१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

उत्तम नेपालीको बैकुण्ठ प्रस्थान

कलाकार उत्तम नेपाली (कर्माचार्य) को साउन ६, २०७८ मा देहावसान भयो। काठमाडौंको टिचिङ हस्पिटलमा उनले आफ्नो अन्तिम श्वास लिए। लामो समयदेखि उनी अस्वस्थ थिए। गएको केही वर्षअघि उनलाई हृदयघात भएको थियो, तत्पश्चात् केही वर्षदेखि उनी एकान्तवासमा थिए।  

कला सिर्जना र कलाको विकासलाई सँगसँगै लैजाने उनको गहिरो सोच थियो। यसैको उपजका रूपमा आज हामीसँग भरपर्दो कला संरचना छ। उनी अति नै सरल र सहज थिए। कला सिर्जना र कला विकासको सन्दर्भमा उनी यथेष्ट रूपमा अझ सजग र सक्रिय थिए। कला, साहित्य, राजनीति, संस्कृति आदिमा उनको यथेष्ट ज्ञान थियो। समसामयिक राजनीतिमा चासो राख्नुका साथै समसामयिक घटनामा उनी सचेत भएर चर्चा गर्थे। समग्रमा सामाजिक, धार्मिक, आर्थिक क्षेत्रमा समेत एक समान ज्ञान हुँदा उनका कलालाई विशेष गरेर कलाका विद्यार्थीले अध्ययन गर्नैपर्ने हुन जान्थ्यो। उनका अन्य समकालीन कलाकारभन्दा उनका कलामा एक अलग्ग विशेषता पाइन्थ्यो। एउटै शैली र विषयमा उनले कहिल्यै काम गरेनन्। अति मसिना रेखालाई खेलाएर आकृतिमूलक काम गर्ने उत्तम अलि पछि आएर बोल्ड तुलिकाघातमा अमूर्त चित्र बनाउने कलाकारको रूपमा चिनिन्छन्।  

समसामयिकतामा गहिरो रुचि राख्ने उनका हरेकजसो कला सिरिज सामाजिक र राजनीतिक घटना वा अवस्थाकै वरिपरि घुमेको देखिन्छ। किनकि त्यसवेलासम्म नेपालमा प्रायः कलाकार कोठाको कुनामा बसेर कला बनाउँथे। बाहिर संसारमा के भइरहेको छ, यसलाई कलामा कसरी गाँस्ने आदि कुरामा सजग थिएनन्। त्यसवेला पश्चिमी कला शैलीले प्रवेश पाइसकेको थियो, तर अधिकांश कला नेपाली परम्परागत कलाको वरिपरि घुमेको देखिन्छ। यसर्थ त्यसवेला उत्तम नेपालीको उपस्थितिले एउटा अलग्ग कला मोडको संकेत गरेको देखिन्छ। विशेषतः उनका अमूर्त चित्र पनि आइसोलेसनका दबाबमा परेको देखिँदैन। नितान्त ठुल्ठूला तुलिकाघातबाट सौन्दर्य बोधका लागि मात्र उनले अमूर्तकला कहिले बनाएनन्। उनका कलाभित्र एउटा अर्थ, गहन विचार र दर्शन लुकेको हुन्थ्यो। उनले लखनउमा कलाको अध्ययन गरेका थिए, जहाँ भारतीय प्रख्यात कलाकार नन्दलाल बोसको छत्रछाया परेको थियो। यी नन्दलाल बोस पश्चिमी कलाको शैली र प्रवृत्तिमा भारतीय परम्परा र संस्कृतिलाई समायोजन गर्ने आन्दोलनका अग्रज खम्बामध्ये एक थिए। यसर्थ उत्तम नेपालीको कलालाई अध्ययन गर्न वा बुझ्न सकिएन भने, नेपाली आधुनिक कलालाई बुझ्न गाह्रो हुन्छ।  

