१९ मंसिर २०७८ आइतबार
कला

द्वारिकानाथको ‘जिल्ला प्रशासन’

नेपालको प्रशासनको अनुहार हेर्नुपर्‍यो भने जस्ता पनि पाइने, धेरथोर भन्ने संख्या गन्नेतिर नलागौँ। कुरा आजको हो र? ४२ वर्षअघिको।

एकजना त्यस्ता उपसचिव तहका कर्मचारी पाएछ राज्यले, जो आफूलाई सुदूर पश्चिम दार्चुला जिल्लाको प्रमुख जिल्ला प्रशासक भएर जान मरिहत्ते गर्दो रहेछ। बहिदार, मुखिया, खरदार, सुब्बा जस्ता तल्लो तहमा नोकरी सुरु गरी पदोन्नति भई उपसचिव भएका होइनन्।

कपालको एउटा रौँ पनि सेतो भएको छैन। काठमाडौं सहरमा सरकारी जागिरदारका परिवारमा जन्मी स्नातकोत्तर परीक्षामा सफल भई तत्कालीन नेसनल कलेजमा पढाएर खाग भइसकेको मात्र हो र? भारतको नागपुर विश्वविद्यालयबाट समाज विज्ञानमा विद्यावारिधि र कानुनमा समेत स्नातक भइसकेका अधिकृत थिए नेपाल सरकारका।

तिनको नाम हो डा. द्वारिकानाथ ढुंगेल। उनले त्यति धेरै शिक्षोपार्जन गरेर काम गरी खाने दर्शनमा विश्वास भएर होला पदोन्नतिका निम्ति जिल्ला प्रशासक भएर दुर्गम जिल्ला जाने अठोट गरेका रहेछन्। शंकरदेव पन्तले सञ्चालन गरेको बेलाको पढाइ हुने कलेजको संगतमा परेर डा. ढुंगेलले आफ्नै पौरखले खानुपर्ने कुरा सिकेछन्।

वास्तवमा सक्कली ज्ञान भनेको अरूले सधैँ सिकाएर भन्दा आफैँ गरेर सिक्ने फिलोसफीमा विश्वास गर्ने डा. ढुंगेलले आफ्नै योग्यता र पुरुषत्वममा गरिखाने भएकाले होला सिंहदरबारको हाकिम हुन जिल्ला प्रशासकको अनुभव हुनु जरुरी भन्ने सिद्धान्त पनि बुझेको फलस्वरूप उनले जिल्ला प्रशासक हुने बाटो रोजे। जसले डा. ढुंगंललाई पढेका थिएनन्, उनका छनोट देखेर छक्क पर्दा हुन्।

जिल्ला प्रशासन आकर्षक हुन लागे

तत्कालीन सरकारले पदोन्नतिका आधारभूत योग्यतामा जिल्ला प्रशासनतिर जान प्रोत्साहन होवोस् र आकर्षक पनि होवोस् भनी जिल्लाहरू हिमाली, उच्च पहाडी, पहाडी लगायतमा काम गरेमा पदोन्नतिका निम्ति नम्बर दिने प्रचलन कायम गरेको थियो। काठमाडौंमा काम गर्ने कर्मचारीले काम गर्दा १ नम्बर पाउथ्यो भने दार्चुला जस्ता दुर्गम जिल्लामा काम गर्दा ५ नम्बर पाउथ्यो।

डा. द्वारिकानाथले दार्चुला जिल्ला छान्नुको पृष्ठभूमिमा त्यो पनि एउटा कारण रहेछ। फेरि नेपालका तत्कालीन ७५ जिल्लामध्ये दार्चुला र ताप्लेजुङ दुई जिल्ला मात्र यस्ता जिल्ला हुन्, जो भारत र चीनसँग सीमा जोडिएका छन्। प्रशासनले त्यस्तो नियम बनाएपछि प्रथम श्रेणीको मस्तिष्क भएका कर्मचारी जिल्ला जाने प्रचलन प्रारम्भ भयो।

जिल्ला प्रशासनबाट सिंहदरबार आएको कर्मचारीको ध्यान जिल्ला प्रशासनलाई सहयोग गर्नेतिर लाग्ने रहेछ। डा. द्वरिकानाथ ढुंगेलजस्ता पढे लेखेका अधिकृत पनि जिल्ला तहको प्रमुख प्रशासक भएर जान थालेपछि त्यसको प्रभाव अरूमा पर्न थाल्नु अस्वाभाविक भएन। उनका कारण जिल्ला कर्मचारी प्रिय भएको देखापर्न लाग्यो।

जिल्ला प्रशासन आकर्षक हुनु भनेको केन्द्रीय प्रशासकको टाउको हलुको हुनु पनि हो। डा. द्वारिकाले दार्चुला जिल्ला रोज्नुका पछाडि अर्को प्रमुख कारण रहेछ, पारिपट्टिको छिमेकी भारतको धार्चुलासम्म मोटर यातायातको सुविधा हुनु पनि रहेछ।

