२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

कवि

कविता

जसको हातमा कलम छ

आँखासामु तकियामा कपी

मनभरि भावना छन्

दिमाग विश्लेषणको कारखाना

समय खोज्छ ऊ

देश, लेख्न हतार छ उसलाई

विदेश, लेख्न हतार छ उसलाई

समाज छिचोल्न हतार  

कलम खोल्न नपाउँदै

चार कक्षा पढ्दै गरेको छोरो,  

नजिक आएर भन्छ – बाबा कपी छैन

गणितको किताब किन्न पैसा पुगेन

गृहकार्य धेरै छ, ऐले गरिसक्नुपर्छ

पत्नी, भान्साबाटै कराउँछे

ग्याँस सकियो ए, हजुर !

भर्खर चामल बसाएकी थिएँ

हुर्तुराउँदै छोरी आएर भन्छे –

बाबा,  

मेरो ब्याग किताब हाल्नै नहुने भएको छ !

विचरो, कवि, अब के गरोस्  

उसका मस्तिष्कभरि

सिरियामा बम पड्केका कविताहरू ताजै छन्

अमेरिका , कोरियाली युद्धपोतहरू हिंसामा

अग्लेका कविताहरू उकुसमुकुस छन्

घडी हेर्छ – नौ बज्दै छ

खल्ती छाम्छ –रित्तो

बिलकुल रित्तो,

चुलोमा ग्याँस आउला कसरी !

छोराका गणित कपी  

स्कुल ब्यागमा छिर्लान् कसरी !

सील खोलेर पत्नीले

भोको पेटको तृष्णा शान्त पार्ली कसरी !

साँच्चै  

कवि, कविता लेखोस्

देश ,विदेशको कसरी !

लय सोचोस्

भाव सोचोस्

सङ्गीत सुरको

संसारमा डुबोस्

वा कलम– पुस्तक किन्न छोराको

पीठमा ब्याग अड्किन छोरीको

सिलिन्डर किन्न चुलोमा

कतै बालुवा बोक्न नदी किनार धावस्

वा लामो कसरत गरेर  विदेश टेक्न

लाम लागोस्

सिंहदरबारमा

सङ्ग्रहालयको ढोकामा

सानो अनुमतिपत्र पाउने प्रतीक्षाको सपनासँगै

के गरौं !

कुन गरौँ !

कसरी गरौँ !

एक तमास घोरिएको छ – कवि  ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App