६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला

निर्वासन

लघुकथा

फोनमा गीत बज्दैथो । हेरें नयाँ नम्बर । नचिनेको नम्बर हतपती उठाउंदिन म । धेरैचोटि गीत बज्यो बजिरह्यो।

 – हेल्लो !

– के नै बित्यो । को के भयो सोच्दै उठाएं र गाली खाएं – हन दाइ , किन फोन नउठाको ?  गाउंले भाइले सम्झिंदा पनि ।

स्वर नचिनेर बोलिनं।

– काजी दाइ हैन तपाईं ?  राई कान्छाको दाजु हैन।

– अं हो त । मेरो सटिक जवाफ ।

अचेल अनिस पोमु कता छ हौ ?  चिन्नुहुन्छ हैन ?  त्यो मान्छे त मलेसियामा हरायो भन्ने हल्ला छ त गाउँमा।

अनिस सन् २००९ तिर म जोहोरबारु बस्दा संगै बसेको मान्छे । एउटै भाँडामा भान्सा खाएको मान्छे ।   सँगसँगै  ड्युटी गरेको मान्छे । पारिवारिक स्थिति राम्रो भएको मान्छे । बाआमा र भाइबुहारी आइडी भएर हङकङ बस्दै थियो । बडो थोरै बोल्ने भलादमी मान्छे । घरमा श्रीमती र दुई नानी मात्र । ताप्लेजुङको ठाउँ अलैची फल्थ्यो । अधिया दिएर पनि टन्न घर खर्च पुग्थ्यो ।  त्यो वर्ष मनको ९० हजार भाउ पुग्दा पनि नबेचेको अलैंची साँच्ने हुंदा पछि श्रीमतीले ७०  हजारमा बेचे भन्दै गुनासो पोख्थ्यो ।   

 सन् २०१२ तिर म बिरामी भई घर फिरें । स्वस्थ्य ठिक भएपछि  २०१४ मा मलेसिया आएं । यतिका दिनसम्म त मैले पुराना स्टाफ साथीहरू भुलिसकेको थिएं ।

सन्  २०१७  तिर फेसबुकमा भेट भयो र बोलेको थिएं अनिससंग । स्मार्ट ब्युटी फोनबाट खिचेको नक्कले फोटाहरू पोस्ट गर्थो । प्रेमिल लाग्थ्यो ऊ । कमेन्ट र लाइक एक भारी झर्थ्यो बुरुरु । लाग्थो ऊ सेलिब्रेटी नै हो ।

 – त्यो मान्छे त बिग्रियो दाइ ।  यतिका वर्ष घर गएको छैन रे । चारखोले माइला बोल्दै थियो ।  

 – ला हो र ! किन गएन छ त ! मलाई अचम्म लाग्यो।

 – खोई  मान्छे सुध्रिन बर्सौं लाग्छ । तर,  बिग्रिन एकछिन । मलेसिया पसेको १२ वर्ष पुग्यो रे । भेट्ने भए घर जा भन्दिनु होला है । नानीह्रूको बिचल्ली छ रे । जग्गा पनि बाँझो पल्टियो रे ।  

     – अनि आमाचाहिँ के भयो ? मैले जान्न चाहें ।  

      – ए उनी त उहिले फच्चा गएको छ।

 –हँ फच्चा रे।

माइलाको यो कुराले मेरो नजरभरि यत्रो वर्ष मलेसिया बिलासिनुको रहस्य घुमिरह्यो ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App