२६ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

अनौठा अमेरिकी

अमेरिकी राष्ट्रपतिको निर्वाचन निकै होहल्लाका साथ सुरु भयो र निर्वाचनपछि पनि कोलाहल कायम छ। निर्वाचनअघिका अधिकांश सर्वेक्षणलाई झुटा सावित गर्दै निर्वाचन परिणाम आयो। डोनाल्ड ट्रम्प र उनको टिमले पनि अपेक्षा नगरेको जनसमर्थन उनको पक्षमा देखियो। निर्वाचनमा विजय प्राप्त गर्ने आत्मविश्वासको कमीका कारण नै उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नभएमा अस्वीकार गर्ने बताएका थिए। ट्रम्पले सन् २०१६ मा पनि पराजय भएमा स्वीकार गर्छु भनेका थिएनन्। २०२० को निर्वाचनलाई त उनले स्वीकार नगरी उल्टाउने प्रयत्न गरे।

यो निर्वाचनमा अमेरिकी मतदाताले ट्रम्पलाई मत परिणाम अस्वीकार गर्ने अवसर नै दिएनन्। अमेरिकाको इज्जत बचाइदिए। अमेरिकी जनतालाई महान् तथा उदार भन्नुपर्छ कि उनीहरू आफ्नै देशमा आफूले नै निर्वाचित गरेको राष्ट्रपतिबाट अपहेलित हुन, प्रताडित हुन पनि मञ्जुर गर्छन् तर विश्वले तिम्रो देशको राष्ट्रपतिको उम्मेदवारले जनमत स्वीकार गर्दैन भनी पटक पटक आरोप लगाउने अवसर दिन चाहँदैनन्।

राष्ट्रपतिमा ट्रम्पको विजयको निश्चितता भएपछि अहिले दुई हप्ता बितिसक्दा सम्म पनि समाचारपत्रहरूमा परिणामको विश्लेषण र प्रतिक्रिया आउने क्रम थामिएको छैन। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र बलियो सैन्य शक्तिको राजनीति होस् या अर्थ वाणिज्य नीति त्यसले सबैलाई स्पर्श गर्दोरहेछ। त्यसमाथि पनि मानवाधिकारको मसिहा हुँ भनी आफैँ घोषणा गर्ने देशको बारेमा लोकतन्त्र र मानवाधिकार रक्षाका खम्बा मानिने सञ्चार माध्यममा त्यस देशको सर्वोच्च कार्यकारी नेतृत्वको निर्वाचनको प्रभावबारे विश्लेषण हुनु स्वाभाविक हो।

अमेरिकाको घरेलु र बाह्य नीति कस्तो हुन्छ त्यसको निर्धारण गर्ने ठाउँमा कुनै पनि नीतिले नबाँधिएका र कसैले अनुमान गर्न नसक्ने अस्थिर, चरित्रहीन, यौनरागी र वित्तरोगी व्यक्ति पुगेका छन्। यस्तो व्यक्तिले चीन, रुस, ताइवान, युक्रेन, मध्यपूर्व, कोरिया, युरोपियन युनियन तथा नाटोका सम्बन्धमा कस्तो निर्णय लिन्छन् ? यसले विश्वकै शान्ति, सुरक्षा र स्थायित्वमा प्रभाव पर्ने निश्चित छ।

डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसको पराजयको कारणलाई लिएर अहिले भिन्न भिन्न कोणबाट भिन्न भिन्न तर्क आएका छन। शालीन र भद्र स्वभावकी ह्यारिस जसले ट्रम्पसँगको एउटा मात्र टेलिभिजन बहसमा आफ्नो श्रेष्ठता प्रदर्शन गरेकी थिइन् र उनीसँग ट्रम्पले अर्को बहस गर्ने साहस देखाउन सकेनन्, उनी नै एक व्यावसायिक कपटमा अदालतबाट दोषी सावित व्यक्तिबाट पराजित हुन पुगिन। कतिपयले उनलाई वाइडेनभन्दा भिन्न देखाउन नसकेको र वाइडेनकै राजनीतिक उत्तराधिकारी भएको देखिएका कारणले पराजय भोग्नुपरेको उल्लेख गरेका छन्।

