coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भेटेको पचास डलर

लघुकथा

– उ पचास डलर !  

बाटोमा खसेको पैसातिर इङ्गित गर्दै मेरो श्रीमतीले त्यता बढेर पैसा हातमा लिइन् । मान्छेको चहलपहल न्यून थियो, वरिपरि कोही थिएनन् । उनी पैसा हातमै लिएर म र अनुराधा भाउजू भएको नजिक आइन् । अनुराधा भाउजूले मेरी श्रीमती करुणाको हातबाट त्यो पैसा लिदै खुसी भएर भन्नुभो, “यो पैसाले पार्टी गर्नुपर्छ। ”  

हामी दुवै जनाले टाउको हल्लाउँदै सहमति जनायौं । अनुराधा भाउजूले त्यो पैसा आफ्नो ब्यागमा निसंकोच राख्नुभयो ।

अनुराधा भाउजू र उहाँको श्रीमान रमेश अधिकारी नेपालबाट पिआर लिएर टोरण्टो आएको बल्ल एक हप्ता भएको थियो । रमेशजी अन्तै जानुपर्ने भएको र अनुराधा भाउजूलाई अलिअलि घुमाउने र कामको लागि एकदुई ठाउँमा रेजुमी पनि बुझाइदिने भनेर हामीसँगै टोरण्टो शहर घुम्न गएका थियौँ । हुन त हामी पनि आएको दुई महिना जति मात्र भएको थियो ।

हामी टोरण्टोका मुख्य आकर्षण केन्द्रहरू सिएन टावर, हार्वर फ्रन्ट,  इटन सेन्टर, नेथन फिलिप स्क्वाएर हुँदै बस्ने ठाउँतिर फर्कियौं । हाम्रो वासस्थान धेरै जसो नेपालीहरू पहिलो पटक क्यानडा बसाइँसराइ गरेर टोरण्टो आउँदा बस्ने ठाउँ वैलस्ली एरियामा रहेको थियो । रमेशजीहरू आफ्नो अपार्टमेन्टको टुङ्गो नलागिन्जेल हाम्रो कोठामा नै बसिरहनुभएको थियो । केही स्टोरहरूमा अनुराधा भाउजूको कामको लागि रेजुमी दिने र घुमाइको लखरलखरको हिँडाइले हामी कोठामा पुग्दा धेरै थाकिसकेको थियौँ ।

रमेशजी सोफामा बसिरहनुभएको थियो । अनुराधा भाउजूले खुसी हुँदै भन्नुभयो– आज मैले बाटोमा पचास डलर पाएँ।

म र करुणा एक अर्काको अनुहारमा हेरेर मुस्कायौं । रमेशजीले भाउजू भन्दा खुसी हुँदै भन्नुभो– मेरी बुढी लक्षणकी छे ।  काम खोज्न गएको पहिलो दिन नै कमाएर ल्याइछ ।  मेरी श्रीमती करुणा एकएक गर्दै कहिले रमेशजी, कहिले अनुराधा भाउजू र कहिले मेरो अनुहार हेर्न थालिन् । म भने करुणाको अनुहार हेरिरहेँ । अनुराधा भाउजूले करुणाले भेटेको पचास डलर आफूले पाएको भनेर हाम्रै अगाडि बोलेको झूट, रमेशजीको आफ्नो बुढीप्रतिको गर्वको खुसी र भेटेर हराएको पैसा एकएक गरेर मेरो मस्तिष्कमा नाचिरहे त्यो साँझ।  

प्रकाशित: ९ फाल्गुन २०७७ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App