चन्द्र रानाहँछा
रातको मध्य सपनामा कहिलेकाहीं लहरै आउँछ पेलुङको लहरे बर , चिरिम्वे भीर , मुमातो धारा ,बारम्टी , सुन्तवा साप्सु खोला र घरैछेउको साकेला थान । एउटै सपना किन दोहोरिन्छ बारम्बार ? र खल्बल्याइदिन्छ बल्लतल्ल फकाएको निन्द्रा । झल्याँस्स बिउँझिन्छन् उनी । चकमन्न छ रात । झ्यालको पर्दा यताउता सारेर हेर्दा मृतप्राय जस्तै छ शहर ।छैन, अहँ केही छैन , मात्रै छ एउटा निस्लोट र निरीह शून्यता । अनि छ कहींकहीं बलिरहेको बिजुलीको कम्जोर उज्यालोलाई चिर्दै बेटुङगो गुडिरहेका मोटर ,बाइकका कर्कश आवाज । परन्तु त्यो भर्खरैको सपनामा के थिएन?के थिएन त्यहाँ ? सबै –सबै थिए । अनि त्यै सपना किन आइरहन्छ सधैं यसरी ? कतै गाउँले बेस्कन आफूलाई सम्झिएर पो होकि या त चटक्कै माया मारेर हो ।उनी गुन्छन् –गाउँको धुलोमा पाउ नराखेको लगभग तीसौं वसन्त गुज्रिसकेछ ।तब पुग्छन् सम्झनामा आफू जन्मिएको सुदूर गाउँ , जहाँ आफ्ना पुज्य पुर्खाका चिहान र चौतारीहरू छन् । बुढो हुँदै गएका दौंतरीहरू छन् । त्यो गाउँ, जहाँ आफ्ना सुदूर अतित र बाल्यकालका अमिट अवशेषहरू छन् । त्यहाँका धुले गोरेटाहरूमा आफ्ना पाइतलाका डोबहरू छन् । उकाली –ओरालीहरूमा यौवनावस्थाका मृदुल याद , स्वप्न–सुस्केरा र गीतहरू छन् ।जहाँ बतासले यताउता हल्लाउँदा बाँसको टुप्पा,े छेडीबाट देखिने निलो आकाश छ र हाँगाहाँगा डुल्दै चिर्बिराउने चराहरू छन् । त्यहाँ खोलाहरू छन् । भंगाला , छाँगा, दह र दोभानहरू छन् । त्यहाँ देउराली, भञ्ज्याङ र फलैंचाहरू छन् । पाखा र पहाडहरू छन् । गोरटो, जंगल अनि फूलहरू छन् । त्यति स्निग्ध गाउँसित दुरी बढाएर यो कंक्रिटको जंगलमा म छु यतिखेर ? तर यहाँ के छ ? के छ त्यस्तो अलौकिक चिज यहाँ ? जसको सम्मोहनले बेह्रिएर यहीं बस्न विवश हुनुपरयो आजसम्म ।उकुसमुकुस उनी सुस्तरी छाम्दै बत्ती बाल्छन् । परिवारका सदस्यहरू निन्द्रैमा भएको गहिरो शून्य बीच उनी अब लेख्न बस्छन् कविता –
... साकेला डाँडामा
सिलीका पारखी
जुुवालंसिं राई नाचेको इतिहास
तिमी लामाखु ... ( मेरो लामाखु ) !
