७ वैशाख २०८१ शुक्रबार
कला

पिताजीका जीवनका महत्वपूर्ण कोसेढुंगा

अक्षर

यो त्यति बेलाको कुरो हो, जतिबेला त्यो केटो १४वर्षको थियो। सुन्दर, सुकोमल, शान्त, सौम्य– त्यो केटो उसको पिताको प्यार, आवश्यकता र चिनारी थियो। ग्रीष्म ऋतुको अन्त्यतिरका बिहान झिसमिसेमै सानो झोला झुन्ड्याई, घना जंगलको छेउछाउ हुँदै, खहरे खोलाको खोल्छाखाल्छी नाघ्दै, अग्ला अग्ला पहाडका कापकाप चेप्दै, जंगली जनावरका ताजा पद चिह्न छल्दै बिरानो सहरतिर लाग्यो ऊ। उसको आफ्नै पदचाप र खल्तीको सात मोहर एक–अर्कासँग ठोक्किँदाको आवाजबाहेक चारैतिर घना सन्नाटा थियो। दिनभरिको हिँडाइपछि अँध्यारोले छोप्दै जाँदा मृगको त्रसित बच्चा समान, कतै छिस्रिक्क हुँदा पनि उसको मुटु जोरजोरले बल्किन्थ्यो। यात्रामा उसको साथ कोही थिएन, जोसँग ऊ आफ्नो त्यसबेलाको पीडा पोखोस्।  

उसका मनमा अनेक प्रश्न उठे होलान्—पिताजीसाँझ घर फर्किंदाउनको मनको रित्तोपन कसले भरिदेला ? पारि जगराको भीरमा चर्दै गरेका गाईका बाच्छाबाच्छी साँझ परेपछि कसले घर फर्काइदेला ? घर तल बग्ने मस्र्याङ्दी नदीको सुस्ताइको रहस्य कसले खोलिदेला ? वैशाख महिनाको काफल, चुत्रो र ऐँसेलुको अमृत गुण कसले खुट्याइदेला ? कोइलीकोे सुमधुर कुहु–कुहुमा लुकेको वसन्त स्तुति कसले बुझिदेला ? उसले यस्तै सोच्यो होला। मानिसको सोचाइ, धारणा, विचार, संवेदना, भावना र मनोवृत्ति, उसको परिवेश, पालनपोषण, परिस्थितिर प्रकृति अनुरूप हुन्छन्।  

के सोचेर ऊ यस्तो गर्दैथ्यो, यकिन भएन। हुनसक्छ कमजोर आर्थिक अवस्थाका पिताको पुत्र ऊ, हुनेखाने आफन्तका बेला बखतका प्रताडनाले जीवन आफ्ना पिताले जुटाइदिएको दूधभातजस्तो मिठो र सरल मात्रै होइन रहेछ, जीवन तीतो र जटिल पनि हुँदोरहेछ भन्ने आभास भयो होला। यद्यपि यस्ता कुरा उसले कहिल्यै कसैसँग गरेको थाहा भएन, उसका उनै आफन्तका यसै आसयको पश्चातापबाट कालान्तरमा हामीलाई यस्तोे आभास भएथ्यो। अथवा उसले यतिबेला घर छोड्नुपर्ने परिस्थिति, पूर्वस्थापित कारणात्मक निर्धारणवादको सिद्धान्त अनुसार पहिले नै निर्धारित हुनसक्छ। त्यसो भए के हाम्रो स्वराज हाम्रो स्वेच्छाले निर्माण गर्न सक्दैन ?

पिताजीको बाल्यावस्था र किशोरावस्थाको जीवनशैली रामकृष्ण परमहंससँग मिल्दोजुल्दो छ। यो मिल्नु एउटा संयोग मात्र हो। त्यतिबेला पिताजीसँग रामकृष्ण परमहंसलाई सुन्ने, पढ्ने र जान्ने माध्यम थिएन। तर, पिताजीको युवावस्थाको जीवनदर्शन रामकृष्ण परमहंससँग मिल्नु संयोग मात्र नभई आर्जित प्रभाव हुन सक्छ।

