गोधूलि साँझको आगमनसँगै सिमलको भुवासरि फुसफुसाइरहेको हिउँ, देशकुमार कुलुङले झ्यालबाट एकटकले हेरिरहेको थियो । र उसको मन पनि सिमलको भुवाजस्तै लक्ष्यविहीन उडेर स्वच्छन्द भएर कताकता ब्रह्माण्ड नै चक्कर मारिरहेको थियो । मानौ ऊ अजङ्गको सिमलको बोटमुनि ओत लागेको छ, घरभित्र होइन । यदि ऊ घरभित्र भएको भए त त्यो मौसममा जीवन सङ्गीनीले बैठक कोठाको विद्युतीय बत्तीलाई मारेर मैनबत्ती बाल्ने थिई । बैठक कोठाको आगो बाल्ने खोपीमा आगो बालेर चिम्नी भरिभरि धुवाँको मुस्लो फुसफुसाउनु र आकाशबाट हिउँ फुसफुसाउनुमा प्रतिक्ष्पर्धा हुने थियो । प्रसन्न मुद्रामा श्रीमतीले हुस्की, ब्राण्डी, वाइन, कफी के लिनु हुन्छ भनेर प्रश्न गर्ने थिइन् । आफूले रोजेको पेय पदार्थ ल्याएर हातमा दिने थिई र झ्यालका पर्दाहरू उघारेर फुसफुसाइरहेको हिउँ देखाउँदै अमामा कति धेरै हिउँ परिसकेछ बुढो हेर्नु त भन्ने थिई ।
देशकुमारको जिन्दगीमा यस्तो सुखद क्षणहरू नाटकीय रूपमा कायापल्ट भएर कहिल्यै आएन । मात्रै दुःख र निस्सारतातिर मात्रै मोडिएर गयो । सायद देशकुमारले भोगिरहेको दुःखद क्षणको कथा सेक्सपियरले लेख्न छुटाएका थिए होलान् । त्यही भएर बेलायत आएर यो नियति भोग्नु परेको होला । सेक्सपियरले रोमियो जुलियट जस्ता ज्यादै दुःखान्त ह्रदयविदारक प्रेम कथाहरू लेखे तर उनको आफ्नै प्रेमसम्बन्धी एक शब्द पनि नलेखेकाले “सेक्सपियर ईन लभ” चलचित्र बनियो र ओस्कार अवार्ड पनि प्राप्त गरयो भन्ने पनि सुनेको थियो देशकुमारले । देशकुमारको जीवन कथामा आधारित नाटक त्यही सेक्सपियरले लेखेका भए चार सय वर्ष अघि नै मञ्चन भइसक्ने थियो । त्यही कथा छुट्टिएकाले देशकुमारले एक्काइसौ शताब्दीमा आएर आफ्नै कथा र व्यथामा जीवन्त अभिनय गर्न बाध्य भयो । त्यही नाटकको परिदृष्य भित्र रुमलिएर, टेवुलमा कुइना टेकाएर हत्केलामा चिउँडो अडाएर त्यो फुसफुसाइरहेको हिउँ होइन, सिमलको भुवा हो भन्ने लागेको हो देशकुमारलाई । सिमलको भुवा, हिमपात र उसको मन यी तीन विषयले उनमा भ्रम उत्पन्न भइरहेको थियो । हिउँ र सिमलको भुवा दृश्यवान् छन् तर मन अदृश्य छ । सिमलको भुवा र मन उडेर कहाँसम्म पुग्छन् कसैलाई थाहा हुँदैन ।
हिउँ भने थुप्रिएर रास बनेर हिमपात भएको स्थललाई मीनपचासको जाँतोमा पिस्न थाल्छ । अब देशकुमार भने मीनपचासको जाँतोमा एक्लो घान भएर पिसिने भएपछि मोतीराम भट्टको रुई, फुई र दुई भनाइको झल्याँस्स सम्झना आउँछ । रुई भनेको रुवाबाट निर्मित सिरक, फुई भनेको आगो र दुई भनेको जीवन पथमा हरेकपल साथ दिने साथी अथवा जहिले पनि नछुटिने चखेवाको जस्तो जोडी । बेलायतमा रुईबाट निर्मित सिरक किन्नु त्यत्ति महङ्गो छैन २० पाउण्ड जतिमा माइनस १०–१५ डिग्रीसम्मको जाडोलाई थाम्ने सिरक किन्न पाइन्छ र त्यसको समस्या भएन ।
