त्रिलोचन ढकाल
मैले दिनको एकपटक फेसबुक खोल्नुलाई नियमित काम बनाएको थिएँ। यसबाट सामाजिक हल्लाखल्लाबारे जानकारी प्राप्त हुन्छ भन्ने कुरा फेसबुक हेर्ने सबैलाई थाहा छ। यसमा दिएका सबै कुरा सत्य छन् भन्न सकिन्न। केही साँचा, केही गफ, केही हल्ला, केही हाँसखेल र केही रिसइवी साधना गर्ने बेतुकका कुरा पनि भेटिन्छन्, यसमा। हेर्नेले छुट्याएर बुझ्न सक्नुपर्छ। सूचनाहरू सार्वजनिक हुने हुनाले आआफूले विचार प्रस्तुत गर्दा पनि विशेष ध्यान दिन आवश्यक छ।
यसका साथमा मेसेन्जर पनि हुन्छ। त्यहाँबाट पे्रषित गरेका कुरा गोप्य हुन्छन् भन्नुपर्छ। हुन त इण्टर्नेटद्वारा प्रेषित गरेपछि त्यो न गोप्य हुन्छ न कहिलै मेट्न सकिन्छ। फेसबुक हेर्नेमध्येका साथी र साथीसँग सम्बन्धित नभएका व्यक्तिले देख्न नसक्ने हुनाले मात्र गोप्य भनिने गरेको हो। भाद्रको शुरूमा साहित्यकार स्यामप्रसाद ढुङ्गानाले त्यही मेसेन्जरमार्फत एउटा निमन्त्रणा पठाउनुभयो। भाद्र १४ गते वालिङमा आयोजना हुने “कवितामा बा” नामक कविता संग्रहको विमोचन कार्यक्रममा उपस्थित हुन अनुरोध गर्नुभएको थियो।
त्यसको ४/५ दिनपछि उहाँले फोन गर्नुभयो। पहिलाको निमन्त्रणालाई दोहोरयाउनुभयो । निमन्त्रणालाई स्वीकार गरेको जानकारी गराउनु मेरो कर्तव्य थियो । भाद्र १२ गते भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले समेत निमन्त्रणा गर्नुभयो, फोनमार्फत । मैले स्वीकार गरें । उहाँले वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा कार्यक्रम हुने कुरा समेत बताउनुभयो ।
म ११ बज्नुभन्दा पहिलै उत्रिएँ वालिङ चोकमा । वालिङ बजारको भौतिक प्रगति हेर्दै जाने उद्देश्यले उत्रेको थिएँ त्यहाँ । कलेजमा जान त भकुण्डेमा गएको भए सजिलो हुने थियो । वालिङको पुरानो बजार हेर्दैहेर्दै गएँ म । पुरानो बजार दशबाह« वर्ष अगाडिका तुलनामा केही विकास भएको लाग्यो । विकासको गति भने निकै मन्द भएको महसुस हुनु स्वाभाविक थियो । बजार हिंडिसकेर कलेजतिर उकालो लाग्दा फोनको घन्टी घन्कन थाल्यो । खल्तीबाट निकाले र हेरँें । विद्वान साहित्यकार रमेश शुभेच्छुको रहेछ फोन । फोन नउठाउने कुरा भएन । उहाँ पनि त्यही कार्यक्रमका निम्ति आउनुभएको थाहा भयो । काठमाडौंँमा यदाकदा भेट हुने साथी आफ्नै जिल्लामा मात्र होइन आजकै कार्यक्रममा आएको थाहा पाउँदा को खुसी हुँदैन र । मेरो खुसी, सीमा नाघेर छताछुल्ल भयो । हिंडदाहिंड्दै कलेज प्राङ्गणमा भेट भयो उहाँसँग । साथमा प्राज्ञ नरनाथ लुइँटेल पनि हुनुहुँदो रहेछ । मैलै हार्दिक स्वागत गरेंँ दुवै जनाको ।