कलाका विद्यार्थी लागि अनिवार्य सर्तजस्तै बनिसकेको थियो– उनीकहाँ जानु, उनका विचार र कला सिर्जना आदिबारे छलफल, बहस र चिन्तनमनन गर्नु। मिठो भाषामा बोल्न सक्ने, व्याख्या गर्न सक्ने एक अलग्ग क्षमताले गर्दा कलाका विद्यार्थी पनि मन्त्रमुग्ध भएर उनका कुरा सुन्न लालायित देखिन्थे। यसर्थ सबैसँग मिल्न सक्ने अद्भूत क्षमता भएका उत्तम नेपालीको नेपाली समसामयिक कलामा विशेष स्थान छ।  

सन् १९६० मा नेपालमा आधुनिक कलाको शुभारम्भ भयो, जतिबेला उनको स्थान सबैभन्दा अग्रपंत्तिमा रहन्थ्यो। यसवेला कला सिर्जना र कला विकासका क्रियाकलापमा लामो समयदेखि लागिपर्ने, लागि रहने कलाकारको रूपमा उनलाई लिनुपर्ने हुन्छ। जीवनको पछिल्लो कालमा उनी युवा कलाकार माझ सामान्य कला–कार्यशालामा पनि संलग्न भइरहन्थे। सडक, चोक र गल्ली वा कलाका ग्यालरीमा निर्धक्क उपस्थित भई आफूलाई ठूलो हुँ नभनी युवा कलाकारकै जोस–जाँगरमा उनले चित्र कोर्थे। दर्शक पनि उनका तुलिका कसरी क्यानभासमा कुद्दा रहेछन् भनी हेर्न झ्याम्मिएका देखिन्थे। हँसी–मजाक, रमाइलो गरिराख्ने उनको स्वभावले गर्दा युवा कलाकार उनीसमक्ष त्यसै पनि झ्याम्मिन जाने दृश्य देखिन्थ्यो। उनको सहभागिताले यस्ता कला वर्कसपको गरिमा त्यसै पनि ऐतिहासिक हुन जान्थ्यो।

स्वास्थ्योपचारका लागि कहिले अमेरिकामा (छोरीकहाँ) कहिले नेपालमा बस्नु परे पनि उनी सिर्जनामा तल्लीन भइरहेका हुन्थे। थर्थर हात कमाउँदै पनि उनी क्यानभासमा रङसँग खेल्न लालायित देखिन्थे। उनकी कान्छी छोरी प्रकृति भन्ने गर्थिन्– सायद यसो गर्दा बुवालाई आफ्नै रोगसँग लड्न थेरापी पनि हुँदो हो।  

काठमाडौंस्थित घरको पछाडिपट्टि उनको एक अलग्ग ठूलो कला स्टुडियो छ। जहाँ सयौँ मात्रामा उनका चित्र सुरक्षित ढंगले थाक लगाएर राखिएका छन्। अहिले भर्खर बनाएर राखिएका जस्ता देखिने सबैजसो उनका चित्र शैली र समयअनुसार अलगअलग मिलाएर राखिएका पनि छन्। छोराछोरीले उनका कलालाई यसरी स्याहारसुसार गरेको देख्दा उनका कला अवलोकन गर्न, अध्ययन गर्न आउने कलाकार, कलापे्रमी, कला अन्वेषक छक्क पर्छन्। व्यवस्थित ढंगबाट राखिएका यी कला कुनै कला संग्रहालयभन्दा कम लाग्दैन। कोठाको छेउमै आरामदायी कुर्सी र ठूलो इजलमा क्यानभास र वरिपरि आवश्यक हुने रङ राखिरहेको आज पनि देख्न सकिन्छ। आजभन्दा १५ वर्षअगाडि मैले देखेको यो परिदृश्य आज पनि त्यही अवस्थामा रहिरहनुको पछाडि उनका छोराछोरीको बाबुसँगप्रतिको अथाह माया, श्रद्धा देखिन्छ। यो आफैँमा धेरैले सिक्नुपर्ने पाठजस्तो भएको छ। यो घरमा अहिले जेठा छोराबुहारी बस्छन्। ‘कुनै पनि वेला बुबालाई मुड चलिहाल्यो भने यो कुर्सीमा बसेर चित्र बनाउन थालिहाल्नुहुन्छ,’ उनका जेठा छोरा उद्यम वेलावेला भन्थे। अमेरिका बस्ने जेठी छोरी ममताले भन्ने गर्थिन्– अहिले त बुबाले बिहान १२ बजेसम्म हामीलाई पनि चिन्न हुन्न। बिस्तारै दिन ढलेपछि हामीलाई चिन्दै जानुहुन्छ। यही नै ठूलो चिन्ताको विषय छ, यस्तो अवस्थामा पनि कहिलेकाहीँ चित्र बनाइहाल्नुहुन्छ।  

