लोचन रिजाल
यसपालिको मेरो यात्रा भेलोरतर्पmको भयो । २०७६ साउन बीस गते बागडोगराबाट चेन्नाइ अनि चेन्नाइबाट भेलोर अर्थात् दुई घण्टाको उडाइ र तीन घण्टाको गुडाइ सकेर पाँच घण्टामा भेलोर पुगियो । त्यहाँ पुग्दा हामी जोईपोइलाई खासै थकाइको अनुभव भएन ।
भोलिपल्ट बिहानै भेलोरमा एकेश्वर रेग्मी, पुजन रेग्मी, डिल्लीराम अधिकारी, राधा अधिकारी र सुशील अधिकारी, गीता अधिकारीसँग हाम्रो भेट हुँदा त झन् खुसीले अलिअलि बाँकी रहेको थकाइ पनि त्यसै हरायो । हामी आठ जनाको एक समूह नछुट्टीकन एकै ठाउँमा बस्ने, खाने र हस्पिटल धाउने गर्न थाल्यौँ । सबै कुरा सहज रूपले चल्न थाल्यो । त्यसबेला हामी आठैजना एक रोगी समूहमा दर्ता भएका थियौं ।
उपचारको सकेर हामी तीर्थालुको रूपधारण गरी रामेश्वरतर्पm लाग्यौं । रामेश्वरम्मा दुई दिन मात्र बस्ने मौका मिल्यो । मन्दिरमा दर्शन गर्न जानु, लाखबत्ती बाल्नु, समुद्र स्नान गर्नु यी सब कुरालाई त मामुली नै भन्नुपर्छ । मेरो एक लेखकको दृष्टिकोणले यस कुरालाई मामुली नै देखे पनि अलिक गहिरिएर हेर्ने हो भने यी कामहरू त्यति सहज थिएन । बर्सौं लगाएर मेरी श्रीमती चन्द्रा रिजालले कातेको वत्ती, एकेश्वर रेग्मीजीको प्रेरणादायी र हौसलात्मक सहयोग, डिल्लीराम अधिकारीजीको व्यवस्थित तारतम्य र विधिवत् पुजनविधि र सुशील अधिकारीजीको अविस्मरणीय सहयोग, त्यसपछि पुजन रेग्मी, राधा अधिकारी र गीता अधिकारीले लाखबत्ती अनि पूजा सामाग्रीहरू सजाउन सहयोग गरेको कुरालाई मामुली भन्ने संज्ञा दिनु त एउटा अक्षम्य अपराध हुनसक्छ । उहाँहरूले हामीप्रति स्नेह राखी गरेको सहयोगका लागि म उहाँहरूलाई हार्दिक नमन गर्दछु ।
जे होस् मैले मामुली भन्नुको तात्पर्य यो हो कि मन्दिर दर्शन, पुजन कायर्, लाखबत्ती बाल्नु, समुन्द्र अवलोकन गर्नु, जहाज चढ्नु, रेल चढ्नु र ऐतिहासिकस्थलहरूको अवलोकन गर्ने काम कसले नगरेको होला र ? मैले यस लेखमा यी कुराहरूलाई बढी महत्व नदिएकै हो । खासमा यो कलम चलाउनुको मेरो उद्देश्य भेलोर र हाम्रो नेपालका डाक्टरहरूको उपचार विधिको तुलनात्मक दृष्टिकोण राख्न मात्र खोजेको हुँ ।
हामी आठै जना विभिन्न रोगको उपचारका लागि भेलोर गएका थियौँ । हामी सबैले सि.एम.सि. हस्पिटलको सिस्टम अनुसार डाक्टरलाई जचायौं । यता विराटनगरका डाक्टरले दिएको औषधिहरू पनि योयो दबाई खाँदैछौँ भनेर भेलोरका डाक्टरलाई भन्यौँ । मैले डा. दिनेश न्यौपानेले दिएको औषधि खाँदै थिएँ र मेरी श्रीमती चन्द्रा रिजालले डा. ज्ञानेन्द्र गिरीले दिएको दबाई खाँदै थिइन् ।
भेलोरमा टेस्ट गरिएका विभिन्न ब्लडहरूको रिपोर्ट, एक्सरे रिपोर्ट, युरिन आदिका रिपोर्टहरू हेरेर डाक्टरले नेपालमा खाइरहेको औषधि नै निरन्तर खानु भनेर लेखिदियो । कुनै थप औषधि थपिदिएन ।
मलाई खुसी लाग्यो । हामीले खाइरहेको औषधिलाई उताको डाक्टरले काट्न सकेन । यसबाट नेपालमा पनि सबै डाक्टरहरू योग्य रहेछन् भन्ने प्रमाणित भयो । यो गौरवको कुरा हो । तर पनि एउटा प्रश्नले मनलाई बारम्बार चिमोटिरहन्छ ।
