सन् २००४ तिर कलाकार मनीषलाल श्रेष्ठले भावकलाई समेत संलग्न गराएर आफ्नो एकल कला प्रदर्शनीको उद्घाटन गरे।
लाजिम्पाटको ग्यालरी नाइन, एउटा सानो तर आकर्षक कलादीर्घा। अगाडि ठूलो चौर भएको एउटा सानो घर, जसको माथिल्लो तलामा ग्यालरी नाइन थियो। उद्घाटनको समय ०४ः४५ तोकिएको थियो। अगाडि चौरमा दर्शकको भीड जम्मा भइसकेको थियो। तर, न आयोजक कहीँ देखिन्थ्यो, न कलाकारको अत्तोपत्तो थियो। समय भने अगाडि बढ्दै गयो। अचम्भित भावक कोही घर फर्कने, कोही गुटगुटमा बाँडिएर गफ चुट्ने उपक्रममा व्यस्त थिए। घडीमा ४ः४५ बज्यो। यति नै बेला कतै कुनाबाट ‘कार्यक्रम सुरु भयो है’ भन्ने आवाज आयो। सबै दर्शक आवाज आएतिर फर्किए। एउटा व्यक्ति प्लास्टिकको झोला बोकेर उभिरहेको थियो। उसले सबै दर्शकलाई उतैतिर आउन आग्रह गरिरहेको थियो। ग्यालरीको बाहिरपट्टि भर्याङ थियो, माथि उक्लनका लागि। सबै दर्शक लाइन लगाएर उभिए। सानो काठको भर्याङ भएकाले हुल गरेर चढ्न सकिन्नथ्यो।
ती व्यक्तिले एक–एकवटा मैनबत्ती सबैको हातमा थमाइदिए। अनि इसारा गर्दै भर्याङबाट माथि चढ्दै हलतिर जान आग्रह गरे। सबै दर्शकले यसको अनुसरण गरे। माथि हलमा चकमन्न अँध्यारो थियो, कसैले कसैलाई देख्न सम्भव थिएन। अचानक एउटा कुनाबाट आगोको झिल्का देखापर्यो, कसैले सलाई कोरेको जस्तो। तर बलिरहेको थिएन। झिलिक्क झिल्का देखिँदा एउटा आकृति पनि झिलिक्क देखिन्थ्यो। धेरै प्रयासपछि सलाईको काँटी बल्यो। के देखियो भने एउटा व्यक्ति सानो मैनबत्ती लिएर उभिरहेको थियो। यता सबै दर्शक हातहातमा नबलेको मैनबत्ती बोकेर उभिरहेका थिए। बिस्तारै त्यस कलाकारले आफ्नो बलेको मैनबत्ती एउटा दर्शकलाई दियो। दर्शकले त्यसबाट आफ्नो मैनबत्ती बाल्यो। फेरि अर्कोले पनि त्यही गर्यो। क्रमशः सबैको हात–हातमा रहेको मैनबत्ती बल्न थाले। कोठा नै झलमल उज्यालो भयो। त्यहाँँ के देखियो भने दर्शकको रूपमा आएका कलाकार गोपाल कलाप्रेमीले थुप्रै घन्टी एकैपटक बजाउँदै छ। यो घनघोर आवाजले हल नै गुञ्जायमान भयो। अब बल्ल कलाकार मनीषलाल श्रेष्ठ अगाडि आए। अनि भने, ‘कला प्रदर्शनीको उद्घाटन भयो, सबैलाई धन्यवाद छ। हामी सबै मिलेर यसरी नै यो अहिले अँध्यारो भएको देशलाई उज्यालो पारौँ है। अनि शान्तिले मेरा काम पनि हेरिदिनु होला।’
कलामा रिकग्निसनको अर्थ गहिरोसँग गाँसिएको छ। रिकग्निसनको सामान्य अर्थ मान्यता हो। कदर र सम्मान गर्नु भन्ने अर्को अर्थ पनि निस्कन्छ। सजिलो गरी बुझ्नुपर्दा समाजबाट कलालाई मान्यता दिने यो एउटा दरिलो प्रक्रिया हो, अर्थात् सोसियल रिकग्निसन।