मैले १५–१६ वर्षअघि उत्तम दाइको घरमा दिन दिनभरि बसेर उहाँबारेकै एउटा पुस्तक तयार पारेको थिएँ। विभिन्न कारणवश त्यसवेला पुस्तक प्रकाशन हुन सकेन। जसलाई अहिले ललितकला प्रज्ञा प्रतिष्ठानले छाप्ने योजनामा राखेको छ। उनको बारेमा लेखिएको यो पहिलो पुस्तक हो। यो पुस्तकका लागि अरू थपथाप गर्न अमेरिकामा बस्ने ममता र काठमाडौंमा बस्ने आकृति र जेठो छोरा उद्यमसँग धेरैपल्ट कुराकानी गर्ने अवसर मिलेको थियो। पछिल्लो कालमा आएर हामी जसकसैलाई भेट्दा पनि नचिनेजस्तो अनि कुरै नगरी चुपचाप बस्ने आदि बानी भइसकेकाले अन्य जानकारी लिन छोरीकै सहारा लिनुपथ्र्यो।  

बिर्सने रोगले च्याप्दा पनि उनको कला स्टुडियो उता अमेरिकामा (छोरीले मिलाएर राखिदिएकी हुन्थिन्) र नेपालमै पनि तयार अवस्थामै रहेको हुन्थ्यो। कुनै पनि वेला उनका सशक्त तुलिकाघात क्यानभासमा कुदिहाल्न आतुर हुन्थे। पछिल्लो वेला उनका चित्र बढी पूर्ण अमूर्ततामा बगेको देखिन्छ। उनले गर्ने गरेका अमूर्तताभन्दा अलि बेग्लै पाराले यस्ता चित्र बनेका देखिन्छन्। यो एक अलग्ग अनुसन्धानको विषय बन्न गएको छ। तुलनात्मक अध्ययन गर्न कलाविद्का लागि एक अलग्ग क्षेत्रको निर्माण भएको देखिन्छ। उत्तम नेपालीको सोच, दर्शन र कलामा गहिरो सम्बन्ध रहेको पाइन्छ। चाहे उनले सुरुसुरुमा गर्ने गरेको ओरियन्टल आर्ट होस् वा पछिल्लो कालमा गरेका अमूर्त कला होस्– एउटै कला दर्शनबाट निर्देशित पाइएको छ। यही प्रक्रिया नै कलाविद्का लागि एउटा गहकिलो स्रोत र आधार हुन सक्छ। आकृतिमूलक, अर्धअमूर्त वा अमूर्त कला नै बनाइबसे पनि उनले तिनमा भिन्नता देख्दैनथे। उनको विचारमा यी सबैजसो कलाको अन्तर्भाव एकै हुन्छ भन्ने नै हुन्थ्यो। यसर्थ उनी कला मूर्त होस् या अमूर्त– दुवै एक समान हो भन्ने तर्क गर्थे। कलाको बाहिरी दृश्यमा भन्दा आन्तरिक कलातŒवमा भावकलाई पार्ने प्रभाव र सन्देश प्रवाहको अवयव लुकेको हुन्छ भन्ने उनको कला दर्शन हुन सक्छ।  