भन्दा दुर्गम तर पारिपट्टि धार्चुलासम्म मोटरमा यात्रा गर्न पाइने पनि रहेछ। डा. द्वारिकाको ‘जिल्ला प्रशासन मेरो अनुभव’ नामको त्यो पुस्तक ५९२ पृष्ठको छ। अक्षर साना लागे मेरा ९४ वर्षमा हिडिँरहेका आँखालाई।

निर्विघ्न जनगणना सम्पन्न

सो पुस्तकबारे सोधखोज गरेँ। उनले बडो अनुकम्पापूर्ण रूपमा ल्याइदिए। ठेली नै रहेछ पुस्तक। पढ्न थालौँ नथालौँ धुकचुक भो। त्यत्रो ठूला मान्छेले दिएको सामग्री नपढ्न मनले अनुमति दिएन। यसो पुस्तक उचालेँ गह्रुँगो छ।

डा. ढुंगेललाई आफ्नो नेपालको पानी सम्बन्धी कृतिमा मेरा कुरा पनि राख्न मन लागेछ र एक दिन फोन आयो र सोधेँ कुनै कृतिबारे केही लेखी दिने कुरा आयो भने के गर्नुहुन्छ? मैले भने स्पष्टसँग सबै पढेर सधैँ भ्याइँदैन। तसर्थ तल माथि पढेर, सबै पाना पल्टाएर भ्याएको पढेर नभ्याएको सुँघेर लेख्छु भनेँ। मेरो कुरा सुनेर हाँस्नु भो म पनि हाँसेँ। मस्त हाँस्यौँ दुवैजना।

तर त्यो मस्यौदा पल्टाएँ, चाख लाग्यो सबै पढेँ र आफूलाई लागेका केही कुरा लेखेर पनि दिएँ। हामी दुईबीच त्यस्ता रमाइला प्रसंग पनि चल्छन् यदाकदा। साँच्चै त्यो कृति मेरा लागि झन्डै फलामको चिउरा भएको। तल पढेँ चाख लाग्यो, अरू पढेँ। विभूति रङका कतिवटा उर्दीको कोट फटाएका, कति जोर जुत्ता प्वाल पारेका पूर्वप्रशासकका अनुभूति र अनुभव पढ्न थालेँ।

पछि चाख लाग्न थाल्यो, पढेँ जम्मै पढ्न भ्याएँ एकावृत्ति। तर, त्यति पढ्न सात दिन लाग्यो। उहाँको लेखनशैली मन पर्छ मलाई। म पढ्ने मान्छेलाई त पढ्न धैर्य राख्न असजिलो लाग्यो भने, ठेली लेख्नेलाई के भयो होला? म स्वयं पनि ६ पल्ट दार्चुला जिल्ला घुमेकाले यो दार्चुला जिल्लाबारे पढ्न बढी अभिरुचि लाग्नु असाधारण भएन।

म त्यो क्षेत्रमा २०१८ सालमै छैटाैँ जनगणना गराएको मान्छे। २०१८ को राष्ट्रिय जनगणना गर्न वैशाखमा पहिलोपल्ट दार्चुला गएको हुँ। त्यतिबेला दार्चुलालाई मोटरबाटोले छोएको थिएन, तर भारतको धार्चुलामा मोटर बाटो थियो। दार्चुलाका लागि जनगणनाको खरदार हाकिम काठमाडौं कमलपोखरीका ऋषिराज द्विवेदी थिए। उनकै प्रत्यक्ष नेतृत्वमा सो जनगणना निर्विघ्न, निद्र्वन्द्व, निर्विरोध सम्पन्न भएको थियो।

भारतीय ढेँडु बाँदर पनि थिएनन्

त्यसपछि मैले पाँचपल्ट दार्चुला जिल्लाको भ्रमण गरेको छु। एकपल्ट गाउँ फर्क राष्ट्रिय अभियानका क्रममा अभियानका अध्यक्ष विश्वबन्धु थापासँग पनि बझाङदेखि डडेल्धुरासम्म पैदलै घुमेको छु। तसर्थ दार्चुला भन्नासाथ ती भ्रमण याद आउँछन्। बाँकी चारपल्ट नेपाल वातावरण पत्रकार समूहबाट रोचक भ्रमण गरेकाले दार्चुला भनेपछि त्यसै जाँगर पलाउँछ।

दार्चुला पैदल भ्रमण गर्दाका सम्झना विलक्षण लाग्छ। त्यसमा डा. द्वारिकाको विविध पक्ष समेटिएको सुगन्धवाला “जिल्ला प्रशासन मेरो अनुभव” पढ्दाको आनन्द मात्र होइन परमानन्द नै भो। २०१८ सालमा जोर्नल अफिसर भएर सिंगो दार्चुलाको जनगणना गराउँदा कति गर्व र आनन्द भयो होला तपाईं आफैँ अनुमान गर्न सक्नुहुन्छ।

