९ माघ २०७८ आइतबार
कला

जनगणनाको दुर्लभ ठेली

टेलिफोनको घन्टी बज्यो,गत कात्तिकको दोस्रो हप्ता,गते बिर्सें, समय दिउँसो १२ बजेतिर। फोन उठाएँ। उताबाट आवाज आयो–म गोविन्द टण्डन,केही पुस्तक दिनु थियो,कुन बेला आऊँ?  

म दिनभर घरै हुन्छु। तपाईंलाई अनुकूल समयमा आउनुस् भनेँ।

उहाँले १२ बजेतिर भन्नुभो क्यार! ठाउँ बताएर भनेँ–अलमलिए फोन गर्नुस्,लिन मान्छे पठाउँछु।

उहाँ अलमलिनुभएछ। लिन मान्छे पठाएँ, आउनुभो गोविन्द टण्डन। तीनवटा पुस्तक र केही सुखा मसला पनि ल्याउनुभएको रहेछ,एउटा गह्रुँगो झोलामा। तीमध्ये ७४६ पृष्ठको नेपालको पहिलो नमुना जनगणनाको किताब रहेछ,वि.सं. १९१० देखि २०१३ सम्म गरेको। अर्को ५६९ पृष्ठको ‘इतिहासका थप पृष्ठहरू’ नामको पुस्तक र उहाँ आफैँले समय समयमा लेखेको रचनाहरूको सँगालो पनि रहेछ।

डा.टण्डन त्यो जनगणना बारेमा केही लेखिदिन सकिन्छ कि भनी आउनुभएको रहेछ। हामीबीच झन्डै एक घन्टा कुरा भए–केही उहाँका कृतिका बारेमा,केही अरू बारेमा। मैले मेरा दुईवटा प्रकाशन दिन भ्याएँ। यो हो पृष्ठभूमि संक्षिप्त।

म डा. गोविन्द टण्डनलाई मनपराउने मान्छे। उहाँलाई मेरी श्रीमती सुशीला पनि राम्रै चिन्छिन् र भलाकुसारी भो। अब म पल्टाउन थालेँ ती ढड्डा। टण्डनबारे जिज्ञासा थियो र भेटाएँ इतिहासका थप पृष्ठहरू। त्यसपछि पल्टाएँ– जनगणनाको ठेली। १९१०–१९१३ सालको लिखतमा कति त अक्षर छुट्ट्याउनै कठिन, कति बुझ्नै कठिन। झन्डै चार दिन लाग्यो, त्यो छिचोल्न। एउटा सानो टिपोट गरेँ। चित्त बुझेन अनि यो लेख्ने जमर्को गरेको। त्यो ढड्डामा गोकर्णतिरको गाउँ,गाउँघरका जहानको तेरिजमा रानीपट्टि रिसालपट्टि उपशीर्षकमा रिसालपट्टि खोज्न धेरै समय खर्च गरेँ,तर भेटाइनँ ।

साँच्चै यो प्रस्तुत विवरणको अहिले औचित्य छ वा छैन, भए कति छ, तथ्यांकशास्त्री नभएकाले भन्न समर्थ भइनँ। परन्तु विश्वास भने छ, जरुरै यो संकलन परम उपयोगी छ।

कसरी प्राप्त भयो?

यो दुर्लभ सामग्री कसरी प्राप्त भयो भन्ने प्रश्न पनि उपस्थित भएको छ। इतिहासकार धनवज्र बज्राचार्य पुराना कागजपत्र किन्दा रहेछन्। एक दिन एकजना तामाङ केटा नेपाली कागजमा हातले लेखिएका तीन थान पुस्तक लिएर आएछन्। उनीसँग धनवज्रले ती तीन थान कागजपत्र किनेछन्। यसरी आएको रहेछ यो लिखत। उनै धनवज्रद्वारा यो ग्रन्थ डा. जगदीशचन्द्र रेग्मीको हात परेछ। यो सामग्री प्राप्त भएपछि डा. रेग्मी यो छपाउन तीन त्रिलोक चौध भवन दौडधुप गर्दा पनि छपाइदिने सज्जन पाउनुभएनछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुग्नुभएछ।