हामी सरासर गयौं कार्यक्रम हुने भनेका हलमा । ढोकैमा भेट भए, भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल । उनका हातमा एउटा पूmलको गुच्छा थियो । उनले त्यो प्राज्ञ नरनाथ लुइँटेलका हातमा चढाए र हामी सबैको स्वागत गरे । हातमा समाएर भित्र लगे । कुर्सी देखाएर बस्न अनुरोध गरे । कलेजको सभाकक्ष एक वर्ष अगाडिभन्दा धेरै व्यवस्थित बनाइएको रहेछ । भूइँमा हरियो–निलो रङ्को कार्पेट पनि सजाइएको देखियो । कार्पेट देखेपछि बाहिरै जुत्ता खोल्ने कि भन्ने सोच्नु बेठिक भएन । अघिपछि भए जुत्ता खोल्ने चलन रहेछ । त्यो दिनकोे सार्वजनिक कार्यक्रमा भने सम्भव होला जस्तो लागेन । हामी पनि जुत्तैसँग पसेका थियौं भित्र । हलभरि थिए कुर्सी । सबै मिलाएर राखिएका देखिए । बनावटी छालाद्वारा मोरिएका कुर्सीहरूमा टाँसिएको धुलो देख्दा लाग्यो ती सबै त्यही हलका स्थायी बासिन्दा हुनुपर्छ । कार्यक्रमका निम्ति अरू कोठाबाट वा बाहिरबाट ल्याइएका कुर्सी भए धुलो बाटैमा झरिसक्ने थियो । मञ्चतिरका कुर्सी पनि व्यवस्थित थिए । हललाई आवश्यक पर्ने न्यूनतम योग्यता पूरा भएकै लाग्यो । एउटा पक्षमा भने ध्यान नगए जस्तो लाग्यो । पङ्खाको व्यवस्था नभएको हुनाले सबैका शरीरबाट बगिरहेका थिए पसीना । कसैले कपी वा पुस्तकले अनुहारमा हम्किरहेका थिए भने कोही खल्तीको रुमाल निकालेर पसीनाना पुछ्नमा व्यस्त थिए । सायदएयरकण्डिशनको व्यवस्था गर्दै भएर होला पङ्खा नराखेको । एयरकण्डिशनको व्यवस्था गर्दा गर्मीठण्डी दुबै मौसममा काम दिने भयो । त्यही भएर होला पङ्खा जडान नगरेको जस्तो लाग्नु अस्वाभाविक भएन ।
म त कुर्सीमा बसिहालें, थचक्क । नरनाथ लुइँटेल पनि बसेकै देखियो । रमेशजीले भने बस्ने कुर्सीको सतहमा हातको औंला दलेको भेटियो । औंलाको टुप्पोमा टाँसियो कुर्सीको धुलो । बस्न हिचकिचाए उनी । यो हेरिरहेकी कोठा सफा गर्ने महिला आउनुभयो र पुछिदिनुभयो । मञ्च बाहेक हलका अरू कुर्सी भने पुछिएन । आगन्तुकहरू, म र नरनाथ बसे जस्तै बसे थचक्क थचक्क ।