मूलतः यसबखत माओवादी आन्दोलन उत्कर्षमा थियो। चकमन्न रातजस्तो हरेक बिहान मरेको र मारेको खबरबाहेक केही सुन्न पाइँदैनथ्यो। सम्भवतः समसामयिक राजनीतिक मुद्दालाई सम्बोधन गर्ने यो एउटा आफैँमा गतिलो कला थियो। भावकलाई समेत संलग्न गराएर गरिएको मनीषको घण्टी नै घण्टीले भरिएको ‘साउन्ड अफ होप’ नामक यो एकल कला प्रदर्शनी थियो। सम्भवतः सबै भावकले बोध गरे, उनको कलाको रिकग्निसन अर्थात् कलालाई आदरभाव प्रदर्शन गरिएको त्यो अवस्थालाई, भावक पनि कलामा आबद्ध भएको यो एउटा सम्झनलायक घटना हुनुपर्छ।
रिकग्निसनको भावार्थ
कलामा रिकग्निसनको अर्थ गहिरोसँग गाँसिएको छ। रिकग्निसनको सामान्य अर्थ मान्यता हो। कदर र सम्मान गर्नु भन्ने अर्को अर्थ पनि निस्कन्छ। सजिलो गरी बुझ्नुपर्दा समाजबाट कलालाई मान्यता दिने यो एउटा दरिलो प्रक्रिया हो, अर्थात् सोसियल रिकग्निसेन। सामाजिक मूल्य–मान्यतासँगै समाजमा भएका सबैजसो कुरालाई गुणस्तरीय बनाउन संस्कारका विभिन्न अवयव गाँसेर जीवनयापन गरिरहेको मानिसहरूको एउटा झुन्ड हो, समाज। आफैँले बनाएका निश्चित सामाजिक मान्यता, जीवनयापनका पद्धति, विभिन्न वर्गलाई हेर्ने दृष्टिकोण, गरिनुपर्ने आदरभाव र सजाय आदि–इत्यादिले भरिएको अवयवको समष्टिगत नाम हो, समाज। यसले कलालाई पनि एउटा समष्टिगत दृष्टिले हेर्ने परिकल्पना गरेको हुन्छ। यही समाजको उपजको रूपमा एक व्यक्ति सरकारमा पुग्छ, कलादीर्घा वा कलाका संस्थामा पनि पुग्छ। समाजकै व्यक्तिले नेता, लेखक, कलाकार, पत्रकार लगायत विभिन्न पेसा अपनाउने हो। अनि त्यही व्यक्तिले बोक्ने सोच, विश्वास र धारणाले आ–आफ्ना ठाउँमा कलालाई कसरी प्रवेश गराउँछ भन्ने निर्धारण गर्छ।
सम्भवतः प्राचीन कालदेखि नै कलालाई हेर्ने दृष्टिकोणमा कलाकारलाई एउटा लाए–अह्राएको काम गर्ने वर्गको रूपमा राखेको देखिन्छ। राजा–महाराजाले आफ्नो इच्छापूर्ति गर्न मन्दिर, स्तुपा वा महल, दरबार बनाउन कलाकार नै प्रयोग गरेको इतिहास छ। शासकले चिरकालसम्म आफूलाई स्थापित गर्न आफ्ना व्यक्तिचित्र बनाउनेदेखि सालिक ठडाउने काममा कलाकारलाई नै प्रयोग गरे। कति राम्रा–राम्रा देवीदेवताका मूर्ति, चित्र वा राजा–महाराजाका सालिक आज हेर्न सकिन्छ, तर अधिकांश यस्ता काममा कलाकारको नाम पाइँदैन। कला नभई नहुने कुरा भइरहँदा पनि कलाकार किन आदरणीय हुन सकेन ? अथवा, यस्तो प्रचलन किन आयो ? यसो हुनु प्राचीन कालदेखि नै कलालाई सिर्जनाभन्दा पनि शिल्पको रूपमा बढी बुझिँदाको प्रतिफल हुन सक्छ। शिल्पी वा अझ अलि खरो भाषामा कालिगड भन्ने चलन थियो। आज पनि यो शब्द हराएको छैन।
