coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भक्तपुरका करुणामय

भक्तपुर नगरपालिका–२, तापालाछिटोलमा लोकेश्वर महाविहार (जेतवर्ण महाविहार) नामको प्रसिद्ध बौद्धविहार छ। भक्तपुर राजदरबारदेखि पश्चिममा अवस्थित सो विहारमा पूर्वाभिमुख एक तीनछाने मन्दिर छ। मल्लकालीन नेवार वास्तुकलाको एक उदाहरण पनि हो, सो सुन्दर मन्दिर। यस मन्दिरको गर्भस्थानमा करिब ८० सेमि जति अग्लो रक्त वर्णको र रातै वस्त्र अलंकारले सजिएको, करुण भाव झल्किने सौम्य एवं शान्त रूपको मूर्ति प्रतिष्ठापित छ। यिनै मूलदेवता ‘करुणामय’ नामले प्रसिद्ध रहिआएका छन्। त्यसैगरी यी करुणामयलाई यहाँको धार्मिक सांस्कृतिक जीवनले ‘लस्कःद्यः’ ‘पद्मपाणि लोकेश्वर’, ‘पद्मनाथ लोकेश्वर’, ‘अन्नपूर्ण लोकेश्वर’, ‘लोकनाथ’ ‘रातो मछिन्द्रनाथ÷मत्स्येन्द्रनाथ’, ‘सृष्टिकान्त लोकेश्वर’, ‘हरिहरवाहन लोकेश्वर’ लगायत नामले पनि पुकार्दै, मान्दै, पुज्दै आएको देखिन्छ।  

लोकेश्वर महाविहार मन्दिरका तीन छानामध्ये तलको छाना माथिका दुई छानाका तुलनामा फराकिलो छ र यसको अनुपातमा यसमाथिका दुई छाना साना छन्। यस्तो शैलीको मन्दिर दुर्लभ लाग्छ। यस दृष्टिले यो यस मन्दिरको खास वास्तुविशेषताको रूपमा मान्न सकिन्छ। मन्दिरको पहिलो तलामा पाँच ढोका छन्। ती ढोकामाथिका तोरणमा लोकेश्वर, तारा, बोधिसत्वका मूर्ति कुँदिएका छन्। पहिलो तलामा तीनवटा झ्याल छन्, जसमध्ये बीचको झ्यालको काष्ठतोरणमा सहस्रभुज लोकेश्वरको मूर्ति छ। बायाँपट्टिको झ्यालमा सृष्टिकान्त लोकेश्वर र दायाँपट्टिको झ्यालमा हरिहरवाहन लोकेश्वरका मूर्ति छन्। त्यसैगरी सो मन्दिरको अन्य भागमा मञ्जुश्री, वज्रसत्व, अमोघपाश लोकेश्वर लगायत अन्नपूर्णको प्रतीकस्वरूप पूर्णकलश आदि देखापर्छन्। मन्दिरको सामुन्ने सातवटा चैत्य र एउटा धर्मधातुमण्डल छन्।  

करुणामयको देह वस्त्रले ढाकिएर रहने हुँदा उनले हातमा कुन मुद्रा र आयुध लिएका छन् भन्ने देखिँदैन। पुजारीका अनुसार करुणामयको उभिएको मूर्तिमा दायाँ हात वरदमुद्रामा छ भने बायाँ हातमा पद्मपुष्प छ। यसरी प्रतिमा लक्षणका दृष्टिले करुणामयको यस मूर्तिमा हामीलाई पद्मपाणि लोकेश्वर, लोकनाथ, पद्मनाथ लोकेश्वरको दर्शन मिल्छ। लोकेश्वरकै संक्षिप्त नेपालभाषा नामान्तर ‘लस्कःद्यः’ हो। यस मन्दिरका मुख्यदेवता करुणामय लोकेश्वर भएको हुँदा सो विहार ‘लोकेश्वर महाविहार’ नामले विशेष प्रसिद्ध रहिआएको छ।  