प्रगतिशील पक्षधर लेखकहरूले डेमोक्रेटिक पार्टी आफ्ना मताधार क्षेत्र अर्थात् वर्किङ क्लासबाट टाढिएका कारण मान्छन्। मुस्लिमहरू वाइडेनले गाजामा नरसंहार गर्नबाट इजरायललाई रोक्न नसकेकाले आफ्नो विश्वास गुमेको बताउँछन।

डेमोक्रेटिक पार्टीकी नेता नान्सी पेलोसीलगायत कतिपय डेमोक्रेटहरू वाइडेन मैदानबाट ढिलो हटेकाले ह्यारिसले तयारी गर्ने पर्याप्त अवसर नपाएको कारणले पराजय भएको भनेका छन्। तर ट्रम्प जस्तो व्यावसायिक छलीमा अदालतबाट दोषी प्रमाणित भैसकेको, सन् २०२० को चुनावमा धाँधली भयो भन्दै चुनाव उल्टाउन गैरकानुनी काम गरेको अभियोग लागेको, ६ जनवरी २०२१ मा क्यापिटल हिलमा निर्वाचन प्रमाणित गर्न जम्मा भएका प्रतिनिधिहरूलाई आक्रमण गर्न भिड जम्मा गरी उक्साएकोमा मुद्दा खेपिरहेको, महिलालाई यौन दुर्व्यवहार गरेकोमा जरिवाना तिरेको, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य र संवेदनशील कागजहरू कानुन विपरित आफ्नो घर लगी अन्य व्यक्तिहरूसँग साझा गरेको व्यक्तिले निर्वाचनमा लोकप्रिय मतसहितको विजय प्राप्त गर्नु र भद्र महिला कमला ह्यारिसले चुनाव हार्नुमा वाइडेन, गाजा र तल्लो वर्ग मतदाताको प्रभाव मात्र होइन। यो अमेरिकीहरूको परिवर्तन भएको मनोविज्ञानको परिणाम हो।

अमेरिकी स्तम्भकार, पत्रकार, राजनीतिज्ञहरूका माथि उल्लेख गरिएका तर्कहरूको मनसाय अमेरिकीहरूको नैतिक तथा चारीत्रिक पतन, व्यापारिक मनोवृत्ति र अत्यधिक द्रव्य मोहबाट विकृत बनेको समाज र पुँजीवादी प्रणालीलाई लेपन लगाइ उत्तम सावित गर्नु हो। यसलाई एकातर्फ पन्छाएर डोनाल्ड ट्रम्पले चुनाव जित्ने निश्चित भैसकेपछिका तत्काल नोभेम्बर ६ र ७ का अमेरिकाका तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा राजनीतिक नेताका प्रतिक्रिया हेर्दा अर्कै चित्र देखापर्छ।

ब्रिटेनको लिबरल डेमोक्रेटिक पार्टीका एडवर्ड जे डेभीले एक्समा लेखे– ‘यो विश्वभरिका जनताका लागि अँध्यारो दिन हो। संसारको सबभन्दा ठूलो अर्थतन्त्र र शक्तिशाली सेनाको नेतृत्व एउटा खतरनाक, विध्वंसकारी, धूर्त नेताले गर्नेछ।’ आफ्नो वक्तव्यमा अगाडि लेख्छन्– ‘अमेरिकाको आगामी राष्ट्रपति कानुनको शासन, मानवाधिकार, अन्तर्राष्ट्रिय व्यापार, जलवायुमा सुधारका कार्यक्रम र विश्व शान्ति र सुरक्षालाई कमजोर बनाउन सक्रिय रहने व्यक्ति हुँदैछ।’