उत्तम नेपाली मात्र कलाकार थिएनन्, उनको कलाबाट नेपाली समसामयिक कलाले एक अलग्ग दिशा पाएको छ, वा एउटा अलग्ग धारले लय समातेको छ। यसर्थ उनलाई राम्ररी सम्झनुपर्दा उनको कलाका शैली प्रवृत्ति, कला दर्शन, समयानुकूल प्रयोग गर्ने अनेक विम्ब र मोटिफ, राष्ट्रप्रेम, संस्कृति र संस्कारप्रतिको अथाह माया, समाजमा रहेका अन्य विधा (चलचित्र, साहित्य आदि) लाई पनि सम्झनुपर्ने हुन्छ। यी सबै कुरालाई भन्न र लेख्न यहाँ अटाउने कुरै भएन। तथापि यसैको थोरै कुरा अभिलेखन गर्ने जमर्को भएको छ।  

उत्तमका कलागत शैली प्रवृत्ति  

नेपालको कला इतिहासमा सन् १९६० तिर पश्चिमी शैली र पद्धतिले डोमिनेन्ट गरेर अगाडि बढेको देखिन्छ। प्रजातन्त्रको उदय (२००७ साल)पछि बाह्य राष्ट्रमा आम नेपालीको पनि सहजै पहँुच बढ्यो। सँगसँगै खुला वातावरणमा अनेक राष्ट्रले कलालाई अध्ययन गर्ने अवसर प्रदान पनि गरे। स्वभावतः यस्तो अवस्थामा कलाकार विदेशमा कलाको अध्ययन गर्न गएको देखिन्छ। बाहिरबाट कला शिक्षा लिएर आएपछि धेरैजसो कलाकारले त्यहाँ जे सिके, नेपालमा पनि त्यही नै प्रयोग र अभ्यास गरेको देखिन्छ। कला स्कुलमा पनि पाठ्यक्रमको ढाँचा फरक ढंगबाट बन्न सकेन। माध्यम, विषय, चित्रण पद्धति हुबहु लागू गर्न खोज्दा कलामा नेपालीपन हराएर गयो। त्यसबेला कति ठाउँमा कपी कलाको भरमार प्रयोग भएको देखिन्छ। यसरी आफ्नो कलाको मौलिकतामा सचेत नहुँदा, यसलाई समायोजन गर्न नजान्दा आफ्नै कला परम्परा हराएर गएको आभास स्पष्ट देखाप¥यो।  

यसो हुँदा हामीकहाँ सदियौँदेखि चल्दै आएको आफ्नो कला शैली र परम्परालाई आजको कलासँग जोडिन आवश्यक थियो। यो सन्दर्भमा उत्तम नेपालीलाई सम्झनुपर्ने हुन्छ। उनले कलाका स्कुल वा क्याम्पसमा प्राध्यापन गर्न कहिले गएको देखिँदैन। तथापि नेपाली कलामा नेपालीपनको समायोजन कहीँ न कहीँ उनीसँग नजिक भएर अगाडि बढेको देखिन्छ। पछिल्लोकालमा आएर कलाको पाठ्यक्रममै यो विषयलाई कतिको पढाइयो वा पढाइएन, हामीसँग अभिलेख छैन। उनी पछिका अति महŒवपूर्ण आधुनिक कलाकारबाट यसको परम्परा कायम भएको देखिन्छ। यसको सन्दर्भ उत्तम नेपालीसँग परोक्ष रूपमा सम्बन्धित देखिन्छ। पश्चिमी कला शैली र पद्धतिमा ज्ञान र सीप हासिल गरिसकेपछि उनले नेपाली कलाको परम्परा, संस्कार र परम्परालाई अझ गहिरिएर अध्ययन गरे। यसलाई आफ्नो कलामा प्रवेश गराए। यसरी तयार गरेर बनेका कैयौँ चित्र एकल कला प्रदर्शनीको रूपमा सार्वजनिक भएका छन्। यसैवेलादेखि एकल कला प्रदर्शनी गर्ने परम्पराको थालनी भएको सन्दर्भ पनि परोक्ष रूपमा उनीसँग गाँसिएको देखिन्छ। उनैले चित्रमालाको परम्परा सुरु गरेका छन्।  

