११ माघ २०७७ आइतबार
कला

गजे घलेको गाउँ बारपाक – एक भ्रमण वृत्तान्त

यात्रा

विश्वनाथ खनाल  

 

इतिहासमा चाख राख्नेहरू द्वितीय विश्वयुद्धदेखि नै गोर्खाली वीर गजे घलेको वीरता गाथा र उनको जन्मस्थल बारपाकबारे जानकार हुनन् भन्ने लाग्छ । भिक्टोरिया क्रस पदक प्राप्त गर्ने गजे घले त्यतिबेला नेपाल र नेपाली चिनाउने नेपालको विश्व राजदूत नै बने होलान् भन्दा अत्युक्ति नहोला । अर्को कुरा एउटा नमीठो प्राकृतिक प्रकोपको साक्षी पनि  हो बारपाक । इतिहासमा चाख नराख्नेहरूले सायद बारपाकलाई २०७२ वैशाख १२ को दिनबाट याद गरे होलान् । जतिबेला महाभूकम्पको केन्द्र बनेको थियो यो भूमि त्यतिबेलादेखि यसको नाम नेपाल र नेपालीका मुखमा चर्चित पनि भयो । 

म आफू पनि गोरखा जिल्लाको विकट गाउँमा जन्मिएर बा पुस्तासँग चितवनको सम्मतिर उकाली – ओरालीको दुःख तराइका सम्म मैदानसँग साटेर सुख काट्न बसाइँ झरेको मानिस हुँ । गोरखा जिल्लाका कुरा आएपछि मेरो उत्सुकता दुगुना बढ्छ, कान ठाडा हुन्छन्, कताकता मनमा एउटा अपनत्व जागेर उठ्छ । गोरखासँग मेरो रगतको साइनो भएझैं लाग्छ । अझ गोरखातिरको यात्राका कुरा आएपछि मेरा गोडा उचालिन थाल्छन्, सहस्र कामलाई थाती राखेरै भए पनि एकपल्ट पुगेर ‘आमा म आएँ’ भनी श्रद्धाले झुक्न मन लाग्छ । जन्मभूमिको नियाँस्रो, माया र प्रेमले नजानिदो किसिमले वशीभूत पार्छ, लट्ठ बनाउँछ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ त्यसै भनिएको होइन रहेछ । मन फुरफुर हुँदो रहेछ जन्मभूमिको यादमा ।

२०७७ पौष महिनाको ६ गते बारपाक यात्रामा जाने कुरा चल्योे । यात्राको संयोजन  केदारनाथ खनालले गर्नुभएको थियो । उहाँ मेरो नाताले काका तर हामी ठुलो बा भन्छौं उहाँलाई । उहाँ  अभियन्ता हुनुहुन्छ – शिक्षाका अभियन्ता, साहित्यका अभियन्ता र सामाजिक अभियन्ता पनि । उहाँभित्र यात्राको खारिएको अनुभव छ । कहाँको यात्राले कस्तो अनुभूति दिन्छ यो कुरा उहाँ गम्न सक्नुहुन्छ । अनुभवीसँगको यात्रा कम रोचक हुँदैन । यसैले बारपाक यात्राको संयोजकका रूपमा उहाँलाई पाएर आत्मा फुरफुर भएको अनुभव गरेको थिएँ मैले व्यक्तिगत रूपमा । सायद सँगै जानेहरूले पनि यो अनुभूति गरे होलान् ।

