले भने। बान्तुलाई कुलपति उप्रेतीले मिलाप सम्मान अर्पण गरे।

पूर्वमन्त्रीसमेत रहेका कवि एसपी कोइराला,कवि श्रवण मुकारुङ र लायन्स क्बलका अनन्त भेटवालले स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सिर्जनाको कामना गरे।

बान्तुका कविता तथा गीतसंग्रह ‘परिभाषाका राँटाहरू’ र गीतका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ पाठक तथा श्रोतामाझ आएका छन्। उनका दर्जनौं गीत लोकप्रिय छन्।

प्रकाशित: ५ पुस २०७८ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App