उहिल्यै जमानादेखि कलाका अधिकांश काम वैश्य वा शूद्र जातिलाई जिम्मा लगाइएको थियो। यसो हुँदा कलालाई समाजले हेर्र्ने दृष्टिकोण कलाको रूपमा नभएर मात्र कालिगडीको रूपमा मात्र रहेको देखिन्छ। वा, सीप भएको सामाजिक वर्ग, जाति निम्न कोटिमा परिभाषित गरिएको थियो। यो सामाजिक संरचनाले गर्दा माथिल्लो तहका मानिसले यस्ता काम नगर्ने, वा उसलाई गर्न नदिइने, गरे भने हेय दृष्टिले हेर्ने गरिन्थ्यो, जसकारण त्यतिबेला कलाविधा सम्मान र आदरको क्षेत्रभित्र परेन। कला राजा–महाराजाको ऐयासी वा मनोरञ्जनको क्षेत्र घोषित हुँदा यता पछिल्लोकालसम्म राजा–महाराजाको इच्छा र आकांक्षामा कला पल्लवित भएको देखिन्छ। यसलाई हामी सबैले राजा–महाराजाको अनुकम्पाको रूपमा बुझ्यौँ। यसैको प्रतिफलको रूपमा निर्माण भएका आजका अनगिन्ती मठ–मन्दिर, मूर्ति र चित्रकला गौरवका साथ उल्लेख पनि गर्ने गर्यौँ। तर, यस्ता अनुपम कला सिर्जना गर्ने कलाकार को थिए ? ती कलाको इतिहास कहाँ छ ? ती कलामा कलागत तत्व कस्तो छ ? यी कला तत्वको लेखाजोखा हामीले कति गर्न सक्यौँ ? कलातत्वको संरक्षणका संस्कार, भौतिक रूपमा यसका संरचना कति गर्न सक्यौँ ? यसैलाई रिकग्निसन गर्ने संस्कार कति बसाल्न सक्यौँ ? यसको अनुसन्धानका लागि कति आर्थिक निवेश गर्न सक्यौँ ? कलाको निरन्तरताका लागि संरचनागत संस्कार कति विकास गर्न सक्यौँ ? यी यावत कुराको सामान्य चर्चा र बहससम्म हुन सकिरहेको छैन।
भारतमा १६औँ शताब्दीका सम्राट अकबरले कला एटलिएर नै बनाएका थिए, जहाँ सयजना कलाकार थिए रे। सम्भवतः ती सबै कलाकार लाए–अह्राएको जस्तो गरी कलाको निर्माण गर्थे। यसैको देखासिकी स्वरूप नेपालमा पनि हजारौँ रूपमा मूर्ति, चित्र, मठ–मन्दिर र स्तुपा बने, कलाकारबाट। अझ राणा प्रधानमन्त्री हुँदाको बखतमा विविध कलाकार भरिएको एक अलग्गै निकाय नै खडा गरिएको थियो। जहाँ चित्र मात्र बनाइँदैनथ्यो, नाटकका लागि चित्रले भरिएको पर्दा लेखिने काम पनि हुन्थे। नाटक, नाचगान आदि सबैखाले कलाको मञ्चन हुन्थे। स्वभावतः राजा–महाराजाका लागि त्यो मनोरञ्जनको विषयभन्दा पर हुँदैनथ्यो होला। राम्रो कुरा भनेको यसबेला एउटा कलाको एक अलग्ग विधा पर्दा–कलाको विकास पनि भयो, तर यसमा कलाकार सम्भवतः कालिगडीभन्दा पर रहेको देखिँदैन। यस्तो परम्पराले गर्दा आज पनि कलाकार उच्च तहमा पुगेको देखिँदैन। अनि पैसाको जोहो गरिदिएपछि कलाकारले मात्र कला बनाउने काम गरेर अमुक व्यक्ति, संस्थाका उद्देश्यलाई पूरा गरिरहेको देखिन्छ। आफू भने कलाकार सदैव ओझेलमा पर्दै आएको इतिहास छ।
रिकग्निसन गर्ने संरचना