केदारनाथ खनालका तीन दाजुभाइ, म, भुपेन्द्र अधिकारीका सपरिवार र वाणिज्य बैंकमा कार्यरत शैलता बराल समेत एघार जना भएको हुनाले साँढे पाँच परिवार यात्रामा छौं । साढे आठ बजे चौविसकोठीमा भेला भएर यात्रा सुरु गर्ने सल्लाह थियो । टाँडीबाट जानुपर्ने भुपेन्द्रजी र मेरो परिवार नौ बजे पुग्यौं । हाम्रो ढिलासुस्ती मन नपरेको र रिसाएर रातोपिरो भएको अनुहारको सामना गर्न पर्यो  टोली नेता  केदारनाथ खनालको । रिसाएको अनुहार झन् खाइलाग्दो देखिएको छ सतहत्तर वर्षीय जवानको । उहाँ विचारले जवान हुनुहुन्छ । 

हामीले यात्रा गर्ने मोटर व्यवस्थापन मुरारी खनालले गर्नुभएको रहेछ । झल्लक हेर्दा रङ खुइलिएको पुरानोजस्तो देखेर  आफ्नो मोटरबाट नझर्दै खत्तम रहेछ भन्ने प्रतिक्रिया दिन भ्याए भुपेन्द्रजीले । हामी सिन्की खँदाइ शैलीमा मोटरमा बस्यौं । आँपटारीबाट गन्तव्यतर्फ सोझिंदा बिहानको सवा नौ बजेको हुँदो हो । हाम्रो यात्राले गति लियो । जुगेडी मुग्लिन आबुखैरहनी हुँदै छेपेटार वारिपट्टि मोटर रोकियो । मोटर मालिक र चालकले खाना खाने समयको आधा घण्टा दरौंदीको पुरानो झोलुङ्गे पुल र पैदल हिंड्ने गरिएको बाटो हेर्यौं । स्मृतिमा  कुनै राम्रा कुनै नराम्रा पुराना यादहरू सलबलाए ।

छेपेटार, चोरकाटे, सिरानचोक, चनौटे हुँदै हामी एक बजेतिर बालुवा पुग्यौं । दरौंदीको चिसो पानीले हातमुख धोएर फ्रेस भयौं । सपरिवार घुम्दाको छुट्टै आनन्दको अनुभूति हुने गर्छ । हरेक घरबाट आउने फरकफरक पकवानको स्वाद खानेहरूलाई पिकनिकको मनोरञ्जन बिर्साइदिन्छ । श्रीमती कला खनालले बनाएको भेज पकौडा, अनिता अधिकारीले बनाएको टमाटरको अचार, भुटेको मकै र थर्मसमा लगिएको तात्तातो चिया खाए पछि  – ल भान्जी ,मेरो रिस मर्योा,  चिया बनाएर आउँदा पो ढिलो भएको रहेछ । धन्यवाद भान्जी,  हँसिलो अनुहार बनाएर भन्नुभयो टोली नेता केदारनाथ खनालले । 

भूपेन्द्र अधिकारी इन्सपेक्टर हुँदा गोरखा जिल्लामा थिए । पचपन्न छपन्न सालतिर  माओवादीहरूद्वारा सञ्चालित युद्धको त्रास देशभर फैलिसकेको बेला उनीहरूको उद्गम जिल्लामा बसेर काम गर्नु कम चुनौती थिएन । उनी त्यो भेग घुमेका रहेछन् । देब्रेपट्टि देखाएर ऊ त्यो जौबारी, त्यो भच्चेक भनेर हामीलाई चिनाउँदै थिए । सिधा उत्तरपट्टिको डाँडोमा टल्किएको टावर देखाएर त्यसको उतापट्टि बारपाक पर्छ भने । घाँटी तन्काएर हेर्दा बल्लतल्ल देखिने टाकुरो र अझ उतापट्टिभन्दा कता हो कता जस्तो लाग्यो ।