करुणामय लोकेश्वरको प्राचीनता  

इतिहासको लिखित स्रोत अभिलेख हो भने मौखिक स्रोत किंवदन्ती हो। करुणामय मन्दिरको प्राचीनताबारे पुष्टि गर्ने ठोस अभिलेखीय प्रमाण प्राप्त हुन सकेको छैन। मन्दिरको टुँडालमा उत्कीर्ण ने. सं. ९५०  

(वि.सं. १८८७) को अभिलेखभन्दा पुरानो स्रोत हालसम्म भेटिएको छैन। र, सो मन्दिरको माथिल्लो छानामा दुईवटा ताम्रपत्र छन्, जुन मल्लकालीन हुन् सक्छन्, (जोन के. लक, बुद्धिष्ट मोनास्टरिज अफ नेपाल, १९८५, पृष्ठ ४३३–३५)। ती ताम्रपत्र हालसम्म प्रकाशमा आएका छैनन्। ती अभिलेख मन्दिर÷विहार जीर्णोद्धार विषयका हुन सक्छन्।  

नेपालमा करुणामय लोकेश्वर÷मछिन्द्रनाथको आगमनबारे वंशावलीका कुरा र पुस्तौँ पुस्तादेखि चलेर आएको यस विषयको आज पनि उत्तिकै प्रसिद्ध किंवदन्तीतिर विचार गरी त्यसलाई आधार मान्ने हो भने नेपालमण्डलमा करुणामय लोकेश्वरको आगमनपश्चात् ललितपुरको बुङमतीमा मात्र नभएर तत्पश्चात् कान्तिपुर र भक्तपुर, नाला, दोलखामा समेत करुणामय स्थापित हुन पुगेको विदित हुन्छ। स्थानीय लोककथन पनि यही रहेको छ। वंशावलीका कुरा लगायत नेपालमण्डलमा प्रचलित रहिआएकोे लोककथन अनुसार भिक्षा माग्न घर–घर पुगेका गुरु गोरखनाथलाई कुनै गृहस्थीले एक मुठी भिक्षासम्म नदिएपछि उनी रिसाए। त्यसपछि वृष्टिको मूलधार रहेका नवनागलाई समाती नागासन जमाई तपचर्यामा बसे। त्यसो हुँदा वृष्टि भएन। अनावृष्टिले गर्दा ठूलो हाहाकार मच्चिएपछि भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक आचार्य बन्धुदत्त र ललितपुरका रथचक्र ललित किसान तीनजना मिलेर कामरूप गई आद्यदेवताका रूपमा रहेका करुणामूर्ति मछिन्द्रनाथलाई नेपाल ल्याए। आफ्ना गुरु नेपाल आएको चाल पाएपछि गुरुको दर्शन गर्न तपचर्याबाट उठ्दा नवनागहरू स्वस्थानमा गए। त्यसको प्रभावले गर्दा तत्काल वर्षा भयो, सहकाल आयो। मछिन्द्रनाथलाई तीनजना मिलेर ल्याएको हुँदा आ–आफ्नै स्थानमा लगी प्रतिष्ठापन गर्न चाहन्थे। यसले गर्दा विवाद उत्पन्न भयो। अन्ततः राजा र तान्त्रिक राजपुरोहितका तुलनामा रथचक्र ललित एक सामान्य किसान भए पनि उनले कामरूपदेखि महाकष्ट गरी बोकेर ल्याएको हुँदा ललितपुरमै प्रतिष्ठापन गर्न न्यायोचित ठह¥याइयो, (हरिराम जोशी, ‘मत्स्येन्द्रनाथ जात्राका अमूर्त सांस्कृतिक परम्परा’, मधुपर्क, २०७४ जेठ, पृष्ठ ६१)। सोही अनुरूप करुणामय मछिन्द्रनाथलाई ललितपुरमै प्रतिष्ठापन गरियो। लोकेश्वर विहार मन्दिरको दायाँपट्टि निदालमा आधुनिककालको ताम्रपत्र छ। त्यसको उठानमा आर्यावलोकितेश्वर करुणामयको नेपाल आगमन र प्रतिष्ठापन बारेको कुरा संक्षिप्तमा दिइएको छ। त्यस कथनको पनि मूल आधार सोही विषयको एक पुरानो नेपालभाषाको तमसुकपत्र रहेको देखिन्छ, (सुरेशज्योति शाक्य, ख्वपदेया विहार बहीया जातः, ११२०, पृष्ठ ४५) जसको संक्षिप्त अनुवाद यस प्रकार छ ः ओम नमो लोकनाथाय ...नेपाल विजय श्रीमान् आर्यावलोकितेश्वर।। श्री आर्यावलोकितेश्वर करुणामयलाई कलिगत संवत् ३७०० (वि.सं.६५६) मा कान्तिपुरका गुरु बन्धुदत्त र भक्तपुरका राजा नरेन्द्रदेवले ललितपुरका भरिया रथचक्र ललित किसानलाई बोकाउन लगाई नेपालमण्डलमा ल्याइएको हो। ...यी करुणामय मूर्तिलाई आफ्नो भक्तपुर देशमा स्थापना गरी राख्न नपाएपछि नरेन्द्रदेवका छोरा वलदेवले पुनः अर्को प्रतिमूर्ति बनाई श्री पद्मनाथ लोकेश्वर भनी नाम राखी कलिगत संवत् ३७०१ मा स्थापना गरी जेतवर्ण महाविहार भनी नाम प्रसिद्ध गराई प्रतिष्ठापन गरिएको हो। यस कार्यले जगतको उद्धार होस्।  