त्यताबाट कुनै चासो नदेखिएपछि बिलखबन्दमा परेका रेग्मीकहाँ डा. गोविन्द टण्डनको फोन आएछ र साधारण कुरापछि डा. टण्डनले सो विवरण हेर्ने माग गर्नुभएछ,तर रेग्मीले त्यो त डा. खेम कोइराला बन्धुसँग छ भन्नुभएछ। डा. रेग्मीले सो विवरणको सार २२ पानामा छ भन्नुभएछ। सो २२ पाना हेरेपछि डा. टण्डनलाई सो उपयुक्त नलागी ढड्डा नै हेर्न माग गर्नुभएछ। त्यही सिलसिलामा विविध कुरा भएपछि तीन महिनाभित्रै यो ढड्डा छापिएर अहिले तपाईंको हातमा छ।

वि.सं. १९१० देखि १९१३ सम्मको नेपाली जनताको तथ्यांक रहेछ यो। अहिले यति बाक्लो बस्ती भएका ठाउँ चावहिल, देउपाटन, जाउलाखेल त्यस बेला गाउँ थिए। नगन्य मान्छे मात्र बस्थे। जंगबहादुरको नेतृत्वको सरकारले जनगणना गराउने जुन आँट गर्‍यो, त्यसवेला त्यो नै सामाजिक सांस्कृतिक क्रान्ति थियो भन्दा अन्यथा होला जस्तो लाग्दैन। त्यस समयको आवश्यकता नै मात्र मान्छेको गन्ती थियो। शिक्षा,स्वास्थ्य,खानेपानी,बिजुली मूल समस्या थिएनन्। कस्तो युग थियो होला, अहिले कल्पनातीत छ।

कति धेरै पसल?

त्यस बखत जाउलाखेलमा जम्मा नौवटा पराले घर रहेछन्। ती सबै घरमा जम्मा ५१ जना बस्थे। त्यसैगरी झम्सीखेलमा पर्वतेका जम्मा चारवटा पराले घर थिए, जनसंख्या २३ जना। त्यतिबेला जनगणना गर्दा अहिले जस्तो धेरै विवरण लिइँदैनरहेछ। असामी– घरमूली। घरको विवरणमा झिँगटी कि पराले? जम्मा घर।

लोग्न्या, स्वास्नी जम्मा जहान वारी–पाताल उपशीर्षकमा लिइने रहेछ। पाटन सहरभरि २५ वटा टोल। देवीदेवताका शिला,सत्तल, पाटी,धारा, घर जहानको लगत पनि उल्लेख छ। त्यो जमानामा पाटन सहरभरि जम्मा घर संख्या ५,६३७, जनसंख्या २८,७१४ रहेछ। देवीदेवताका मन्दिर ७३५ वटा। त्यो बेला पाटन सहरमा नयाँ र पुराना गरी जम्मा चार सय ३८ वटा पसल भएको उल्लेख छ। तीमध्ये बढी बिक्री हुने कपडा नै रहेछ। कपडापसल ४२, कपास पसल ३२, खिचिरमिचिर १८४ वटा भने वैद्य पसल ४२ वटा। त्यस्तै हलुवाई पसल ९, भाँडा पसल ६, तमाखु पसल ५, पानपसल ३, साबुन पसल ४, कस्मेरी–मुसलमान–पसल ३। लहरीमा चुरा पसल २ वटा रहेछन्। अरूमा १७ वटा दही पसल, ४ वटा दूध पसल, ६ वटा खसीको मासु बेच्ने पसल रहेछन्। राँगाको मासु बेच्ने पसल उल्लेख छैन। सुढी रक्सी पसल ३७ वटा, सुन चाँदीका ज्यासल १२२ वटा। कोरा ताबो खार्ने ज्यासल ३ वटा, डकर्मीका ज्यासल ३४ वटा रहेछन्। नेवा फाम (काँस) को ज्यासल २१,नकर्मीको ज्यासल ३ वटा रहेछन् भने फटिकको ज्यासल ३, तमोरको ज्यासल नै ९५ वटा रहेछन्। यस अभिलेखमा विभिन्न विशेषता उल्लेख छन्। पाटन सहरका लगानभित्र जम्मा ९० गाउँ पर्दा रहेछन्।