फुइको बारेमा भन्ने हो भने आगो बाल्नै परेमा बैठक कोठामा चिम्नीसहितको आगो बाल्ने खोपी हुन्छ । नभए हिटरले कोठा तातो बनाउने काम गर्छ र ग्याँसमा खाना पाक्छ त्यो पनि समस्या नै भएन । बेलायत आएपछि उसलाई दुई भन्ने शब्दले धोका दियो । त्यही भएर त्यो साँझ, उसको एक्लोपनामा बादल फाटेपछिको सूर्यको पहारिलो किरणले विगलित, स्वच्छ तरलमा परिवर्तन भई विलय भएर जाने सिमलको भुवाजस्तै फुसफुसाइरहेको हिउँसँगै आफ्नो सारा पीडाहरूलाई पनि विलय गराएर पीडाले जलिरहेको मनलाई शान्त र शीतल बनाउने परिकल्पनामा डुबेको थियो ।जसको नाम देशकुमार उही व्यक्ति विदेशीभूमि बेलायतमा तेस्रो दर्जाको नागरिक भएर बस्नु बाध्य भएको छ ।
बेलायत आएर पनि आफ्नो भाषा संस्कृति र परम्पराप्रति बफादार नै थियो देशकुमार । लाहुरे बनेर संसारको चक्कर लगायो तर बाबुआमाले दिएको नाम कहिल्यै बिर्सिएन र बेलायत आएर देशकुमारबाट डेभिड बन्न चाहेन । खासै उनको नाम देशकुमार रहनुको अर्थचाहिँ उनको बाबु पनि बेलायती सेनाका लाहुरे नै हुन । रामबहादुर लिम्बू भीसीसँगै सरवाकको लडाइँ लडेका उनका पिता ब्रुनाई कन्फ्रन्टेशन सकिएपछि नौ वर्ष नौ महिना नोकरी पुगेकाले पेन्सनविहीन घर पठाइएको हो ।
यदि उनको नोकरी दश वर्ष पुगेको भए उनलाई पेन्सन दिनुपर्थ्यो । तर, हतारहतार तीन महिना नपुग्दै लगारिएका थिए । देशकुमारका बुबाले पनि अत्यन्तै बहादुरीपूर्वक लडेका हुन् । काम लागिञ्जेल भाँडोको रूपमा प्रयोग गरयो र काम सकिएपछि ठाँडो बनाएर अन्तमा उनलाई तक्माको सट्टामा रिन्डन्सी सुनाए पनि उनले जसरी लडाइँको मैदानमा निर्धक्क, निस्वार्थ र कर्तव्यनिष्ठका साथ छाती फैलाएर अघि बढेका थिए त्यसरी नै आफ्नो स्वदेश फर्कन पनि निस्फिक्री राजी भएका थिए ।
उनी सरवाकका लडाईँ लड्दालड्दै जन्मिएका हुन देशकुमार । त्यसताका गाउँगाउँमा लाहुरेहरूलाई लाहुरे मात्र नभनेर अर्को शब्दमा देशी भन्ने पनि गरिन्थ्यो । उनै गाउँमा देशी साइला कहलिएका व्यक्तिको जेष्ठ सुपुत्रका रूपमा जन्म लिएर नै उनको नाम देशकुमार रहन गएको थियो । देशकुमार पनि बाबुकै पाइला पछाउँदै ब्रिटिश सेनामा भर्ना भएका थिए । सन् १९९७ को रिडन्डसीमा परेर बाबुको अर्को बिँडो पनि थाम्न पुगे । उनको नोकरी तेर वर्ष पुगेकाले अझै त्यसमा दुई वर्ष कन्डोन सर्भिस थपेर पन्ध्र वर्षकै पेन्सन त पाए तर नेपाली नौ सय रुपैयाँले त्यसबेला एक बोरा चामल आउँदैन थियो । र ऊ जापानमा रोजगारीका लागि गएको थियो । जापान जाँदासम्म जापानीहरुले देशुकुमार सान् भनेर सम्बोधन गरेका थिए । अरू जापान पुगेका नेपालीहरू जस्तो ओकाजाकी, सिमादा, सुजुकी, इमादा सान् बनिएर देशकुमारले