कर्णाली पहाडी र हिमाली भूभागले बनेको प्रदेश। मधेस समथर। कर्णाली दुर्गम र पछोटेपनको पर्याय। मधेस संघीय राजधानी र तुलनात्मकरूपमा अवसरका स्रोतहरूबाट नजिक। तर धेरै विपन्न पाल्ने प्रदेश। कर्णाली धेरै समय जाडो च्यापेर बस्ने थलो। अनि मधेस भने धेरै समय गर्मीको धापबाट मुक्ति खोजिरहने ठाउँ। कर्णाली मुलुकको मध्यपश्चिमतिर बासस्थान भएको प्रदेश। अनि मधेसचाहिँ दक्षिणतर्फ पूर्व–पश्चिम लम्पसार परेको ठाउँ। यसबाटै थाहा हुन्छ कि अभाव र विपन्नतामा समानता भए पनि अरू धेरै कुरामा चाहिँ यी दुई प्रदेश आकाश–जमिनको दूरी राख्छन्।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालय यी दुवै प्रदेशबीच समेत मिलन गराउने अनौठो विद्यालय बनेको छ। जसले कर्णालीको दैलेखदेखि मधेसको सप्तरीसम्मका विद्यार्थी पढाउँछ। विद्यार्थी पढाउने मात्र हैन, उनीहरूका अभिभावकलाई जागिरसमेत दिलाएको छ। यही कारण त आफूलाई जागिर दिलाउने र आफैँले मलजल गरी सुन्दर बनाएको बगैँचारूपी विद्यालयमा पढाउँछन् आफ्नै छोराछोरी। जसले विद्यालय र अन्य प्रदेश मात्र हैन, शिक्षक र अभिभावकबीच पनि सम्बन्ध गाढा बनाउन सकेको छ।
विद्यार्थी बिहानी प्रार्थना सिध्याउँछन्। त्यसपछि तोकिएको आफ्नो पालोमा बोल्छन्। बोल्ने विषय विद्यालय र पढाइ सिकाइमा केन्द्रित हुन्छ। शिक्षक सुन्छन्। त्यसलाई मनन गर्छन्। आफ्ना कमजोरी पनि विद्यार्थीले मनन गरेका बुझ्छन्। अनि सुधार्न कोसिस गर्छन्। यस्तो गतिविधि र प्रतिक्रियालाई उनीहरू अन्यथा मान्दैनन् किनकि यो विद्यालयको संस्कृतिकै एउटा पाटो बनिसकेको छ। यसमा कसैलाई रिसाउनु पनि किन छ र ? आखिर यो विद्यालयलाई स्तरीय बनाउने प्रक्रियाकै एउटा अभिन्न अंग भएको सबैले बुझिसकेका छन्।
प्रार्थनापछि धुलाम्मे हिलाम्मै पारामै खुर्र दौडेर कक्षा कोठामा पस्दैनन् यहाँका विद्यार्थी। हात, मुख धुन्छन्। त्यो पनि साबुनले। आफ्नो कक्षा कोठा आफैँ सफा गर्ने बानी पनि परिसकेको छ यिनीहरूलाई। त्यसैले जब विद्यार्थी हात मुख धुन र कक्षा कोठा सफा गर्न थाल्छन्, त्यतिबेलासम्म शिक्षकहरूले पनि आफ्ना शैक्षिक सामग्री जुटाउने र कक्षा कोठामा जानुअघि गर्नुपर्ने तयारी कर्म गरिसक्छन्। जब दुवै पक्षको यो नियमित काम सकिन्छ त्यसपछि शिक्षक र विद्यार्थीको कक्षा कोठामा भेट हुन्छ।
परम्परागत सिकाइ प्रणालीलाई पनि पूरै पछ्याउँदैन यो विद्यालयका कक्षा कोठा। विद्यार्थी कसरी र के सिक्न चाहन्छन्, त्यसैमा भर पर्छ सिकाइ प्रक्रिया। यस्तो अवस्थामा न विद्यार्थीले सिक्न अल्छी गर्छन् न त सिकाउने गुरुले नै झन्झट मान्ने भए। त्यसैले यहाँको सिक्ने सिकाउने प्रक्रियाको फाइदा विद्यार्थीले मात्र हैन, शिक्षकले समेत लिएका छन्। आखिर विद्यालय हुनुपर्ने पनि यस्तै त हो। जसलाई सरस्वती माविले अरूसमक्ष उदाहरणका रूपमा पेस गरेको छ।
त्यति मात्र हैन, अभिभावकलाई मान्छे नगन्ने र अभिभावकले विद्यालयबारे चासो राखेको मन नपराउने गुरुहरूको बाहुल्य भएको मुलुकमा यो विद्यालय यस अर्थमा पनि पृथक पहिचान बनाउन सफल भएको छ। ऊ अभिभावकलाई विद्यालयमा निषेध गर्ने हैन, उल्टै निम्ता गर्छ। प्रत्येक दिन कुनै न कुनै अभिभावक आउनै पर्ने नियमै बसालेको छ उसले। कुनै न कुनै दिन विद्यालय आउनैपर्ने नियममा बाँधिएका दुई सय ६० जना विद्यार्थीका अभिभावकले पढाइ हेर्छन्, शैक्षिक वातावरण नियाल्छन्। आफूलाई लागेको सुझाव दिन पाउँछन्। अनि यस्तो सुझावलाई विद्यालय परिवारले सकारात्मकरूपमा ग्रहण गर्ने मात्र हैन, आवश्यकताअनुसार योजना नै बनाएर सुधार्दै लैजानेसमेत गरेको छ। यही कारण अभिभावकको विद्यालय भ्रमण प्रभावकारी देखिएको छ।
के उक्त विद्यालयमा पर्याप्त शिक्षक/कर्मचारी/स्रोत भएकाले यस्तो वातावरण सम्भव भएको हो त ? अवश्य हैन। प्रस्तावित यो माविमा जम्मा १३ जना कर्मचारी छन्। यसमा पनि एकजना बाल विकास शिक्षक छन् भने एकजनाचाहिँ कार्यालय सहयोगी। अझ अचम्मलाग्दो त यो छ कि एसइईमा समेत अब्बल नतिजा ल्याउन सफल यो विद्यालयमा मावि शिक्षकको दरबन्दी नै शून्य छ। यसले देखाउँछ कि शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्षमा इच्छाशक्ति हुने हो भने स्तरीयता र प्रगतिका लागि न जनशक्ति बाधक हुने रहेछ न स्रोत नभएको गन्गन्।
दृढ संकल्प लिएर अघि बढ्ने हो भने दुर्गम पूर्वी पहाडको एउटा विद्यालयले आफ्नो सीमित भौगोलिक क्षेत्रभित्र मात्र नभई धेरै टाढा टाढासम्म पनि शैक्षिक ज्योति फैलाउन सक्ने रहेछ भन्ने उदाहरण सरस्वती मावि बन्न सकेको छ। सधैँ आफ्नै सुविधा र मानमर्यादा मात्र पुगेन भनेर गुनासो मात्र गरिरहनेहरूले यो विद्यालयबाट सिक्न सक्दा मुलुकको शैक्षिक क्षेत्रमा थोरै भए पनि योगदान पुग्थ्यो कि?
प्रकाशित: १४ मंसिर २०८१ ०५:४७ शुक्रबार