मोटर चढेर एक किलोमिटर जति माथि गएपछि घुम्ती आयो । ठाडो उकालो, साँघुरो घुम्ती, बन्दै गरेको धुलेबाटो हाम्रो मोटरले तानेन हामी झर्यौं । अर्को दुईवटा घुम्तीमा पनि सोही क्रिया पुनरावृत्ति भएपछि मनमा शङ्का पस्यो । मोटर चालक धनुषा निवासी रहेछन् । यो रूटमा नयाँ रहेछन् हामीजस्तै । हामी झन् डरायौं । कोही हिंड्दै कोही मोटरमा बसेर राङरूङसम्म पुगिएको रहेछ । चालकले यहाँभन्दा माथि मोटर जान सक्दैन भन्दा एकाएक खुसी भइएछ । कसरी पुग्ने होला त्यति माथि भन्ने चिन्ता भन्दा अब बाँचियो भन्ने भाव प्रस्फुटन भएको हुनुपर्छ । त्यो खुशीको अनुभूति गर्नेमा अनिता भान्जी पनि थिइन् मसँगै ।

बालुवाबाट मास्तिर लाग्ने बेला एउटा सर्पले बाटो काटेको थियो । अपशकुन त्यहीँबाट सुरु  भएको थियो – रश्मि र शान्ता अन्टीले आफ्नो मनमा जकडिएर रहेको परम्परागत भय प्रकट गर्नुभयो । व्यवहारमा त्यस्तै भइरहेको पनि थियो । भरतपुरमा भुपेन्द्रजीले मोटरबारे गरेको टिप्पणी सही भइरहेछ यतिबेला । चालकको अनुहार हेरेको हतास छ । मुखमा राखेर चपाइरहेको गुट्खा सुकेर ओठतिर टाँसिएको छ । निरीह भावमा तलतिर हेरिरहेछ अन्दाज हो मनमनै भनिरहेको होला ।  माँ कस्सम ,  जागिर छोड्छु यो बाटो कहिल्यै आउँदिन । मेरो मानसपटलमा भने नेपाल सरकारका प्रधानमन्त्रीले गरेको संसद विघटनको समाचार घुमिरहेछ । इतिहासमा दोस्रो पटक सर्वाधिक शक्तिशाली सरकार राजतन्त्र फ्याँकेर गणतन्त्र स्थापना भएको देश, सार्वभौमसत्ता जनताले चुनेको झन्डै दुई तिहाइ बहुमतका प्रधानमन्त्रीले संसद विघटन गरिदिए । ताजा जनादेशमा जान्छु भने । वैधानिक – अवैधानिक छुट्टयाउने काम विज्ञहरूको हो । म जस्ता भुइँमान्छेले सोच्ने कुराचाहिँ फरक हुने गर्छ । जनताको सुख र समृद्धिको नारा लगाए, जिते, माथि पुगे । सबैभन्दा पहिला आफू र आफ्ना हेरे । भ्रष्टाचार गरे । खाने र खान नपाउने वीचको द्वन्दबाट मुक्ति पाउने उपाय ताजा जनादेश भने, स्याल हुइयाँ लगाए । जसरी हामी चढेर आएको मोटर गन्तव्यसम्म पुग्न सकेन त्यसैगरी गलत नेतृत्वले सत्ता सञ्चालन गर्न सकेन । देश र जनतामाथि बोझ थप्ने कार्यमा उद्यत भए । न रहे बाँस न बजे बाँसुरी । चालकको अनुहारभित्र विघटित संसदको प्रधानमन्त्रीको अनुहार देखिरहेछु ।