आफूलाई ठूलो ठानेन । तर, उनकी श्रीमतीको भने पहाडमा नाम ज्योति थियो । काठमाडौ झरेपछि जिनात राई भई र बेलायत आएपछि जोआना बनिन । खोई गोर्खाहरुको अधिकारका लागि लडेका जोआना लुम्लेबाट प्रभावित भएर हो कि संयोग मात्रै हो जोआना राई बनिन् । यो धेरै छदम नाम फेरीफेरी आनन्द लिनेहरू यसरी नै धोकेबाज हुँदा रहेछन् । अति नै बर्बादीमा धेकेलिएको चाहिँ जोआना बनेपछि हो । बेलायत आएपछि जोआना बनेकी सुड्ढीले अङ्ग्रेजी भाषा प्रशिक्षण लिएर तातातुतु गर्न थालेपछि त बोलाइसक्नु भएन । देशकुमारको टाउकोमा टेक्न थाली । पहाडमा जन्मिए– हुर्किएकी सुड्ढी देशकुमारले बेलायतसम्म ल्यायो तर अहिले आफै जानकार बनेर गमक्क परेकी छे । ओक्स्फोर्ड विश्वविद्यालयमा छात्रवृत्ति पाएर आएका हुन जत्तिकै उनको चुरीफुरी हेर्न पाइन्थ्यो ।
खोला तरयो लौरो बिर्सियो भनेझै बेलायत आयो । उसलाई बेलायत ल्याउने श्रीमान देशेलाई बिर्सियो । यस्ता टुप्पाबाट पलाएकाहरूलाई कृतज्ञताको खडेरी लागेको हुँदो रहेछ भन्ने सपष्ट झल्को दिइरहेको थियो । जस्तो कि धोतीको जुम्रा कपालमा पुगेसी ज्यादै सल्बलाउँछ भनेझैं उनले भाषा सिकेपछि तुरुन्तै दुइटा फाइदा लिन सफल भई । पहिलो त हिथ्रो बिमानस्थलमा शौचालय सरसफाई गर्ने जागीर पाई र अर्को चाही उनीसँगै काम गर्ने पोल्याण्डको युवासँग पिरती गाँसिन । त्यो पोलिस युवा पनि कहाँको उडिगएको हो र ! आर यू पोलिस भनेर प्रश्न सोध्यो भने यस आई आर भन्ने हरिलठ्ठक र उनी पनि त्यस्तै सुड्ढी क्या तालपरेको जोडी बाँधिसकेको बिचरा देशकुमारलाई थाहा पत्तो भएन । पहिला लुकिछिपि पिरती लगाए आनन्दै थियो बिस्तारै पिरतीको गहिराइमा डुब्दै गएपछि त धर्म छैन, जात छैन संसारको डरै छैन अजम्बरी पिरतीलाई भन्ने गीत जस्तै धर्म छाडन थालेछन ती प्रेमिल जोडीले । देशकुमार चाही रात दिन रोजीरोटीमा तल्लीन र भरखरै श्रीमती र आप्mनो नाममा घर मोर्गेज गरेर महिनावारी नौसय पाउन तिर्नकोलागि दाँतबाट पसिना छुट्थ्यो ।
नयाँ घर लिएर सामानहरु सार्दा पनि देशकुमार काममा गएको बेला जोआनाको नाठोले पनि ढुक्कै सामान सार्न सघाएछ । छिमेकीहरूले हेर्दा लाग्थ्यो त्यो देशकुमारले लिएको घर होइन त्यही हरिलठ्ठक पोलिस केटाले लिएको हो । घर सरेको एक दुई हप्ता पनि नभई देशकुमार कामदेखि फर्किदा अचानक पोलिस केटाले पो घरमा राज जमाएको भेटेछ । देशकुमारले केही भन्न नपाउँदै त्यो हरिलठ्ठक पोलिस केटाले पो हु आर यू भनेछ । अब परेन फसाद ! देशकुमारले दिस ईज माई हाउस हु आर यू भनेपछि भनाभन चलेछ । पछि थाहा भयो कि उनकी प्यारी सुड्ढी जोआनाको अति विशिष्ट अतिथि भनेर ।
