राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नेपालमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
शनिबार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले राष्ट्रनिर्माताले राष्ट्रिय एकता मात्र नभई आर्थिक, सामाजिक र कूटनीतिक मार्गदर्शनसमेत गरेको उल्लेख गरे।
उनले भने, ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभएकोमा हामी सबैले उहाँप्रति कृतज्ञ हुनुपर्छ। उहाँले दिएको मार्गदर्शन अहिले पनि सान्दर्भिक छ। राष्ट्रिय एकता र राज्य सञ्चालनका विषयमा उहाँको योगदान हामी सबैले चिन्तन र मनन गर्नुपर्ने समय आएको छ। म एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु।’
अध्यक्ष थापाले विचार र सिद्धान्त मिल्ने शक्तिहरूसँग पार्टी एकताको प्रयास गरिने पनि बताए। ‘हामीलाई राष्ट्रिय एकताको आवश्यकता छ। विचार र सिद्धान्त मिल्नेहरूसँग सहकार्य गरेर बलियो राजनीतिक शक्ति निर्माण गर्नेछौं,’ उनले भने।
प्रकाशित: २७ पुस २०८१ १७:०५ शनिबार