कार्यक्रम सुरु भयो, दिनको ११.४५ बजे । उद्घोषक थिइन् त्यही कलेजकी प्राध्यापक तथा पूर्व क्याम्पसप्रमुख श्री रिनाराना । उनी भेषजराज साहित्य प्रतिष्ठानको सदस्य समेत हुन् भन्ने कुरा पहिलै थाहा थियो । सभापतिको आशनमा विराजवान बनाइयो प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाललाई । अतिथिहरूको आशन ग्रहण गराउने काम पनि भयो उद्घोषकबाट । अतिथि थिए प्राडा रविलाल अधिकारी, प्राडा शालिकराम सुवेदी, साहित्यकार लक्ष्मी रेग्मी, संविधानसभा सदस्य टेकु नेपाली, जिल्ला समन्वय परिषदका सहसंयोजक दिलीप बगाले, प्राज्ञ नरनाथ लुइँटेल, विद्वान साहित्यकार रमेश शुभेच्छु, पूर्वमन्त्री त्रिलोचन ढकाल आदि । कवितामा बा का मुख्य पात्र हेमन्त ढुङ्गाना (स्याम ढुङ्गानाका पिता) की पत्नी चन्द्रकला ढुङ्गाना र अनिरूद्र रेग्मी बगाले (प्रदीप रेग्मी बगालेका पिता) की पत्नी धनकुमारी रेग्मी बगाले समेतलाई सम्मानित ठाउँमा आशन ग्रहण गराइएको थियो । मन्त्री पदमा अज्र्याललाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको रहेछ । उनी त्यही छेत्रकी सांसद र नेकपाकी नेता समेत हुन् भन्ने कुरा सबैलाई थाहा थियो । उनलाई प्रमुख अतिथिको रूपमा आशन ग्रहण गराइयो ।
उपस्थित प्रमुख अतिथि, अतिथिहरू र सहभागीहरूलाई स्वागत गर्दै प्रभावकारी मन्तव्य दिए कविता संग्रहका सम्पादक प्रदीप रेग्मी बगालेले । स्वागत भाषणपछि पण्डित–पुरोहितको एउटा समुहद्वारा स्वस्तिवाचन भयो । उनीहरूले वेदका केही अचाहरू पढेर हल घन्काउने प्रयत्न गरेका थिए।
उद्घाटन भयो कार्यक्रमको । व्यानरमा सिग्नेचर गरेर प्रमुख अतिथि मन्त्री पद्मा अर्ज्यालले गरेकी थिइन् उद्घाटन । त्यसपछि हलमा राष्ट्रिय गाना घन्केको थियो । राष्ट्रिय गाना घन्किइरहेको समयमा हलमा उपस्थित सम्पूर्ण व्यक्तित्व सतर्क स्थितिमा उभिनु हाम्रो परम्परा रहेर आएको छ । त्यहाँ पनि त्यही परम्परा जारी गरियो।
‘कवितामा बा’ कविता संग्रहको लोकार्पण भयो, प्रमुख अतिथिका करकमलबाट । यो कृतिको परिचय दिइयो कविता संग्रहका सम्पादक श्याम ढुङ्गानाद्वारा । उनले छोटो मन्तव्य सुनाएर दिएका थिए कविता संग्रहको परिचय।
‘कवितामा बा’ ऐतिहासिक महत्वको कविता संग्रह हो भन्न सकिन्छ । आमाबारे प्रसस्त साहित्य लेखिएको भए पनि नेपालमा बाका सम्बन्धमा यस्तो कृति प्रकाशित भएको भेटिएको थिएन । बाबारे फाट्टफुट्ट रचना छापिएका भए पनि यस किसिमको कृति पहिलो मानिएको छ । यो कुरा प्राज्ञ नरनाथ लुइँटेल र विद्वान साहित्यकार रमेश शुभेच्छु समेतले बताउनुभयो।