मोटर माथि नजाने भएपछि सबैको प्रश्नवाचक दृष्टि मुरारी खनालमाथि परेको छ । उहाँमाथि दायित्व र दवाव दुवै थपिएको छ । चार बजेतिर बारपाकबाट बोलेरो आएर हामीलाई लिएर उकालो चढ्यो । अगाडि क्याबिनमा छ जना र  पछाडि पाँच जना बसेर कष्टकर यात्रा गरेर पाँच बजे बारपाक पुगियो । बीस घर होमस्टे सञ्चालन गर्ने भनेर सुरु भएको सेवा कोरोना महामारीले थलिएको रहेछ । सो प्रकोपपछि पहिलो पाहुना हुने सौभाग्य हामीलाई मिलेको रहेछ । सबै जना एकैसाथ बस्न नपाइने नियम अनुसार दुईपट्टि बाँडिएर बस्यौं । सात जना एकातिर र  चारजना अर्कोतिर । भरतपुर – मुग्लिन ३६ किमि, मुग्लिन–खैरहनी ७ किमि, खैरहनी–बाह्रकिलो १२ किमि, बाह्रकिलो–बारपाक ४६ किमि गरेर जम्मा १०१ किलोमिटरको यात्रा गरियो आज । सुगम भए यतिको दुरी केही होइन । बीचबीचमा परेको मानसिक दवाव र खराब बाटोले हल्लाएर थकित भएको शरीरले आराम खोजिरहेछ । बारपाक बजारको शिरमा बुद्धपार्क बनेको रहेछ । त्यहाँबाट सूर्यास्तको मनमोहक दृश्य देखिने रहेछ । सामुहिक सेल्फी खिचेको आवाज आइरहेछ । बहत्तर सालमा गएको भूकम्पको केन्द्रविन्दु भएर पनि पुननिर्माण भएर आफ्नो लयमा हिंडिरहेको रहेछ बारपाक बस्ती । केन्द्रविन्दु बारपाक बस्तीको दक्षिण पूर्वको डाँडो  सिसिना स्थानीय भाषामा ‘ना’ भनेको ‘वन’ हुँदो रहेछ । भूकम्पका समयमा डाँडो चिरिएर दुई फ्याक परेको भूभाग आफैं पुरिंदै छ भन्थे हाम्रा होम– स्टे सञ्चालक  पुरबहादुर घले । सिसिनातिर झ्याउँकिरी कराउन थालेपछि  हामी वासस्थानतर्फ फर्कियौं।

हामीले रिजर्भ गरेको मोटर बिग्रिएर फर्केपछि हाम्रो यात्राको कार्यतालिका अनिश्चित बनेको छ ।

रवि भट्ट रोषीले फोनबाटै खबरदारी गरिरहेछन् – त्यहाँ पुगेपछि लाप्राकमा बनेको नयाँ बस्ती नहेरी फर्कनु हुँदैन है दाइ ।

 बारपाकबाट लाप्राक १० किलोमिटर जति होला  । हाम्रो यात्रामा सहभागी सबै पचास काटेका युवायुवतीहरू छौं । मन वेगवान् छ जहाँ सम्झ्यो त्यहाँ पुग्छ । तर , हामी सबैसित थाकेको र औषधिले धानेको रुग्ण तन छ । हामीले उकालो बाटामा ल्याउन नसकेको मोटरजस्तै मर्मत गरिरहनु पर्ने इन्जिनजस्तै ।

स्थानीय स्तरमा भाडामा चल्ने तीनवटा बलेरो जीप रहेछ । दुईवटा बुकिङ भइसकेको एउटा खाली छ कि – आशाको दियो बाले हाम्रो होमस्टे मालिकले । सामुहिक यात्रामा  को कता बस्ने भन्ने समस्या हुन्छ ।   यसै कारणले अर्को यात्रामा कोही छुट्छन् कोही थपिन्छन् । जीवनको यात्रा पनि यस्तै हो – सधैँ सबैले यात्रामा सहकार्य गरिरहन कहाँ पो सक्छ र । हामी लाप्राक जाने भयौं ।