नेपालमा पहिलोपल्ट भएको जनगणनालाई औपचारिकता दिएको पाइँदैन। वि.सं. १९६८ मा श्री ३ चन्द्रशमशेरले गराएको जनगणनादेखि प्रतिदश वर्षमा जनगणना हुन लाग्यो। तसर्थ होला,त्यस बेलादेखिको जनगणनाले मान्यता पायो। यसकारण जंगबहादुरको गराएको जनगणनाले मान्यता पाएन।

त्यसअघिका अभिलेख भेटिएनन्

भक्तपुर सहरको जनसंख्या वि.सं. १९१० मा ३०,०३४ रहेछ। जम्मा टोल २४, घर संख्या ५,२४६ रहेछ।ठिमी र बोडे भक्तपुरका अरू सहर हुन्। उक्त सहरमा भएका देवीदेवताका सत्तल,पाटी, धारा, इनार र घर जहानको संख्या पनि उल्लेख छ। त्यति बेला काठमाडौं बाहिरबाट कामविशेषले आउनेका लागि बस्न–खान होटल, लज केही हुँदैनथ्यो। तसर्थ पाटी र सत्तल नै आवास हुन्थ्यो। जनगणनाको इतिहास खोज्ने क्रममा जंगबहादुरले गणना गर्नुभन्दा झन्डै १४ वर्षअघि वि.सं. १८९६ मा काठमाडौं सहरको जनसंख्या २६,२४६ थियो रे। यो ढड्डामा मैले जगंबहादुर कुँवरको जनगणनामा काठमाडौंको जनसंख्या कति थियो पत्ता लगाउन सकिनँ। पाटी र सत्तलका प्रसंगमा एउटा घटना जोड्न सल्लाह मागेको। राष्ट्रकवि माधव घिमिरे श्रीमतीको सन्दुसबाट पैसा चोरी लमजुङ पुस्तुनबाट भागेर काठमाडौंमा अरू धेरै पढ्न आउँदा सोह्रखुट्टे पाटीमा ठाउँ नभएर त्यहीँको अर्को पाटीमा बास बसेको घटना उल्लेख गरेका छन्।

राजा महेन्द्रको राज्याभिषेकको समयमा विदेशी पाहुनालाई बस्ने–खाने होटलको अभावमा बागबजारमा होटेल कोरोनेसन नै निर्माण भएको सम्झना छ। समय समयको खेल सत्तल, पाटी, पौवा नै होटलका विकल्प थिए। तसर्थ सो जनगणनाको ठेलीमा पाटी, पौवा र सत्तलको पनि गणना गरिएको होला। यद्यपि श्री ३ जुद्धशमशेर जबराको राज्यकालमा वि.सं. १९९५ मा जनसंख्या गोश्वारा अड्डा नै स्थापना भएको रहेछ। वि.सं. २०१४ तिरका सेन्सस कमिसनर कुलनाथ लोहनीको भनाइमा १९६७ सालअघि पनि जनगणना नभएको होइन, कुनै न कुनै प्रकारले गणना हुने रहेछ। तर त्यस्ता गणनाको निश्चित अभिलेखनको अभाव छ। नेपालबारे अभिरुचि राख्ने देशी वा विदेशीको संग्रहमा भने होला, तर सरकारले त्यसो गर्न नसकेकाले यस ग्रन्थमा लेखिएको जनसंख्या विवरणलाई नै अभिलेख मान्नुपर्ने भएछ।  

कहाँ पाउनु यी सपुत!  

सो ठेलीमा डा. गोविन्द टण्डनको लेखमा दिइएको विवरणमा परराष्ट्र मन्त्रालयमा रहेको केही कागजातमा जंगबहादुरले भन्दा झन्डै १४ वर्षअघि १८९६ सालमा लिइएको काठमाडौं नमुना तथ्यांकमा काठमाडौं सहरको जनसंख्या ३६,२४६ थियो रे। यो जनसंख्या त्यतिबेला सानो होइन। त्यसबेला नेपालको जनसंख्या २० लाख हाराहारीमा हुनुपर्छ भनिएको छ।