यो कविता संग्रहमा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, मुकुन्दशरण उपाध्याय, प्राडा राजाराम सुवेदी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल, प्याब्शन स्याङ्जा जिल्ला अध्यक्ष पूर्णबहादुर थापाहरूले शुभकामना मन्तव्य दिएको कुरा उल्लेख गरिएको छ, पुस्तकको सुरुमा । प्राज्ञ नरनाथ लुइँटेलका तर्फबाट कविता संग्रहका कविताहरूको विस्तृत विश्लेषण गरिएको छ । उनको विश्लेषणसहितको आलेख पनि समावेश गरिएको छ, पुस्तकमा।
यसमा ११८ स्रष्टाका ११९ कविता छन् । एउटा मगर भाषामा लेखिएको कविता र त्यसलाई नेपालीमा अनुवाद गएिको रचनाले गर्दा स्रष्टा र कविताको सङ्ख्यामा तलमाथि भएको छ। तीमध्ये चारओटा कविता संस्कृत भाषामा रचना गरिएका छन् । अरूमा भने नेपाली भाषा प्रयोग गरिएको छ । पद्य संरचनामा आधारित कविता ५९ छन् । ६० ओटा भने गद्य शैलीमा प्रस्तुत गरिएका छन् । कविताहरू सबै पितृभक्ति भावद्वारा ओतप्रोत भएका छन् । कविता पढ्दा लाग्छ सम्पूर्ण कविहरू आआफ्ना पिताजीप्रतिको समर्पण भावमा चुर्लुम्म डुबेर रचना गरेका छन् ।
संस्कृत भाषामा रचना गरिएका कवितामध्ये जगन्नाथ रेग्मी, ध्रुवराज अर्याल, मुकुन्द शरणोपाध्याय र प्राडा शालिकराम सुवेदीका क्रमशः पितृवन्दना, पितृवन्दनाष्टकम्, पितरम्प्रति र महान ही पितृदैवकः कविताहरू समावेश गरिएका छन् ।
नेपाली भाषामा रचना गरिएका पद्य कवितामा, अभिषेक बगालेको ‘न्यायका आलोक’, अमृता बगालेको ‘पिताजीमा शत शत नमन’, अवतार सुवेदीको ‘बाबा’, असफल गौतमको ‘भन्नुहुन्थ्यो बाबा’, कृष्णशरण उपाध्यायको ‘को हो त ऊ आखिर’, कोषराज न्यौपानेको ‘शब्द–विन्दु बाआमाप्रति’, गंगा कर्माचार्य पौडेलको ‘बुबा’, गोविन्द विनोदीेको ‘पिता’, घनकुमारी रेग्मी बगालेको ‘पिताजीको सम्झनामा’, चक्रबहादुर पराजुलीको ‘श्रद्धा’, चिन्तु गिरीको ‘पिताजी’, प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ को ‘कीर्तिशेष पिताजीप्रति’, झाँक्रीखोलेको ‘मेरो बुबा’, टीका मिलनको ‘परदेशबाट बुबालाई सम्झँदा’, डिडि शर्माको ‘पिताको मान’, तिलक पौडेल ‘स्यारकोटे’को ‘बाबा’, दीनदयाल रेग्मीको ‘पिताजीप्रति’ शीर्षकका कविताहरू सामेल गरिएका छन् ।
