निर्मोही व्यास
दुर्नियतिको कुनै सानो सङ्केतसम्म पनि देखिएको थिएन— यात्राको थालनीमा मात्र होइन, मध्यविन्दुसम्म आइपुग्दा पनि । तर, त्यस दिनको कलैया–काठमाडौँ यात्रा अकल्पनीय दुर्भाग्य–यात्रा सिद्ध भयो मेरो जीवनमा । मेरो जीवनका अनेक काला दिनको शृङ्खलामा ‘२०६२ साल माघ ४ गते आइतबार’ को त्यो दिन पनि अविस्मरणीय रूपले गाँसिन आइपुग्यो । जीवन–यात्रामा कति बेला र कहाँ के भाम्लो आइलाग्छ भन्ने कसलाई पो पहिले नै थाहा हुन्छ र म बबुरोलाई पनि थाहा होस् !
हजुर, त्यस दिन बिहान सबेरै ७ बजे कलैयाबाट हिँड्यौँ हामी काठमाडौँ जानका लागि ‘अग्नि यातायात’ नाउँको बस चढेर । ‘हामी’ अर्थात् मेरी श्रीमती वीणा पोखरेल, जेठान विनोद पोखरेल र म । सन्दर्भ थियो विनोददाइको औषधोपचारको ।
क्रमशः वीरगन्ज, सिमरा, पथलैया, अमलेखगन्ज र चुरे पर्वत–शृङ्खला छिचोल्दै बस उत्तर लागिरह्यो र हेटौँडाको महेन्द्रचोकमा पुगेपछि फनक्क देब्रे मोडिएर पश्चिमतिर लाग्यो । अनि, रापती तरेर बत्तिँदै मनहरी पुग्यो र त्यहाँबाट पनि कुदेर लोथर तरेपछि चितवन जिल्लामा पसेर पुलदेखि केही अघि बढी राजमार्गको दक्षिणतिर पिप्ले गाउँमा पर्ने एउटा होटेलको आँगनमा भित्रिएर घ्याच्च रोकियो बिहानको भात खुवाउन । यति बेला एघार बजेको थियो ।
मिनेटको विश्रामपछि हुरुरुरू फेरि अघि बढ्यो बस र निर्बाध रूपले नारायणघाट, रामनगर, मुग्लिन, कुरिनटार, मलेखु नाघेर २ बजे गजुरी पुगेपछि एक्कासि नराम्ररी फँस्यो जाममा ।
के पूर्व, के पश्चिम र के दक्षिण, देशैभरिबाट राजधानी छिर्ने मूलमार्गका रूपमा रहेको त्यस अति व्यस्त पृथ्वी राजमार्गमा हाम्रो अघिल्तिरका असङ्ख्य–असङ्ख्य घुम्तीसम्म असङ्ख्य–असङ्ख्य ट्रक, बस, मिनीबस, जीप, माइक्रो, मोटरसाइकलहरूको कहालीलाग्दो दोहोरो लाम थियो । जसमध्ये स्वभावतः बसहरूकै आधिक्य थियो । अब हेर्दाहेर्दै हाम्रो बसका पछिल्तिर पनि फाट्टफुट्ट गर्दै आए गाडीहरू र छिनमै सिरानतिर जस्तै पुछारतिर पनि असङ्ख्य–असङ्ख्य गाडीहरूको कहालीलाग्दो दोहोरो लाम द्रौपदीको सारीसरह अनन्त भएर तन्कियो र क्रमशः झन्– झन् तन्किँदै–तन्किँदै गयो । गाडीको लर्कोको मुहान र टुङ्यान देख्न नपाएको र बसको आफ्नो आसनमा अररिएर बस खुल्ने आसमा अल्झिएको निरीह यात्रीले त्यस विकराल जामबारे अनेक दुष्कल्पना गर्नु र अब त खुलिदिए हुन्थ्यो, अब त साँच्चै खुल्ला पनि कि भनेर आशान्वित हुनुबाहेक अर्को सोच्न सक्ने, गर्न सक्ने काम के नै पो थियो र !
