२३ फाल्गुन २०७७ आइतबार
कला

रंगीन पल

कथा

बाहिर एकनासले पानी परिरहेछ । आकाशभरि बादलहरू मडारिइरहेछन् । घरिघरि चम्कने बिजुलीको प्रकाश झ्यालबाट छिर्छ । अँध्यारोको साम्राज्य छ चारैतिर ।  

गोपाल ओछ्यानबाट उठ्छ र बाहिर हेर्छ । सडकका दुवै किनारामा ससानो भेल आएको छ । अलिअलि फाट्टफुट्ट गाडीहरू सडकमा दौडिरहेछन् । घडी हेर्छ – साँझको साढे सात पो बजिसकेछ । भोक तिर्खा छैन । बिहानैदेखि कोठाबाट बाहिर निस्केको पनि छैन । मनमा अनेक अनेक विचारहरू आइरहेछन्, गइरहेछन् । खान पनि मन लाग्दैन । हरेक दिन चिन्ताले मन भारी भइरहेको छ । सुक्दै गइरहेछ गोपाल । थकित, जीवनदेखि निरास।

मोबाइलको घण्टी बज्यो । उठेर यसो नम्बर हेरयो उठाउन मन लागेन । फेरि पनि बज्यो ।

‘हेलो .....

‘किन फोन नउठाएको ? तीन पटक रिङ गरिसकें । के भयो तिमीलाई ?’ उताबाट एउटी नारीको आवाज आइरहेको थियो ।

एक मनले सोच्यो, भनिदिन्छु – तिमीहरूसँग अब मेरो कुनै सम्बन्ध छैन । जेजे गर्छौ गर । मलाई सम्पर्क गर्ने प्रयास नगर । त रपनि ऊ त्यसो गर्न सक्दैन । उसका आफ्नै बाध्यताहरू छन् ।  

भन्यो – ‘म निदाएको थिएँ होला । अलि सञ्चो पनि छैन हिजोदेखि ।’

‘हेर आज कस्तो राम्रो मौसम छ । यता आउने हैन ? कस्तो भेट्न मन लागेको छ । निकै दिन भयो तिमीसँग भेट नभएको । आजकल उहाँ पनि होइसिन्न । म मात्र छु घरमा, अरू कोही पनि छैन । म गाडी पठाइदिऊँ ?’

‘मलाई माफ गर्नुस् म्याडम । मलाई आज सञ्चो पनि छैन । हिजोदेखि केही खाएको पनि छैन । कुनै अर्को दिन भेटौंला नि हुन्न ?’ लाचार स्वरमा बोल्छ गोपाल ।

‘गोपाल प्लिज, आज कस्तो रोमान्टिक मुड छ क्या । सधैं यति राम्रो मौका पनि त पर्दैन । मैले ब्ल्याक लेबल र चिकन रोस्ट पनि ठीक पारेकी छु । यहाँ आऊ मात्रै, म तिम्रो मुड ठीक गरिहाल्छु नि । बरु छिटो गर । म ड्राइभरलाई भनौं ?’ फेरि उही नारी स्वर ।

‘होइन, नपठाइस्यो गाडी । म हिजैदेखि ज्वरो आएर केही नखाई सुतिरहेको छु । जीउ फतक्क गलेको छ । आजलाई सरी म्याडम, अन्यथा नलिइबक्सेला ।’

‘मैले कुरो बुझें । आज तिमी अन्यत्रै मोज गरिरहेको छौ । के सविनाले बोलाई ? कि  

राधाले ? कि दुवै सँगै छन् ? भैगो ठीक छ । तर, एउटा कुरा बुझ ।  तिमीलाई ठीक पार्न मैले पनि जानेको छु । तिमीले सायद कुरो बुझ्यौ पनि होला ।’ मीराको धम्कीपूर्ण स्वर ।

