६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला

स्वादिलो ‘सेकुवा’

पुस्तक

 रत्न प्रजापति

 

किशोरसाहित्यका पुस्तकको अभाव अहिले होइन, धेरै अघिदेखि महसुस गरिएको हो । किशोरसाहित्यको अवस्था शून्यप्राय छ । धेरै प्रौढसाहित्यकारले बालसाहित्य लेखेका छन् । त्यस्तै धेरै बालसाहित्यकारले प्रौढसाहित्य लेखेका छन् । तर न प्रौढसाहित्यकार, न त बालसाहित्यकार, कसैले पनि किशोरसाहित्यको आवश्यकतालाई त्यति ध्यान दिएका छैनन् । किशोरसाहित्य लेख्ने अग्रसरता पनि धेरैले देखाएका छैनन् । त्यसैले किशोरसाहित्यको अभाव टड्कारो महसुस गरिएको हो । बजारमा खोज्दै जाँदा नेपाली भाषामा लेखिएका एक दर्जन किशोरसाहित्यको पुस्तक पाउन मुस्किल छ । त्यसैले किशोरसाहित्यका लागि हामी पूर्णतः परनिर्भरको अवस्थामै छौं अहिलेसम्म ।

बालसाहित्य र प्रौढसाहित्यका जस्तै किशोरसाहित्यका पाठक पनि प्रशस्त छन् । उनीहरूका लागि उल्लेख्य संख्यामा साहित्य नलेखिएको हुँदा सके प्रौढसाहित्य र नसके बालसाहित्य पढेर चित्त बुझाउन बाध्य छन् हाम्रा किशोर पाठकहरू । यद्यपि अङ्ग्रेजी भाषामा राम्रो दखल भएका पाठकका लागि भने विकल्प छन् । किनभने अङ्ग्रेजीमा किशोरपाठकका लागि भनेर थुप्रै साहित्यिक पुस्तक लेखिएका छन् । औंलामा गन्न सकिने संख्यामा नेपालीमा पनि किशोरसाहित्यका पुस्तक लेखिएका भए पनि तुलनात्मक रूपमा अङ्ग्रेजीमा लेखिएका किशोरसाहित्यका पुस्तक स्तरीय भएको पाठकहरूको अनुभव सुन्न पाइन्छ ।

पछिल्लो समय नेपालमा पनि किशोरसाहित्यका आवश्यकताका बारेमा चर्चा र बहस हुन थालेको छ । बालसाहित्य र प्रौढसाहित्य प्रशस्त लेखिएको अवस्थामा शून्यको अवस्थामा रहेको किशोरसाहित्यका बारेमा चर्चा र बहस हुन थाल्नु खुसीको कुरा हो ।  

किशोरसाहित्यको आवश्यकताका बारेमा कुरा उठाउनेमध्येका एक हुन् लेखक तथा सम्पादक कृष्णदीप सिग्देल । उनैले लेखेको पहिलो किशोरउपन्यास ‘सेकुवा’ बजारमा आएको छ । यसलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । उमेरगत स्वभावले नै चञ्चल र जोशिला अनि नयाँ कुरा जान्ने, सुन्ने, बुझ्ने र केही सिक्ने चाहना राख्ने किशोरपाठकका चाहनालाई ध्यानमा राख्दै उनले किशोरउपन्यास ‘सेकुवा’ लेखेका छन् ।

‘सेकुवा’मा गजबको स्वैरकल्पनाको प्रयोग भएको छ । कथावाचन वा प्रस्तुतिको शैली नितान्त भिन्न छ । जीवनसँग सम्बद्ध सानासाना दर्शनका कुराहरू कथाकै अंशका रूपमा आएका छन् । कथा छोटो भएर पनि कथाको भागैपिच्छे कौतुहलता जगाउने घटनावलीहरू छन् । पात्रका व्यवहार सहज, शुद्ध र प्राकृतिक छन् । कथामा मोडहरू धेरै नै छन्, तर मूल विषयबाट कथा बिच्किएको छैन । भाषा सरल र प्रस्ट छ । नेपाली किशोरसाहित्यको क्षेत्रमा यो किताब नितान्त नौलो प्रयोगका रूपमा आएको छ । विशाल डिङ्की ड्रागन सेकुवा खाने लोभमा परी छेपारोमा परिणत भएको कथा किशोरपाठकका लागि निकै नौलो तथा रोचक लाग्ने पक्का छ । 