द गार्डियनले ट्रम्पको फोटो प्रकाशित गर्दै फोटोको बीचमा लेखेको छ– ‘अमेरिकी भय।’ गार्डियनकै संवाददाता नर्थ क्यारोलिनाबाट लेख्छन– ‘अमेरिकीहरूले बिहान उठ्दा बदलिएको देश र निरास विश्व देखे।’ द मिररले लेख्यो– तिनीहरूले फेरि के गरे ? डेली एक्सप्रेसको प्रतिक्रिया थियो– घोषित अपराधी, कुख्यात फासिस्ट.. तर ऊ नै जनतालाई मनपर्‍यो।

यसैगरी द न्युयोर्क टाइम्सको सम्पादकीय शीर्षक थियो– जोखिमपूर्ण छनोट फ्रान्सको प्रसिद्ध ले मोन्दको शीर्षक थियो– अमेरिकी सर्वोच्चताको अन्त्य। प्रजातन्त्रमा कार्यकारीको निर्वाचन वा संसद्को निर्वाचनको घोषणा बहुमतको आधारमा गरिन्छ। बहुमतको निर्णय सधैँ राम्रो हुन्छ भन्न सकिँदैन। कतिपय विद्वान्ले जनताको निर्णय अर्थात् बहुमतको निर्णय आधा मात्र सही हुन्छ भनेका छन्। अरस्तु प्रजातन्त्रलाई मूर्खहरूको शासन भन्थे। यद्यपि उनी पनि अधिनायकवादभन्दा प्रजातन्त्र नै उत्तम हो भन्थे।

सन् २०२४ को अमेरिकाको निर्वाचनलाई के भन्ने ? के अमेरिकी जनताले आफू जस्तै मानिस खोजेका हुन ? सज्जनता, भद्रता, विवेकशीलता, ज्ञान भनेको कुलिनताको प्रतीक हो, हामी कुलिन होइनौँ र कुलिनतालाई अस्वीकार गर्छौं। के यही सन्देश हो अमेरिकीहरूले दिन खोजेको ? नियन्त्रण र सन्तुलनको राम्रो व्यवस्था भएको मानिएको अमेरिकामा यो निर्वाचनले स्कटल्यान्डको डेली मिररको शब्दमा एउटा न्यु डनको नियन्त्रणबिहीन शासन चल्ने अवस्था आएको छ।

सिनेट र हाउसमा ट्रम्पकै समर्थकको बाहुल्यता छ भने न्यायालय पनि अनुदारवादीहरूको नियन्त्रणमा छ। अब अमेरिकाले मानवाधिकारको विषय उठाउने छैन। प्रजातान्त्रिक प्रणालीलाई उपयोग गर्दै मानवाधिकारको हनन कसरी गर्न सकिन्छ भन्ने फिराकमा रहेका विश्वका धूर्त नेताहरूलाई प्रोत्साहन गर्नेछ।

म सन् २०११ मा पहिलो पटक अमेरिका जाँदा त्यहाँ नापतौलमा इम्पेरियल प्रणाली रहेको देखेँ। हामी धार्नी, सेर, माइल छाडेर मेट्रिक प्रणालीमा आएका थियौँ। तर अमेरिका हामीले छाडेको त्यही प्रणालीमा चलेको रहेछ। मैले एकजना अमेरिकीसँग जिज्ञासा राखेँ। उनको उत्तर थियो– हामी अनौठा (युनिक) छौँ र अनौठा रहन चाहन्छौँ।

