१५ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला

सारङ्गीले रेटेका औँलाहरू

एउटा मिठो गीत छ–सारङ्गी त रेटे पनि बोल्छ मिठै धुन...। पीडामा पनि मुस्कुराउन सिक भन्ने बोलको भावको यो गीतले धेरैको मन छोएको छ। तर  सारङ्गीले श्रष्टाको औँला रेटेको भने कमैले देखेका छन्। यो दृश्यले पनि पक्कै धेरैको मुटु छुने छ।  

काठमाडौका  परशुराम भण्डारीले  सारङ्गी बजाउन थालेको ३ दशकभन्दा बढी भइसक्यो। देशविदेशमा सयौ कार्यक्रम संचालन गरिसकेका भण्डारीले   सारङ्गी रेटेको त  धेरैले देखेका छन्। सोमबार  गुह्यश्वेरीस्थित अरोमा म्युजिकल सेन्टरमा आयोजित कार्यक्रम सकिएपछि भलाकुसारी गर्दा  सारङ्गीका तारले रेटिएको उनको औँला पनि देखियो।  

‘अभ्यास गर्दा तारले रेटेर नङ पछाडिका औंलाका भागहरू ठेला उठिसकेका छन्,’ उनले भने, ‘बाजा बजाउने धुनमा यसको पीडाको ख्याल नै हुँदै न।’ बाल्यकालदेखि नै संगीतका सोखिन परशुरामले सुरुमा त तारको रेटाइ सहन नसकेर बाजा बजाउनै छाडेको सुनाउँछन्। 

‘आफन्तको आग्रहमा फेरि बजाउन थाले,’ उनले भने, ‘सारङ्गीको रेटाइ सहेर अगाडि बढ्दा मेरो जीवनमा पनि मिठो धुन बजेको छ।’ पेशाप्रतिको समर्पणका कारण देशका चर्चित सारङ्गीवादक भण्डारीलाई देशविदेशका विभिन्न  संघसंस्थाले राम्रो पारिश्रमिक दिएर सारङ्गी बजाउन आग्रह गर्छन्।  

बाल्यकालदेखि नै संगीतका सोखिन परशुरामले सुरुमा त तारको रेटाइ सहन नसकेर बाजा बजाउनै छाडेको सुनाउँछन। ‘आफन्तको आग्रहमा फेरि बजाउन थाले,’ उनले भने, ‘सारङ्गीको रेटाइ सहेर अगाडि बढ्दा मेरो जीवनमा पनि मिठो धुन बजेको छ।’

सारङ्गीको मात्र हैन  सितारको रेटाइ त झनै कडा देखिन्छ । विगत एक दशकदेखि सितार बजाउँदै आएका काठमाडौ गागलफेदीका रामकुमार अर्यालको औलामा पनि तारले गहिरोसँग रेटेको छ। ‘तारसँग रमाउँदै साधनामा लिन हुँदा औलामा गहिरो घाउ बनिसकेको हुन्छ,’ उनले भने, ‘सुरुमा पीडा दिने यस्ता घाउ संगीतको सफलतासँगै  श्रृङ्गार जस्ता लाग्ने गर्छन्।’  

ललितकलामा अध्यन सकेर बनारसबाट सितारमा मास्टर्स सकाएका अर्याल सितारको धुनमा रमाउँदा सबै  पीडा हराउने सुनाउँछन्। ‘तारले नजानिदोसँग हामीलाई पनि रेटिरहेको हुन्छ,’  उनले भने, ‘यो रेटाइले पनि दुख हैन सुखकै अनुभूति गराउँछ।’ अरूका लागि घाउजस्तो लागे पनि संगीतप्रेमीले भने साधनाको संकेत मान्ने गरेका छन्।

  

प्रसिद्ध तवलावादक अच्युतराम भण्डारी बाजा बजेको देख्दा सजिलो देखिए पनि यसमा निकै मिहेनत लाग्ने बताउँछन्। बाजाबाट सुमधुर निकाल्ने कतिपय  श्रष्टा  आफै भने पीडाबाट  गुज्रनुपर्ने तितो यथार्थ रहेको उनी सुनाउँछन्। चार दशकभन्दा लामो समयसम्म तबलामा ताल ठोक्दै आएका उनका औलामा पनि प्रष्टैसँग ठेला देख्न सकिन्छ। ‘मलाई त यी गहना जस्ता लाग्न थालेका छन्,’ उनले हाँस्दै भने, ‘यो हाम्रो सत्तकर्मको निशानी पनि हो।’ 

  

प्रकाशित: ६ वैशाख २०७८ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App