‘हेल्लो, हेल्लो म्याडम...!’ गोपालले बोल्न नपाउँदै उताको फोन कटिसकेको थियो।

गोपाललाई यो मीरासँग रिस पनि उठ्यो । कस्ती आइमाई हो यो, अरूको समस्या नबुझ्ने ? मीरासँग उसको चिनजान भएको  चार महिनाजति भयो होला । काठमाडौंकी सम्भ्रान्त परिवारकी महिला हुन् यिनी । उमेर चालिस वर्ष जतिकी । गहुँगोरी, उचाइ मध्यम तर छाँट परेकी – सुन्दरी । छोराछोरी छैनन् । उनका श्रीमान् व्यापारको सिलसिलामा धेरैजसो विदेशमै रहन्छन् । मीरा घरमा प्रायः एक्लै । के नपुग्दो छ र उसलाई । धनसम्पत्ति प्रशस्त छ । कार छ । टन्न बैंक व्यालेन्स छ । सबैथोक छ घरमा । तर पनि ऊ सन्तुष्ट छैन । ऊ आफूलाई अभागी ठान्छे । श्रीमान् महिनामा पन्ध्र दिन बाहिर नै रहन्छन् – ऊ अतृप्त छे । त्यसैले गोपाल जस्ता युवाहरूलाई फेरीफेरी घरमै बोलाउने गर्छे समयसमयमा । उसलाई सन्तुष्ट पारेबापत राम्रै पारिश्रमिक पनि दिने गर्छे ।

झन्डै चार महिनाअघि सुरेशमार्फत राधाको घरमा चिनजान भएको थियो ऊसँग । दिउँसोको समय थियो । राधाले फोन गरेर गोपाल र सुरेशलाई आफ्नै घरमा बोलाएकी थिई त्यो दिन । राधा पनि हेर्नमा निकै सुन्दर, अलि पातली तर हँसिली । उमेर त्यस्तै चौतिसपैँतिसकी होली । ठूलाठूला आँखा, लामो कपाल, सलक्क परेका हातखुट्टा । लोग्ने कुनै अफिसको ठूलै हाकिम । एउटा छोरा र एउटी छोरी तर दुवै सिमलामा पढ्दै गरेका । लोग्ने अफिस गएको समय पारेर राधाले बेलाबेलामा र सुरेश र गोपाललाई घरमै बोलाउने गर्थी । कहिलेकाहीँ एक्लाएक्लै, कहिलेकाहीँ सँगै । कहिले राधाका एक दुईजना मिल्ने साथी पनि हुने गर्थे अनि हामीले उनीहरूको सेवा गर्नुपथ्र्यो । चाहे अनुसारको सेवा वापत राम्रै रकम दिन्थे तिनीहरू ।

‘आज किन ढिलो नि ....’ राधा ।

गोपालले भन्यो – ‘सुरेशलाई कुर्दा ढिलो भयो । बाटामा जाम पनि थियो ।’

‘ल आरामसँग बस तिमीहरू । आज अलि जाडो छ हगि । मैले मीरा र सविनालाई पनि बोलाएकी छु । आज सामूहिक खेल पनि खेल्ने है ?’ यति भनेर राधा स्कचको बोतलबाट पाँचवटा ग्लासमा पेगहरू बनाउन थाली । अर्कीले फलफूल र स्न्याक्स ल्याई प्लेटमा । अनि वरिपरि बसे सोफामा पाँचै जना।

‘मीरा, तिमीहरूको चिनजान छ कि छैन ?’ मतिर हेर्दै राधाले परिचय गराउन खोजी ।  

‘ऊ गोपाल, सायद तिम्रो लागि नयाँ हो । सुरेशसँग त तिम्रो पुरानै चिनजान छ । गोपाल सुरेशको साथी हो । मैले कहिलेकाहीँ बोलाउने गर्छु उसलाई । सविनासँग पनि गोपालको तीन चारपटक भेट भइसकेको छ ।’

‘चेयर्स ।’

एक बोतल ब्लू लेबल र एक बोतल वाइन एकैछिनमा रित्तियो । मीराका लागि गोपाल नयाँ थियो । चारपाँच घण्टाको रमाइलोपछि पाँच बज्नुअघि नै उनीहरू आआफ्नो बाटो लागे । राधाको लोग्ने अफिसबाट प्रायः ढिलो नै आउने भए पनि पाँच बजेसम्म त्यहाँ बसिरहनु खतरापूर्ण हुने सम्भावना पनि रहन्थ्यो ।

त्यो दिनपछि मीराले गोपाललाई कहिले राति, कहिले दिउँसो बोलाउने गर्थी । थुप्रैपटक गोपाल उसको घरमा गइसकेको छ ।  भन्थी – ‘गोपाल, म सारै अभागी, नपुग्दो केही छैन, तर पनि के गर्ने ? मेरो लोग्नेलाई कहिल्यै फुर्सद हुँदैन । प्रायः विदेशमै हुन्छ । घरमै भए पनि मलाई सन्तुष्ट पार्न सक्दैन । म सधैं अधुरो र अतृप्त रहन्छु । रात परेपछि खोल्नुपर्ने लुगा झन् पूरै लगाएर पो ओछ्यानमा आउने गर्छ । त्यो मेरो लोग्ने भनाउँदो सारै चिसो, नामर्द । म रातभर छटपटिने गर्छु, बुझ्यौ ? तिमी बेलाबेलामा म कहाँ आउने गर है ? त्यो असत्तीले मेरो जीवन नर्क बनायो । यस्तो जवानीमा कति तड्पिएर बस्नु ? एकपटकको जीवन न हो । होइन त गोपाल ?’