त्यसपछि देशकुमार नै त्यहाँबाट बाहिरिएर एकान्तमा गएर केही वर्षअघि उसले पढेको विजय मल्लको कथाको पात्रलाई सम्झन थाल्छ । पात्रले एक साँझ आफ्नी स्वास्नीलाई बाहिर जाने काम परेकाले ऊ फर्केर नआउने बताएका हुन्छन् । पानी परेपछि पात्रले कार्यक्रम रद्द गरेर रात केही छिप्पिएपछि घर फर्किन्छ अगाडिको ढोका ढकढकाएर श्रीमतीलाई अवरोध पुरयाउनुभन्दा पछाडिपट्टिको ढोका जहिले पनि अग्लो नलाग्ने उसलाई थाहा थियो र त्यहाँबाट नै प्रवेश गर्छ । त्यसपछि भिजेको केश र ज्यान पुछेर उनको बिस्तरामा आँखा घुमाउँछ स्वास्नी त्यहाँ हुँदैन । कहिलेकाहीँ स्वास्नी अर्के कोठामा सुत्न मन पराउँथी र त्यो कोठाको ढोका आवाज ननिकाली बिस्तारै उघारेर बत्ती बालेमा अवरोध हुन्छ भनेर बाहिरबाट छिरेको बत्तीको प्रकाशमा नियाल्छ । साँच्चि नै त्यस कोठामा स्वास्नी मात्रै होइन छिमेकीसँग उनीहरूको नग्न तिघ्रामाथि तिघ्रा खप्टिएर मस्त निद्रामा परेको देख्छ ।
त्यो उनीहरूको सुताइलाई गुलावको फूल फुले जस्तो देख्छ । अनि उसले समयमताको पराकाष्ठा नाघेर एउटा द्रष्टा बन्छ । त्यसपछि पात्रले आफ्नो रानीतिक साथीले बताएको पागल कैदीको कथा यसरी सम्झिन थाल्छ । पागल कैदी जेलमा जानभन्दा पहिला आफ्नी स्वास्नी र नाठो सुतिरहेको भेटेपछि दुवैलाई छप्काएछ । त्यसपछि बाहिर निस्किएर कुकुरलाई मारेछ । यदि ऊ आउँदा कुकुर भुकेको भए उनको स्वास्नीले चाल पाउने थिई र ऊसँग सुत्ने नाठो भाग्ने थियो । उनको नजरमा स्वास्नी चोखो रहने थिई ।
त्यसपछि घोडालाई मारिदिएछ । यदि घोडाले त्यसरी छिटो कुदाएर नल्याइको भए उसले स्वास्नी र उसको नाठोलाई सुतेको भेटने थिएन । यसरी उसले श्रीमती उनको नाठो, कुकुर र घोडाको हत्या गरिसकेपछि सन्तुष्टताका साथ आत्मसर्पण गरेर त्यस कैदीले बाँकी जिन्दगी जेलमा बिताएको थियो । देशकुमारले अब पागल कैदीले गरेजस्तो कसैलाई मार्ने सुरमा थिएन । त्यही कथाभित्रको पात्रले जसरी निरीह बनेर पागल कैदीको घटनालाई सोचेर सतर्कताका साथ समयमता अपनाएको थियो ।
त्यसरी नै देशकुमारले पनि त्यही पागल कैदीको घटनालाई सोचेर समयमताकै पराकाष्ठा नाघेर द्रष्टा बनिरहयो । द्रष्टा बन्नुपनि कत्ति हो । अति नै सीमा नाघेपछि सहन नसकेर आजित भएर नेपाल टाप ठोक्यो । तीन महिना बसेपछि फेरि मनले मानेन, नेपाल नै बसेर के गर्ने बरु बेलायत फर्किएर पारपाचुके गर्ने र अर्की बिहे गरेर बाँकी जिन्दगीको गुजारा गर्ने । मोर्गेज गरेको घरमा मुद्दा दायर गरेर आधा भए पनि सम्पत्ति लिने आशामा फेरि देशकुमार बेलायत नै टुपलुक्क आइपुग्छ । उनले सोलिसिटरको सल्लाहामा मुद्दा दायर गरिसकेपछि, काम नगरी पेट खाली हुने भएकोले काममा लागेर उनको मुद्दाको सुनुवाइको चीर प्रतीक्षा गर्दै छदम नामधारी कृतघ्न जोआनाले उहिलेदेखि नै गरेका कृयाकलापहरू सोचेर धिक्कार्छ – थुइक्क रण्ड..!
