मिना श्रेष्ठ सबी
१)
कति कठोर हुन खोज्छ यो म पनि,
सम्झन्छु विगतलाई, घोच्छ यो मन पनि ।
आशा थियो यो जिन्दगी सँगै बिताउने,
तर खाली एकान्त रोज्छ यो मन पनि ।
२)
दुख पर्दा त आफ्नै मान्छेले साथ छोड्दा रहेछ्न् ,
मलिलो भेट्दा धनीकै फुलबारी गोड्दा रहेछन् ।
झरेका आँसु पुछेको रुमाल भुलेपछि आज,
धनी भेट्दा गरीबसँगको नाता तोड्दा रहेछन् ।
३)
किन हो हिजोआज कोहीसंग बोल्नै मन छैन,
नफ्रत जाग्छ देख्दा पनि दिल खोल्नै मन छैन।
हिजोसम्म एटिएम कार्ड बनाएर लुट्नसम्म लुटे,
त्यही गल्ती दुनियाँको सामु ओकल्नै मन छैन ।
४)
त्यही सन्तानका लागि दुख गर्दै छिन् आमा,
तातो रापमा आफू पोलिदै पेट भर्दै छिन् आमा ।
बाध्यता र विवशताले निम्त्यएको यो गति,
आँसुमा डुबेर पनि सन्तानको खुसी छर्दै छिन् आमा ।
५)
चल्ला हाँक्ने कागले पनि यस्तै गरे कसो होला,
सानाको पनि सम्मान र भर परे कसो होला !
मातृत्व र संरक्षणले सुन्दर बनेको धर्तीबाट
सिकेर, मेहनतले कला भरे कसो होला !
प्रकाशित: ८ पुस २०७७ ०६:२९ बुधबार