उत्कृष्ट सो कृति पढ्दा फेरि पनि दार्चुला गएझैँ लाग्यो। त्यतिबेला जनगणना गराउँदा दार्चुला जिल्लाको कुनै पनि ठाउँमा भारतीय सशस्त्रका कुनै पनि जवान थिएन मात्र हो र? भारतीय ढेँडु बाँदर पनि थिएनन्, जबकि डा. द्वारिका प्रमुख जिल्ला अधिकारी हुँदा कालापानीमा विभिन्न नामक भारतीय सेनाका ब्यारेक थिए।

२०१८ सालको अन्ततिर भारतीय बुट बज्न थालेको हो, नेपाल आमाको स्निग्ध एवं मायालु छातीमा। मेरो पछिल्लो दार्चुला यात्रा २०५७ मा भएको हो। दार्चुलाको सदरमुकाम खलंगादेखि बैतडी दार्चुला सीमाको पहिलो जलविद्युत् योजनासम्म पैदलै यात्रा गरेको हो। डा. द्वारिकाको सो ग्रन्थ पढेपछि ती ठाउँ झलझली सम्झिएँ।

ऐन कानुन नै नभएको प्रशासन?

डा. द्वारिकासँग मेरो आकर्षण रह्यो र आज पनि छ। त्यो आकर्षण किन रह्यो भन्ने प्रश्नको उत्तर छैन। सबै प्रश्नको उत्तर हुँदैनन्, हुनु पनि पर्दैन। यो संसार यस्तै छ। नेपाल के गरी चलेको थियो? अचम्म छ। जगंबहादुर कुँवरले वि.सं. १९१० मा ऐन कानुन बनाउने सिलसिलामा पहिलो मुलुकी ऐन बनाउन लगाएर लागू गरे। त्यसपछि क्रमशः अरू ऐन कानुनका तर्जुमा गरिँदै आएको हो।

हामी अनुमान गर्न सक्छौँ कस्तो होला प्रशासन? २०१२ माघ १३ गते टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वमा सरकार बन्यो। त्यो सरकारले २०१३ भदौ १२ मा पहिलोपल्ट निजामती सेवा ऐन लागू गर्‍यो। त्यस अघिसम्म कस्तो थियो होला नेपालको निजामती प्रशासन? टंकप्रसाद प्रधानमन्त्री पदबाट हटाइएपछि बागबजारतिर उनलाई भेट्दा कतिजना कर्मचारी नमस्कार गर्थे रे।

उनको पछाडि पर्नासाथ धारेहात लगाउँथे रे, कर्मचारी सेवा ऐन ल्यायो भनेर। यस्तो हो, नेपालको प्रशासन सेवाको इतिवृत्त। द्वारिकानाथ ढुंगेलको घरको वातावरण नै जागिर खाने। बाजे कविराज मुक्तिनाथ स्वास्थ्य विभाग आयुर्वेदतर्फ डाइरेक्टर, बाबु गिरनाथ ढुंगेल कम्पाउन्डरबाट पछि प्रशासक। तसर्थ जागिर जन्मँदैदेखि बुझ्ने संस्कारका थिए, डा. ढुंगेल।

आफ्नै विरुद्धको बिन्तीपत्र पनि?
पढेर स्नातकोत्तर भए डा. द्वारिकानाथ ढुंगेल। अब के गर्ने? जागिर खाने। कहाँ? जहाँ पाइन्छ त्यहाँ। दरबार स्कुलमा रात्रि कलेज सञ्चालक गरेका थिए शंकरदेव पन्तले। द्वारिकानाथले त्यहाँ पढाउन थाले। त्यसपछि त्रिचन्द्र कलेजमा पढाउन लागे। तर, स्थायी हुने छाँटकाँट नदेखेपछि प्रशासन सेवामा सिंहदरबार छिरे छन् शाखा अधिकृतमा।

केही समय पश्चात् उपसचिवमा पदोन्नति भो। अनि, दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकृत भएर गए। उनी दार्चुला नगएको भए यो “जिल्ला प्रशासन मेरो अनुभव” जस्तो ग्रन्थ आउने कुरै थिएन। उनी दार्चुला गएका थिए र यो सम्पदा आयो नेपाली वाङ्मयमा।

डा. द्वारिकाले उक्त कृतिको अनुसूचीमा जिल्लावासी जनताको नामबाट आफूलाई भ्रष्टाचार गर्‍यो भनी राजालाई दिएको बिन्तीपत्र समेत जस्ताको त्यस्तै छपाएर एउटा ठूलो काम गरेजस्तो लाग्छ। यो सामग्रीले उनले भ्रष्टाचार नगरेको पुष्टि हुन्छ भन्ने लाग्यो मलाई। यस्ता सामग्री अरू पनि आउनुपर्छ भन्ने लाग्छ।

प्रकाशित: ६ कार्तिक २०७८ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App