साथीहरूलाई सुन्दा अप्ठयारो लागे पनि उसले श्रीमतीको सन्दर्भ उठेपछि पहिलो शब्दमै सजिलै ए त्यो रण्डी भनेर कुरा सुरु गर्ने गर्छ । साथीहरूसँग फोनमा कुरा गर्दा त्यो रण्डीले केचाहिँ उडाएन र मेरो । बेलायती सेनामा कमाएको पैसा खुबै बाठी भएर ढुकुटी खेल्यो र सबै एक पैसाबिना मैले पठाएको पैसाले अर्काको ढुकुटीको भण्डार भरिदियो । पछि मैले सुनेअनुसार माडेले पैसा जति गुटुमुटु पारेर इन्डिया गायब भएको भन्ने थाहा लाग्यो । चलाक टोलीले पहिल्यै आफ्नो ढुकुटीको भण्डार भरे । पछि आफ्नो पालो पर्खिनेले एकदमै धेरै पैसा पाउने आशामा मक्ख परेकी सुड्ढीको एक कञ्ची आफ्नो भागमा परेन । खेल्नचाहिँ ढुकुटी खेली रण्डीले त्यो पनि धानको ढुकुटी होइन, धनको ढुकुटी।
धनको ढुकुटीले सुकुटी बनायो जिल्ल परयो । उसको त के जुम्राले टोकेर चिलाएको बाहेक के दुख्यो होला र ! यै देशकुमारले खाईनखाई रगटिएर कमाएको सम्पत्ति त सुहा पारी । त्यसपछि जापान गएर खाईनखाई कमाएर पैसा पठाएँ साले रण्डीले सबै टोपीको घेरा मात्रै भएका खातेहरूलाई नाठो बनाएर पाल्नै ठिक्क । जापानबाट फर्किएपछि ब्रुनाईको गोर्खा रिजर्भ युनिटमा फेरि नोकरी गर्न पुगेको पनि पूर्व बेलायती सेनाहरुलाई बेलायत आउन सक्ने घोषणा भएपछि जागीर छाडेर बेलायत आउने तयारीमा लागे । त्यस रण्डीलाई बेलायत नल्याउने मानसिकता बनाएको थिएँ । फेरि यसो सोचे –नानीहरूलाई हेरचाह गर्न त आमा नै चाहिन्छ भनेर मेरो मन पर्गेलियो र लिएर आएँ । मेरो नै हो सब गल्ती । अरू कसलाई दोस्ने र । त्यो रण्डीको बानी थाहा भईभई पनि मैले स्वीकारे र फेरि धोका पाएँ ।
देशकुमारले नम्बरीसँग दिल खोलेर कुराहरू बताएपछि उनको नम्बरी कोङ निनम किरातले पनि आफ्नो स्वास्नीसँगको अनमेल रहेको कुरा र अरू सबै नम्बरीहरूको बारे पनि जानकारी गराउन थाल्यो – हेर नम्बरी म पनि तिमीसँग नै जापानमा बसेको त हो नि । उता कमाएको र मेरो ब्रिटिश सैनिकमा कमाएको सबै हङकङ आइडीमै लगानी गरयो ।
सुकेको परालमा पानी लगाएर गर्न गरयो । तिम्रो त ढुकुटी खेलेछ मेरो त करोडौ पैसा उसको हङकङ आइडीमा लगायो र उसले अहिलेसम्म एक कञ्ची कमाएन पनि अझै मसँग पो माग्ने गथ्र्यो । उसको आइडी मात्रैले कहाँ जान्थ्यो त्यत्रो पैसा कुनकुन टोपीको घेरा नभएको खातेहरू हङकङ, अस्ट्रेलिया, अमेरिका पुगे केही हिसा किताब देखाएन तर पनि मैले बेलायत ल्याएँ दुई वर्ष मात्र मसँग बसी र मलाई जानकारी नदिई अन्तमा रहलपहल भएको मेरो बैंकको पैसा लिएर फेरि हङकङ नै टाप कस्यो ।