त्यसैगरी दुष्यन्त भट्टराईको ‘बुबा’, डा. देवी नेपालको ‘बाबाको गौरव’, देवु लुइँटेलको ‘बाबा’, देवेन्द्र लम्सालको ‘बाबा हरायौ कता’, धर्म पोख्रेलको ‘बुबा’, नरनाथ लुइँटेलको ‘पिता हुँ म’, नारायणप्रसाद अधिकारीको ‘पितृदिवस’, नारायणप्रसाद ज्ञवालीको ‘शब्द श्रद्धाञ्जली’, नारायणप्रसाद रेग्मीको ‘पितृस्नेह’, नारायणप्रसाद मरासिनीको ‘बाल्यकाल र बाबा’, पारसनाथ आचार्यको ‘पिता’, पिताम्बर नेपालीको ‘धिक्कार तिमी बैगुनी’, प्रह्लाद पोख्रेलको ‘बाबाको सम्झनामा’, प्रेमनारायण ढकाल ‘ज्वलनत प्रेमी’को ‘बाबा’, बाजुराम पौडेलको ‘बाबा’, विन्दु दहाल –मूकदर्शक०को ‘बाबा सबै हौ तिमी’, भुवनहरि सिग्देलको ‘पिताको आज्ञा’, मनिषा कोइरालाको ‘पिता’, महादेव अधिकारीको ‘बाबाको सम्झनामा’,शीर्षकका कविताहरू सामेल गरिएका छन् ।
माधवशरण उपाध्यय वाग्लेको ‘पिता’, मित्रलाल पँगेनीको ‘ज्यूँदो छँदै खान द्यौ’, रत्न विरही घिमिरेको ‘बाबा बडा ईश्वर’, रमेश शुभेच्छुकको ‘बा’, राधेश्याम धितालको ‘पाइरहूँ शुभाशीर्वाद’, डा।रामप्रसाद ज्ञवालीको ‘बाबुआमाको वेदना’, ललिता ‘दोषी’को ‘बाबा’, लेखनाथ काफ्लेको ‘बुबाको सम्झनामा’, डा. लेखप्रसाद निरौलाको ‘हे पिता ’, लोकमणि पौडेलको ‘के गर्न बाबा भए’, वासुदेव पाण्डेय प्रभाकरको ‘बाबा र म’, वेदप्रसाद भण्डारीको ‘पितृसेवा’, शर्मिला पाठकको ‘संसार कहाँ रहन्छ र ’, संगम ‘संयोग’को ‘मेरा बा’, सीता सुवेदी पन्थीको ‘बाबा बाँच्नु हजारौं जुनी’, सूर्यप्रसाद डुम्रेको ‘पिताजीको सम्झनामा’, हनिफ मियाँको ‘पितृको सम्झना’, हिरा पौडेलको ‘बा’ र हिरा शर्मा पौडेलको ‘बाबा’ शीर्षकका कविताहरू सामेल गरिएका छन् ।
लयमुक्त कविताहरूमा अग्निकुमार रेग्मी ‘पल्लव’ले ‘बाबाप्रति’, अनन्त अर्यालले ‘बाबा’, इन्द्रकुमार श्रेष्ठले ‘मेरा बा, तिम्रा बा’ कमला ज्ञवाली पोख्रेलले ‘बाबा’, केआर ढकालले ‘बा र व्यवस्था’, खगेन्द्रप्रसाद अर्यालले ‘सम्झनाका तरङ्ग’, खगेन्द्र गिरी ‘कोपिला’ले ‘बुबा’, गङ्गाप्रसाद उप्रेतीले ‘अग्रज सृजनाका मुहान–मेरा बा’, गायत्री लम्सालले ‘वास्तविक भगवान’ रचना गरेर दिनुभएको रहेछ ।
त्यसैगरी गीता सापकोटाले ‘बाभित्रको बा’, गुप्तबहादुर श्रेष्ठले ‘मेरा बा’, छविलाल ‘कोविला’ ले ‘माटो पसिना र मेरा बा’, जमुना गैरे वास्तोलाले ‘मेरा बाको मन’, जितु खड्काले ‘कसरी तिमीसम्म आउँ’, जितेन्द्र रसिकले ‘मास्टर बा’, टीका आत्रेयले ‘बा’, डोलराज सुवेदीले ‘बाबाको आशीर्वाद’, तारा केसीले ‘बा’, दिव्यलक्ष्मी पोख्रेलले ‘मलाई माफ गर है बा’, दीपक लम्सालले ‘मलाई सम्झना छ’, दुर्गा सारूले ‘मेरो बुबा’, देवी तिमिल्सिना ‘समिक्षा’ले ‘मेरा बा’, नगेन्द्र बजगाइँले ‘चमत्कारको पर्खाइ’, निरा शर्माले ‘बा’, पुष्कर रिजाल ‘पुष्प’ ले ‘बा’, प्रकाश तिवारीले ‘पितृदेवो भव’, प्रदीप रेग्मी बगालेले ‘कत्रो विरोधाभास’, बिर्खे ‘अन्जान’ले ‘बा’, भूपिनले ‘दिवङ्गत कविको नाममा’, मिलन ‘समिर’ ले ‘बा हुनुको अर्थ’ मर्मस्पर्शी कविता रचना गरेर दिनुभएको रहेछ ।