लिच्छविकालको इतिहासतिर दृष्टि दिँदा कलिगत संवत् ३७०० (वि.सं.६५६) तिर नरेन्द्रदेव (वि.सं.६७८–७३६) नभएर उनी अघिका शिवदेव प्रथम आफ्ना सहायक, महासामन्त अंशुवर्माका साथ शासनमा सक्रिय भइरहेको देखिन्छ, (डा. जगदीशचन्द्र रेग्मी, लिच्छवि–इतिहास, कीर्तिपुर ः नेपाल र एसियाली अनुसन्धान केन्द्र, पृष्ठ ८४–१६६)। तापनि सो तमसुकपत्र अनुसार वि.सं. ६५६ मा नरेन्द्रदेव, बन्धुदत्त, ललितले करुणामयलाई नेपालमण्डलमा ल्याएको कुरा विचारणीय लाग्छ। यसबारे बेग्लै अनुसन्धान हुनुपर्ने कुरा महसुस हुन्छ। जेहोस्, नरेन्द्रदेवको समयतिर करुणामय मछिन्द्रनाथ लोकप्रिय भइसकेको तथ्य अन्य प्रमाणका आधारमा पनि जानिन्छ। के बौद्ध के शैव ! सम्प्रदायभेद गौण हुँदै तन्त्रले प्रश्रय पाउँदै मिश्रित रूपको तन्त्रप्रधान धर्मले साझा रूपमा लोकप्रियता पाउँदै आउन थालेको युग थियो, नरेन्द्रदेवको। नाथ शैव परम्परा होस् वा तान्त्रिक बौद्ध परम्परा ! आफ्ना विस्मयकारी सिद्धयाइँले लौकिक जीवनका पीरमर्कालाई बुझेर तिनका आँसु पुछ्दै लोकको मन जितेर लोककल्याण गर्दै लाने सिद्ध तान्त्रिकको युग थियो त्यो। जातले नभएर कर्म विशेषले महŒव पाउँदै आउन थालेको युग पनि थियो त्यो। करुणामय मत्स्येन्द्रनाथ र उनलाई ल्याउने नरेन्द्रदेव एवं उनका पुरोहित राजगुरु बन्धुदत्त, चक्ररथ ललित उक्त कुराको पुष्टिका लागि उत्कृष्ट उदाहरण स्वरूप छन्। पानीमा रहेको शिववीर्य मत्स्यले खाँदा मत्स्योदरदेखि मछिन्द्रनाथको जन्म भएको कथा छ। गोमलबाट उत्पन्न भएका मानिने गुरु गोरखनाथका पनि गुरु महापुरुष, महायोगी मछिन्द्रनाथ कामरूपका माझी थिए। आचार्य चर्पटीसित मछिन्द्रनाथले दीक्षा पाएर उनी सिद्ध भएका थिए, (राहुल सांकृत्यायन, पुरातŒव निबन्धावली, १९५८, इलाहाबादः किताबमहल,  पृष्ठ १३४)।  

