१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बालाचतुर्दशीमा गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड

म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शनिबार विहानैदेखि बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्नेहरूको भिड लागेको छ। पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजन आएका थिए।

भक्तजनलाई सहज रूपमा पूजाआराधना गर्ने वातावरण बनाउन लाइनमा बसेर पालैपालो पूजा गर्ने व्यवस्था मिलाइएको थियो। भक्तजनलाई नेपाल प्रहरी, जनपथ प्रहरी विद्यार्थी लगायत विभिन्न संघसंस्थाका स्वयंमसेवकहरूले मन्दिरको प्रवेशद्धारदेखि नै भक्तजनको सेवामा खटिएका छन्।

पूजाअर्चना गर्न म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौं लगायतका जिल्लाबाट बिहानैदेखि श्रद्धालु भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए। शिवरात्रिका दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गरिन्छ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने चलन छ। हजारौ भक्तजन भए पनि मन्दिरमा पूजाआजा र सुरक्षा रहेको, भिडभाडमा चोरी हुने जोखिमले स्वयंसेवक परिचालन गरिएको र मन्दिरका महत्त्वपूर्ण स्थानमा जडान गरिएका एक दर्जनभन्दा बढी सिसी क्यामेरालाई सचिवालयबाट निगरानी गरिएको छ। अनुकूल मौसम र सहज व्यवस्थापनका कारण भक्तजनको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। शनिबार करिब २० हजारभन्दा बढी भक्तजनले दर्शन गर्ने अध्यक्ष रेग्मीको भनाइ छ।

बालाचतुर्दशीमा सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ। शतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ। सोही कारण आफन्त नहुनेहरूले जीवनकालमै शतबीज छर्ने चलन छ।

बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दै पशुपत क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ।

द्वापर युगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्न हजारौं भक्तजन आउँछन्। यस वर्ष करिब ५० हजार भक्तजन आउने अनुमान छ। गलेश्वरमा रातभरि भजन कीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीको दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदानसहित शतबीज छर्ने प्रचलन रहेको छ।

कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वर्क अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ। गलेश्वर मन्दिरमा कालिगण्डकी नदीबाट जल लिएर स्नान गर्ने सुविधाले समेत भक्तजनलाई सहज भएको छ।

प्रकाशित: १५ मंसिर २०८१ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App