दृश्य एक
सयौंको संख्यामा दर्शनार्थी जानकी मन्दिरमा झूला (मिथिलाञ्चलमा झूलन भन्ने गरिन्छ) हेर्न झुम्मिरहेका छन्। मुख्य मन्दिरको प्रकोष्ठ परिसरमा सजाइएको झूलन कार्यक्रमलाई एक झलक हेर्न धकमधुक्की गरिरहेका दर्शनार्थी व्यवस्थित गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। दर्शकहरू बीचबीचमा ‘श्रीराम चन्द्र की जय’, ‘सियासुकुमारी की जय’ भन्दै तलको पौदानबाट आफूलाई उचाल्दै अगाडिको पौदानमाथि कब्जा जमाउँदै अगाडि बढ्दैछन्। जसरी पनि राम लला र माता सीताको झुल्दै गरेको स्वरूप हेर्ने रहर मेटाउनुपर्ने।
भित्र कुनै नचनियाँ पार्टी झूला, मलार बाह्रमासा आदि गाउँदै दर्शकहरूलाई मनोरञ्जन गराउँदैछन्। शास्त्रीय विधाका सामान्य ठुमरी गीतको नाचमा रमेका नचनियाँको गायन बाहिर आउन संघर्षरत भीडलाई झनै उत्तेजित पार्दैछः
बरिसन चाह बदरबा हे उधो !
खन बरिसय, खन दामिनी दमसय
खन–खन बहय बयरबा हे उधो !
पुरा मन्दिर परिसर भक्तिमय भइसकेको छ। चारैतिर एउटा श्रद्धा, आनन्द र शान्तिको माहोल छ। (यो दृश्य केही दशकअघिको हो)
दृश्य दुई
जानकी मन्दिरमा झुलनोत्सव हुँदैछ। प्रकाश कमजोर छ। महन्थजीको अनुहारमा त्यो चमक छैन। आयको सम्पूर्ण स्रोत अरगजा र तेलहा मोरहाको डिलमा बनेका दर्जनौं पक्की घरका डिल सफाइका नाउँमा भत्काइएको छ। मात्र चढौनाको आस, त्यो पनि कति ? कसैलाई थाहा हुन्न। महन्थजीको अनुहारमा उदासी भए पनि मानिसमा उत्साहको कमी छैन। तर, त्यस्ता उत्साही मानिसको संख्या निकै थोरै छ। पहिलेको नाचगान छँदैछैन। न त ती देवी न त्यो कराही। तब झूलाको विधि पूरा गर्ने काम मात्र भइरहेको छ।
यी दुवै दृश्यबाट जनकपुरधामको झुलनोत्सवको तीन दशकभित्रको कथा स्पष्ट हुन्छ। पहिले जनकपुरका दर्जनौं कुटीमा झूलाको कार्यक्रम हुने गर्थ्यो। जानकी मन्दिरमा शास्त्रीय नाचगान। रामन्दिरको झूलाघरमा फिल्मी नाचगान। त्यस्तै सरन्चिया, बहुअर्वा कुटीमा छोकरबाजी नर्तकहरूको कमाल। रत्नसागर, विहारकुण्ड, रामानन्द आश्रम आदि महत्त्वपूर्ण कुटीहरू हुन्। उता मानिसहरू उत्साहित भएर झूला देख्न जाने गर्थे र नाचगानको आनन्द उठाउँथे। अब त त्यो बितेका दिनको कथा हुन गएको छ। झूलाको आयोजन प्रत्येक वर्ष साउन द्वितीयादेखि पूर्णिमासम्म हुने गर्दछ। सिंहासनमा रामजानकीको मूर्ति राखिन्छन्। रेशमको डोरीले तानेर निरन्तर हल्लाउने गरिन्छ । नाचगानसहित भक्ति अध्यात्मको माहोल हुन्छ।
झूला कसरी व्यवस्थित गर्ने ?
अब भिडभाडको जमाना रहेन। त्यसैले आधुनिक प्रविधिको उपयोग गर्दै दर्शक, श्रोताको अध्यात्मिक तुष्टिका लागि पनि झूला महोत्सवको भव्य व्यवस्थापन गर्न सकिन्छ। यसमा जानकी मन्दिरअगाडि मणिमण्डप अर्थात् मणिजडित पहाडको दृश्य निर्माण गरी त्यहाँ झूलामा रामसीताको आकर्षक मूर्ति राखेर झुलाउँदै गर्दाको मनोरम दृश्य निर्माण गर्न सके यसले आकर्षण बढ्ने पक्का छ। साथसाथै स्वास्थ्यसम्बन्धी निर्देशन पनि पालना हुन्थ्यो। तर, यो गर्ने कसले ?