एकदुई पटक उसले गोपाललाई पोखरा र सौराहा पनि लिएर गई केही दिन । उसको ड्राइभर भन्थ्यो – ‘म्याडम साहै्र रसिक हुनुहुन्छ तर साह्रै दुखी पनि । ह्विस्की नै म्याडमका साथी भएका छन् । नपिएको दिन नै हुँदैन ।’

एकपटक मीराको फोन आयो तुरुन्तै मेरो घर आऊ भनेर । उसको स्वर काँपिरहेको जस्तो भान हुन्थ्यो । सायद अलि बढी नै पिएकी होला आज । गोपाललाई सञ्चो थिएन । आज मलाई सञ्चो छैन भन्दा एकदम रिसाई । हप्काउँदै भनी – ‘धेरै बहानाबाजी नगर । तिमी खुरुक्क आऊ अहिले नै । सायद तिमीलाई थाहा छैन होला, राधाको घरमा तिमी लगायत म सविना र सुरेश बसेको भिडियो मसँग छ । हामीले सुटुक्क क्यामेरा फिट गरेर खिचेका थियौं । सार्वजनिक गरिदिऊँ त्यो भिडियो ? फेसबुकमा पोस्ट गरिदिऊँ ? त्यसको नतिजा के हुन्छ तिमी आफैं सोच ।’ मीराले धम्क्याई ।

आकाशबाट खसेझैं भयो गोपाल । सोच्यो – हरे शिव ! कस्तो खाडलमा जाकिएँ । बर्बादै हुने भएँ म । भनन्न रिँगटा लाग्यो । वरिपरि अन्धकारै अन्धकार देख्यो । दिमागले काम गर्न छाड्यो । के गर्ने ? कसरी यो समस्याबाट पार पाउने होला ?

एक मनले सोच्यो – आ नगए पनि के फरक पर्ला र ? भिडियो सार्वजनिक गर्दा उनीहरूको पनि त बेइज्जती हुन्छ नि, मेरो मात्र हुने हो र ? फेरि अर्को मनले भन्यो – त्यस्तो भइहालेमा समाजमा कसरी मुख देखाउने ? मेरी रोगी वृद्ध आमाले त्यो पीडा सहन गर्न पक्कै सक्नु हुनेछैन । बहिनी र आफन्तलाई के जवाफ दिने ? गोपाल थर्र काम्यो ।  

जे त होला अब मीराकोमा जानै पर्ला । मनमनै जाने निर्णय गरयो । अरू विकल्प पनि थिएन । मीराको ड्राइभर तल कुरिरहेको थियो उसलाई । मीरा उसैलाई बेचैनीसँग पर्खिरहेकी थिई । गोपालले मीरालाई फकायो र त्यो रात त्यो भिडियो पनि हेरयो । भिडियो हात पार्ने कोसिस त ग¥यो । तर किन दिन्थी र ? त्यसैको माध्यमबाट ब्ल्याकमेल गर्न जो पाइन्थ्यो । अब उनीहरूले जे जे भन्छन् त्यो मान्नै पर्ने भयो । अरू उपाय पनि थिएन । यो कस्तो बाध्यता हो ? कस्तो विवशता हो ? कठपुतली भएर यसरी बाँच्नु पनि के बाँच्नु ? तर पनि ऊ विवश थियो ।

मीरालाई फोन गरेर गाडी पठाउन आग्रह गरयो र लुरुलुरु मीराको बेडरुममा हाजिर भयो । यस्तो क्रम निरन्तर चलिरहेको छ विगत तीन महिनादेखि । बोलाएको बेला चुपचाप सेवामा हाजिर हुनैपर्छ । 