आज कलामा रिकग्निसनभन्दा पनि दया–मायाको सन्दर्भ बढी देखिन आयो। कलाकारको आर्थिक दुर्दशाको वकालत गर्नेदेखि प्रोत्साहनको नाममा, पैसा जडेगा गर्ने र कला प्रतियोगिता गर्ने प्रचलनको दबदबा रह्यो। कलाकारको प्रोत्साहन वा कला विकासको नाममा कलाका स्कुलदेखि क्याम्पस, सरकारी कार्यक्रमसम्म कला प्रतियोगिता र कला कार्यशाला गर्ने परम्परा बस्यो। सधैँ र सबैतिरबाट दया–माया मात्र गरिनुले कलाकारलाई परनिर्भतातर्फ उन्मुख गराउँछ, यतापट्टि हामीले यादै गरेनौँ।
हामीकहाँ सयौँ कला कार्यशाला भए होलान्। त्यहाँ बन्ने कला कहाँ थन्किएका छन् ? यसको खोजी कसैले गरेको सुनिदैन। चित्रकलाको कार्यशालाको मात्र यो दशा होइन, मूर्तिकला कार्यशालाको अवस्था पनि उस्तै छ, जुन निकै ठूलो धनराशि खर्च गरेर आयोजना हुने गर्छन्। कला बनिसकेपछि यसलाई व्यवस्थित गर्न नसक्दा वा योजना नै नहुँदा जहाँ बनाएको हो त्यहीँ फालिएको मात्र हुँदैन, कलाको सम्बन्धित निकायको प्रांगणमै फालिएको पनि देख्न सकिन्छ। कलाको कदर यही हो ? यतापट्टि हाम्रो ध्यानै गएन। कला सिर्जनापछि सही ठाउँमा यसलाई स्थापित गर्न सकिएन, वा हुन सकेन भने कलाकारको मन कति रुन्छ ? यतापट्टि हामीले ध्यान दिन सकेनौँ।
कलाका सबैजसो कार्यक्रम कला सिर्जनामै केन्द्रित गर्नेतर्फ ध्यान गएको देखिन्छ, तर त्यसलाई सही ढंगले अभिलेखन गर्ने र विश्लेषण गर्नेतर्फ ध्यान गएको पाइँदैन। कलाकारले खाइनखाई बनाएको कलालाई रिकग्निसन गर्ने परम्परा पनि देखिन सकेन। फलस्वरूप आज राम्रा र उच्च स्तरीय वा गुणस्तरका कला छन् कि छैनन्, वा छन् भने कहाँ छन् ? हामीसँग भरपर्दो अभिलेख छैन। आज उच्चकोटिका कला सिर्जना भइरहँदा पनि यसलाई स्थायी रूपमा राखिने व्यवस्था हुन नसकेको अवस्था छ। दुःखलाग्दो कुरा आजको अवस्थामा अमुक विधामा नयाँ आयाम खडा गरेबापत गहकिलो पुरस्कारको व्यवस्था हुन सकेको देखिँदैन। कदर गर्ने सोचको कमीले गर्दा यस्तो खाले संरचना नै बनाएको देखिँदैन।
यसर्थ मूलतः कलालाई मान्यता दिनेतर्फ सोच्न आवश्यक छ। तीनवटा ‘आर’ (रेस्पोन्स, रिकग्निसन र रिवार्ड)को बडो महत्वपूर्ण भूमिका हुन्छ, कला विकास क्रममा। यति गर्न सकियो भने कलाको नौलो शैली, अद्वितीय संयोजन, प्रस्तुति र कलाकारको मौलिक रचनाले कला विधा मात्र होइन, राष्ट्रकै पहिचान बनाएको देख्न पाइन्छ। कलामा गुणस्तरको पहिचान गर्न र स्वदेशमा मात्र होइन, विदेशमा समेत यसको वकालत गर्न आवश्यक छ।