यसरी माछा मारी जीविका गर्ने जातिमा जन्मेर पनि आफ्ना अद्भुत सिद्ध कर्म विशेषले निकै माथि उठेर उनी सारा लोकजनको रक्षा गर्ने, करुणभाव राखी प्राणी मात्रलाई दया–माया गर्ने शान्त प्रकृतिका कोमलहृदयी करुणामूर्ति थिए, यसो हुँदा उनी शैव बौद्ध सबैले मान्ने लोकेश्वर, लोकनाथ लगायत ‘करुणामय’ भनी लोकविख्यात हुन पुगेको दृष्टिगोचर हुन्छ।  

जस्तो देवता उस्तै उनका अनुयायी। ‘परममाहेश्वर’को उपाधि धारण गर्ने नरेन्द्रदेव तान्त्रिक शैव पाशुपत मात्र थिएनन्, भगवान् बुद्धप्रति उत्तिकै आस्था राख्ने तान्त्रिक बौद्ध पनि थिए। उसैगरी जात विशेषबाट निकै माथि उठेका थिए, उनका राजपुरोहित आचार्य बन्धुदत्त। सामान्य किसान भएर पनि मत्स्येन्द्रनाथलाई कामरूपदेखि नेपालमण्डलसम्म बोकेर ल्याउन सक्ने शारीरिक श्रम विशेषले माथि उठेका भरिया रथचक्र ललित पनि उस्तै। जातले ज्यापू भए पनि उनको अद्भुत कर्मशक्तिका सामुन्ने राज्यशक्ति र तान्त्रिक शक्तिको पनि जोड चलेन, करुणामय÷मत्स्येन्द्रनाथलाई उनले ललितपुर, बुङमतीमा लगेरै राखे। यो चानचुने कुरा थिएन।

आर्यावलोकितेश्वर मछिन्द्रनाथ मतको प्रचार नेपालमा नरेन्द्रदेवको समयभन्दा केही अघिबाटै भइसकेको प्रतीत हुन्छ। नरेन्द्रदेवकै नाति जयदेव द्वितीयको पशुपतिको वि.सं.७९० को अभिलेखमा ‘पद्मं किं करुणाकरस्य करतो लोकेश्वरस्यागतम्’ (करुणामय लोकेश्वरको हातबाट आएको कमल पो यो हो कि?) भन्ने उल्लेख छ, (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०५३, कीर्तिपुर ः नेपाल र एसियाली अनुसन्धान केन्द्र, पृष्ठ ५५१, ५५५)। यताबाट पनि माथिका कुरा लगायत आठौँ शताब्दीको अन्तिम चरणतिर आइपुग्दा करुणामय मछिन्द्रनाथ मत लौकिक जीवनमा व्यापक रूपले विख्यात हुन पुगेको विदित हुन्छ। गोपालराजवंशावलीको २३ पत्रमा ‘श्रीनरेन्द्रदेव वर्ष ३५ तस्य आचार्य वंधुदतद्वयेन श्रीबुग्मलोकेश्वर भट्टारकस्य जात्रा कृता भवति’ (राजा श्रीनरेन्द्रदेव भए, वर्ष ३५। ती राजाले आचार्य बन्धुदत्तसँग मिली श्रीबुङ्मतीका लोकेश्वर भट्टारकको जात्रा चलाए), (धनवज्र वज्राचार्य, कमलप्रकाश मल्ल, दी गोपालराजवंशावली, १९८५, नेपाल रिसर्च सेन्टर, २३ पत्र)। राजा नरेन्द्रदेव र उनका आचार्य बन्धुदत्त दुवै मिली मत्स्येन्द्रनाथको जात्रा चलाएका हुन् भन्ने लोककथन अहिलेसम्म चलेर आएको प्रसंगमा विचार गर्दा गोपालराजवंशावलीको उक्त कथन विश्वसनीय लाग्छ। यताबाट नेपालमण्डलमा करुणामय मछिन्द्रनाथ ल्याएको लगत्तैपश्चात् उनको रथयात्रा पनि नरेन्द्रदेवकै राज्यकालतिर आरम्भ भइसकेको दृष्टिगोचर हुन्छ।  