उत्तम नेपालीमा गहिरो राष्ट्रप्रेम देखिन्छ। उनका बुवाको लखनउमा व्यापार थियो, यसर्थ सानै छँदा उनलाई लखनउ लगिएको थियो। बाबु राम्रो व्यापारी भएकाले उनलाई पनि व्यापारी बनाउन चाहन्थे, उनीचाहिँ कलाकार बन्ने सुर कसेपछि बाबुछोराको कहिले पनि मेल हुन सकेन। यो क्रम उत्तमको जीवनको अन्तकालसम्म देखिन्छ। आफ्नो पहिलो एकल कला प्रदर्शनीमा उनले बाबुलाई समेत निम्तो दिएका थिए। आफूले ठूलै काम गरेको देखाउन खोज्दा बाबुले वास्ता नगरेको सन्दर्भ बडो मार्मिक छ। त्यतिवेला राजाबाट कला प्रदर्शनीको उद्घाटन गर्नुलाई ठूलो कुरा मानिन्थ्यो। तत्कालीन राजा महेन्द्रले यो कला प्रदर्शनी उद्घाटन गरेका थिए। यही कुरा कलामा लागेर पनि राम्रो काम गरेको ठहरिन्छ भनेर उनले आफ्ना बुवालाई बुझाउन खोजेका थिए। तर, बुवा आएनन्।  

उनी काठमाडौंमै पुर्खाले बनाएको घरलाई छाडेर नजिकै अनकन्टार सुनसान ठाउँमा एकलकाँटे भएर सानो घर किनेर बसेका थिए। यो अचम्मको एल आकारको पुरानो घरलाई कलाकार, साहित्यकार जमघट हुने ठाउँ बनाएको उनैकी छोरी आकृतिले सुनाउने गर्छिन्। उनको स्कुले पढाइदेखि सम्पूर्ण बाल्यकाल लखनउमै बितेको थियो। लखनउमा स्कुल पढ्दा बडो ठाँटबाँठका साथ स्कुल गएका उत्तम स्कुल सकेपछि हिरो बन्ने धुनमा मुम्बई पुगे। परिवारलाई थाहै नदिई मुम्बई पुग्दा घरमा रुवाबासी चलेको थियो। उनी हिरो बन्न भने पाएनन्। बरु नेपाल आएपछि ‘आमा’ भन्ने चलचित्रमा अभिनय गरे।  

यसै वेलाका कलाकार कलाको अध्ययन गर्न भारत वा अन्य मुलुक जाने र अझ उच्च शिक्षाका लागि युरोपसम्म पुग्ने गर्थे। पढाइ सकेपछि उतै बस्ने परम्पराको विकास भएको देखिन्छ। यस्तो अवस्थामा उत्तम नेपाल फर्के र हुलाक विभागमा जागिरे भए। उनले हुलाक विभागमा अनेकौँ टिकटका डिजाइन गरे। आज टिकटको इतिहासमा यो एक अलग्गै इतिहास बनेर अभिलेखन भएको छ। भारतमा रहेकाले उनी हिन्दी भाषाबाट प्रभावित भएका थिए, घर फर्केपछि उनले पुनः नेपाली र आफ्नो मातृभाषा नेवारी सिक्नुपरेको थियो। यो उनको राष्ट्रप्रेम भन्दा अरू के हो र ? लखनउमा स्कुल पढेका वेला उनले नेपाली भन्ने टाइटल समेत राखेका थिए। बाहिर पनि म नेपाली हँु भन्ने गौरव देखाउन चाहन्थे सायद। यसरी उनको राष्ट्रप्रेम झल्कने धेरै सन्दर्भ देखापरेको छ। कलाका कैयौँ क्षेत्र र विधाको परिवर्तनमा उनको हात रहेको छ। धेरैजसो ठाउँमा उनले नै अगुवाई गरेका छन्।  