कलाकारलाई पैसा चाहिन्न भन्ने होइन, यसो गर्न आर्थिक ठूलै धनराशि पुरस्कारका रूपमा दिन सकिन्छ। कलाकार बूढो वा अशक्त भएपछि त्यस्ता पुरस्कार दिने होइन कि आफ्नो विधामा नौलो, नवीन, आयाम खडा गरेका आधारमा दिइने संरचना हुनुपर्छ। राम्रो काम गर्छ भने उसलाई दशपल्ट पुरस्कार दिइनुपर्छ। भागबन्डामा पुरस्कारलाई प्रदान गरिनुहुन्न। कदरकै सन्दर्भमा कलाकारलाई विश्वकला बजारमा पहुँच गराउनेदेखि राष्ट्रको विशिष्ट तहमा पहुँच गराउने गहकिलो प्रयास गर्न सकिन्छ। कलाकार भएकै नाताले विशेष प्रकारको सहुलियत पाउने व्यवस्था गर्न सकिन्छ। अलग्ग मान–मर्यादा गर्न र गराउन पनि सकिन्छ।
समाज र सिर्जनाबीचको द्वन्द्व
एकातर्फ कुनै सामाजिक मान्यताविपरीत आएको कलाको नयाँ स्वरूप एकैचोटि समाजलाई ग्राह्य हँुदैन। अर्कोतर्फ कला सदैव नयाँ रूपमा आउने चेष्टा गर्छ। यही समाज र सिर्जनाबीचको द्वन्द्व नै कला विकासको तगारो बनेर बसेको हुन्छ। विश्वकै कला इतिहास हेरियो भने पनि यथार्थवादी आन्दोलनदेखि, प्रभाववाद, घनवाद वा अमूर्तकला, अभिव्यञ्जनावाद, अति यथार्थवाद वा यसपछिका कैयौँ कलाका आन्दोलनले तत्कालीन समाजको खप्की खानुपरेको थियो। सुरुमा त्यही असहज लाग्ने कला कालान्तरमा समाजका लागि ग्राह्य भए। समाजमा मान्यता पाएपछि ती कला अमर पनि भएका छन्।
अर्को अझ पेचिलो सवाल छ, इकोनोमिकल्ली रिकग्निसन अर्थात् आर्थिक क्षेत्रबाट मान्यता पाउनु। अर्थको सम्बन्ध कलाका लागि जहिले पनि महत्वका साथ बाँधिएको हुन्छ। कलाबाट अर्थोपार्जन हुन सकेन भने ढिलोछिटो कला मर्छ, कला फस्टाउन सक्तैन। यसर्थ आज पनि प्राचीनकालदेखि बाँचेको कला भनेको कमिसन वर्क नै हुन्। वा, धर्म र संस्कारले संरक्षण गरेका कला नै हुन्। अनन्त कालसम्म अर्थको व्यवस्था भएका कला धेरै वर्ष बाँचेका छन्। यसरी हेर्दा पनि कमिसन वर्क उपलब्ध गराउने राजा–महाराजाको इतिहास जीवन्त बनेको छ। तर, धर्म, संस्कार अथवा जात्रा–पर्व कालान्तरसम्म बाँचिरहँदा यसको अभिन्न अंग कलाकारको अस्तित्व कतै देखिँदैन। यसको सीधा अर्थ के निस्कन्छ भने अमुक कलालाई समाजले स्विकार्छ।
सिर्जना जहिले पनि समाजभन्दा एक कदमअगाडि हुन्छ भनिन्छ। समाजको दर्पणको रूपमा, सामाजिक कुरीति, अन्याय, अत्याचारको प्रतिविम्बका रूपमा, समाजको सवाल वा राजनीतिक सवाललाई उठाउने सन्दर्भमा कला अगाडि आइरहेको हुन्छ। समाजकै वरिपरि घुमिरहने यस्ता कला गाली गर्ने अनि माया गर्ने, मान्यता दिने वा आदर दिने पनि समाज नै हुन्छ। यसर्थ कलाको एस्थिटिकल्ली जजमेन्टको अवस्था जसरी विकसित हुँदै जान्छ, कलालाई केवल मूर्ति चित्र वा वास्तुकलाका रूपमा हेर्न छाडेर एक अलग्ग क्षेत्रको रूपमा हेर्ने दृष्टिकोण बन्दै जान्छ। यसरी स्वतः कलाकार सम्मानित हुने अवस्था देखा पर्छ।
कला शिक्षा
