राजेन्द्र पहाडी
शहरको भित्री सडक र नाली निर्माणको काम धमाधम भैरहेको थियो। ज्यामीहरू आआफ्नो काममा व्यस्त देखिन्थे। आफ्नो घर अगाडिको नाली र बाटोको काम गुणस्तरीय नभएको, लेभेल नमिलेको, सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलाइएको तथा नालीको गारोमा टिप्कार प्लास्टर नगरिएकोले निर्माणको गुणस्तर अत्यन्त कमजोर भएको भन्दै सरोकारवालाहरू गुनासो गरिरहेका देखिन्थे।
स्थानीय भगवानप्रसादले भने– ‘व्यवस्था मात्र परिवर्तन भएर के गर्नु, हाम्रा नेता, सरकारी कर्मचारी, ठेक्कापट्टा लगाउने र लिनेको गति–मति उही पुरानै छ। देशले समृद्धि हासिल गर्छ भन्ने त भाषणमा मात्र हो।’ ‘नागरिकको अवस्था परिवर्तन हुने गरी काम हुन त रामराज्य चाहिन्छ बाबै, यो चालाले त यो देशको शासन–प्रशासनमा जो आए पनि केही हुँदैन ।’भगवानप्रसादको बोलीमा लोली मिलाए समाजसेवी भैटोपलेका थमनलालले ।
स्थानीय सरोकारवालाको कुरा सुनिरहेको पिटी ठेकेदार सेवकरामले बोल्यो– ‘कसरी गुणस्तरीय काम गर्न सकिन्छ त, दश ठाउँमा नजराना चढाएर बल्लबल्ल ठेक्का हात पारिएको छ। नौ करोडको ठेक्कालाई ६ करोडमा जिम्मा लिएपछि कसरी राम्रो काम हुन्छ?’
‘दलका नेतादेखि कर्मचारीसम्मलाई चित्त बुझाउनै पर्यो, जब साँझ पर्छ तब प्रोजेक्ट साइट हेर्ने इन्जिनियर र ओभरसियरलाई उनीहरूले भनेजस्तो खुवाउनुपर्छ ।’ –ऊ भुत्भुताउँदै थियो।
‘यतिका तनाव बेहोरेपछि अलिअलि त हामीले पनि खानुपर्यो नि, कि कसो ?’ उसको कुरा सिद्धिएको रहेनछ स्थानीयतिरै फर्केर प्रतिप्रश्न तेर्सायो।
काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेजस्तो स्थानीयले जति आवाज उठाए पनि कतै सुनुवाइ भएन। वडा सदस्यले अध्यक्षलाई देखाए, वडा अध्यक्षले नगरपालिकाका मेयरलाई देखाए, मेयरले सांसदलाई देखाए, सांसदले सम्बन्धित मन्त्रालयका कर्मचारीलाई देखाए। यो विषयमा जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारी पनि निरीह देखिए। एकले अर्कालाई देखाउँदादेखाउँदै निर्माणको काम सम्पन्न भैसकेको थियो। नवनिर्मित सडक तथा नाली स्थानीय पालिकालाई हस्तान्तरण गर्ने दिनसम्म आधाजसो भाग भत्किएर तत्काल मर्मतसम्भार गर्ने अवस्थामा पुगेको देखिन्थ्यो। स्थानीयहरू कानेखुशी गर्दैथे– ‘यसै साताभित्र नगरपालिकाले सोही सडक तथा नालीको मर्मतसंभारका लागि ठेक्का लगाउने सूचना निकाल्दै छ रे।’
प्रकाशित: १ श्रावण २०७८ ०८:०८ शुक्रबार