 

उपन्यासको सुरुमा प्रोलग (किताबको बारेमा) लेखिएको छ, जहाँ सलबलु भन्ने स्यालले कसैले ‘सेकुवा त जसरी पनि खानैपर्छ’ भनेको सुन्छ । जङ्गलमा सेकुवा ? यही प्रश्नले पाठकको कौतुहलता जगाउँछ र उपन्यास पढ्ने आतुरी बढाउँछ ।

त्यसपछि पृष्ठभूमिमा नेपालको मध्य उत्तरतिरको कुनै ठाउँको सामान्य परिचय दिइएको छ । त्यो ठाउँमा अग्ला पहाड, पहाडबाट उद्गमित खोलानाला छन् । अलि होचा पहाड पनि छन् । जङ्गल जताततै छन् । भीर, पहरा र मैदान पनि देखिन्छन् । त्यसलाई उपत्यका भनिएको छ । त्यो उपत्यकाका बासिन्दा अन्य ठाउँतिर जाँदैनन् । अन्यत्रका पनि त्यहाँ आउँदैनन् । तर सलबलु स्याल भने सुटुक्क अन्तैबाट आएको छ । स्थानीय बासिन्दाले सलबलु स्याल त्यहाँको रैथाने होइन भन्ने थाहै पाउँदैनन् । सेकुवाको कुराले उपत्यकाका बासिन्दामा कम्पन पैदा हुन्छ ।

कथारम्भमा कथाका कथानुसार जोजो पात्र आउँछन्, उनीहरूकै दृष्टिअनुसार कथा अगाडि बढ्ने जानकारी दिइएको छ । तर मूलकथाचाहिँ सेकुवाकै हो । कथामा आउनका लागि पात्रहरूलाई सूचना संप्रेषित गरिएको छ । जसले पहिला सूचित गर्छ, ऊ नै कथामा पहिला आउने जानकारी गराइएको छ । यसअनुसार सलबलु स्यालले सबैभन्दा पहिला आफू नै आउनुपर्ने दाबेदारी पेश गरेकाले उसैबाट कथा सुरु गरिएको छ ।

सलबलुले कथा भन्छ सेकुवाको । सलबलु श्रीमतीसँग असाध्यै डराउँछ । उसकी श्रीमतीको नाउँ हो कर्कसी । नामैले ऊ डरलाग्दी लाग्छ । ऊ असाध्यै खन्चुवा पनि छे । जस्तै अवस्थामा पनि उसलाई खाना रुच्छ र उसले खाएरै छोड्छे । उसलाई खानाको जोहो गर्दागर्दा हत्तु हुन्छ सलबलु । तर, उसले खाना खोज्न सक्दिनँ पनि भन्न सक्दैन । किनभने कर्कसीको तीन वटा कुरासँग ऊ एकदमै डराउँछ । सलबलुलाई डर लाग्ने कर्कसीका तीन कुरा हुन् उसको आँसु, दाँत र नङ्ग्रा । आसु कर्कसीको नरम हतियार हो, त्यसले ऊ जसलाई पनि गलाउन सक्छे । दाँत उसको गरम हतियार हो, जुन अरूलाई डराउन प्रयोग गर्छे । अनि नङ्ग्रा उसको चरम हतियार हो, जसले अरू दुई हतियारले काम नगरे चरमावस्थामा आक्रमण गर्छे । 

खन्चुवा श्रीमतीलाई खानाको जोहो गर्दागर्दा हत्तु भएको सलबलुले कहिलेकाहीं शरीरलाई आराम दिनुपर्छ । कहिलेकाहीं नखाँदा शरीरलाई आराम हुन्छ भनेर श्रीमती कर्कसीलाई सम्झाउन खोज्छ । तर उसले मान्दै मान्दिन । त्यसपछि उसले खरायोको सेकुवा खाने कुरा गरेर श्रीमतीलाई फुल्याउन खोज्छ । यो कुरा खराने खरायोले थाहा पाउँछ ।