प्राचीनकालको कला हेरेर त्यतिबेलाको सामाजिक वा राजनीतिक व्यवस्थालाई आज पनि सहजै आकलन गर्न सकिन्छ। तर, मूलतः समाज जड मानसिकताबाट गुज्रिरहेको हुन्छ। यसर्थ परम्परावादी सोचबाट ग्रसित समुदाय यस्तो नवीन कुरामा मान्यता प्रदान गर्न हिच्किचाउँछन्। सदियौँदेखि, बालकपनदेखि हेर्दै र भोग्दै आएको कलाकार स्वयं पनि आफ्नो अलग्ग अस्तित्वको परिकल्पना गर्न तयार भएको देखिँदैन। यसैले त औपचारिक, अनौपचारिक वा कहिलेकाहीँ अतिरिक्त शिक्षाको प्रक्रियाले पनि आम समुदायको सोचमा परिवर्तन ल्याउने काम गरिरहेको हुन्छ। राष्ट्रको गहकिलो शैक्षिक प्रक्रियाले समुदायको सोचलाई समसामयिक अवस्थासँग तालमेल गराउनतर्फ अग्रसर गराउँछ।
समाजको ठूलो रूप राष्ट्र हो। यसैको अझ ठूलो रूप विश्व हो। कुनै पनि कला आफू बसेको समाज र समुदायबाट कदर र सम्मान हुँदै गएपछि यसैलाई राष्ट्रले मान्यता प्रदान गर्ने र अन्तमा यसैलाई विश्वले पनि मान्यता प्रदान गर्ने प्रक्रिया रहेको हुन्छ। यसैले धार्मिक कला र लोककला हजारौँ वर्षदेखि जीवन्त भएर अमर भएको उदाहरण देख्न सकिन्छ। अहिलेको अवस्थामा समसामयिक कला भने समाजको एक अंग बन्न नसकेको हो कि जस्तो देखिन्छ। सीधा अर्थमा समसामयिक कला पनि यसरी नै समाजको एक अंग बन्न आवश्यक छ। कलालाई हेर्ने समाजको दृष्टिकोण, मान्यता र क्षमता वा निष्ठा नै कलालाई जीवन्त बनाउने अचुक अस्त्र हो। यसैले अहिले आएर होलिस्टिक एप्रोचमा विकसित भएको विकासको अवधारणामा कलाको विकास पनि गाँसिएको छ। समाजबाट गरिने वा गर्नुपर्ने एप्रिसिएसन अर्थात् समाजमा बोध हुने प्रक्रिया, कृतज्ञता र कलालाई कदर गर्ने स्वभावको शुभारम्भ गर्न र गराइन आवश्यक छ। यसका लागि कला शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ।
कलामा अन्तर्निहित मौलिकता
कलामा हुनपर्ने मौलिकताका लागि विश्वमै चर्चा हुने गर्छ। कलामा मौलिकता भनेको आफू बाँचेको समाजको सेरोफेरो र यसैले आर्जेका विम्बलाई टिपेर अरू कसैको नक्कल नगरीकन सिर्जना गर्दा स्वतः देखापर्ने कुरा हो। यसैले समसामयिक कलामा पनि कहीँ न कहीँ सामाजिक, सांस्कृतिक आदिका अवयवलाई मोटिफको रूपमा कलाकारले लिने गर्छन्। कलामा मौलिकता खोज्ने वा पस्कन खोज्ने यो पनि एउटा उपक्रम हो। कसैले यथार्थ रूपमा, कसैले अमूर्त रूपमा र कसैले विषयलाई मूल केन्द्रको रूपमा राखेर आफ्नो सिर्जना गरिरहेको हुन्छ। यसैले ग्लोबलाइजेसनसँगै लोकलाइजेसजनको पनि चर्चा भइरहेको हुन्छ। कलाको विकासका क्रममा कहिल्यै नसेलाएको विषय हो, इन्डिजिनस आर्ट। यसैभित्र कहीँ न कहीँ कलामा मौलिकता घुसेको हुन्छ भन्ने विश्वास गरिन्छ। यसर्थ एउटा स्वाभिमानी कलाकारले आफ्नो कलालाई मात्रै मौलिक बनाउने उद्देश्य राख्दैन। मौलिकतालाई आफू बसेको समाजको उपजको रूपमा लिने र यसैलाई प्रतिनिधित्व गर्ने अभीष्ट पनि राखेको हुन्छ। त्यसैले समाजको विभिन्न एकाइबाट कलाको रिकग्निसन हुन आवश्यक छ।
