८ वैशाख २०८१ शनिबार
कला

कसरी जाऊँ आमा ?

शब्दमै नअटाउने आमाका बारेमा लेख्न खोज्नु जति गाह्रो केही रहेनछ। ‘आमा!’ यही एक शब्द नै पूर्ण छ, व्यापक छ। यही एक शब्दले नै जीवनको अस्तित्व बोकेको छ। आमा बिना असम्भव यो जीवनमा आमा जीवित हुँदा पनि उनका बारेमा शब्द खर्चेर केही लेख्छु भन्नेलाई त शब्दको अभाव हुँदो हो, यिनै आमाको देहावसान पछि यिनको सम्झनामा कागजमा पोखिन झनै कठिन हुँदो रहेछ।

त्यही कठिनाई, त्यही शब्दाभाव र आमाको अभावमा भक्कानिएको मुटु लिएर आज आमाको वार्षिक पूण्य तिथिमा यो एक वर्षभरिको आमासँगको भावनात्मक साक्षात्कार र सम्झनाको बिस्कुन फैलाउने अत्यन्त कठिन प्रयास गरिरहेछु।

आमाले धर्ती छोडेको पनि एक वर्ष पुगिसक्यो। आमाको भौतिक शरीर हामी माझ छैन, थाहा छ तर पनि यो मनले आमा हुनुहुन्न भन्ने सत्यलाई पटक्कै स्वीकार गर्न तयार छैन। यो मनमा आमाको उपस्थिति नभएको सायदै कुनै पल होला।

दिनभर आमा सम्झनामा आउनुहुन्छ, अनि रातभर सपनामा। भन्छन्–‘पितृहरू सपनामा देखिए पनि धेरै बोल्दैनन्’ तर आमा हरेक रात सपनामा आउनुहुन्छ, बोल्नुहुन्छ, अरूबेला झैं सुख दुःखका कुरा गर्नुहुन्छ। यिनै सपनाले पनि आमाको महाप्रस्थानको सत्य स्विकार्न दिएको छैन। यदि कुनै रात सपनामा आमालाई देखिन भने दिनभर शून्यता र न्यास्रो लागिरहन्छ।

सपनाको कुरा मात्र होइन, यो मनमा अझै पनि ‘आज त आमालाई फोन गर्नुछ, आमाको हालखबर सोध्नु छ’ भन्ने लागिरहन्छ। आमाको घुँडा कत्तिको दुखेको होला? पिँडुला कति बाउँडिएका होलान्? सुनाउने कोही पाउनुभएको होला कि छैन होला? अरू दिदीबहिनीले फोन गरेकी गरेनन् होला? आमाले खाने पाचक सकियो कि छ होला?

आमाले बिहान बिहान चियामा चोपेर खाने मारी बिस्कुट पो सकियो कि? यस्तै आइरहन्छ र हातले मोबाइल फोन समात्न पुग्छ। तत्काल मनमा एक झिल्को चट्याङ पर्छ र सम्झाइदिन्छ, २०७७ असोज ४ गते आइतबारको त्यो क्रूर बिहान, जसले आमाको प्राणवायु निलेर हामीलाई मातृविहीन टुहुरा बनाएको थियो।

कोरोना महामारीको पहिलो लहरले संत्रस्त समय! कोही कसैसँग बोल्न डराउँथ्यो, कोही कसैसँग भेट्न डराउँथ्यो। घरमा कसैको प्रवेश नहोस् भन्ने हर कसैको चाहना हुन्थ्यो। मान्छे आफ्नै घरभित्र बन्दी भएको थियो र पनि कोरोना संक्रमणले अस्पताल भरिएका थिए।

कोरोनासँग हारेकाहरू आफन्तको श्रद्धाञ्जलीबिनै प्लास्टिकमा बेरिएर अनकण्टारको खाडलमा पुरिन विवश थिए। तिनीहरूसँग न पीडाले छटपटाउँदा सुमसुम्याउने प्रिय हात थिए, न अन्तिम अवस्थामा प्रियजनको हातको एक घुट्को पानी नै पाए, न त परम्परा अनुसार दागबत्ती र अन्त्यष्टि नै। उता कोरोनासँग युद्ध गर्दागर्दै मरेर जानेहरू प्लास्टिकमा बेरिएर अनन्तको यात्रा गर्थे, यता आफन्त र प्रियजनहरू तिनको अन्तिम दर्शन पनि गर्न नपाई आँसु झार्न र विलाप गर्न विवश हुन्थे।

यस्तो विषम र कठोर समयमा पनि आमाले जुन सहज मृत्युवरण गर्नुभयो, त्यसलाई पनि आमाको जीवनभरको पुण्यको फल मान्नुपर्छ। निर्दयी कोरोनाको कारण टाढाका हामी छोरीहरूले आमाको अन्तिम सास भेटाउन नपाए पनि छोराको साथ र काख पाउनुभयो। त्यो समयमा पनि धार्मिक विधिपूर्वक सम्मानित अन्त्यष्टि पाउनुभयो। धन्य आमा!

