८ वैशाख २०८१ शनिबार
कला

ढुंगेसाँघुको मेलैमा....

ढुंगेसाँघुमा लागेको मेला । तस्बिरः उमेश पुन÷नागरिक

ढुंगेसाँघुको मेलैमा, भेट भएको बेलैमा .....कुनैबेलाको चर्चित गीत । यही गीतले भने झैं माघे संक्रान्तिमा यहाँ भव्य मेला लाग्छ । पोखरा महानगरपालिका–१७ महतगौडा सितापाइलामा वर्षाैअघि देखि नै मेला लाग्दै आएको छ । नीकै नै खचाखच भीड हुने यो मेलामा घरयसी सामानको किनमेल, खेलकुद प्रतियोगिता, र मनोरञ्जनात्मक गतिविधि हुने गरेका छन् । तर, कोरोना भाइरस संक्रमणले गर्दा यो पटक मेला भने प्रभावित भएको छ । अघिल्ला वर्षजस्तो यहाँ उत्तिसारो भक्तजनको भीड छैन । सर्वसाधारणको कम सहभागितामै पनि मेला भने चलेको छ ।  

मेलामा कुटो, कोदालो, हसिया, नाम्लो, डोरी, दाम्लो लगायतका घरेलु सामानको यो मेलामा बढीजसो किनमेल हुने गरेको छ । त्रेतायुगदेखि नै यहाँ माघे संक्रान्तिमा मेला लाग्ने गरेको किंवदन्ती छ । त्यसैले पनि यो मेला निकै नै पुरानो हो । ढुंगेसाँघुको जात्रा कुन समयवाट के कसरी शुरु भयो भन्ने स्पस्ट व्याख्या भएको प्रमाण हालसम्म कतै पाईदैन । तरपनि मकर संक्रान्तिमा हरिहरको दर्शन गर्नको लागी व्रम्हा, विष्णु र महेश्वर लगायत सम्पुर्ण देवी देवता, यक्ष, गन्धर्व अप्सरा यस ठाँउमा आउँछन र उक्त दिन हरिहरको दर्शन गरी जान्छन भन्ने मान्यता रहेको छ । त्यसैले पनि भक्तजना अहिले यहाँ आएर सिता घाटमा गंगा स्नान गरी हरिहरको मन्दिरभित्र प्रवेश गरी विधी अनुसार पुजा गरी दर्शन गर्ने चलन छ । स्वः स्फर्त रुपमा यहाँ मेला लाग्ने गरेको छ ।

स्वर्गका अप्सरा यस ठाँउमा आइ नाचगान गरी रमाइलो गर्ने गरेको हुँदा विगतका समयमा यहाँ रोइला गाउने गरिन्थ्यो । रातभरी भजन किर्तन गरी विहान नुहाइ धुहाइ गरि हरिहरको दर्शन गरिन्थ्यो जुन ऐतिहासिक चलन अहिले हराएको छ । त्रेता युगमा रामसीता यहाँ आएको र आएको चिनोस्वरुप आफ्नो पैतालाको छाप छाडेको हुँदा यो ठाँउ सितापाइला नामले पनि परिचित छ । यस ठाउँमा मकर संक्रान्तिको दिन यहाँको जात्रामा भेला भइ आ–आफ्ना सामान साटफेर गरी जिविकोपार्जन सहज बनाउने गर्दथे । अहिले पनि यहाँ घरायसी सामानको किनमेल नै हुने गरेको छ । 

 यहाँ पोखरा बजारबाट मात्र नभई आसपासका क्षेत्रबाट समेत भक्तजन आउँछन् । त्यसको भीडले मकरसंक्रान्तिमा ढुंगे साँघु निकै नै खचाखच हुन्छ । दिनभर भजनकिर्तन सहित मनोरञ्जनात्मक गतिविधिले पनि यहाँको मौलिकता बढेको स्थानीयले बताउने गरेका छन् ।  

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको कहरकाबीच पोखरामा ‘ढुंगेसाँघु मेला’ लागेको छ । ऐतिहासिक र सांस्कृतिक महत्व रहेको ढुंगेसाँघु मेला कोरोना कहरकाबीच यस वर्षपनि लागेको हो । मेला लागेपनि दर्शक भने ह्वात्तै घटेको छ । गत वर्षहरुमा भन्दा यस वर्ष आधा भन्दा कम मात्रै भक्तजनहरु मेलामा सहभागि भएको अनुमान गरिएको छ ।

मेलामा कास्की, स्याङजा, पर्वत, वागलुङ, तनहुँ लगायतका क्षेत्रबाट हजारौंको संख्यामा भक्तजन माघे संक्रान्तिको यो मेलामा सहभागि हुन आउने गरेका थिए । मेलाका लागि विहान सबेरैदेखी ढुंगेसाँघु जानेको ताँती लाग्ने गर्छ । तर यस वर्ष साँझ झिसमिसेमै माघे स्नान गर्न मात्र नभई मेला भर्न जानेको संख्यापनि ह्वात्तै घटेको हो । मेलामा दर्शनार्थी मात्रै नभई व्यापारका लागि पुग्नेहरुपनि निकै कम मात्र पुगेका छन् ।

धार्मिक रुपले प्रख्यात यो मेलामा भक्तजनहरुले सेती नदीमा मकर स्नान गर्ने गरेका छन् । साथै ढुंगेसाँघुमा रहेका मठमन्दिरमा भक्तजनको घुईंचो लाग्ने गर्दछ । मेलामा परम्परागत रुपमा तरुल, लत्ता कपडा तथा फेन्सी सामानहरुको बजार समेत लाग्ने गर्दछ ।मेलाको अवसरमा स्थानिय क्लव तथा संघसंस्थाहरुको सहकार्यमा खेलकुद कार्यक्रम पनि हुने गरेका छन् । पोखराको मध्य भागबाट बगेको सेती नदीमाथी बनेको ढुंगाको प्राकृतिक साँघु नै मेलाको प्रमुख आकर्षण हो । सोही ढुंगाको नामबाटै त्यस ठाउँको नाम ढुंगेसाँघु रहन गएको हो भन्ने किम्वदन्ती छ ।

प्रकाशित: १ माघ २०७७ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App