यसरी कवितामा गाउँको स्निग्ध चित्र उतार्ने कवि हुन् – मदन राई ‘लामाखुले ’। करीब तीसको दशकदेखि साहित्यमा कलम चलाउन थालेका वरिष्ठ कवि लामाखुले, अनुभुतिको सघनता , स्वप्न–गति र संघर्षको तीव्र घर्षणले खारिएर उठेका गम्भीर कवि हुन् । आजभन्दा एकहत्तरौं वसन्तअघि अर्थात् विसं. २००६ वैशाखमा पूर्वी पहाडी खोटाङको लामाखुमा आपा धनकेसर तथा आमा अतम्बरी राईका माइलो सन्तानका रूपमा जन्मिएका हुन् मदन । उनी जन्मिएका याम घुरयान बारीका डिलैडिल छपक्कै फुलिरहेका आरु र पैंयुका फूलहरूले हिउँदलाई अन्तिम बिदाइका हात हल्लाइरहेका थिए । यता मदन जन्मिएको खुसीयाली टोलभरि छायो । हर्षबढाईंस्वरुप आपाले त्यै दिन जोडी भाले काटेका थिए रे भनेर पछि आफूलाई कसैले सुनाएको कुरा मुस्कुराउँदै कहन्छन् मदन । मुस्कुराउँदा बुढ्यौली प्रमाणित गर्ने उनका अनुहारका किरिङमिरिङ धर्साहरू केही क्षणलाई मेटिएको प्रतित हुन्छ ।
घरगाउँमा जहिल्यै काम र कामभन्दा बढी दुःख हुन्छ । न्वारानको केही दिनबाटै मदनलाई लाम्टा चुसाउँदै कामको फेरो समातिन आमाले । अब उनी आमाको काखभन्दा धेरै कोक्रोमा रमाउन थाले । बिस्तारै कोक्रोमा समेत नअट्ने भएपछि उनी रमाउने संसार भुई भयो । भुईमा खेल्दा खेल्दै उनका कोमल पाइतलाले सिकुवाबाट आँगन , आँगनबाट खला र खलाबाट खेत अनि गोरेटाहरू नाप्न थाले ।
क्रमशः उनले मानिससंगै चराहरू समेत चिन्न थाले । भुइँ र बाटोसंगै आकाश र जूतारा पनि जान्न थाले । तर अब घाम,जून र ताराहरूको उज्यालाले पुगेन उनलाई। उनलाई त चिन्नु थियो अक्षरको आकाश अनि जीवनको उज्यालो । तब कोरे कलिला औंलाहरूले उनले भुइँ । सुन्तलाको काँडाले बाँसका पटेस र कोइलाले ढुंगाका छातीहरू । त्यसताका गाउँको निर्मलीडाँडामा राजाको नामबाट स्थापित एक मात्रै विद्यालय थियो ‘महेन्द्र प्रावि’ । आपाले उनलाई तिनै विद्यालयमा ४ कक्षामा भर्ना गरिदिए । उनी खुब सम्झन्छन् प्रधानाध्यापक लक्ष्मीप्रसाद कोइरालालाई ।लक्ष्मीप्रसाद देवकोटासित सुरुको नाम मिल्दो उनी देवकोटाजस्तै कविता लेख्ने ल्याकत नराखे पनि विनम्रताका कारण त्यो कालका प्राय विद्यार्थीहरूका स्मृति–विम्बमा अहिलेसम्म उदाइरहन्छन् ।लामाखुमा ५ कक्षासम्म पढेर उनी गए साप्सु तरेर पारि रतन्छा गाउँस्थित ‘साकेला निमावि’ मा । जहाँ उनी दुई साल पढे । त्यसपछि उनी लागे भोजपुर । मदन राई ‘लामाखुले’ ले कवि हृदयका थिए । ससाना घटना र परिदृश्यले समेत अर्कै गरी उनको सम्वेदनालाई प्रभाव पार्थ्यो । खोटाङ–भोजपुर गर्दा तरेर जाने साप्सुको सङ्लो भँगालो , याङटाङको गहिरो छाँगा र पिखुवाको स्निग्ध जंघारहरूबाट कविताका चोखो विम्बहरू उबाउँथे उनी । चखेवा भञ्ज्याङ ,टेम्केको चुली र पिखुवापारि दावाँ तीनछाँगेको उकालीमा कविताका सुन्दर हरफहरू भेट्थे । सायद तिनै हरफहरूलाई उनले छिनामखुको चौतारीमा बसेर लेखेका हुन् कि यसरी–