९२ वर्षको वृद्ध शरीर। फोनमा आमाको टाठो आवाज सुन्न पाउँदा पनि ढुक्क लाग्ने। सधैँ आमालाई भेट्न र आमाको सामीप्यता पाउन त बिहे गरेर हिँडेका छोरीहरूले कति नै सम्भव हुन्छ र! आमालाई भेटेर उहाँको कमजोर र जीर्ण शरीर मुसारेर आएको पनि दश महिना पुगिसकेको थियो। चैतदेखि त कोरोनाले सबै भेटघाट बन्द नै गराइदियो।

‘म त ठीक छु, घरभित्रै थन्किनेलाई के छ र! तिमीहरू कतै ननिस्कनु, जोगिनु है बा!’ फोनमा आमा सधैँ यही भन्नुहुन्थ्यो। मन त लाग्दो हो नि छोरीहरूलाई भेट्न! तर आमाले त्यो विषम परिस्थितिमा कसैलाई बोलाउनुभएन। बस्! फोन कुरेर दिन बिताउनुहुन्थ्यो र फोनमै बोलेर सन्तुष्ट हुनुहुन्थ्यो।

हप्ता दिन मात्रै भएको थियो आमासँग फोनमा बोलेको। कसले सोचेको थियो कि त्यो कुराकानी नै अन्तिम होला भनेर। तर भइदियो त्यही। दुई चार दिनपछि फेरि कुरा गरुँला भन्दाभन्दै आमा त टुटिसक्नुभएछ। सास फेर्न गाह्रो भएर अस्पताल लगेको खबर पाएको भोलिपल्ट बिहानै आमाले हामी सबैलाई छोडेर अनन्तको यात्रा तय गर्नुभएछ।

निर्दयी कोरोनाका कारण न त आमा बिरामी भएको थाहा पाउनासाथ भेट्न जान सकियो न आमाको अन्तिम यात्रामा सामेल हुन सकियो। जो जहाँ छ, त्यहीँ बसेर रुनुबाहेक केही गर्न सकिएन। आमाको अभाव त यो जिन्दगीभर खट्किरहने नै भयो, आमाको जीवनको अन्तिम अवस्थामा आमालाई भेटेर गाह्रोसाह्रो सोध्न र आमाको निधारमा हात राख्न, आमाका चाउरिएका गाला सुमसुम्याउन, बाउँडिएका पिडुँला मुसार्न अनि अन्तिम सास लिँदै गर्दा एक घुट्को पानी खुवाउन नपाउँदाको धोको बाँचुञ्जेल कहिल्यै नपुरिने घाउ बनेर रहने भयो।

लगभग एक युग बाँचेको शरीर! बुढ्यौली र अनेक रोगले थिल्थिलो पारे पनि आमा हिम्मतले बाँच्नुभयो र अन्तिम अवस्थासम्म आफैँ हिँडेर शौचालय पुग्नुभयो। दिसापिसाब सोहोर्नुपर्ने र दिक्क मान्नुपर्ने अवस्था कसैले व्यहार्नुपरेन।

पछिल्ला दिनमा जब आमासँग आशीर्वाद माग्थ्यौं, उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘अब त मलाई पनि तिमीहरूले थला नपरीकन, गुहुमुतमा नडुबीकन जाओस् भनेर आशीर्वाद देओ।’ हुन त जीवनको उत्तरार्धमा आमाका कैयौं धोका हुँदा हुन्। एकाधबाहेक अरू कहिल्यै सुनाउनुभएन। ‘केही चाहिन्छ कि आमा’ भनेर सोध्दा पनि ‘भो बा! क्यै चाहिन्न, तिमीहरू पालैपालो भेट्न आए पुग्छ’ भन्नुहुन्थ्यो।

आमाको एउटै धोको थियो, ‘हिँड्दा हिँड्दै मर्न पाऊँ।’ आमाको त्यो धोको त पूरा भयो, तर हामी छोरीहरूको धोको अधुरै छोडर जानुभयो। एक दुई दिनदेखि नै सास फेर्न असहज भएपछि पक्कै पनि जीवनको अन्तिम घडी नजिक आएको आमालाई आभास भएकै हुनुपर्छ।

आफ्ना मुटुका टुक्रा सबैलाई एकपटक देख्न मन त पक्कै लागे होला, तर आमाको माया! कोरोनाको त्यो महामारीमा आफ्नो धोको भन्दा पनि छोरीहरूको जीवन प्यारो लाग्यो होला। सोच्नुभयो होला ‘कतै मलाई भेट्न आउँदा संक्रमित भए भने ...।’ आमालाई आफ्नोभन्दा हाम्रो सुरक्षाको चिन्ता थियो। त्यसैले पनि हामीलाई बोलाउनुभएन।

