१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचन : बालेन,हर्क र गोपालको समर्थन कसलाई?

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र लहर चल्यो । काठमाडौंमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमाल ठूला सङ्गठन भएका दलका उम्मेदवाहरूलाई फराकिलो मतान्तरले पछि पार्दै चुनिइए।

रवि लामिछानेले त त्यही लहर समातेर दल नै बनाए। 'स्वतन्त्र' नाम गुथेर पार्टी नै बनाएका उनले प्रतिनिधि सभामा २० सिट प्राप्त मात्रै गरेनन्, पछि उपप्रधान र गृहमन्त्री नै बने। अहिलेको उनको कथा फरक छ, त्यो छुट्टै कुरा। तर, उनलाई स्थानीय तह निर्वाचनमा चलेको स्वतन्त्र लहरले सहयोग गरेकै हो।

अहिलेसम्म पनि त्यो लहर सेलाइसकेको छैन। त्यसको परपुष्टि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै गरेको कीर्तिपुर नगरपालिका प्रमुख पदमा परेको उम्मेदवारीले गरिहाल्छ। त्यहाँ १९ जनाको उम्मेदवारी परेको छ। जहाँ, ९ उम्मेदवार स्वतन्त्र हुन्। यसबाहेक उपनिर्वाचन हुने ४४ पदमध्ये अन्य केही पालिका तथा वडामा पनि स्वतन्त्र उम्मेदवारी परेका छन्।

त्यसो त अघिल्लो पटक स्वतन्त्र रूपमा चुनिएर सर्वाधिक चर्चा कमाउने खासगरी तीनजना काठमाडौंका बालेन शाह, धरानका हर्क साम्पाङ र धनगढीका गोपाल हमालले यो उपनिर्वाचनमा के गर्दैछन् ? कसलाई समर्थन गर्दैछन् ? यो जिज्ञासाको विषय हो।

र, यो भन्न सकिन्छ कि यी तीन जनाले कसैको पक्षमा आह्वान गरेको खण्डमा 'भोट प्याटर्न' बदलिन सक्छ। अघिल्लो निर्वाचनयता चर्चामै रहेका उनीहरूसँग पुराना र परम्परागत दलहरूसँग अघाएका मतदाताहरू आशावादी देखिन्छन्। र, खासगरी युवा पुस्ता पुराना दल तथा नेताहरूसँग वाक्कदिक्क छन्। यस्तो बेलामा उनीहरूको कदम के रहन्छ भन्ने कुराले भूमिका खेल्न सक्छ।

***

तीन मेयरमध्ये धरानका हर्क साम्पाङले त स्वतन्त्र उम्मेदवारहरूलाई समर्थन गर्ने घोषणा नै गरिसकेका छन्। उनले घोषणा मात्रै गरेका छैनन्, कार्यान्वयनमा समेत उत्रिसकेका छन्। उनले कीर्तिपुरका स्वतन्त्र उम्मेदवार राजमान मानवका लागि त फिल्डमै पुगेर मत मागिसकेका छन्। उनी उम्मेदवार मानवसँगै कीर्तिपुरका विभिन्न स्थानहरूमा पुगेका थिए।

मुलुकको समृद्धि र विकासका लागि श्रम नै मुख्य रहेको बताउँदै आएका हर्कले ११ वर्षदेखि सरसफाइ अभियान चलाउँदै आएका मानवका लागि खुलेर मत माग्ने गरेका छन्। उनले सामाजिक सञ्जालदेखि भौतिक उपस्थितिमा नै पनि मानवका लागि मत मागेका छन्।

कीर्तिपुरका स्वतन्त्र उम्मेदवार राजमान मानव, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र अन्य समर्थकहरू ।

'उहाँ राम्रो हुनुहुन्छ, स्वतन्त्र हुनुहुन्छ, त्यसैले पनि म उहाँको पक्षमा उभिएको हुँ। उहाँसँग दल छैन, नेता छैनन्, कार्यकर्ता छैनन्। त्यसैले उहाँले जनतासँगै घुलमिल भएर बस्न सक्नुहुन्छ। स्थानीय सरकार प्रमुख त्यस्तै मान्छे चाहिन्छ । स्थनीय सरकार भनेको छाम्दा भेटिने सरकार हो,' हर्कले भने।

उनले स्वतन्त्र हुँदा धेरै काम गर्न सकिने दाबीसमेत गरे। 'काठमाडौं, धरान र धनगढीको धेरै नाम आउँछ, किनहोला भने मेयरहरू स्वतन्त्र भएर होला। चाहियो भने त चेन्ज गर्न सकिन्छ नि। सातसय ५३ वटा स्थानीय तहमा अरुको नाम किन आउँदैन भन्दा त माथि नेताका ताँती छन्, तल कार्यकर्ताका लाइन छन् , अनि कसरी गर्न सक्छ। त्यसैले उहाँले चाहँदा ठूलो काम गर्न सक्नुहुन्छ,'हर्कले थपे।