समाजबाट पल्लवित कलाको महत्वबारे ज्ञानको कमी रह्यो भने उसले कलालाई कदर गर्न सक्तैन भन्ने विश्वव्यापी मान्यता छ। यसर्थ समुदायलाई कला क्षेत्रमा जागरुक गराउने खालका कार्यक्रम हुने गरेको देखिन्छ। अझ आजको कलाको रूप हेर्ने हो भने समुदायलाई कलाको रस–स्वादन गर्न प्रदर्शन कक्षसम्म आउन आग्रह गर्दैन। बरु कला नै समुदाय माझ पुग्ने परम्परा सुरु भएको छ। समुदायसँग नजिक हुने क्रममा ‘पप आर्ट’को आन्दोलन सबैभन्दा सशक्त रूपमा देखा पर्यो।
भावक (समुदाय) लाई कलाको एक अंग बनाई कलाको एक अलग्ग स्वरूप निर्माण भएको पनि देखिन्छ। उहिलेदेखि प्रचलनमा रहेको लोककला सामाजिक दिनचर्याको एक अभिन्न अंग थियो तर आजको कला समाजसँग टाढिँदै गएको आभास हुन पनि थालेको छ, त्यसैले कुनै न कुनै तरिकाले समुदायलाई कलासँग जोड्ने कोसिस भएको देखिन्छ। आज कम्युनिटी आर्ट, स्ट्रिट आर्ट र कोल्याबोरिटिभ आर्ट यसैको उपज हो। साहित्य, संगीत, नाटक, नाच, फेसन आदिमा मात्र होइन, उत्पादनका विभिन्न सामानमा कला छ र सामान्य उपभोक्ता पनि कलाको अभिन्न पात्र बन्न थालेको छ। तथापि यो प्रक्रियालाई रिकग्निसन गर्ने क्रममा यसलाई समाजले कसरी लिएको छ, वा यसबारे हामीले ‘आर्ट एजुकेसन’लाई कतिको प्रवाह गर्न सकेका छौँ– यो एक अलग्ग सवाल हो। आर्ट एजुकेसन भनेको स्कुल–कलेजको औपचारिक शिक्षा मात्र होइन, कुनै पनि कलाका कार्यक्रमबाट प्रवाहित हुने अनौपचारिक शिक्षा पनि हो। कलाका गतिलो र सही कार्यक्रम मात्र सुरु हुन सके पनि यसले कला र कलाकारलाई दरिलो रिकग्निसन मिल्न सक्छ।
सन् ६० कै दशकतिर लैनसिंह वाङ्देलले क्युबिक फर्ममा हरियो र खैरोे रङ खेलाएर कसरी अमूर्तकलाको सिर्जना गर्न सके होला ! उत्तम नेपालीले साहित्यकारसँगको नजिकको सम्बन्ध राखेर समकालीन कविका कविताका हरफलाई आफ्ना क्यानभासमा कसरी उतारे होला ! तन्त्रका जटिल विम्बलाई केलाएर रामानन्द जोशीले कसरी नवतन्त्र कलाको विकास गरे होला ! यस्तै अन्य धेरै मूर्धन्य कलाकारका कलाको विशेषतालाई मान्यता दिने परम्परा भइदिएको भए, यी कलाका ऐतिहासिक घटना, शैली र प्रवृत्तिलाई संस्थागत रूपमा मान्यता प्रदान गरिएको भए, आजका नयाँ युवा कलाकारका लागि ठूलो प्रेरणाको स्रोत बन्न सक्थ्यो। आजका नयाँ युवा पुस्ताका कलामा स्वतः नेपाली मौलिकताको सहजै आभास पाउन सकिन्थ्यो होला।
(लेखक कलाकार र कला समीक्षक हुन्।)
प्रकाशित: २४ माघ २०७७ ०४:०३ शनिबार