त्यस्तो थाहा पाएको भए म त्यस रण्डीलाई पनि ल्याउँदिन थिएँ नि कसलाई थाहा । ए नम्बरी हन यो हाम्रो ईन्टेकलाई मात्रै के सराप लाग्या हो भन्या ! तिम्रो मेरो मात्रै कहाँ हो र त्यो पश्चिमको हाम्रो नम्बरी श्यामे चिन्छौ नि हैन । हो त्यसको पनि ड्राइभिङ कोर्स गर्दागर्दै ड्राइभिङ सिकाउने गोरासँगै लागिछ । त्यो क्याप्टेन सुदिप छ नि त्यसको पनि स्वास्नी अर्कै मेजर दर्जाको गोर्खेसँग लभ परयो कि कसो पो भन्थे । त्यसपछि हाम्रो नम्बरी सुदिप पेन्सन गएर नेपालमा बेहे गरेर वेल्फेयर अफिसर गर्दैछ रे । अर्को हाम्रो नम्बरी सोनाम छ नि , त्यसकी स्वास्नी पनि तीन वर्षअघि नै एउटै फ्ल्याटमा बस्ने पोलिस केटोसँग पोइला गाकी थिई । ऊ हिँड्नुभन्दा पहिला सोनामले सम्झाएर, हेर जे भयो भइहाल्यो तिमी त्यो केटोसँग नजाउ बिर्सिदेउ । म पनि यस कुरालाई बिर्सिदिन्छु भनेर अनुनयविनय गर्दा त स्वास्नीले ठाडै जवाफमा भनिछ– हेर सोनाम तँसँग म एक बस्दिनँ, दुई बस्दिन, तीन बस्दिनँ । अब म यै केटासँग जाने हो भनेर निर्लज्ज तरिकाले एउटै फ्ल्याट कोठा मात्रै फरक थियो उसको नयाँ श्रीमानको त्यही कोठामा मुकाम सारिछे । एकदुई दिनपछि त्यो फ्ल्याट छाडेर अन्तै सरेछन् ।
फुरुङ्ङ परेर एउटा छोरा र पुरानो पोइलाई पुरानो फ्ल्याटमा छाडरे विश्वको सबैभन्दा असल पोई पाएँ भन्दै हिडिछे । तर केही महिना पोलिसले प्रयोग गरेर लत्याएर निकालिदिएछ । त्यसपछि एकदुर्इ हप्ताको लागि फेरि सोनामलाई बस्ने छहारी मागिछ लवस्तर्नीले, सोनामले पनि पूर्व पत्नीको हैसियतले माया लाग्यो होला र बास दिएछ । पछि नेपाल हिडिछे अहिले नेपालमै कता होली । सोनाम त विदेशी केटी बिहे गरेर पनि दुइटा नानी जन्मिइसक्यो । त्यो तिमीलाई पनि थाहा भएकै हो ।अर्को नम्बरी विमल थुलुङको पनि यहाँ ल्याएको श्रीमती पारपाचुके दिएर कान्छी श्रीमती लिएर आएर छोरा जन्माइसक्यो ।
हामीले सुनेको चाहिँ श्रीमती छोराछोरीलाई जहिलेतहिले पिटने, मार्छु भनेर धम्की दिने गरेपछि आफ्नै छोरीले पोल खोलेर, चाइल्ड केयर सेन्टरले नानी श्रीमतीसँग नै छुट्टाएर भेटनसम्म पनि दिएन छ । त्यसपछि पारपाचुके नै गरेछ । अनि अर्को नम्बरी मैकाश राईको चाहिँ पोलिसले छोरी हिडालेछ पोलिस ज्वाइँ । हाम्रै नम्बरीको मात्रै पोलिसले बुढी पनि छोरी पनि उडाउनुपर्ने । हेर त तिम्रो पनि अहिले पोलिससँग झ्याँई पार्दै छे पछि सोनामको जस्तै प्रयोग गरेर रद्दी टोकरीमा मिल्काए पछि मात्र फेरि तिरीमिरी झ्याँई देख्छे । अर्को ब्याण्डको हाम्रो नम्बरी छ नि त्यसको पनि स्वास्नीले डिभोर्स नदिने रे एक वर्ष जति स्वास्नी छाडेर नेपाल गएको थियो अहिले बेलायत त आएको छ रे । छुटिएर बसेका छन् भन्छन् । तर त्यसको चाहिँ नेपालमा कान्छी बिहे गरेर बेलायतकी