१ जेष्ठ २०७८ शनिबार
कला

फूलबुट्टे बुढेसकाल

लघुकथा

– धर्म सापकोटा राजु 

 

पहिले पहिले लाहुरबाट आउनेबेला जति फकाउँदा पनि नमानेकी चमेलीलाई यसपालि दुर्गेले उपहारस्वरूप ल्याइदिएको फूलबुट्टे सारीले भने उसको मन फतक्कै गलायो।

चमेलीसँग बिहे गरेर दु्र्गे फेरि लाहुर हान्नियो। श्रीमानको मायाको चिनो सम्झेर चमेलीले त्यो फूलबुट्टे सारी निकै जतन गरेर लगाई। चमेलीले लगाएको फूलबुट्टे सारीभित्र दुर्गेले मायाको बिरुवा पनि रोप्न भ्याएको थियो। तर, दुर्गे गएको निकै समयसम्म पनि उसको केही खबर आएन। लाहुरतिर सोधपुछ गर्दा उसले थाहा पाई उतातिर दुर्गेले यस्ता फूलबुट्टे सारीहरू अरूलाई पनि बाँडेको रहेछ। चमेलीलाई दुख लाग्यो।

नौ महिनामा चमेलीले छोरो पाई। दुर्गे आएन। उसले पनि चासो राखिन। दुख लुकाएरै छोरालाई हुर्काई। सोची– दुर्गे नभएर के भो त ? बुढेसकालको सहारा छोरो छँदै छ नि।

बिस्तारै छोरो हुर्कियो। जवानी टेक्दा नटेक्दै  गाउँकै एउटी टिपेर ऊ पनि बाउजस्तै अलप भयो। चमेली खिन्न भई। जेनतेन गरेर उमेर धकल्दै गई । बिस्तारै बुढेसकालले उसलाई निम्ता दियो।

एकदिन पँधेराबाट गाग्रीमा पानी भरेर फर्किंदा चमेलीले एउटा बुढो अनुहार उसको घरको आँगनमा उभिइरहेको देखी। नजिक आएपछि मात्र उसले  त्यो अनुहारलाई  ठम्याई। उसलाई भाउन्न भएर आयो। त्यो वृृद्ध आकृतिको हातमा यतिबेला फूलबुट्टे सारी थिएन। बरु उसको शरीर टेकाउने लौरी थियो। चमेली केही नबोली गाग्री बोकेर भित्र छिरी।

‘मलाई माफ गर्दे चमेली, म अब तँलाई छोडेर कतै जान्न।  हेर जसले जे भने पनि बुढेसकालको सहारा भनेको पनि बुढेसकाल नै हुँदो रहेछ।’ बाहिर आँगनमा दुर्गेले बोलेको चमेलीले सुनी।

प्रकाशित: १८ वैशाख २०७८ २१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?