यसैबीच जानकी मन्दिरको विद्युतीकरणका नाउँमा करोडौं रकमको योजना कार्यान्वयनमा अनियमितताको आरोप लागिरहेको छ भने विश्व सम्पदा सूचीमा सूचीकृत हुने बाटोमा रहेको मन्दिरको स्वरूपसमेतमा आघात पुग्ने काम हुन लागेको नागरिक समाजको ध्यानाकर्षण सम्बन्धित निकायमा गराइएकाले त्यसको छानबिनका लागि प्रदेश सरकारले समिति बनाएर आवश्यक कारबाही अगाडि बढाएको छ।
यहाँका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाहरूलाई संरक्षण सम्वर्द्धन गरेपछि यसको विशिष्टता बाहिर जान्छ। अनि सबैखाले पर्यटक यसबाट लाभान्वित हुन यहाँ आउँछन्। राम मन्दिरको झूला पनि नामी हुने गथ्र्याे। यसका लागि छुट्टै भवनको व्यवस्था गरिएको थियो। नाम थियो झूलाघर। अब यो पनि बितेको दिनकै कथा भइसकेको छ। अब आफ्नै घेराभित्र झूलाको विधिविधान सम्पन्न गर्ने गरिन्छ।
झूलाको प्रारम्भ
वास्तवमा झूलाको प्रारम्भ सन्त परम्पराको सुरुवातसँगै भयो। सन्तहरू खुला चौरमा अथवा कुनै रूखको छायामुनि बास बसिरहँदा आफ्नो झोलामा श्रद्धापूर्वक राखिएको शालिग्रामलाई सानो आसनमा राखी हल्लाउँथे। यो क्रम आजसम्म जारी छ। सन्त सम्प्रदायको गढ मानिएको अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिएको वृन्दावनबाट यो झूला मिथिलाको यस प्राचीन नगरी जनकपुरधाममा आएको हुनुपर्ने अनुमान स्थानीय सन्तहरूको छ।
भनिन्छ, जब सीताजीको बिहे भएपछि माइतीबाट ससुराली बिदाइ हुँदा मैथिल परम्परा अनुसार दाइजोमा जेजति सोना, मणि, आभूषण दिइएको थियो, त्यसलाई उता अयोध्याको महलमा राख्न ठाउँ पुगेन, त्यसैले ती सबै बहुमूल्य सामग्री बाहिर राख्नुपरेको थियो। ती राखिएका सामग्री पहाडजस्तो आकार लिन पुग्यो रे ! मणि–माणिक्यको त्यस पहाडमा रामसीता साउनमा झूलामा रमाउने गर्थे। त्यसैकोे अनुश रणमा जनकपुरधामको बाह्रबिघामा झूलाको प्रारम्भ भएको दिन सबै मठमन्दिरका मूर्तिसहित आएका सन्तमहन्थ झूलाको आयोजन प्रथम दिनमा उल्लासपूर्वक गर्छन्, जसलाई मणिमण्डप भनिन्छ।
पहिले त ५२ वटा कुटीबाट युगल मूर्तिको आसन आउने गथ्र्याे। भव्य मेला लाग्थ्यो। अब त जनकपुरवासी मणिमण्डप पनि बिर्सन थालेका छन्। तर पनि सन्तमहन्थले यो परम्परा कायम राखेकै छन्।
अयोध्या र वृन्दावनतिर हुने झूला जनकपुरधाममा जानकी मन्दिरको निर्माणपछि मात्र व्यवस्थित भएको पुराना सन्तहरू भन्थे, जसको आदि स्रोत जानकी मन्दिरका प्रथम महन्थ महात्मा शूरकिशोर दास थिए। महात्मा शूरकिशोरको जनकपुर आगमनको समय सन् १७६० मानिएको छ। अर्थात्, २ सय ६१ वर्षपूर्व यहाँ झूलाको प्रारम्भ भइसकेको थियो। तर यसलाई व्यवस्थित गरे मौनी बाबाले। उनी जनकपुरधामको आध्यात्मिक विकासका पुरोधा व्यक्तित्व हुन्।
झूलाप्रतिको आकर्षणमा कमी हुँदै गएको छ। जानकी मन्दिरबाहेकका मन्दिर अब त्यति व्यवस्थित रहन सकेनन्। सन्तमहन्थका नाउँका जग्गा बिक्रीको खेलले मन्दिरहरूको आकर्षणमा व्यापक कमी ल्याएको छ। त्यसमा झन् विगत दुई वर्षदेखि कोरोनाको प्रकोपले गर्दा झूला आयोजनामा कटौती हुँदै गएको छ।
तर पनि सन्त सम्प्रदायको एउटा धार्मिक अनुष्ठानका रूपमा झूलाको निरन्तरता जारी छ, अति सामान्य रूपमा ।
प्रकाशित: ५ भाद्र २०७८ ०१:१० शनिबार