आमा! अब कसरी सोधौं जीवनका ती आखिरी दिनमा हाम्रो याद आयो कि आएन भनेर? हमेसा बाउँडिइरहने ती पिडौंला अन्तिम दिनमा झन् कति बाउँडियो होलान्? कसले थिचिदियो होला आमा? आज कहिलेकाहीँ मेरै पिडौला बाउँडिन्छन् अनि आफ्नो पीडा भुलेर हजुरलाई सम्झन्छु, आमालाई कति दुख्दो हो! शताब्दी नजिक पुग्नै लाग्दा पनि हजुरको हिम्मत देखेर अचम्म मान्थ्यौं।

जति हिम्मत भए पनि प्राण जाने बेला पक्कै सहज त भएन होला नि आमा? प्राण जाने बेलाको कष्ट त भोग्नेलाई मात्र थाहा होला। कसैलाई सोध्ने हिम्मत आज पनि छैन र सोध्दिनँ पनि कि, अन्तिम अवस्थामा छोरीका हातको पानी नलेखेको भए पनि छोराको हातको एकघुट्को पानी त पक्कै लेखे होला भनेर।

आमा! हजुरलाई जस्तै मलाई पनि हमेसा ‘गेस्टिक’ले सताइरहन्छ। आफ्नै हातले पाचक बनाउँछु, तर पेट दुखेका बेला जब त्यो पाचकको बट्टा खोल्छु, झलझली हजुरको याद आउँछ, अनि पाचक मुखमा हाल्नै गाह्रो हुन्छ। ‘पाचक सक्कियो बा! बनाएर पठाइदेऊ न’ भने झैँ लाग्छ। मारी बिस्कुट त खानै मन लाग्दैन। गाईको दूधको तर सँगालेर जब कहिलेकाहीँ घिउ बनाउँछु अनि ‘कोठा गन्हाए’ पनि हजुरले घुँडा दुख्दा लगाउने गाईको घिउ र कपुर बनाएर पठाइदिउँ झैँ लाग्छ।

यस्ता सम्झना त कति कति छन् आमा! कुनै जन्ममा फेरि हाम्रो भेट भएछ भने बिस्तार लगाउँला। त्यसो त आमाबुबाको आत्माले सन्तानको सुखदुःख महसुस गर्छ भन्छन्। हामी त हजुरका मुटुका टुक्रा! हजुर जहाँ पुगे पनि हामीमाथि आफ्नो कृपादृष्टि राखिरहनु हुने नै छ।

आमा! हजुर नभएको त्यो घर अब रित्तो रित्तो लाग्नेछ। पाइला लाग्न कठिन हुनेछ अब त्यहाँ किनकि अब छोरीहरू कतिबेला आउँछन् भनेर दिनभर बार्दलीबाट पर परसम्म तन्किएर हेर्ने हजुरका आँखा हुने छैनन्। ‘दुब्लाइछौ नि बा!’ भन्दै मुसार्ने हात त्यहाँ हुने छैनन्।

त्यो बुढ्यौलीमा पनि सखारै उठेर नुहाइवरी जपमाला लिएर फुसफुसाउने र कण्ठ पारेका देवी देवताका मन्त्र पाठ गर्दै रामायण, महाभारतका श्लोक भन्ने हजुर बस्ने त्यो रातो प्लास्टिकको कुर्सी पनि छैन होला। अनि बिदा भएर हिँडेपछि ‘पुग्नेबित्तिकै फोन गरे है बा!’ भन्दै त्यही बार्दलीमा बसेर आँखाबाट ओझेल नहुन्जेलसम्म हेरिरहने हजुर नभएको त्यो घरमा कसरी जाउँ आमा म?

हजुरको यो वार्षिक पुण्य तिथि (२०७८ आश्विन २२) मा आँसुले भिजेका यी शब्दपुष्पले हजुरको स्मरण गरेकी छु। अन्तिम भेट, अन्तिम दर्शन गर्न नपाउनुको पीडा त जीवनभर रहिरहने छ, हजुर यो भवसागरबाट मुक्त भएर हजुरले कामना गरेजस्तै ‘बैकुण्ठ धाममा’ सदा बास गर्नुहोस् र जन्म मृत्युको बन्धनबाट मुक्त भएर हामीलाई आशीर्वाद दिइरहनुहोस्। हामी सम्पूर्ण छोरीहरूको तर्फबाट हृदयभरिको श्रद्धाञ्जली आमा!

प्रकाशित: ६ कार्तिक २०७८ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App