त्रिपुरा पोखरेल,खरेल
ऊ बोल्दैन, देख्नेहरू दुर्बल मानसिकताको कारण सम्झन्छन्।
‘त्यस्तो केही होइन मनुवालाई अलिअलि फुर्के नै लागेको रहेछ।’ जान्नेकोमा लाँदा यस्तै जवाफ मिल्थ्यो।
‘फुर्के भूत पनि हुँदोरहेछ!’ सनमायाको अन्तरात्मा डरायो। कयौंपटक राति उसको हजुरभित्रको मौन भूतको उपद्रोह सम्झिदा सनमाया भयले खुम्चिन्छे। त्यो दृश्यमा उसले भूतको अवतार देखेकी थिई।
–ए हजुर बोल्नुस् न। नबोल्दा त वाक्य बसेको मान्छे जस्तो पो लाग्छ।
–किन? म तिमीसँग बोल्दैछु त। उसको मुखबाट पाँच शब्दको वाक्य निस्कियो।
‘उहाँ अवकाशप्राप्त सेनाको अफिसर।’ सनमाया लोग्नेको पद अफिसर भन्ने जान्दछे तर व्याख्या गर्न जान्दिन।
पतिको नाम लिँदा हजुर र उहाँको नामले सम्बोधन गर्छे, नाम लिँदा लोग्नेको आयु घट्ने विश्वासको भूत उसलाई पनि चढेको छ।
सनमायाको हजुर मोबाइल,टिभी, यस्तैमा खुलेर रमाउने गर्छ।
‘मेरो हजुरलाई फुर्के भूत लागेको छ रे!’ उसले छिमेकी बहिनीलाई भनी।
–मनोरोग विशेषज्ञकोमा जाऊ।
‘प्रेम भावलाई निकाल्न सिक।’ मनोचिकित्सकले आफ्नो खुट्टा उसको काँधमा राख्दै भन्यो।
डाक्टरलाई पनि कुनै न कुनै किसिमको भूत चढेको आभास भयो सनमायालाई।
‘हजुर ऊ निरक्षर, म विद्वान मान्छे, हाम्रो बोल्ने स्तर मिल्दैन।’ यसपालि उसको आवाज खुल्यो।
प्रकाशित: २३ मंसिर २०७८ ०७:०४ बिहीबार