क्रमशः सवा दुई बज्यो, साढे दुई बज्यो, पौने तीन, तीन, सवा तीन र साढे तीन पनि बज्यो । अर्थात्, हामी त्यहाँ आइपुगेको डेढ घन्टा भयो । तर, जाम खुलेन, बरु अझ लम्बिँदै–लम्बिँदै गयो । ‘अब खुल्छ, खुल्नै आँट्यो’ जस्ता वाक्यहरू छिनछिनमा कानमा ठोकिन आइपुग्थे । ती कति विश्वसनीय हुन् वा कति अविश्वसनीय बुझ्ने आधार केही थिएन । गाडीभित्र कोचिएर बस्ताबस्ता जतिसुकै पट्यार लागे पनि र बाफ रे ! यहीँ साढे तीन बजिसक्यो, अब डेढ घन्टापछि झमक्क साँझ पर्छ, कति बेला बस खुल्न पाउने हो र कति बेला काठमाडौँ पुगिने हो भन्ने जिज्ञासाको भरपर्दो जवाफ भविष्यको निस्पट्ट अँध्यारो गर्भभित्रै गुम्सिएको छ । माघ महिनाको कठोर जाडो । कतै रातभरि यहीँ कुत्रुक्क परेर बिताउनुपर्ने हो कि ! अथवा, मध्यरातमा काठमाडौँमा भित्रिएर आफ्नो बासको टुङ्गोमा पुग्नै पनि नपाइने हो कि ! अनेक आपराधिक तत्त्वबाट अकल्पनीय आपत्ति ओइरयाइने हो कि भन्नेजस्ता नानाथरी दुष्कल्पना, त्रास र आँधीले जतिसुकै लफन्ड्याइरहे पनि बालकृष्ण समको—
“बेला वसन्तको पर्ख, जिन्दगीको हठी बनी
सहू सहू सहू बाबू ! सहनै नसके पनि”
अर्तीलाई शिरोपर गरेर धैर्यधारण गर्नुबाहेक कुनै विकल्प नै थिएन ।
त्यसरी अकल्पनीय जाममा फँसेर मगज रन्थनिइरहेको अवधिमा म प्रत्यक्ष रूपमा आफ्नी सहयात्री र सहधर्मिणी वीणासित र बेलाबेला बसभित्रका अरू परिचित–अपरिचित महिला–पुरुषहरूसित जामसित सम्बन्धित साझा पीडाबाट मुक्तिका सन्दर्भमा बोलीमा लोली मिसाउँदै थिएँ भने भित्र–भित्रचाहिँ आफ्नो त्यसै यात्रासित गाँसिएको स्मृतियात्रामा हराउँदै थिएँ ।
अँ, त्यसो त पहिले विनोददाइलाई लिएर ममात्र जाने कुरा थियो तर, माघे सङ्क्रान्तिको निम्तो मान्न माइती जनकपुर गएकी वीणाले “गाडीले बोक्ने त हो नि, आपूmले बोक्न पर्ने होइन क्यारे, त्यसैले यति लैजा नानी !” भन्ने आफ्ना आमा–बाको आग्रहमा आफ्नो घरपरिवारका लागि र काठमाडौँमा बसोबास गर्ने आफ्नी तीनवटी बहिनी र एउटा भाइको परिवारका लागिसमेत गरी आठ–दसवटा झोलामा सङ्क्रान्तिका कोसेली र नानाथरी तरकारीले भरिएका बोरासमेत लिएर आएकी थिइन् दाइका साथ । दाइलाई उपचारका लागि काठमाडौँको सम्बन्धित अस्पतालमा माघ ५ गतेका दिन भर्ना गर्ने व्यवस्था मिलाइवरी मैले उहाँलाई आपूmसँगै लिएर २ गते नै घर कलैया आउन वीणालाई फोनबाट सूचित गरेको थिएँ ।
त्यसअनुसार उनले दाइलाई जनकपुरबाट आफ्नो घर कलैयासम्म मात्र ल्याउने, त्यसपछि दाइलाई लिएर म मात्र काठमाडौँ जाने कार्यतालिका निश्चित गरेका थियौँ हामी दुईले आपसमा । त्यसो किनभने उनी जागिरे थिइन् र स्थानीय सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयमा पढाउँथिन् । सङ्क्रान्तिको बिदापछि त्यसै दिन विद्यालय खुल्ने भएकाले उनलाई काठमाडौँ जान मिल्ने थिएन । अनि, म स्वयंचाहिँ वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढाउने भए पनि विगत चार वर्षदेखि पीएच।