नेपाली परम्परागत कला र धर्म–संस्कृतिलाई उनले कसरी आधुनिक कलामा समायोजन गरे भनी अवलोकन गर्न उनले १९६९ मा गरेको ‘टुँडाल एट्राक्ट मी’ नामक एकल कला प्रदर्शनीको उल्लेख गर्नुपर्ने हुन्छ। नेपालको कला इतिहासमा एकल कला प्रदर्शन नै गरेर नेपाली कला संस्कृतिको समसामयिक कलामा समायोजनका साथ सिर्जना गरेको यो घटना पहिलो हुनुपर्छ। यसवेलाका उनका कला समायोजन मात्र थिएनन्, यौन र यौनक्रीडामाथि रहेको उनकोे दर्शन अझ आकर्षक छ। उदाहरणका लागि उनी भन्छन्– यौनविना हामी सम्भव थियौँ ? सत्य र सौन्दर्यताका लागि कलाकार यौन चित्र बनाउँछन्। नग्नता नै श्लील सत्यता हो। नग्नता पूर्ण सौन्दर्यबोधका लागि हो। अश्लीलता त पाखण्डीले गर्ने कुरा हो। तपाईंको आँखा सुन्दर छन्, किनकि यो नग्न छ। फूललाई वस्त्र लगाइदियो भने के होला ? चन्द्र, सूर्य, बादल, आकाश सबै नग्न छन्। यस्ता अनेकौँ दर्शनका आधारमा यो टुँडाल चित्रमालाको सिर्जना भएको छ। प्यागोडा मन्दिरको छानो अडाउने यो टुँडालभित्र रहेका अनेकौँ देवीदेवताको काष्ठकलाको उल्लेख त कलाविद्ले गरेका छन्। तथापि यसैलाई कलाको मुख्य विषय बनाएर गरेको आधुनिककला सर्वथा अलग्ग हो। त्यसवेला यसमा खासै चर्चा हुन सकेको छैन। तथापि अहिले सोचेर हेर्दा यो नेपाली परम्परागत वास्तुकलाको महŒवपूर्ण भाग बन्नु महŒवपूर्ण सन्दर्भ मान्नैपर्छ।  

आज उच्च चर्चामा रहेको कन्टेक्सचुअल कलाको प्रथम नमुनाका रूपमा उनले सरकारको गाउँ फर्क अभियानका बारेमा चित्र बनाएर सन् १९६८ मा एकल कला प्रदर्शनी गरेका थिए। यसवेला यस्ता चित्रलाई कन्टेक्सचुअल कला भनेर नामकरण गर्ने चलन थिएन। तथापि अहिले हेर्दा उनले कन्टेक्स्टलाई कसरी आफ्नो कलाको केन्द्रबिन्दुमा राख्ने सोच रहेछ भन्ने स्पष्ट अनुभव गर्न सकिन्छ। अझ सरकारको विकासको नौलो अवधारणाको आह्वान र कलाकारले यसैमा आफ्ना कलाको सिर्जनामार्फत सम्मान गर्ने र आममान्छेमा आफ्नो चित्रमार्फत यो सन्देशलाई प्रवाह गर्ने घटना सम्भवतः आजको दिनसम्म हुन सकेको छैन। कला र राजनीतिलाई सकारात्मक समन्वयको यो घटनालाई एक अलग्ग पाराले पनि लिनुपर्ने हुन्छ। यसर्थ यसलाई आधुनिक कलाको एउटा नयाँ धारलाई स्थापित गरेको पनि मान्नुपर्छ। कलामा नयाँनयाँपन भिœयाउने र यसैलाई नेतृत्व प्रदान गर्ने उनीमा विलक्षण प्रतिभा थियो।  