उनले स्वतन्त्र उम्मेदवारहरूलाई खुलेर समर्थन गर्ने बताए। 'राजमान मानवलाई चाहिँ मैले खुलेर समर्थन गरेको छु,' उनले भने, 'दलबाट आउने मेयरका हजार समस्या हुन्छन्।'

यता काठमाडौंका बालेन शाह भने अहिलेसम्म चुपचाप नै छन्। धरानका हर्क काठमाडौं आएर कीर्तिपुरका राजमान मानवका लागि भोट मागिरहँदा काठमाडौंकै बालेन भने बोलेका छैनन्। र, उनी कसैका लागि भोट माग्ने योजनामा पनि छैनन्।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नागरिकसँग भने, 'उहाँले कसैका लागि भोट माग्नुहुने छैन। त्यस्तो कुनै योजना छैन। उहाँ आफ्नै काममा हुनुहुन्छ, जनताकै काममा हुनुहुन्छ।'

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह ।

स्वकीय सचिव शाहका अनुसार बालेनले उपनिर्वाचनमा कसैका लागि भोट माग्नु आफ्नो कार्याधिकार बाहिर रहेको बताएका छन्। 'जनताले म्यान्डेड दिएको पाँच वर्षका लागि महानगर चलाउनु भनेर हो। त्यसैले उहाँले अहिलेका लागि केही गर्नुहुन्न। संविधानले पनि त्यो दिँदैन। संविधानअनुसार मेयरलाई कसैका लागि मत माग्ने स्वतन्त्रता छैन। त्यसैले अहिलेका लागि केही गर्नुहुन्न,'शाहले भने।

उता धनगढीका गोपाल हमाललाई स्थानीय तह उपनिर्वाचनले छोएकै छैन। अझ उनलाई त मतदानको दिनसमेत याद छैन। उनी यसपटक कसैको पक्षमा खुल्ने वा मत माग्ने पक्षमा छैनन्। 

नागरिकले राखेको जिज्ञासामा उनले भने, 'मलाई उपनिर्वाचन कहिले हो भन्ने थाहै पो रहेनछ। तपाईंले भनेपछि मात्रै पो थाहा भयो। यसपटक म स्वतन्त्रै बस्ने हो। म कसैका लागि पनि मत माग्दिनँ। धनगढीका जनताले पाँच वर्षका लागि चुनेका हुन्। म उहाँहरूको सेवामा तल्लीन छु। बाहिर यताउता गर्ने सोच छैन। निर्वाचनहरू हुन्छन्, सकिन्छन्। यो एउटा प्रोसेस हो।'

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल ।

कीर्तिपुरका राजमान मानवलाई समर्थन गरिरहेका धरानका हर्क साम्पाङको सन्दर्भ झिक्दा उनले भने, 'उहाँले के गर्नुभयो, त्यो उहाँको कुरा हो। तर, मचाहिँ यसपटक स्वतन्त्र नै रहन्छु। कसैका लागि मत माग्दिनँ।'

***

त्यसो त २०७९ सालमा उठेको स्वतन्त्र लहरको अवस्था यो उपनिर्वाचनले जाँच गर्ला। यसपटक स्वतन्त्र उम्मेदवारहरूले कस्तो चुनावी नतिजा लिएर आउँछन्, त्यसले भावी दिनको निर्वाचनहरूमा स्वतन्त्र उम्मेदवारहरूको भविष्य एक हदसम्म निर्धारण गर्ला।

तर, पुराना तथा परम्परागत दल र नेताका प्रति बढ्दो वितृष्णाको ग्राफ भने घट्दै छैन। अघिल्लो स्थानीय तह उपनिर्वाचमा पनि स्वतन्त्र लहर चलाउने 'प्याक्टर्स'मध्ये एक यो पनि थियो। यसर्थ, अहिले पनि यसै भनेर भन्न सकिने अवस्था त छैन। तर, निर्वाचन स्थानीय तहको भएकाले सम्बन्धित तहको आन्तरिक कारण पनि कहिलेकाहीँ मुख्य रूप भएर आउन सक्छ। अहिलेलाई यति भन्न सकिन्छ कि पुराना दल र नेताप्रति सर्वसाधारण त्यति खुसी छैनन्।

प्रकाशित: १३ मंसिर २०८१ १७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App