स्वराज कर्मद्वारा निर्माण गरिन्छ। मानिसमा आफ्नो कर्म आफैँ निर्धारण गरी आफू अनुकूल स्वराज निर्माण गर्ने क्षमता छ। जन्मथलो पुस्तुनको सानो परिवेशमा आफ्नो प्रतिभा अब अरू फस्टाउन नसक्ने अनुमानमा प्रतिभाशाली त्यो केटा आफ्नो घर छाड्दै थियो होला। दुई वर्षको उमेरमै मातृविहीन उसलाई पितासँग स्वीकृति लिने अवस्था रह्यो रहेन थाह भएन। लिएकै भए पनि ती पिताको अवस्था कस्तो भयो होला, यो अनुमानको विषय मात्र रह्यो। तर, यो निश्चित हो, त्यस्तो गुणी पुत्रको पिता हुनुमा अवश्यै गौरवान्वित थिए ती पिता। अन्ततः १० दिनको पैदलयात्रा तय गरी ऊ काठमाडौंको रानीपोखरीस्थित तीनधारा पाठशाला पुग्यो। यो उसको वाल्यावस्थाको अन्त्यतिरको महत्वपूर्ण कोसेढुंगा थियो।  

तीनधारा पाठशालाका विद्यार्थीको भान्छे नियुक्त भई, आफ्नो विद्यार्जनको बाटो आफैँ खोली उनै विद्यार्थीलाई प्रतिस्पर्धामा पराजित गर्दै उसले पाठशालाको अध्ययन पूरा गर्‍यो। अध्ययनलाई निरन्तरता दिँदै वाराणसी विश्व विद्यालयबाट विद्यालयसम्मको अध्ययन पूरा गर्‍यो। तत्पश्चात जन्मथलो पुस्तुन फर्की स्वःअध्ययनमा हिन्दू धर्मले ‘पण्डित’ उपाधिका लागि निर्धारण गरेको ललितकला, शिल्पविज्ञान र अध्यात्म विज्ञानमा महारथ प्राप्त पनि गर्‍यो। संस्कृतको स्पष्ट उच्चारण, मधुरकण्ठ, आकर्षक व्यक्तित्व त्यस्तो अनकन्टार भूमिबाट उत्पन्न हुनु ती गाउँलेका लागि चमत्कारभन्दा कम भएन। सम्मानस्वरूप उनीहरूले उसलाई ‘पण्डित’ सम्बोधन गर्न थाले। उसका पिताले सच्चिदानन्द प्राप्त गरे। अब ती पिताले अरू केको इच्छा गर्ने ? ‘अस्तित्व, चेतना र आनन्द’ प्राप्ति नै मानव जीवनको अन्तिम अपरिवर्तनीय उपलब्धि हो। ती पिता ईश्वरलाई धन्यवाद दिएर थाक्दैनथे। शून्यबाट यसरी उठेको त्यो केटो, जो अहिले मेरा पुज्य पिताजी हुन, उनले गाउँलेहरूकोे सो सम्मानको मान मात्रै राखेनन्, उनीहरूको आफूप्रतिको विश्वासलाई अझै उचाइमा पुर्‍याई जीवनकालमै ‘राष्ट्रकवि’ समेतको राष्ट्रिय सम्मान प्राप्त गरे। पिताजीले महापुरुषहरूप्रायः शून्यबाटै रूपान्तरित हुन्छन् भन्ने तथ्य पुनः स्मरण गराए। यसरी उठेको जीवनले चेतनाको रहस्यमय प्रतिनिधित्व गर्छ। पाणिनिका अनुसार शून्य “आर्दशनम लोपा” हो। शून्यले अदृश्य रहेको अस्तित्व जनाउँछ। शून्यले एक रहस्यमय तत्वको उद्घाटन गर्छ। नदेखेको तर अचम्मको।  

यो कुरा धेरैलाई थाह नहुन पनि सक्छ। पिताजीको किशोरावस्था र प्रारम्भिक युवावस्था रहस्यमय घटनाबाट निर्देशित रह्यो। पिताजी १९ वर्षको हुँदा पुस्तुनमा एक अपरिचित फकिरसँग छोटो समयको संगत भयो। तिनै फकिरबाट आफूभित्र ज्योतिको अनुभव गर्ने र ‘नाद’सुन्ने अनौठो शक्ति प्राप्त गरे। केही समयपश्चात् यी फकिर अन्तध्र्यान भए। २३ वर्षको उमेरमा छिमेकी गाउँ तरापु निवासी एक सम्भ्रान्त परिवारकी कन्यासँग वैवाहिक सम्बन्ध गाँसियो। विवाहको केही दिनमै यसै परिवार नजिकका एक पुरुषको लहलहैमा घरबार छाडी उनीसँगै पिताजी अर्को एक फकिरको पछि लागेछन्। यो संगत धेरै समय टिकेनछ। त्यो केही दिन वा केही घन्टै मात्र पनि हुनसक्छ। भर्खरै आफ्नो जीवनमा भित्रिएकी गौरीको आकर्षणले पिताजीलाई वैराग्यबाट गृहस्थ जीवनतिर फर्कायो। नारी शक्तिको त्यो कोमल पक्ष पिताजीले गौरीको मृत्युपश्चात् ‘गौरी’ खण्डकाव्यद्वारा सशक्त रूपमा विश्वसामु प्रस्तुत गरे। पिताजीको साहित्य जगतमा वास्तविक चिनारी यही खण्डकाव्यद्वारा स्थापित भयोे। यो पिताजीको युवावस्थाको महत्वपूर्ण कोसेढुंगा थियो।  

