८ वैशाख २०८१ शनिबार
कला

साहित्य सम्मेलन : वक्ताले सिधै, स्रष्टाले घुमाउरो तरिकाले गरे एमसिसीको विरोध

भक्तपुरमा दुईदिनसम्म चलेको नेपालभाषा साहित्य तःमुँज्या(सम्मेलन) मा एमसिसीको विरोध भएको छ।

सम्मेलनमा निमन्त्रण गरिएका विभिन्न क्षेत्रका विज्ञ, प्राध्यापकहरुले मात्र नभएर सहभागी साहित्यकार, स्रष्टाहरुले समेत एमसिसीको विरोध गरेका हुन्।

भक्तपुरको देकोचास्थित ख्पव कलेजमा असोज ३१ र कार्तिक १ गते भएको एकचालिसौं नेपालभाषा साहित्य तःमुँज्या(सम्मेलन)मा सहभागी अधिकांश वक्ता तथा स्रष्टाहरुले एमसिसी सम्झौताले देशको हित नगर्ने भन्दै सो सम्झौतालाई खारेज गर्न समेत माग गरे।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ, नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सांसद सृजना सैंजू, नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले प्रत्यक्ष रुपमा एमसिसी देशका लागि घातक रहेको औंल्याए भने इन्जिनियर एवम् लेखक राजदास श्रेष्ठ, साहित्यकार नरेन्द्रराज प्रसाईं, साहित्यकार डा. रामप्रसाद ज्ञवाली, कवयित्री इन्दिरा प्रसाईं, सीमा अध्येता रतन भण्डारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न बज्राचार्य, सीमाविद् डा. बुद्धिनारायण श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. शम्भु पहाडी, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले पनि देशहितका लागि एकजुट हुन आग्रह गरे।

त्यस्तै सम्मेलनमा कथा, कविता, गीत, गजल, मुक्तक प्रस्तुत गरेका साहित्यकार तथा स्रष्टाहरुले पनि एमसिसी सम्झौता खारेज गर्न अनुरोध गरेका थिए।

कार्यक्रममा नेमकिपा अध्यक्ष बिजुक्छेँले देश हितविपरीतको एमसिसी सम्झौताबारे व्यापक नेपाली जनतालाई सचेत बनाउन अनुरोध गर्दै एमसिसीको विषयमा जनचेतना बढाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिए। उनले संसारका विभिन्न देशका नक्सा देखाएर जनतालाई हिन्द–प्रशान्त रणनीतिबारे सचेत बनाउनुपर्नेमा जोड दिए।

उनीसँगै नेमकिपाका सचिव सुवालले एमसिसी सम्झौता अमेरिकाको हिन्द–प्रशान्त क्षेत्रकै अङ्ग भएकाले सोको विरोधमा नेमकिपाले देशभर हालसम्म ५२ स्थानमा विरोध प्रदर्शन र सभा गरिसकेको जानकारी दिए। उनले छिमेकी देश चीनलाई घेराबन्दी गर्न संरा अमेरिकाको भारत, अस्ट्रेलिया, बेलायत, जापानलगायत देशलाई हातमा लिएर क्वाड र अउकसजस्ता बहुदेशीय गठबन्धन बनाएको प्रस्ट पारे। त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सांसद सृजना सैंजूले संसारका विभिन्न देशले एमसिसीभित्रको साम्राज्यवादी बदनियत बुझेर अस्वीकार गरेको प्रस्ट पार्दै संरा अमेरिकाले डलरलाई आफ्नो रणनीतिक, आर्थिक र राजनीतिक हतियार बनाएको बताइन्।  

नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले शासक पार्टीहरुले जनताको सेवा गर्ने भावना नराखेकोले पटक–पटकका राजनीतिक परिवर्तनले पनि जनतालाई फाइदा दिन नसकेको बताए। सोही कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले २०१८ सालमा आफ्नो नेतृत्वमा जनगणना भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अहिले पनि जनगणना गर्नुपर्ने र जनगणना टोली पुग्नुपर्ने बताए।  

कवितामा प्रजापति कथामा पहिजू प्रथम

तःमुंज्याको साहित्य प्रतियोगिताअन्तर्गत कवितातर्फ विकल प्रजापति प्रथम, सकुन्तला महर्जन द्वितीय, काशीराम विरस तृतीय र अर्चना छुकां सान्त्वना भएका थिए।

त्यस्तै कथा विधातर्फ श्रीया पहिजू प्रथम, एलके सुन्दर द्वितीय, श्रीभक्त जोशी (सँक्व) तृतीय र कृष्णप्रसाद सुवाल सान्त्वना भएका थिए। उनीहरुलाई नेमकिपा अध्यक्ष बिजुक्छेंले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: २ कार्तिक २०७८ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App