त्यसैगरी मीनकुमार ‘नवोदित’ले ‘सम्झनामा बा’, यमकान्त खनालले ‘पिताजी’, डा।रजनी काफ्ले ढकालले ‘हजुरजस्तै हुन’, रञ्जन घिमिरेले ‘पिताजीप्रति’, राधा कार्कीले ‘तिम्रो स्मृतिमा’, रामकुमार पण्डित क्षेत्रीले ‘बा’, रामदेव पाण्डेले ‘मेरो जहाज डुबेको दिन’, रोमा निरौलाले ‘बा’, लक्ष्मी उप्रतीले ‘बुबा’, लालमणि पोख्रेलले ‘संज्ञाहीन मेरा बा’, लोकबहादुर थापाले ९मगर भाषामा० ‘सर्द्दईङ बाजीऊ ङक्के छाना’ र नेपालीमा उल्था ‘हजुरबुबाको आकाशवाणी’, विधान आचार्यले ‘बा’, विप्लव ‘प्रतिक’ले ‘बा’, विवश पोख्रेलले ‘एउटा अभावको अनुभूति’, विश्वनाथ सञ्जेलले ‘बा’, विष्णु न्यौपानेले ‘बाबा–अमरकाव्य’, शम्भु अर्यालले ‘बाबा ३’, शरद पोख्रेले ‘गुनासो’ शान्ति रिसालले ‘बा दन्ते कथा होइनन्’, शान्ति सापकोटाले ‘बा र जिन्दगी’, श्यामप्रसाद ढुङ्गानाले ‘कर्मयोगको मन्त्र’, सबु आरोहीले ‘बा’, सरुभक्तले ‘बा’, सीताराम अधिकारीले ‘बाबालाई प्रणाम’ सुकराज ‘दियाली’ले ‘बाउ’, सुन्दर कुरुपले ‘बाउ’, सुरेन्द्र अस्तफलले ‘बा’, हरिप्रसाद पँगेनीले ‘बाबा’ र हेम अधिकारीले ‘बा’ शीर्षकमा पितृभक्तिले लचप्प भिजेका कविताहरू रचना गरेर दिनुभएको रहेछ । ती सबै कविताद्वारा कवितासंग्रह सुशोभित भएको देख्दा मेरो मन खुसीले प्रफुल्ल भएको छ ।
यस्तो ऐतिहासिक कविता संग्रह प्रकाशनको योजना बनाउने, कविताहरू सङ्कलन गर्ने र सम्पादन गर्ने महान काम श्यामप्रसाद ढुङ्गाना र प्रदीप रेग्मी बगालेले गरेका छन् । पुस्तको अग्रभागमा उनीहरूका पिताहरूका तस्वीरहरू कलात्मक ढङ्गले अङ्कित गरिएको छ । यसको प्रकाशन धनकुमारी रेग्मी बगाले र चन्द्रकला ढुङ्गानाले संयुक्त रूपमा गर्नुभएको छ।
गाउँतिर आउँदा आफूले निर्वाचित गरेका सांसद, त्यसमा पनि मन्त्रीलाई जनताले सानाठूला सबै कार्यक्रममा लैजान चाहनु अस्वाभाविक भएन । यो कार्यक्रमका प्रमुख अतिथिलाई पनि त्यस्तै थियो । उनी सबै काम पूरा गर्ने हतारमा थिइन् । उनले आफ्नो विचार सुरुमै प्रस्तुत गरेर बिदा हुने विचार राखिन् । उनको आग्रहलाई आयोजकले अस्वीकार गरेर काम चल्दैनथ्यो । उनले मन्तव्य दिइन् । उनी हात हावामा लहराएर बिदा भइन् । उनका साथमा टेकु नेपाली र दिलीप बगाले पनि सँगै जानुपर्ने रहेछ । तीनै जनालाई बिदा गरियो।