स्वास्नी छाडेर गाको हो उसको गल्ती भन्छन् । भगवान् थुलुङको पनि बेलायत आएपछि श्रीमती नरितासँग छुट्टिएर बेग्लाबेग्लै बसाइ । सुद्धि घिसिङले जेठी स्वास्नी बेलायत छाडेर नेपालमा कान्छी बिहे गरेर आएछ । त्यसपछि जेठी श्रीमतीसँग झगडा गरेर पुलिस केस परेपछि एक वर्ष जति फरक बसेर सुद्धि घिसिङ बेलायतमा भएका सपरिवार माया मारेर कान्छी श्रीमतीसँग बाँकी जीवन बिताउन नेपाल मात्र के फर्केको थियो । उनकी जेठी श्रीमती लक्ष्क्षु घिसिङ पच्छाउँदै नेपाल गएर श्रीमानलाई छ बहुविवाहमा जेल चलान गरिहालिछन् । दु्ई छोरी मात्र भएको सुद्धि घिसिङ कान्छी श्रीमतीबाट छोरा जन्मिने भएपछि झनै खुशीकासाथ सुत्केरी धन्दा गर्न नेपाल फर्केको थियो । सुत्केरीको नाम गरी रातो भालेको टाउको खाने बेलामा जेलको चिसो छिडीमा बिताउनुपरयो। आफन्तहरूले मिलाउने प्रयास गरे पनि दुई पतिपत्नी मिलनको विन्दुमा नपुगेपछि सुद्धि घिसिङले बहुविवाहमा तोकिए बमोजिमको जेलयात्रामा जिन्दगी गुजारिरहेको छ । अर्को हाम्रो नम्बरी तेइसचाहिँ उसको पुरानै केस हो श्रीमती र उनको नेपालमै छुटकारा भएको दशौं वर्ष बितिसके पनि कान्छी श्रीमती बिहे नगरि बेलायतमा छोरा लिएर आएर एक्ले ढेडुझैं बसेको छ ।
फेरि कोङ निनम्ले नै भन्यो – हैन देशकुमार नम्बरी १ हाम्रो ईन्टेकले सबैतिर कीर्तिमान कायम गरेकै छ । बेलायती गोर्खा सेनाका पहिलो विद्यावारिधि गर्ने पनि हाम्रै नम्बरी, ब्रिगेड अफ गोर्खाजमा सबैभन्दा बढी गोर्खा सैनिक अधिकृतको दर्जा पाउने पनि हाम्रै नम्बरी, अवकाशपछि नेपालमा बैंकको अध्यक्ष भएर फेरि जेल यात्रा गर्ने पनि हाम्रै नम्बरी, स्कुल, कलेज सञ्चालन गरेर टन्न सम्पत्ति आर्जन गरेर परिवार अपहरणमा परेर करोडौ फिरौती तिर्नका साथै श्रीमतीको मृत्युपछि कान्छी श्रीमती बिहे गरेर केही समयपछि कान्छी श्रीमतीलाई करोडौ क्षत्तिपुर्ति तिरेर पारपाचुके गर्नेपनि हाम्रै नम्बरी, भएन बेलायत आएर सबैभन्दा बढी स्वास्नी पोइला जाने पनि हाम्रै नम्बरी हाहा धक फुकाएर दुवै हाँस्छन । अब हाम्रो इन्टेकले कीर्तिमान कायम गर्नु योभन्दा बढी के मा होला र । भए जति सबैमा गरिसकियो । यो त गर्वकै कुरा हो । यसरी देशकुमार र कोङ निनम् आफ्नो मनको पीडा एक आपसमा साटेर मनलाई हलुङ्गो बनाउँछन् र बुढेसकालतिर उकालो लाग्दै गरेको बेलायती जीवनलाई धिक्कार्छन ।
शब्दार्थः–
ईन्टेकः एउटै ब्याच तथा एउटै सालमा सैनिकमा भर्ना भएको । अर्को शब्दमा नम्बरी पनि भन्ने गरिन्छ ।
कन्डोन सर्भिसः १५ वर्ष नपुगेको समयलाई थपेर १५ पुरयाएर पेन्सन पठाउने प्रक्रिया ।
प्रकाशित: १३ फाल्गुन २०७७ ११:०१ बिहीबार