गोपाल आफैंलाई धिक्कार्छ । जीवनदेखि थाकिसकेको छ ऊ । सानै उमेरमा गाउँबाट भागेर राजधानीमा छिर्दा उसका थुप्रै सपना थिए । भविष्यमा ठूलै मान्छे बन्ने, प्रशस्त धन कमाउने, सुखसयलको जीवन बिताउने उसको सपना थियो । घरमा रोगी वृद्धा आमा र सानी बहिनीलाई छोडेर केके न पाइन्छ भनेर राजधानी छिरेको थियो । बुबा ऊ सानै छँदा बितिसक्नुभएको थियो । राजधानीमा गाउँकै एउटा दाइले ट्रेकिङ एजेन्सीमा गाइडको काममा लगाइदिनुभयो । टुरिष्टहरूसँग हिँड्दाहिँडदै काम पनि सिक्यो । अंग्रेजी पनि सिक्यो । गाइड तालिम लियो । कहिले अन्नपूर्ण बेसक्याम्प, कहिले मकालु त कहिले सगरमाथा बेसक्याम्प ।

 यस्तै क्रममा एकपटक एउटी जवान र सुन्दर विदेशी पर्यटकले एक साँझ  आफ्नै टेन्टमा गोपाललाई बोलाई अनि गर्नुनगर्नु गरी । जीवनमा उसको यो पहिलो अनुभव थियो । डर पनि लाग्यो, रमाइलो पनि लाग्यो । भर्खर उन्नाइस वर्षको थियो । बिस्तारैबिस्तारै गोपाल पनि यो खेलमा अभ्यस्त हुँदै गयो । अरू ट्रेकिङ गाइड साथीहरूको पनि त्यस्तै अवस्था रहेछ । सुरेशलाई उसले पहिलोपटक अन्नपूर्ण वेसक्याम्प जाँदा नै चिनेको हो । टुरिष्ट युवतीहरूलाई सेवा गरेवापत राम्रै रकम पनि प्राप्त हुने गथ्र्यो ।

सुरेश लगायत अरू पनि टुरिष्ट गाइडहरूसँग गोपालको चिनजान थियो । उनीहरू प्रायः ठमेलमा भेटघाट गर्ने गर्थे । यसै क्रममा थाहा भयो – सुरेश, दिवाकर र प्रमोदको सम्बन्ध राजधानीका केही सम्भ्रान्त महिलासँग रहेछ । ती धनाढ्य महिलाहरू बेलाबेलामा यिनीहरूलाई पालो गरी गरी घरमै बोलाउँदा रहेछन् । कहिलेकाहीँ नगरकोट, धुलिखेल, पोखरा, सौराहाको होटल रिसोर्टहरूमा सेवाको लागि लगिँइदा रहेछन् । यस्ता महिलाहरूमा प्रायः धनाढ्य, सम्भ्रान्त परिवारका एकल महिलाहरू, लोग्ने विदेशमा भएका महिलाहरू हुँदा रहेछन् ।

गोपाल पनि यीनै साथीहरूको संगतबाट केही वर्षदेखि यस्तो सेवाप्रदायक बन्दै आएको छ । राम्रौ आम्दानी पनि हुन्छ । र समयसमयमा घरमा खर्च पनि पठाउने गर्छ । घरमा र गाउँघरमा भन्ने गरेको छ – ऊ म्यानपावर कम्पनीहरूको एजेन्टको रूपमा काम गर्ने गर्छ । 

गोपाललाई लागिरहेछ धेरै वर्षदेखि यस्तो सेवा गर्दागर्दा अब ऊ दिनदिनै बुढो हुँदै गएको छ । रित्तिँदै गएको छ । जीवनदेखि सारै निरास र थकित हुँदै गएको छ । पश्चातापमा डुबेको छ ऊ । यस्तो खाडलमा भासिएको छ कि ऊ त्यहाँबाट निस्कन सक्ने कुनै सम्भावना छैन ।

त्यो भिडियो सार्वजनिक भयो भने के होला हालत  ? समाजमा कसरी मुख देखाउने ? पैसा त छ तर त्यो पैसाले के ऊ आफ्नो सुन्दर विगत किन्न सक्छ ? के आफ्नो इज्जत किन्न सक्छ ? के आफ्नो यौवन किन्न सक्छ ? तर पनि परिस्थितिसँग सम्झौता गर्नै परेको छ । केही गर्न सक्दैन । विवश छ ऊ ।

मोबाइलको घण्टी फेरि पनि बज्दैछ । राधाको रहेछ ।  

– हेल्लो गोपाल !

– ...हुन्छ म्याडम । म आउँदै छु ।

बीस मिनेटभित्रै गोपाल राधाको बेडरुममा पुगिसकेको थियो ।  

प्रकाशित: ९ माघ २०७७ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App