२०७७ पौष ७ गते विहानै खाजाको रूपमा कोदाको रोटी, कुखुराको फुल र कालो चिया उदरस्थ गरयौं । बारपाक बस्तीको  दक्षिण कुनामा रहेको प्राचीन कोट देवी मन्दिरको दर्शन गरयौं ।  जहाँबाट दक्षिणमा सौरपानी पश्चिममा तलबाट जौबारी, भच्चेक, घ्याच्चोक वस्तीहरू देखिदो रहेछ । बारपाक बस्ती माथि उत्तरपट्टि बौद्ध हिमाल मुसुक्क मुस्कुराइरहेछ । त्यसको काखमा नारद कुण्ड छ । हरेक जनै पुर्णिमाको दिन मेला लाग्दो रहेछ त्यहाँ । दरौंदी नदीको मुहान मुख्यतः नारद कुण्डलाई मानिंदो रहेछ । पूर्वपट्टि हामीले आज यात्रा गर्ने लाप्राक वस्तीलाई छेकेर माम चे बज्यू डाँडा उभिएको छ । मन्दिर पछि बजारको बीचको  गजे घलेको संग्रहालय अवलोकन गर्यौं । एउटा व्यक्तिले राम्रो गरिदिए पुस्ता दरपुस्ता लाभान्वित हुन्छ । बारपाकी घलेहरूका गौरव बनेका छन् गजे घले ।

नौ बजे यात्रा सुरु गर्यौं । बोलेरोको भित्र क्याविनमा श्रीमान् सबै र बाहिर ट्रेलरमा सबैका जहानहरू । यो संस्मरण लेखिरहँदा अघिल्लो वाक्य छुटाएर लेखौं कि भन्ने लागिरहेको थियो । तर हामीले महिला श्रीमतीहरूमाथि गरेको अन्यायको प्रायश्चित पाठकहरूमाझ  नै हुन्छ भन्ने लागेकाले यो दोस्रो वाक्य लेख्ने हिम्मत जुटाएँ । डेढ घण्टा लगाएर माम चे पुग्यौं । त्यहाँ चिया कफी पिएर पन्ध्र मिनेटमा लाप्राक नयाँ बस्ती पुगियो । उत्तर फर्किएको पाखो रहेछ । २०७२ सालको महाभूकम्पले बारपाक लाप्राक बस्ती ध्वस्त भएपछि विदेश बस्ने मनकारी नेपाली खासगरी त्यतिबेलाका एनआरएनए का अध्यक्ष शेष घलेको समितिले यो बस्ती बनाइदिने उद्घोष  गरेका रहेछन् । पाँच सय सत्तरी वटा एकनासका घरहरू बनिसकेका रहेछन् । हालसम्म हस्तान्तरण भइसकेको छैन । खानेपानी र विद्युतको सेवा जोडिएको छैन । वर्षामा पानी रसाउँछ र भुइँ छिपछिपे हुन्छ भन्दै थिए स्थानीय वासिन्दाहरू । दान दिएको विषयमा किन टिप्पणी गर्नु तर पनि घर भनिसकेपछि एउटा परिवारले गुजारा गर्न सक्ने हुनुपर्छ – यतिसम्म भन्दा अत्युक्ति नहोस् । दानवीरहरूको सदाशयता र परोपककारमा धक्का नपुगोस् । लाप्राक नयाँ वस्तीबाट उत्तरपट्टि गणेश, मनास्लु र बौद्ध हिमाल मुस्कुराइरहेछन् । फोटो खिच्ने मौसम चलेको छ । धुलाले पुरिएको अनुहार टकटक्याएर फोटो सेसन चलायौं । सामुहिक, व्यक्तिगत र सपरिवारको तस्वीर कैद गर्यौं  आआफ्नो मोबाइल क्यामेरामा । थकाइ र उमेरले नेटो काटेको चाउरी परेको अनुहारमा एकएक फाँको हाँसो उमार्यौ  र दनादन तस्वीर खिच्यौं ।