 नेपालीको जिब्रोमा गोर्खामा १२ हजार घर धुरी, काठमाडौंमा १८ हजार, पाटनमा २४ हजार घर धुरी भन्ने एक प्रकारको थेगो नै प्रचलनमा रहेछ भन्ने उल्लेख छ। सो ढड्डामा पूर्वी नेपाल,मौजुदा तराई, पाल्पा पश्चिम तथा हिमाली भेगका विवरण पाइन्न। यसो हुनुका कारण या विवरण छुट्यो, या बस्ती नै बसिनसकेको भनी टारिएको छ। 

यो विवरणमा १२ लाख, ३३ हजार, २० जनसंख्या भएको उल्लेख छ। तीमध्ये लोग्ने मान्छे ६,२९,०८० र स्वास्नी मान्छे ६,०३,९४० रहेछन्। त्यो जनसंख्या क्षेत्रफलका हिसाबले जनघनत्व एकदमै कम देखिने टिप्पणी पनि गरिएको छ। औलो प्रकोपलाई हटाउन आवादी बढाउनुपर्ने हो भन्ने जनविश्वास अनुसार १८६२ सालमा चम्पसिंह गुरुङलाई डिट्ठामा नियुक्त गरिएको रहेछ। भोट मुगलानबाट रैती ल्याई बस्ती बसाउन भोटेकाजी ईकुडालाई दिइएको रहेछ। त्यस अतिरिक्त १८४७ मा नै पश्चकर्ण राई,आसिकराम राई, कर्ण राईलाई पश्चिम बस्ती बसाउन लालमोहर नै दिइएछ। पछि यो कामलाई युद्धस्तरमा बढाउन सैनिक नै परिचालन गरिएछ।

क.क. सनकसिंह टण्डनले सिमरौनगढको कालाबजार गुल्जार गर्ने जिम्मा पाएछन्। त्यति बेला नाम संकलन गर्दा लोग्ने मरेकीलाई राँडी, मुखमा बिफरको दाग भएकालाई छ्याक जस्ता अपशब्द प्रयोग गरिने रहेछ। काठमाडौं सहरको घर संख्या ८,२२३ थियो भने जनसंख्या ५८,५३९ र सहर बाहिर घर संख्या ८१६ र जनसंख्या ४,३१९ थियो पनि भनिएको छ।

तथ्यांक रुचिकर कसरी?

संसारको जनगणनाको इतिहास केलाउने हो भने संयुक्त राज्य अमेरिकाले वि.सं. १८४७ देखि,जर्मनीमा १९३२ र भारतमा १९२९ देखि प्रारम्भ भएको रहेछ। यो जनगणना भन्ने पनि अनौठो विषय रहेछ। यसमा प्रवेश गर्नै कठिन। प्रवेशपछि अंकसम्म राख्न जान्यो भने निस्कनै मन नलाग्ने।

यो विवरण हात परेको धेरै वर्षपछि प्रकाशित हुँदा प्रा. डा. जगदीशचन्द्र रेग्मी कति प्रशन्न हुनुभयो होला। म तीन न तेह्रको मान्छे त यति प्रशन्न भएँ भने। तथ्यांकशास्त्रको अध्येता र त्यसमा अभिरुचि राख्ने मान्छे कति दंग हुने होला। यति पुरानो लिखत पाइएछ धन्न हो। तर, मैले २०१८ सालमा गराएको दार्चुलाको नाबी, गज्र्याङ,बुँदी लगायत ठाउँको तथ्यांक पाइएन।

धनवज्रजस्ता विद्वान्को हातमा परेको भए अवश्य पाइने थियो होला। कसको हात पर्‍यो, कसको थाहा भएन। भित्री मनबाटै गर्न खोज्यो भने यो संसारमा असम्भव भन्ने विषय नै के होला र ? लौ न हो, गरौँ केही त गरौँ। मातृभूमिको ऋण तिराैँ। यो अवसरमा प्रा.डा. जगदीशचन्द्र रेग्मी र डा. गोविन्द टण्डनलाई मुरीका मुरी धन्यवाद दिन चाहन्छु। साथै धनवज्र बज्राचार्य अनि जसले धनवज्रलाई यो फेहरिस्त बेच्यो,त्यो तामाङ केटालाई पनि सबैभन्दा बढी धन्यवाद दिन चाहन्छु। यस्ता अभिलेख पुरातत्व विभागले छाप्नुपर्ने थिति बसालौँ न!

प्रकाशित: ४ मंसिर २०७८ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App