२०४२ सालमा पहिलोपल्ट राष्ट्रिय स्तरको कला संस्था नेपाल कलाकार समाज स्थापना भयो। जसमा उनी संस्थापक अध्यक्ष बने। उनी यसबखत निर्विरोध अध्यक्षमा चुनिएका थिए। अन्य सबैजसो पदका लागि चुनाव भए पनि अध्यक्षमा सबैको एक मतले उनलाई छानिएको थियो, यसबाट उनलाई अन्य कलाकारले कुन दर्जामा राखेका रहेछन् भन्ने स्पष्ट हुन्छ। यसैमा संलग्न भएर कलाका धेरै कार्यक्रम उनको अगुवाइमा भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनाका लागि गरिएका धेरै कार्यक्रममा उनैको अगुवाइ थियो। यो क्रमलाई अझ सशक्त बनाउन ललितकला कार्य विकास समिति (एक्सन कमिटी) भनेर अर्को ठूलो कलाकारको भेलाले स्थापना ग¥यो। ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना गर्ने एउटै मात्र लक्ष्य राखी स्थापना गरिएकोे यो समितिका संयोजक पनि उनै थिए। तत्कालीन सरकारबाट ललितकला सम्भाव्यता अध्ययन गर्न बनाइएको एक सरकारी समितिमा पनि उनै थिए। ०५४ सालतिर परिवर्तित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उनी नै प्राज्ञ परिषद्का सदस्य बन्न पुगेका थिए। ललितकला संस्था अन्तर्गत नेपाली समसामयिक कला खरिद गरी एक राष्ट्रिय स्तरको वीरेन्द्र कला संग्रहालय बनाउने निधो भयो। यसका लागि एक अलग्ग समिति बनाइयो, जसका संयोजक पनि उनै थिए।  

नेपालमा पहिलोपल्ट नेपालका प्रबुद्ध साहित्यकारको कविता (अक्षर)लाई आफ्ना क्यानभासमा स्थापित गरेर उनले कला सिर्जना गरेका थिए। क्यालिग्राफी आर्टको विश्वभरि प्रचलन छ। शास्त्रीय कलाको रूपमा त विश्वमा यसको लामो इतिहास छ। विशेषगरी पाकिस्तानमा यसलाई आधुनिक कलाको स्वरूपमा पनि अगाडि ल्याइएको थियो। यही क्यालिग्राफी आर्टको थोरै झझल्को दिने उत्तम नेपालीका यस्ता कला नेपालमा भने एक अलग्ग स्वरूपमा देखापरेका थिए। जसलाई चित्रमालाको रूपमा विकास गरेर सन् १९७५ मा एकल कला प्रदर्शनी समेत उनले गरेका थिए। जसको नाम ‘कवि कविता र चित्र’ राखिएको थियो। पछि सन् १९९८ मा पुनः साहित्यकारकै समन्वय र सहकार्यमा यस्तै प्रकारका कला उनीबाट निर्मित भएका छन्। यसपटक साहित्यकारको पोट्रेट बनाएर अझ अलौकिक कलाको निर्माण उनले गरेका थिए। पोट्रेट कला त धेरैले बनाए, यसमा साहित्यकारकै पनि यस्ता व्यक्तिचित्र बनेका छन्। तथापि उत्तमले यसलाई आफ्ना कलाको एक पात्रका रूपमा स्थापित गरी प्रस्तुत गरेको सन्दर्भ त्यसवेला नितान्त नौलो देखिएको थियो। उनी आफैँ पनि कवि हुन्, उनले १९६१ तिर कविता संग्रह समेत निकालेका छन्। उनी राम्रो गीतकार पनि हुन्, उनका गीत त्यसवेला रेडियोमा खुबै बज्ने गर्दथ्यो। यसैले पनि उनको कलामाथिको सोचले एक अलग्ग कलाको धारलाई स्थापित गर्न मद्दत गरेको थियो। आजका अधिकांश समसामयिक कलाकार उनकै सोच, सिद्धान्त र परम्परालाई अघि बढाउन कसरत गरिरहेका छन्।  

(मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: १६ श्रावण २०७८ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App