किन त हाम्रा डाक्टरहरू बेलाबेलामा बदनाम भैरहन्छन् । यसको मुख्य कारण के हो ? मलाई लाग्छ कसैकसैको नक्कली सर्टिफिकेट, डाक्टरको एकल निर्णय, ल्यावबाट कहिलेकाहीँ सही रिपोर्ट नआउनु र अप्रेशन गर्दा त्यसबेलाको टिमको कहिलेकाहीँको लापरवाही नै हो । र अर्को एक प्रमुख कारण यो हो कि औषधिहरू प्रशस्त नक्कली भित्रिनु । नक्कली औषधि खाएर रोग निको हुने कुरै आएन ।
हाम्रोतिर कोही विरामी हुँदा डाक्टरले ल्यावमा योयो टेस्ट गरेर ल्याउनु भन्छन् । ल्यावमा टेस्ट गरेका रिपोर्टहरू पहिले हाम्रै हातमा हुन्छ । रिपोर्टका सबै कुरा हामीलाई थाहा नभए पनि आधा जति त डाक्टरले रिपोर्ट हेर्नुभन्दा पहिले नै हामीलाई नै थाहा भैसक्छ । अझ एक्सरेको रिपोर्टमा हड्डी चर्केको या भाँचिएको भन्ने कुरा हामी देखिहाल्छौँ । भिडियो एक्सरे त झन् एक्सरे गर्दागर्दै थाहा भैहाल्छ । जस्तो कि पहिले अप्रेसन गर्दा भुलले पेटमा कुनै पदार्थभित्रै छुटेको रहेछ भने प्रष्टै देखिन्छ । त्यस्तो अवस्थामा हामी तुरुन्तै बबाल खडा गरिहाल्छौँ । मिडियाबाट संसार पैmलाउँछौँ । पीडित पक्षले मनको वह पोख्न यस्तो गर्नु पनि स्वाभाविकै हो ।
उताका डाक्टरहरूले कहिल्यै यस्तो भुल गर्दैनन् होला त ? सन्जोगले कहिलेकाहीँ भुल्नुहुन्छ होला तर त्यो भुल हामीलाई थाहै हुँदैन । किनभने कुनै पनि रिपोर्टहरू यताको जस्तो हामी हेर्न पाउँदैनौँ । रिपोर्टहरू सिधै डाक्टरकोमा पुग्छ । पैली उसैले हेर्छ अनि त्यस्तो भुल देखियो भने ढाकछोप गर्ने मौका उसले सहजै पाउँछ । अरू नै थोकको बहाना गरी भन्छ, “एउटा सानो अप्रेसन गरेपछि बिलकुल ठिक हुन्छ ।” अप्रेसन गरेर पेटमा छुटेको पदार्थ फ्याँकिदिन्छ र त्यो पदार्थ कसैलाई देखाउँदैन । छुटेको पदार्थ झिकेर फ्याँक्नेबित्तिकै रोगीको पीडा मुक्त भएर ऊ तन्दुरुस्त हुन्छ । अनि हामी क्या जान्ने डाक्टर भनेर दङ्ग पर्दै उसको खुब गुन गाउछौँ । हुने भए सायद आरती पनि उताथ्र्यौ होला ।
चाहे यताका डाक्टर हुन् चाहे उताका, उनीहरूले उपचार गर्नु भनेकै ल्यावको रिपोर्ट हेरेर नै हो । यदि ल्यावका कर्मचारीहरू इमानदार र लगनशील छन् भने उपचार सही हुने हो । नत्र “टाउको दुखेको औषधि नाइटोमा लगाइ” हुन्छ । यदि नेपालमा भएका ल्यावहरूले विश्वास कमाउन सकेक उपचार गर्न विदेशमा जानु पर्दैन भन्ने मेरो विश्वास छ ।
नेताहरूले यसतर्प कुनै ध्यान दिएको देखिँदैन । उपचार विधिको सुदृढीकरणलाई बेवास्ता गरी उनीहरू खुद विदेशी डाक्टरलाई विश्वास गर्दछन् । सर्वसाधारण जनताहरू पनि भारतका विभिन्न नामुद हस्पिटलमा ठूलो जनसंख्यामा ओहिरो खनिएको देखिन्छ । यदि नेपालका हस्पिटलहरूमा सुधारात्मक कदम चालिदिएको भए देशको ठूलो धनराशि बाहिरिने थिएन । यसतर्पm पनि नेताहरूको ध्यान पुगोस् भन्ने मेरो आग्रह हो ।
प्रकाशित: ४ पुस २०७७ ०८:०६ शनिबार