यस्तै यो कुरो अरूको ध्यानमा नआएको हुनसक्छ। अथवा, यो कुरोलाई यति गहिरिएर नसोचेको पनि हुनसक्छ। पिताजीको बाल्यावस्था र किशोरावस्थाको जीवनशैली रामकृष्ण परमहंससँग मिल्दोजुल्दो छ। यो मिल्नु एउटा संयोग मात्र हो। त्यतिबेला पिताजीसँग रामकृष्ण परमहंसलाई सुन्ने, पढ्ने र जान्ने माध्यम थिएन। तर, पिताजीको युवावस्थाको जीवनदर्शन रामकृष्ण परमहंससँग मिल्नु संयोग मात्र नभई आर्जित प्रभाव हुनसक्छ। यो आशंका अकारण उब्जेको होइन। व्यक्तिको दृष्टिकोण किशोरावस्थामा निर्माण हुन्छ, युवावस्थामा केही परिपक्व हुन्छ र वयस्क अवस्थामा पूर्णपरिपक्व हुन्छ। उसको दृष्टिकोण बाह्य परिवेश र आन्तरिक प्रभावमा आधारित हुन्छ। युवावस्थामा आइपुग्दा पिताजीको घरेलु पुस्तकालयमा वेद, उपनिषद्, रामायण, महाभारत, गीताको साथै रामकृष्ण परमहंस र उनको दर्शनका कट्टर अनुयायी स्वामी विवेकानन्दका पुस्तकका लस्कर लागिसकेथे। पिताजीको सिरानी, ओछ्यान, घाम ताप्ने कोठा जतासुकै वेद र गीताको साथै रामकृष्ण परमहंस र स्वामी विवेकानन्द हुन्थे। यतिमात्र होइन, पिताजीको निर्देशनमा मैले समेत रामकृष्ण परमहंस र स्वामी विवेकानन्दलाई अध्ययन गर्ने अवसर पाएँ। रामकृष्ण परमहंसको जीवनी अध्ययन गर्दा मलाई मेरो पिताजीको अलिखित वाल्यावस्था र किशोरावस्था लिखतमा पढिरहेजस्तो लाग्यो।  

दुवैबालक सरल र प्रतिभाशाली थिए। गरिब परिवारमा जन्मेका उनीहरूको बाल्यकाल दुई वर्षको उमेरबाटै एकल अभिभावकत्वमा बित्यो। रामकृष्ण परमहंस पितृविहीन भए। किशोरावस्थामा उनीहरू परम रहस्यवादी र सत्यका अनुयायी हुनुको साथै सन्त, फकिरका संगतमा आए। रामकृष्ण परमहंसलाई तोतापुरी नामका फकिरले अद्वैत वेदान्तमा दिक्षा दिए। पिताजीको किशोरावस्थामा सम्पर्क भएका फकिरको नाम थाह भएन। वयस्क अवस्थामा शिवपुरी बाबाको प्रभाव थियो। रामकृष्ण परमहंस दक्षिणेश्वर काली मन्दिरका पुजारी भए। पाठशाला मन्दिर हो, गुरु भगवान् हो, पढ्नु स्तुति हो, भोजन अर्पण प्रसाद हो- समग्रमा यसलाई समेट्ने पुजारी हो। पिताजीको किशोरावस्थाको नित्य कर्म यही थियो। रामकृष्ण परमहंस कालीको आराधना गर्थे, पिताजी लक्ष्यको। यो पिताजीको किशोरावस्थाको महत्वपूर्ण कोसेढुंगा थियो।  