फेदी काटेर पिखुवा खोलैखोला
भोजपुर र टक्सारहरू
पल्लो खोटाङहरू
डाँडा काटेर गए पनि
लाखे त्यहीं नाचिरह्यो
टक्सारमा
तर थाकेन,
लाखे नाचेर मेरो आँखामा ।
(टक्सार बजार र मेरो आँखा ¬)
मदन राई ‘लामाखुले ’ मुन्दुमी संस्कृतिको जगमा निर्मित भव्य कवि हुन् । उनको काव्यको भाषा , शिल्प र ध्वनिले मुन्दुमी दर्शनको मूल्यलाई मानव जीवनसंग मिहीन ढंगले जोडेको पाइन्छ । जगतका समाज उपयोगी सूक्ष्मतम सत्यहरूलाई बिम्बात्मक रूपले अभिव्यक्त गर्न रुचाउने कवि लामाखुलेको आदर्श अर्थात् काव्यको शिर दार्शनिकता हो भने विचार पगरी हो ।
रहरलाग्दो यौवनको खुड्किलो नापिरहेका सुन्दर युवक लामाखलेुको छायालाई समेत एकतर्फी प्रेम गर्ने यौवनाको लर्को त्यसबेला सानो थिएन । ती यौवनाहरूले स्कूलको कालो पाटी र नोटबुक मात्रै होइन, बिसौंनी ढुंगा र बाटो किनाराका बाँसहरूमा समेत चल्तीका प्रेम कोटेशन लेखी मुनिबाट मदन र आफ्नो नाम जोड्थे । यद्यपि कसैले मदनको मन खिच्न सकेनन् । बरु भोजपुर खावा निवासी यौवना हिरादेवी राईलाई देख्नासाथ उनमा सुषुप्त बेचैनी पैदा भएको थियो । जुन बेचैनीलाई मदनले उनै हिरादेवीसंग २०१९ सालमा लगन जुराएर समाप्त पारे । जब मदन र हिरादेवीको जिन्दगीको रथसंगै गुड्न थाल्यो , परिस्थिति यस्तो बन्दियो कि दोस्रो वसन्तको पूर्व सन्ध्यामै खोटाङ रतन्छाकी जसुदा राई मदनकी दोस्रो जीवनसाथकिो रूपमा जोडिइन् । जसले २०२३ सालमा ‘शुक्र’ नामक छोरा उपहार दिएर परिवारमा खुसीयाली लाइदिइन् । उनै शुक्र अहिले स्थापित कविको रूपमा परिचित छन् ।
भोजपुरबाट कक्षा ८ र ९ उत्तीर्ण गरी उच्च शिक्षाको खोजीमा धरान झरेका मदनले २०२४ सालमा धरानस्थित ‘पब्लिक हाईस्कूल’ बाट राम्रो अंक ल्याई एसएलसी उत्तीर्ण गरेर खुसीयालीमा उज्यालो थपे । उक्त उज्यालोलाई जसुदाले पुनः आफ्नो कोखबाट क्रमशः २०२८ मा गंगा, त्यसैगरी २०२९ मा जमुनालाई जन्म दिएर अझै परपरसम्म फैलाइन् । यता पहिलो जीवनसाथी हिरादेवीको कोखबाट २०३७ सालमा छोरी अमिना जन्मिएपछि मदनको परिवारले पूर्णता पायो । परिवारले पूर्णता पाए पनि पढाइ पूर्ण थिएन मदनको । त्यसर्थ पढाइ पूरा गर्न कम्मर कसेर उनी महेन्द्र बहुमुखी कलेज त छिरे । तर, छिर्नासाथ तत्कालीन पन्चायत निरङ्कुशताविरुद्ध छेडिएको कलेजभित्रको राजनैतिक आन्दोलनले प्रश्न गर्यो उनको स्वाभिमानलाई । उनी बिस्तारै राजनीतिमा होमिए । उनको बलिष्ठ शरीर , जोस र काव्य क्षमताको कदर गर्दै कलेजको तत्कालीन अनेरास्ववियुले उनलाई प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी सुम्पियो । उनी कलेजमा दुई किसिमले राजनीति गर्न थाले, एउटा प्रचारप्रसार, र आन्दोलन र अर्को कविताको माध्यमबाट ।
खोई कहाँ छ मेरो देश ??