अब हामी फर्कने क्रममा छौं । हाम्रा चालक सुनछाला भएका गोरा युवा छन् नाम भने कालु गुरूङ । चालकको नाम भन्दा हिजो अलपत्र परेको ठाउँबाट हामीलाई उद्धार गर्ने चालकको नाम याद आयो । नाम आन्द्रे हो भने । म छक्क परें । सन् २००४ तिर रसिया घुम्दा रस्सियनहरूको नाम सुनेको थिएँ – आन्द्रेई । यिनको नाम आन्द्रे कसरी भयो । कुरा बुझ्दै जाँदा स्थानीय जनजिब्रोले अन्तरे उच्चारण गर्दा आन्द्रे भएको रहेछ । खुब रमाइलो भयो । अहिलेका चालक स्थानीय प्रजातन्त्रवादी युवा रहेछन् । धेरै कुराको जानकारी राख्ने अल्पभाषी मानिस रहेछन् । माम चे मा दिवाभोजन गरेर बारपाक फर्कदै छौं उही बाटो भएर । बाहिर महिलागण भजन गाइरहेछन् ।  विकट बाटाको डरले । हामी पुरूषग्रन्थीहरू ढुक्क भएर क्याविनमा बसेर सुरक्षित यात्रा तय गरिरहेछौं ।

२०७७ पौष ८ गते घर फर्कने तयारीमा छौं । होमस्टेमा बसेको खाएको प्रतिरात प्रतिव्यक्ति नौ सयको दरले भुक्तानी गर्यौं  । बिहानको खाजामा दुई फन्को मारेको सेल देख्यौं  । हाम्रा महिला गणलाई रोटी देखाउँदै सोधें – तपाईहरूले यस्तो दुई फन्को मारेको रोटी बनाउन सक्नुहुन्छ । प्रत्युत्तरमा अब कोसिस गर्नुपर्ला भन्नुभयो । स्थानीय उत्पादन राजमाको स्वादिष्ट तरकारीसँग रोटी खायौं । बिहानै उठेर घरपट्टि भाउज्यूले गरेको मेहनत र हाम्रो बिदाइमा सहृदय निश्छल भावमा सहभागी भएको देख्दा मन प्रफुल्ल हुँदैछ । किस्तीमा खादा र फूलको गुच्छा राखिएको छ । दहीमा मुछेको सेतो टीका घरपेटी भाउजूले लगाइदिइन् । उनले जानेजति आसिक दिइरहिन । दाइले गलामा खादा लगाइदिए । हातमा फूलको गुच्छा दिएर फेरिफेरि भेट्न पाम है सरहरूसँग भनेको सुनिरहँदा मनको एउटा कुनामा भने विछोडको सिर्कनाले हिर्काइरहेको थियो।

आज सबै जना बसबाट यात्रा गरिरहेछौं । नारायणगढसम्मको  बसभाडा प्रतिव्यक्ति पाँच सय बुझायौं र आआफ्नो सिट खोज्न थाल्यौं । बाहिरबाट हामीलाई आतीथ्य प्रदान गरेर गुन लगाउने दाजुभाउज्यू बिदाइका हात हल्लाइरहनुभएको छ । दुई रात मात्र बसे पनि हामी हाम्रो नजिकको आफन्तसँग कहिल्यै भेट नहुने गरी छुट्टिदै छौं जस्तो लागिरहेछ । संयोग बसमा   ‘म तिम्रो शहर छोडी टाढाटाढा जाँदै छु’ बोलको गीत बजिरहेछ । मन कुनै गरौं चिजले थिचेको अनुभूति भइरहेछ । बसले गति लियो । अस्ति आउँदाको बाटो भएर घर फर्कदै छौं ।

– यो सडक पीच भएर सुरक्षित यात्रा गर्ने दिन चाँडै आओस् मनमनै कामना गरें । अहिलेको सडक हेर्दा आङ जिरिङ्ङ भइरहेछ । जे होस् , नयाँ ठाउँको भ्रमण गरेर नयाँ अनुभव सँगालेर दिउँसोको साढे तीन बजेतिर सबै जना आरामसँग आआफ्नो स्वर्गमा आइपुग्यौं ।

प्रकाशित: १ माघ २०७७ १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App