उद्घोषक रिना रानाले कृति समीक्षकलाई माइक्रोफोन भएको ठाउँमा बोलाउनुपर्ने समय आएको रहेछ । सर्वप्रथम प्राडा शालिकराम सुवेदी उपस्थित हुनुभयो । उनको जिम्मामा संस्कृत कविताको समीक्षा गर्नु थियो । जम्मा चार ओटा कविताको समीक्षा गनुपर्ने थियो उनले । उनले विस्तृत रूपमा समीक्षा गरे । समीक्षा प्रभावकारी भएको महसुस गरियो।
संग्रहका गद्य पक्षका कविताहरूको समीक्षा गर्ने जिम्मा साहित्यकार लक्ष्मीप्रसाद रेग्मीलाई दिइएको रहेछ । उनले ६० ओटा कविताको एकमुष्ट समीक्षा गरे । प्रस्तुति र समीक्षा निकै आकर्षक भयो । पद्य संरचनाका कविताको चिरफार गर्ने जिम्मेवारी डा. जगन्नाथ रेग्मीलाई मिलेको रहेछ । उनले तोकिएको समयभित्रमा निकै गहिरो विश्लेषण गरे कविताको । उनको समीक्षा सुनिरहौं जस्तो भयो।
भेषजराज प्रतिष्ठानद्वारा आयोजना गरिने नियमित रचना वाचन कार्यक्रम पनि लोकार्पण कार्यक्रमभित्रै सम्पन्न गर्ने योजना रहेछ । त्यो दिन पाँच जना विद्यार्थीले कविता वाचन गर्ने कुरा थाहा पाइयो । त्यहाँ शुष्मा अर्ज्याल, प्रिया न्यौपाने, शुष्मा पौडेल, आकृति पराजुली र शम्भव ढुङ्गानाले प्रस्तुत गरेका थिए कविता । शुष्मा पौडेलबाहेक अरूले निर्धक्कसँग सुनाउन सकेको लागेन । शुष्मा पौडेलको वाचन कला र स्वर बेजोड थियो । विद्यार्थीहरूलाई कविता वाचन गर्ने कलाका सम्बन्धमा थप प्रशिक्षण गर्नुपर्ने लागेको छ।
कविहरूद्वारा कविता वाचन गर्ने क्रम पनि यसभित्रै समावेश गरिएको रहेछ । त्यहाँ दश जनाभन्दा बढी कविहरूले कविता वाचन गरेका थिए । कविता वाचन गर्नेमध्येमा अनन्त अर्ज्याल , हरिप्रसाद पंगेनी, माधवशरण उपाध्याय, सूर्य डुम्रे, लेखनाथ काफ्ले, तेज राना, शम्भु अर्ज्याल, नारायणप्रसाद ज्ञवाली, वसन्त खनाल, मिलन समिर आदि थिए । यीमध्ये अधिकांशले ‘कवितामा बा’ मा छापिएका, आफूले रचना गरेका कविता पढेका थिए । केही कविले समसामयीक विषयमा रचना गरिएका कविता सुनाएका थिए । कविता सबै बेजोडका थिए ।
शुभकामना मन्तव्य दिने काम पनि भएको थियो । शुभकामना दिनेमा प्रमोद गैरे, रमेश शुभेच्छु, नरनाथ लुइँटेल, प्राडा रविलाल अधिकारी, त्रिलोचन ढकाल आदि थिए । भेषजराज साहित्य प्रतिष्ठान र ‘कवितामा बा’ कविता संग्रहको महत्वका सम्बन्धमा प्रकाश पारेका थिए सबैले । ‘कवितामा बा’ का योजनाकार तथा सम्पादक द्वय श्यामप्रसाद ढुङ्गाना र प्रदीप रेग्मी बगालेलाई मुरीमुरी धन्यवाद दिने पक्षमा कसैले पनि कञ्जुस्याइँ गरेको लागेन ।