युवावस्थामा २३ वर्ष आसपासको उमेरमा उनीहरूको वैवाहिक सम्बन्ध आफ्नो छिमेकी गाउँकी कन्यासँग भयो। त्यति बेलासम्म रामकृष्ण ‘परमहंस’ र पिताजी ‘पण्डित’ सम्बोधित भइसकेथे। ‘परमहंस’ त्याग गर्छ, आफ्नो खोजी गर्छ, अशुद्ध काम र दुष्टतालाई त्याग्छ, आफूलाई आत्मा र ब्रह्मको ध्यानमा समर्पित गर्छ। ‘पण्डित’ एक विद्वान् र आध्यात्मिक गुरु हुन्, जसले चार वैदिक धर्मशास्त्र, हिन्दु अनुष्ठान, हिन्दु कानुन, धर्म, संगीत र दर्शनमा महारथ प्राप्त गरेका हुन्छन्।  

यो एउटा संयोगै हो, रामकृष्ण परमहंसले मानिसहरूमा हराउँदै गरेको आध्यात्मिक एकताको र पिताजीले मानिसहरूको खोसिएको मौलिक हकको पुनरुत्थानको सूत्र आकाशमा उडिरहेको बकुल्लाको बथानको झुन्डबाट प्राप्त गरे। रामकृष्ण परमहंस ६ वर्ष हुँदा अँध्यारो बादलको पृष्ठभूमिमा उडिरहेका सेतो बकुल्लाहरूको झुन्डको दृश्यमा उनको चेतना हराई अर्कै राज्यको अद्भुत आनन्द प्राप्त गरे। यसैबाट उनको आध्यामिक चेतना जागृत भयो। पिताजी वयस्क अवस्थामा सधैँ साँझपख पश्चिमबाट पूर्वतिर झुन्डझुन्डमा बासस्थान फर्किने बकुल्लाको बथानको पखेटामा स्वतन्त्रता, स्वायत्तता र आत्मनिर्देशनको विम्ब देख्थे। यही विम्बलाई मानवका मौलिक हकका प्रतीक मान्थे। अनि त्यो विम्ब धमिलिएकामा चिन्तन पनि गरिरहन्थे। जसको फलस्वरूप मालती मंगले गीति नाट्यको रचना र मञ्चन समेत भयो। यस गीति नाटकको प्रमुख पात्र बँधुवा मंगलेलाई बन्धन मुक्त गराई सांकेतिक रूपमा मानव स्वतन्त्रताको पुनरुत्थानको आह्वान गरे। यो पिताजीको वयस्क अवस्थाको महत्वपूर्ण कोसेढुंगा थियो।  

वयस्क अवस्थामा समेत बालकजस्तै कहिल्यै नथाक्ने उत्साह र शक्ति रामकृष्ण परमहंस र पिताजीको सामाजिक र भावनात्मक बुढ्यौली अर्को विशिष्टता थियो। बालक धुलोमा लडिबुडी गरिरहन पाउँदा जसरी रमाउँछन्, त्यसरी नै उनीहरू प्रकृतिमै हराउन पाउँदा रमिरहन्थे। प्रकृतिका सामान्य चिज वा घटनामा समेत केही न केही चमत्कार भेटाउँथे। यिनै चमत्कारलाई सरल भाषामा ढाली सभा–समारोहमा आनन्द र रमाइलो भाव दिनेर बौद्धिक दार्शनिकका लागि मार्ग दर्शन समेत गर्न सक्ने प्रवचन र भाषण गर्ने क्षमता राख्थे। रामकृष्ण परमहंसले पुस्तक त लेखेनन्, तर आध्यात्मिक दर्शनको सबैभन्दा जटिल अवधारणा दिव्यतामा विश्वासको गहिरो भावनाबाट ईश्वरलाई अँगालेको अनुभवको सरल दृष्टान्तहरू, कथाहरू र उपाख्यानहरूमा मौखिक वर्णन गरेर मानिसहरूमा हराउँदै गरेको आध्यात्मिक एकताको पुनरुत्थान गर्न सफल भए। ‘उदरेद आत्मानात्मानम, नात्मानम अवसादयेत’-आफ्नो आत्माको उद्धार आफैँगर, आफ्नो आत्माको अवमूल्यन आफैैँ नगर। भागवद गीताको यो गहन आत्म–प्राप्तिको दर्शनलाई काव्यमा लिपिबद्ध गरी पिताजीले मानव आत्मा उत्थानको सूत्र घरघरै पुर्‍याए। यो पिताजीको सम्पूर्ण जीवनकालको अन्तिम विशिष्ट कोसेढुंगा थियो।

प्रकाशित: १० माघ २०७७ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App