 उनको यो भनाइ त्यो समयमा मलाई जवाफ दिनका लागि होला भन्ने ठानेको थिएँ। अहिले अनुभूत भयो अमेरिकी मनोविज्ञान। हो, अमेरिकीहरू अनौठा छन्। त्यसैले त  सन् १८७५ मा मिटर कन्भेन्सनमा सम्मिलित भइ मेट्रिक प्रणालीका हस्ताक्षरकर्ता रहे तापनि सारा संसारले मेट्रिक प्रणाली अवलम्बन गर्दा अमेरिकीहरू इम्पेरियलमा नै कायम रहन्छन्। तिनीहरू अनौठा छन्। त्यसैले संसारभर मानवाधिकारको वकालत गर्दछन् तर आफ्नो देशमा महिलालाई आफ्नो शरीरको निर्णय गर्ने अधिकार दिँदैनन्। संसारभर लिङ्गभेदको विरुद्धमा वकालत गर्दछन् तर आफ्नो देशको कार्यकारीमा महिला अयोग्य हुन्छन् भन्ने मत निर्णय दिन्छन्। अन्य देशको निर्वाचनमा आर्थिक लेनदेन निर्वाचन स्वच्छताको कुरा उठाउँछन्। आफ्नो देशमा राष्ट्रपतिको उम्मेदवारले तेल कम्पनीका मालिकहरूसँग नयाँ तेल खानी खोल्न दिने सर्तमा एक अर्ब चन्दा (घुस ?) माग्ने खुला बैठक गरी सम्भवतः प्राप्त गर्ने कार्यलाई पारदर्शिता भन्छन्। तिनीहरू अनौठा छन् र त संसारकै सबभन्दा धनी व्यक्तिले आफ्नो समर्थन रहेको उम्मेदवारलाई भोट हाल्छु भनेमा दस लाख डलर पुरस्कार दिने घोषणालाई चुनावी चन्दा संवैधानिक भन्छन्।

सन् २०१६ मा अमेरिकीहरूले लोकप्रिय मतमा ट्रम्पलाई पराजित गरेका थिए। तापनि इलेक्टोरल कलेजको बहुमतका कारण ट्रम्पले जिते। त्योबेला अमेरिकी मतदाताहरूलाई ट्रम्पबारे धेरै कुरा थाहा नभएको भनी शंकाको सुविधा दिन सकिन्छ। तर अहिले अदालतबाट ३४ वटा फौजदारी अभियोगमा दोषी प्रमाणित भएको, आफैँ राष्ट्रपति हुँदा भएको चुनावी परिणामलाई स्वीकार नगरी परिणाम उल्टाउन आपराधिक क्रियाकलाप गरेको भनी अभियुक्त बनाइएको, महिला हिंसा गरेको र हरदम महिलालाई अपमान गर्ने गरेको, व्यापारिक जालसाज गरेकाले जरिवाना गरी कैदमा बस्नुपर्ने व्यक्तिलाई अमेरिकीहरूले नै महान् भन्ने गरेको देशको राष्ट्रपति बनाएका छन।

 अब विश्व रङ्गमञ्चमा अमेरिकाको नेतृत्व एक विवादास्पद, प्रजातन्त्रमा निष्ठा नभएको व्यभिचारी व्यक्तिले गर्नेछ। यो पनि संसारका लागि अमेरिकी विशेषता, अनौठोपन हो। फ्रान्सेली दैनिक लि मोन्देले भनेझैँ यो अमेरिकीहरूले डोनाल्ड ट्रम्पको सबै विध्वंसक स्वभावको जानकारी राखेर नै जिताएका हुन।

अब नेपाललगायतका लोकतान्त्रिक देशमा नयाँ चुनौती थपिने छन्। दक्षिणपन्थी प्रियतावादको उभार आइरहेको समयमा चरित्रहीन उग्रपन्थीहरूलाई शक्तिशाली देशको राष्ट्रपतिको नेतृत्वबाट मनोवैज्ञानिक बल प्राप्त भएको छ। भ्रष्टहरूले आफूमाथि लागेका या लाग्न सक्ने सबै अभियोग राजनीतिक पूर्वाग्रहले लागेका हुन् भन्ने कुराको साक्षी अमेरिकी चुनाव र त्यहाँको राष्ट्रपतिलाई बनाउने छन्। अर्थ चारीत्रिक दुर्बलता र अकर्मण्यताले ग्रसित अल्पविकसित देशको प्रजातन्त्र यस्ता चरित्रहीनहरूको अझ तीव्र आक्रमणमा पर्न सक्छ। लोकतन्त्रवादीहरू अरू संगठित, अनुशासित बनी परिणाममुखी कार्य सम्पादन गर्नु जरुरी छ।

प्रकाशित: १४ मंसिर २०८१ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App