बैदेसिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली नागरिकको संख्या हालसम्म ६९ लाख २३ हजार ४४३ पुगेका छन्। त्यसमध्ये अधिकांश पुरुष रहेका छन् भने केही महिला छन्। विवरण अनुसार महिला ७.१ प्रतिशत र पुरुष ९२.९ प्रतिशत रहेका छन्।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरे अनुसार २०८२ फागुनसम्म बैदेसिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ६९ लाख नाघेको हो। विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बैदेसिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको छ।
त्यसैगरी यस अवधिमा बैदेसिक रोजगारीमा जान पुनःश्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ।
सर्वेक्षण अनुसार २०८२ फागुनसम्म नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ। यसमध्ये महिला १२.१ प्रतिशत र पुरुष ८७.९ प्रतिशत रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या पाँच लाख ३४ हजार ४७१ रहेको थियो। विवरण अनुसार आव २०८१/८२ मा बैदेसिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १० प्रतिशतले बढेर पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १८.५ प्रतिशतले बढेर तीन लाख ३३ हजार ३०९ पुगेको थियो।
विवरणमा उल्लेख गरे अनुसार सन् २०२६ को जनवरीदेखि मे २१ सम्म इपिएस प्रणालीमार्फत थप दुई हजार ४८२ नेपाली कामदार दक्षिण कोरिया गएका छन्। यस्तो संख्या सन् २०२५ मा ११ हजार १७८ रहेको थियो। हालसम्म पुरुष एक लाख १५ हजार २४० र महिला आठ हजार ९७३ गरी जम्मा एक लाख २४ हजार २१३ कामदार बैदेसिक रोजगारीका लागि दक्षिण कोरिया गएका छन्। पछिल्लो समयमा नेपाली कामदाको गन्तव्य स्थल पनि परिर्वतन भएका छन्। परम्परागत रूपमा खाडी मुलुकहरू नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेका थिए। पछिल्लो समयमा खाडी मुलुकका अतिरिक्त रोमानिया, जापान, दक्षिण कोरिया, सर्विया, माल्टा र पोर्चुगलजस्ता युरोपेली एवं विकसित देश आकर्षक गन्तव्य मुलुकका रूपमा विकास भएका छन्।
बैदेसिक रोजगारीका लागि १११ देश खुला
हाल बैदेसिक रोजगरीको लागि संस्थागत रूपमा १११ देशलाई खुला गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म एक हजार ७६५ म्यानपावर कम्पनीले बैदेसिक रोजगारीको लागि श्रमिक पठाउने प्रयोजनका लागि इजाजतपत्र प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बैदेसिक रोजगारीको सिलसिलामा एक हजार ८६ नेपाली कामदारको मृत्यु भएको जनाइएको छ। सोही अवधिमा मृतकका परिवारका सदस्य तथा नजिकका हकवालाले क्षतिपूर्तिबापत ६३ करोड २२ लाख रूपैयाँ प्राप्त गरेका छन्। बैदेसिक रोजगारीको क्रममा शारीरिक रूपमा अंगभंग तथा बिरामी भएका ६०१ कामदारले आर्थिक सहायता प्राप्त गर्ने व्यवस्था छ। जस अनुसार २०८२ फागुन मसान्तसम्म बैदेसिक रोजगारीको क्रममा शारीरिक रूपमा अंगभंग तथा बिरामी भएका ६०१ कामदारले आर्थिक सहायता प्राप्त गरेका छन्। यसैगरी बैदेसिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकका तीन हजार ४८७ जना सन्ततिले शिक्षामा छात्रवृत्ति सुविधा लिएका छन्।
३२ करोड क्षतिपूर्ति
आव २०८१/८२ मा बैदेसिक रोजगारीसम्बन्धी २१५ मुद्दा अदालतमा दायर भई पीडितलाई क्षतिपूर्ति स्वरूप ३२ करोड ८७ लाख ३७ हजार ४६५ रुपैयाँ उपलब्ध गराइएको सर्वेक्षणमा उल्लेख छ। चालु आर्थिक वर्षको फागुनसम्म २७३ मुद्दा अदालतमा दायर भई क्षतिपूर्ति बापत तीन करोड ५० लाख १८ हजार ६०० उपलब्ध गराइएको छ। संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा हाल सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रम सञ्चालन भइरहेको छ। उक्त कार्यक्रम ७७ जिल्लाका ५५७ स्थानीय तहमा सञ्चालन भइरहेको छ। यस कार्यक्रमबाट चालु आर्थिक वर्षको फागुनसम्म तीन लाख आठ हजार ४१२ व्यक्तिले बैदेसिक रोजगारसम्बन्धी सेवा प्राप्त गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ।
प्रकाशित: २२ जेष्ठ २०८३ ०९:४० शुक्रबार