उक्त प्रसंगमा माथि उल्लिखित तमसुकपत्र एवं स्थानीय लोकोक्तितर्फ पुनर्विचार गर्दा कामरूपबाट ल्याइएको करुणामय बुङमतीमा प्रतिष्ठापन भएपछि करुणामय÷मछिन्द्रनाथ एवं उनको जात्राले ललितपुरको विशिष्ट सांस्कृतिक पहिचान बनायो। बुङमतीमा प्रतिष्ठापित भएको हुँदा उनी पूर्वमध्यकालको लोकजीवनमै ‘बुग्मलोकेश्वर’ भनी प्रख्यात भइसकेका थिए। बुग्मलोकेश्वरकै संक्षिप्त नेपालभाषा नाम ‘बुंग द्यः’ हो। नेपालमण्डलको नेवार सांस्कृतिक जीवनले करुणामय लोकेश्वरलाई साझा रूपमा पुकार्दै आएको प्रख्यात नाम हो यो। तन्त्रसाधनाद्वारा टाढाको देवतालाई आफ्नो इलाकामा प्रतिष्ठापित गर्ने प्रवाह त्यसबखत प्रचलनमा आइसकेको तथ्यतिर विचार गर्दा उनै करुणामयको प्रतिमूर्ति भक्तपुरमा पनि प्रतिष्ठापित गरिएको ज्ञात हुन्छ। यस दृष्टिले लोकेश्वर महाविहारका करुणामय पनि सोही सदृश भक्तपुरका बुंगद्यः हुन् भनी मान्न सकिन्छ।  

राजा आनन्ददेव (वि.सं.१२०३–१२२४) को समयदेखि यक्षमल्ल (वि.सं.१४२८–१५३९)को समयसम्म अर्थात् नेपालमण्डलको राजनीतिक विभाजन पूर्व (तीन सय वर्षभन्दा केही बढी समय) सम्म भक्तपुर नेपालमण्डलको राजधानी नगरको रूपमा रहेको थियो। यसो हुँदा राजनीतिक प्रशासनिक दृष्टिले मात्र नभएर सांस्कृतिक दृष्टिले पनि भक्तपुर नेपालमण्डलको सांस्कृतिक ढुकढुकी रहेको थियो। राजनीतिक विखण्डनपश्चात् पनि भक्तपुर नेपालमण्डलको सांस्कृतिक मूलथलो नै थियो, किनकि भक्तपुरबाट छुट्टिएर कान्तिपुर र ललितपुर छुट्टाछुट्टै स्वतन्त्र राज्यका रूपमा देखापरे तापनि, जो जतासुकै लागे तापनि सारा मल्लको वंश एउटै थियो र सबैको मूल राजकीय वासस्थान, सांस्कृतिक मूल थलो आखिर भक्तपुर थियो। यसो हुँदा कान्तिपुर र ललितपुरका प्रसिद्ध जात्रा, राजकीय उत्सव, संस्कार, विधिविधानमा भक्तपुरको अपरिहार्य सांस्कृतिक–राजकीय–प्रतिनिधित्व रहन्थ्यो। यस कुराको एउटा सुन्दर उदाहरण ललितपुरको प्रसिद्ध मत्स्येन्द्रनाथको जात्रालाई लिन सकिन्छ। प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्रा गरिन्छ। सो रथयात्रा चलाउन भक्तपुरबाट खड्ग ल्याउनुपर्ने चलन अद्यापि छ। सो खड्ग नल्याएसम्म रथयात्रा आरम्भ गरिँदैन। त्यसैगरी प्रत्येक वर्ष मछिन्द्रनाथको ‘न्हवन’ (महास्नान) गर्दा पनि भक्तपुरबाट खड्ग ल्याउनुपर्छ, (रामजी तेवारी–धनवज्र वज्राचार्य (सं.), ऐतिहासिक पत्रसंग्रह, नेपाल सांस्कृतिक परिषद्, काठमाडौं ः २०२१, पृष्ठ २०)। तत्कालीन समयमा कहिलेकाहीँ भक्तपुर र ललितपुर राज्यबीच वैमनस्य पर्न जाँदा सो खड्ग ल्याउने कुरामा कचिंगल गरिन्थ्यो। अतः त्यस्तो कचिंगल उठ्न नदिन भक्तपुरका राजा जितामित्र मल्ल र ललितपुरका राजा योगनरेन्द्र मल्लका बीच ने.सं. ८१६ (वि.सं.१७२०) मा एउटा सन्धिपत्र भएको थियो।  

