छायादत्त न्यौपाने बगर
एक दिन मैले बासँग सोधें– बा, हाम्रा प्रचलित उखानटुक्का धेरै चोटिला,घतिला र प्रभावकारी छन्, पढ्दा – सुन्दा चित्त बुझ्छ तर मलाई रोकिन नदिई तर के सोधिहाल्नुभो बाले ।
मैले थपेँ– सस्तो बेसाहा पेट लाग्छ भन्छन् तर मान्छे सस्तैका पछि लाग्छ । भनाइको अर्थ र व्यवहार मेल खाँदैन नि । तर बाले त किन खाँदैन । बेस्सरी खान्छ भन्नुभो । मैले पनि ढिपी गर्न छाडिनँ । पेट लाग्छ भन्ने त्यसैको पछि दौडिने कसरी मिल्छ ?
– बा, रिसाउनुहुन्छ कि फुच्चे ढिपी गर्छ भनेर डर लागेको थियोे तर बा त मुसुक्क हाँसेर मलाई हेर्दै छोरा तँ लाटो छस् जमानाअनुसार हुनुपर्ने , दुख पाउने भइस् । मैले बाको कुरा बुझिनँ ।
उहाँले मेरो अलमले अनुहार हेर्दै बुझाउने उद्देश्यले व्याख्या गर्नुभो – किन भन्छस् भने नि सस्तो सजिलो हुन्छ । कम पैसाले किन्न सकिन्छ । कम ज्ञानले लेख्न, पढ्न, सुन्न सुनाउन सकिन्छ । सस्तो कुरा बुझ्न बुझाउन सहज हुन्छ । ऊ देखिनस् अलिकति पढेका कति प्यारप्यार गर्छन् । गुदी होस् नहोस् बोलिरहन्छन् । फेरि हेर त सस्तो समाचारका पछि लहैलहै मान्छे , असजिलो बाटो कसले रोज्छ ?
गहकिलो कुरा सुनाउन,परिपक्व समाचार दिन पो कठिन हुन्छ । बुद्धि चाहिन्छ , मिहिनेत गर्नुपर्छ । सस्तो हल्ला सुन्न पनि रमाइलो तर्क दिन पनि सजिलो । यही भएर पखाला लागे लागोस् । औषधि खाऔला भनेर मान्छे सस्तैका पछि दौडिन्छ । बाले यति भनिसक्दा कति बुझेँ थाहा भएन तर तर्क गर्ने शक्ति सकिएर हो कि कुन्नि बुझेझैं मुन्टो हल्लाइदिएँ । त्यतिबेला हल्लेको मुन्टो आजसम्म हल्लेको हल्यै छ ।
प्रकाशित: १५ पुस २०७७ ०७:२३ बुधबार