अर्को भागमा खराने खरायोले कथालाई अघि बढाउन दाबेदारी प्रस्तुत गर्छ । खराने खरायोले कथा भन्दै जान्छ । यसैगरी डिङ्की ड्रागन, सहरे माछो, गुजुल्टे गँगटो, कत्ले कछुवा, बज्जी मौरीको दृष्टिबाट पालैपालो गरी कथा अघि बढ्छ । सबैको कथामा सेकुवा खाने कुरा  हुन्छ । तर, कसैगरी पनि सेकुवा खाने मेसो मिल्दैन । सेकुवा खाने लोभमा एकोहोरो लागेर विशाल डिङ्की ड्रागन दुब्लाएर सानो हुन्छ । दुब्लाएर सानो भइसकेको डिङ्कीलाई शहरे माछाले पुच्छरले प्याट्ट हान्छ । डिङ्की त रकेटझैं सुइँ्यय गर्दै हावामा उत्तरतिर सुइँकिन्छ । एकछिनपछि प्ल्यात्त गरेर रुखको हाँगामा टासिन्छ । डिङ्कीको पुच्छर च्याप्प समातेर बसेको बज्जी मौरीचाहिँ उडेर आफ्नै चाकातिर लाग्छ ।

अन्तिममा कथा भन्ने पालो आउँछ उसैको । यो ऊ भन्नेचाहिँ डिङ्की ड्रागन हो । ऊ ड्रागनबाट घटेर छेपारो भएको हो । ऊ रुखमा बसेको धेरै दिन भइसकेको हुन्छ । अनि ऊ यति कमजोर भइसकेको हुन्छ कि अलिकति मात्र पर सर्ने ताकत पनि उसमा हुँदैन । भोकले पेट कुलुलु गर्दा पनि उसले भुनभुन गर्दै उडिरहेका कीरा समातेर खान सक्दैन । सेकुवा खाने लोभमा ड्रागनबाट छेपारो बनेको डिङ्कीको दुखद कथासँगै कथाको अन्त्य भएको छ । सेकुवा खाने सपना अधुरै रहन्छ । न डिङ्की ड्रागन, न सलबलु स्याल, न शहरे माछो, न गुजुल्टे गँगटो, न कत्ले कछुवा, न बज्जी मौरी, कसैले पनि सेकुवा खान पाउँदैनन् । सेकुवाका मीठो स्वादको कल्पनामात्रै गर्छन् सबैले, तर खान भने पाउँदैनन् ।

सेकुवाको कथा सकिन्छ, तर कथाको कथा अझै बाँकी नै रहन्छ । जसलाई एपलग (छोटो कथा) मा उल्लेख गरिएको छ । यो कथाको मास्टरप्लान त रानी मौरीले बनाएकी रहिछ । डिङ्की ड्रागनको कानमा सेकुवा शब्द फुक्ने पनि उही रानी मौरी नै पो रहिछ । आखिर त्यो रानी मौरी अरू कोही नभएर उपन्यासकार कृष्णदीप सिग्देल नै हुन् भन्नुपर्ला । किनभने उपन्यास त उनले नै लेखेका हुन नि ।  

कथाले कथा जोड्दै जाने र पात्र आफैंले आफ्नो भूमिका दाबी गरी सोहीअनुरूप भूमिका निर्वाह गर्दै जाने प्रायः पाश्चात्य साहित्यमा प्रचलित भनिएको शैली रोचक छ । यो शैली हाम्रा लागि नौलो नै हो । तथापि १२–१५ वर्षका किशोरपाठकले यो नवीनतम शैलीलाई कत्तिको रुचाउँछन् र उनीहरूको पठनशक्तिले यसलाई कत्तिको पचाउँछन् भन्नेचाहिँ सोचनीय छ । 