संस्कृति  

स्थानीय अनुश्रुति अनुसार भक्तपुरमा करुणामय मछिन्द्रनाथ प्रतिष्ठा भएपछि सहकाल आयो, तीन सहरमा सबभन्दा बढी अन्न भक्तपुरमा फल्न थालेछ। अन्न यति फल्न थाल्यो कि खेतबाट फर्केका किसानले माटो लागेको हात टोपीमा पुछ्दा, टोपीमा समेत धान फलेछ। यसो हुँदा उनी ‘अन्नपूर्ण लोकेश्वर’ भनेर प्रख्यात भएका हुन्। अनुश्रुतिको यो कुरा विचारणीय लाग्छ। सो अनुश्रुतिको सार अर्थतिर विचार गर्दा ‘भक्तग्राम’÷‘भक्तपुर’ किन भनियो भन्ने कुरा सार्थक लाग्छ। किनकि ‘भक्त’ को अर्थ अन्न, विशेषगरी धान बढी फल्ने ठाउँ भन्ने पनि  

लाग्छ। भदौ महिनामा यिनको विशेष पूजा गर्दा वज्राचार्य पुरोहितले विहार वा मन्दिर सामुन्नेमा वसुन्धरा मण्डलको चित्र लेखी पूजा विधान गर्ने चलन छ। त्यसैगरी पुरोहितले ‘देशमा प्रशस्त अन्न फलोस्, सदाकाल सहकाल भइरहोस्, सबैको कल्याण होस्’ भनी मैत्रेयभावले नित्यपूजा गर्ने चलन छ। पुरोहित, स्थानीय बासिन्दाका अनुसार शुक्लपक्ष अष्टमी, संक्रान्ति, पूर्णिमा एकादशीमा भक्तपुर आसपासका क्षेत्र, जस्तैः बनेपा, धुलिखेल, नाला, पनौती, सांगा लगायत कान्तिपुर र ललितपुरबाट दर्शनपुजन गर्न आउने चलन रहिआएको छ। केही दशक अघिसम्म ल्हासा, तिब्बतबाट पनि निकै संख्यामा भक्तजन दर्शनपुजन गर्न आउँथे, आजभोलि उस्तो छैन।

ललितपुर (बुंगद्यः÷ह्याउँम्ह करुणामय÷रातो मछिन्द्रनाथ), कान्तिपुर (जनबहाःद्यः÷तुयूम्ह करुणामय द्यः÷सेतो मछिन्द्रनाथ), नाला (सृष्टिकान्त लोकेश्वर)का करूणामयलाई जस्तै भक्तपुरका करुणामयको मृण्मूर्तिलाई पनि महास्नान गर्ने परम्परा छ। गाईजात्रा (भाद्रकृष्ण प्रतिपदा)को भोलिपल्ट करुणामयको मूर्तिलाई खटमा राखी देश परिक्रमा (सहर घुमाउने) गरी खटजात्रा मनाइन्छ।  

लोकेश्वर महाविहार÷जेतवर्ण महाविहारको संघ वज्राचार्यहरूका हुन्। यसैले महाविहार मन्दिरका पुजारी पुरोहित पनि वज्राचार्य नै रहने परम्परा छ। उनीहरूका कुलदेवता (दिगुद्यः) योगाम्बर हुन्। विहारका वज्राचार्यहरूको संघमा चुडाकर्म लगायत तान्त्रिक दीक्षा दिने चलन छ। दीक्षा दिने विधान संस्कारलाई ‘आचाःलुइगु’ भनिन्छ।  