मलाई प्रतिष्ठानका अध्यक्षले कविता वाचन गर्नुपर्ने कुरा गरेका थिए, निमन्त्रणा गरेका बेलामा । उनको चाहनालाई साकार गर्न भनेर एउटा लेखोट साहारेर ल्याएको थिएँ । शुभकामना मन्तव्यको आखिरीमा त्यो पनि पढेर सुनाएँ ।
लेखोट यस्तो थियो –
नमस्कार नेताजी ! भन्छन् कसैले
जागिर पाउँ नेताजी ! रुन्छन् कसैले
सरुवा पनि नमिलाई दिने ? ठुँग्छन् कसैले
प्रमोशन गरिदिउँ भनेर, ढोग्छन् कसैले
तर
यिनीहरूले बिर्सिदिए
यो मान्छे, सरकारी नेता होइन आज
पार्टीबाट नेताको लिएन ताज
००
भूमाफिया हुन र भ्रष्टाचार गर्न, सिक्दै सिकेनछ
दुराचारी विचार झिक्दै झिकेनछ
पार्टी हाकिमको ढोका बाहिर ढुक्न गएनछ
विदेशी मिचाहाका अगाडि झुक्ने भएनछ
त्यसैले
यसको त योग्यता नै पुगेनछ
नेता हुने
राजनीतिक नेता हुने
००
हिजो एक जमानामा
राजनीति सेवामुलक थियो
भोकाको गाँस थियो राजनीति
सुकुम्बासीको बास थियो
नाङ्गाहरूको नाना थियो राजनीति
शोषित – उत्पीडितको सुमधुर गाना थियो
देशको सुरक्षा कवच थियो नेपाली राजनीति
नेपालित्व लवज थियो
त्यतिबेला
योग्यता पुगेको थियो यसको पनि
नेता हुने
राजनीतिक नेता हुने
००
अहिले पेशा भएको छ राजनीति
पेशा मात्र कहाँ हो र, अपराधमुलक छ राजनीति
ढाँटछल, जालझेल र अपराध
अंग भएको छ राजनीतिको
तस्कर, ठेकेदार र मेनपावरवालाहरूको
एनजिओ, आइएनजिओ र विदेशी मिचाहाहरूको
रङ्गमञ्च भएको छ नेपाली राजनीति
त्यसैले
यसको त योग्यता नै पुगेको रहेनछ
नेता हुने
राजनीतिक नेता हुने
भेषजराज साहित्य प्रतिष्ठानले उपस्थित केही विद्वानलाई धन्यवादस्वरूप ‘आभारपत्र’ प्रदान गर्ने तयारी गरेको रहेछ । आभारपत्र पाउनु हुनेमा डा.जगन्नाथ रेग्मी, रमेश शुभेच्छु, नरनाथ लुइँटेल, प्राडा रविलाल अधिकारी र प्राडा शालिकराम सुवेदी थिए । उनीहरू सबै धन्यवादका पात्र भएको कुरा भनिरहन परेन।
अन्त्यमा, विष्णु अर्ज्यालले धन्यवाद मन्तव्य दिए । सभापति, यमकान्त खनालद्वारा सारगर्भित मन्तव्यका साथ कार्यक्रम समापन भएको जानकारी गराइयो । त्यसपछि बाहिर कलेजको प्राङ्गणमा निस्कियो । कार्यक्रमको व्यानर अगाडि राखेर तस्वीर खिच्ने काम भयो।
यस्तो उत्कृष्ट कार्यक्रमको आयोजना भेषजराज साहित्य प्रतिष्ठानले गरेको थियो । प्रतिष्ठानले यस्ता कार्यक्रमहरूको निरन्तर आयोजना गरिरहोस्, कोटी कोटी शुभकामना !
प्रकाशित: ६ पुस २०७७ ०८:५८ सोमबार