उपन्यासको कथा रोचक छ । प्रस्तुतिकरण पनि रुचिपूर्ण छ । उपन्यासको परिकल्पना नै नौलो लाग्दछ । तर, कथाअघिको पूर्वकथाले किशोरपाठकलाई अलमल्याउने हो कि ? लेखक भएर सोच्दा यो उपन्यास नवीन शैलीको, प्रयोगशील र रोचक लाग्दछ, तर पाठक भएर सोच्दा अलि क्लिष्ट लाग्दछ र यो उपन्यास हो कि, नाटक हो कि अथवा कथा पो हो कि भन्ने पनि लाग्नसक्छ । नाटकमा सूत्रधारले बीचबीचमा बोलेजस्तो पूर्वकथा अथवा लेखकको कथनले पाठकलाई उपन्यासको पूर्वजानकारी दिने अथवा उत्सुकता जगाउने अभीष्ट राखिएको भए पनि यसले किशोरपाठकलाई अलमल्याउने सम्भावना पनि छ । उपन्यासको सुरम्य गतिशीलता वा नियमिततालाई भङ्ग गरेको महसुस हुनसक्छ । यसलाई उपन्यासको नकारात्मक पक्षको रूपमा होइन, चुनौतीको रूपमा बुझ्नुपर्ला ।  

हाम्रा पाठकहरू सललल बगेको कथा मन पराउँछन् । प्रयोग गर्नु राम्रो हो, तर त्यसले पठनमा कस्तो प्रभाव पार्छ र पाठकमा कस्तो प्रभाव छोड्छ भन्ने कुरालाई ख्यालमा राख्नु पनि लेखकको धर्म हो । नेपाली बाल किशोरसाहित्यमा यस्तो प्रयोग भएकै छैन भन्दा पनि हुन्छ । यस दृष्टिकोणले यसलाई आवश्यक भन्न सकिएला, तर पाठकीय क्षमताले धान्न सक्दैन कि भन्ने चिन्ता हो ।

किशोरकथा लेख्न चाहने कथाकारलाई नजानिँदो किसिमले कस्तो कथा लेख्ने  र कसरी लेख्दा कथा रोचक हुन्छ भन्ने शिक्षा दिने चलाकीपूर्ण उपाय पनि यस उपन्यासमा अवलम्बन गरिएको महसुस हुन्छ । अप्रत्यक्ष रूपमा लोग्ने–स्वास्नीबीचको सम्बन्ध र उनीहरूको यौनसम्बन्धबाट सन्तान उत्पादन हुने कुरालाई खराने र श्यामा, गुजुल्टे र खबटी, कत्ले कछुवा र पजसीलगायत अरू श्रीमतीहरूको सम्बन्धबाट देखाउन खोजिएको छ । यसबाट किशोरपाठकले प्रजननका बारेमा पनि जान्ने अवसर पाउने छन् ।

सलबलुले खरानेलाई सेकुवा बनाउन खोज्ने, डिङ्की ड्रागनले पनि खरानेलाई नै सेकुवा बनाउन खोज्ने, सहरेलाई डिङ्की ड्रागनले सेकुवा बनाउन खोज्ने आदि घटनावलीले मर्ने र मार्ने दुवै यही समाजमा छन् भन्ने सामाजिक यथार्थलाई झल्काइएको छ ।

उपन्यासकारले कथाहरूलाई संयोजन मात्रै गरेको देखाउनु पनि एउटा प्रयोग नै हो । प्रौढ साहित्यमा पनि यस्तो प्रयोग थोरै मात्र भएको पाइन्छ । पात्रहरूले नै आआफ्नो कथा प्रस्तुत गर्ने शैली नयाँ र नौलो लाग्दछ । यसले उपन्यासमा नवीनता र रोचकता थपेको छ । तर नयाँपनसँगसँगै चुनौती पनि छ, किशोरपाठकका लागि उपन्यास रुचिकर भईकन पनि बोधगम्य र सुपाच्यचाहिँ नहोला कि भन्ने ।  

पुस्तक – सेकुवा

विधा – किशोरउपन्यास

लेखक – कृष्णदीप सिग्देल

चित्र – सुमन महर्जन

प्रकाशक – साङ्ग्रिला बुक्स प्रालि

संस्करण – पहिलो, कात्तिक २०७७

पृष्ठ – १७६+४

मूल्य – रु. ३३५।–

प्रकाशित: १ पुस २०७७ ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App