लोकजीवनले एउटै देवतालाई आ–आफ्नो आस्थाभाव अनुसार अनेक नामले पुकार्दै आएका एक मुख्य राष्ट्रदेव करुणामय पनि हुन्। उनको नाम एवं तदनुरूपको करुण–रूपदर्शनमा अनेकतामा एकताको भाव अनुभूत हुन्छ। बौद्ध पुरोहित वंशका सुन्दरानन्द विरचित त्रिरत्न सौन्दर्यगाथामा तल प्रस्तुत उनको विवेचनले पनि उक्त कुराको पुष्टि मिल्छ, (सं.धनवज्र वज्राचार्य, त्रिरत्न–सौन्दर्य–गाथा, २०१९, काठमाडौं : नेपाल–सांस्कृतिक–परिषद्, पृष्ठ ५६)। ‘यिनी पनि नेपाल खाल्डाका मुख्य देवता हुन्। यिनलाई शैवहरू शिव, बौद्धहरू मत्स्येन्द्रनाथ, वैष्णवहरू विष्णु, शाक्तहरू शक्ति, सौरहरू सूर्य भनी पूजा गर्छन्। यिनको नाम करुणामय लोकेश्वर भनी प्रख्यात छ।’

अन्त्यमा, महामारीको असर हाम्रा जात्रा चाडपर्वमा परिरहेको कुरा सबैमा विदितै छ। ललितपुरको प्रसिद्ध मछिन्द्रनाथको जात्रा पनि अपवाद रहेन। कुरा गत वर्षको हो। सो जात्रा समयमै सम्पन्न हुन नसकेमा भक्तपुर ल्याउनुपर्छ भन्ने ‘हल्ला’ महामारीजस्तै पैmलन पुगेको थियो, पत्रपत्रिका लगायत फेसबुकका भित्ता पनि उही कुराले भरिएका देखिन्थे। आखिर ललितपुरवासीले प्रतिकूल अवस्थामा पनि जात्रालाई सम्पन्न गरी छाडे। यसका निमित्त म ललितपुरवासीप्रति नतमस्तक छु। सो हल्लाभित्रको सांस्कृतिक हलचललाई अनुभूत गर्दा मलाई भने यस्तो प्रतीत भएको छ, मानौँ जात्रा र जीवन आत्मा र शरीर जस्तै रहेछ। स्थानान्तरण हल्ला मात्रै हो, यथार्थ होइन, किनकि परम्पराले मानेर व्यवहारमा उतारेको एउटै उदाहरण पनि छैन। यथार्थता त एक स्थानमा जात्रा चल्दा त्यसको सांस्कृतिक लहर एकसाथ सिंगो नेपालमण्डलमा चल्छ, अझ भनौँ, सिंगो देशभरि चल्छ, चाहे त्यो कान्तिपुरको इन्द्रजात्रा होस्, भक्तपुरको बिस्काःजात्रा होस् वा ललितपुरको मछिन्द्रनाथको जात्रा। इन्द्रजात्रा सबैले मान्छन् तर त्यसकोे ढुकढुकी कान्तिपुरमा चल्छ। बिस्काः जात्रा सबैले मान्छन् तर त्यसको ढुकुढुकी भक्तपुरमा चल्छ। त्यसरी नै मछिन्द्रनाथको जात्रा सबैले मान्छन्, जसको ढुकुढुकी ललितपुरमा चल्छ। धार्मिक समन्वय र सांस्कृतिक एकता नेपाली संस्कृतिको अतुल्य विशेषता हो। करुणामय लोकेश्वर पनि त्यस कुराको एक अनुपम उदाहरण हुन्। त्यसैगरी देशमा विपत्ति आइपरेका बेला कामरूपदेखि करुणामयलाई नेपालमण्डलमा ल्याएर राष्ट्रिय विपत्ति टार्नमा विशेष भूमिका निर्वाह गर्ने राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र भारवाहक रथचक्र ललित किसान पनि सबैका साझा धरोहर हुन्।

प्रकाशित: २६ असार २०७८ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App