झस्केर आगो झैं ब्यूझन्छु
त्रस्त–त्रस्त रापहरू टाँसिन्छन्
डाँडाहरु, गाउँ–बस्तीहरुमा,
बिस्कुन छरिएका छन् फिलुङ्गाहरू
आयामहरु हुन् यिनीहरू ।
यसरी पञ्चायतविरुद्ध कविता लेख्दै आन्दोलनमा सक्रियता बढाउन थालेपछि राज्य पक्षबाट पछि उनलाई वारेन्ट जारी भयो । त्यसपछि उनी धरानबाट केही समय काठमाडौं आएर छलिए । यो २०४६ तिरको घटना हो । मनमोहन अधिकारी , भरतमोहन अधिकारी तथा कमल कोइराला जस्ता आदर्श नेताहरूसित उठबस गरेका साहित्यकार ‘लामाखुल’ेले २०४८ को निर्वाचनमा मनमोहन अधिकारीलाई भारी मतले जिताउन भरपुर सहयोग गरे ।
उनको संघर्षको पाटो पनि पहाडजस्तै छ । कलेज पढ्दै धरानमा होटल व्यावसाय गरेका उनी होटल नउत्रिने गरी डुबेपछि काठका ठेकेदार भए । ठेकेदारी पेशा डनगिरीले मात्रै चल्ने हुँदा परिस्थितिले उनलाई डन पनि बनायो । झापास्थित बर्नेको जंगलबाट काठ कटाएर झिक्राभित्र लुकाई गाडीमा इन्डिया छिराउँथे । झापाको सुरक्षा हेर्ने तत्कालीन डिएसपी मामा कर्णकुमार राई (कृषिविद् मदन राईका बुबा ) को छत्रछायामा रापताप चलाएका मदन ‘लामाखुले’ले अरू त अरू, आफ्नो काममा अवरोध पुरयाउन खोज्ने पुलिस हवलदारलाई समेत एकचोटि दिनदहाडै गालामा थप्पड हाने । कवि हृदय न हो, थप्पड त हवलदारलाई बजारे तर उनी आफै भित्रभित्रै नराम्ररी दुखे । अब उनलाई आफ्नै पेशा बचाउने डनगिरीप्रति भित्रैदेखि घृणा उत्पन्न हुन थाल्यो । त्यसपछि उक्त पेशा सधैंलाई हापेर धरानमै संचालनमा ल्याए उनले ‘पूर्वाञ्चल साँगुरी प्रेस’र केही साथीहरूसित मिलेर निकाले ‘बिहानी’ नामक साहित्यिक पत्रिका । पत्रिका सँगसँगै उनको साहित्यिक रचना प्रकाशनले अब तीव्रता पायो । त्यसताका पूर्वाञ्चलबाट पब्लिस हुने हरेक जसो पत्रपत्रिकामा कवि ‘लामाखुले’ लाई नियमित पढ्न पाइने गरेको बताउँछन् लेखक एवं पत्रकार राजकुमार दिक्पाल । सम्भवत त्यसैको पेरिफेरिमा प्रकाशित भएको हुनुपर्छ उनको पहिलो संयुक्त कविता कृति ‘सप्तकोशी’ । त्यसपछिको उनको उत्कृष्ट प्रकाशित कविता कृति ‘घाइते आकाश’ हो भने यात्रा संस्मरण ‘नबिर्सिएका सम्झनाहरू’ उनको सम्झनाहरूको सुन्दर संगालो हो । जापान तथा बेलायत लगायतका देशहरूलाई पाइतलाले नापिसकेका कवि ‘लामाखुले’ यतिखेर ‘युरोप यात्रा संस्मरण’ लेखनमा व्यस्त छन् भने प्रकाशनको संघारमै रहेको आफ्नो कविता कृति ‘म हिडेका डोबहरू’ भित्रका डोबहरू नियाल्नमा व्यस्त छन् । यौवनावस्थामा कोरेका गीतहरूलाई समेत अहिले आएर क्रमशः रिलिज गरिरहेका मदन राई ‘लामाखुले’ आधुनिक नेपाली कविताका एक उच्च शिर हुन् । जसको तुलना कसैसंग गर्न मिल्दैन । मलाई उनी अत्यैन्त रहस्यमयी कवि लाग्छ, एक ध्यानस्थ तपस्वीजस्तो ।
प्रकाशित: २३ माघ २०७७ ०४:५२ शुक्रबार