डी। गर्दै थिएँ तलबी बिदा पाएर । त्यसैले त्यस अवधिमा जागिरको टन्टाबाट म मुक्त थिएँ र नै जेठानलाई लिएर आफू मात्रै काठमाडौँ जाने कार्यक्रम बनाएको थिएँ मैले । तर, दुई दिनअघि अर्थात् माघ दुई गते वीणा माइतबाट आउँदा उनका साथमा दाइ मात्र नभएर झोलाझाम्टाको डङ्गुरसमेत देखेपछि चाहिँ मेरो सातोपुत्लो उडेको थियो । एक त म परेँ स्वभावैले यात्रामा सामानका नाउँमा एकदमै छरितो, बढीमा दुईवटा मात्र र त्यो पनि हलुका झोला÷ब्याग लिएर हिँड्ने मान्छे, यता वीणाले काठमाडौँ पुरयाउनका लागि ल्याएका ती रासका रास भारी भरकम सामान अनि त १देख्तैमा मेरो सातोपुत्लो उडिसकेको थियो उसै दिन । निजी गाडीमा भएभरिका सामान लोड गरेर घरदेखि गन्तव्यसम्म र गन्तव्यदेखि घरसम्म लिएर हिँड्ने गरेका आफ्ना अरू छोरी–जुवाइँको आरामदायी यात्रा देखेर ‘के फरक पर्छ र’ भन्ने आफ्ना आमा–बाको, अझ विशेष गरी आमाको सोझो सोचाइ र भनाइबाट वीणा बाध्य थिइन् । मचाहिँ सार्वजनिक सवारी साधनद्वारा यात्रा गर्ने गरेको र दुर्भाग्यवश कतै गाडी बिग्रँदा वा परिस्थितिअनुसार गन्तव्यसम्म पुग्न दुई–तीनवटा गाडी फेर्नुपरेका खण्डमा सामानहरू एउटा गाडीबाट अर्को–अर्को गाडीमा ओराल्ने–चढाउने, चढाउने–ओराल्ने अनि परिस्थितिवश कहिलेचाहिँ केही टाढासम्म आफैंले हातमा र काँधमा झान्टाङझुन्टुङ पारेर ठसठस कन्दै हिँडेर लखतरान हुनुपर्ने दयनीय अवस्थाको भुक्तभोगी थिएँ । त्यसैले, त्यस दिन म सार्वजनिक बसमा त्यत्तिका सामानका साथ जेठानलाई लिएर एक्लै काठमाडौं जान अलि हच्केको थिएँ ।
हेर्दा एक्लै नभएर साथमा जेठानसमेत भए पनि एक त उहाँ मानसिक रोगी, त्यसमाथि पहिले–पहिलेका यात्रामा मैले अनुभव गर्न पाएकै थिएँ— उहाँ बेलाबेला थाहा न पत्तोसित फुत्तफुत्त ओर्लिराख्नुहुन्थ्यो बसबाट । अनि, म एक्लैले कसरी सम्हाल्नु ! ओर्लेर उहाँलाई खोज्नतिर लाग्दा यता त्यसै मौकामा बस लुसुक्क गुडिदियो भने आफ्ना दस–दसवटा झोलाझाम्टाको भारी लिएर बेपत्ता भएको बसलाई फेरि के गरी, कहाँ पुगेर फेला पार्नु ! यस्ता यात्रागत सम्भाव्य दुश्चिन्ताहरूले मलाई बेतोडले रन्थन्याउन थालेका थिए दुई दिन अघिदेखि नै । र, म पूरै आतङ्कित थिएँ सम्हालिनसक्नाका सामानहरू लिएर एक्लै दिनभरिको बाटोमा बसयात्रा गर्न । यता, खै के लागेर हो कुन्नि १ जेठानसाहेब “ए बीना, तँ पनि हिँड् न” भनेर बहिनीलाई पनि सँगै जान कर गर्दै हुनुहुन्थ्यो । त्यसैले मलाई पनि लाग्यो— वीणा पनि साथमा रहिन् भने मेरो चिन्ता आधै घट्छ । त्यस्तै विषम परिस्थिति आइपरेको खण्डमा एक जनाले दाइलाई सम्हाल्ने र अर्कोले सामान र गाडीको ख्याल गर्ने । अनि, मैले आफ्नो दुश्चिन्ता पोख्तै करै गरेँ श्रीमतीलाई — “वीणा, हिँड न त तिमी पनि, म काम नसकिउन्जेल उतै बस्छु तिमीचाहिँ एक दिन, एक रात थकाइ मारेर पर्सिपल्ट फर्कनू !” त्यसपछि, ‘ठीकै हो’ भन्ने लागेर उनले पनि सहमति जनाएकी थिइन् ।
र, यसरी हामी तीन जना त्यस दिन बाटो लागेका थियौँ ।
अब फर्कौं वर्तमानमा । यहाँ गजुरीमा अज्ञातकालसम्म फसेका असङ्ख्य बस÷गाडीहरूमध्येको एक, आफू चढेर आएको बसभित्रको आफ्नो आसनमा बसेरै हामीले हाते झोलाभित्रका कुटुरा फुकाई बाँडीचुँडी खाजाले भोकको झोक शान्त पारयौं र साथको बोतलको मिनरल पानीका घुट्काले गला रसायौँ । अनि, केहीबेर फेरि आपसमा यस्तैयस्ता अनेकथरी कुरा गरेर बस्ताबस्ता आजित–आजित भएपछि यसो खुट्टा तन्काउने, लघुशङ्का गर्ने र बाँकी बाटोमा प्यास–तिर्खा मेटाउनका लागि साथका तिनै पानीका रित्ता बोतललाई नजिकै कतैको धारामा गएर भर्ने आदि अनेक थरी संयुक्त अभिप्रायले हामी ओर्लियौँ बसबाट । र, पालैपालो आफ्ना सबै काम सम्पन्न गरयौ र लाग्यौँ फेरि जाम खुल्ने समयको प्रतीक्षामा ।
हामी चढेर आएको त्यस बसमा अन्य थुप्रै अचिनारु नरनारी थिए भने दुई जना पुरुष र चार–पाँच जना महिलाहरू मेरा परिचित थिए । तीमध्ये तीनवटी कायस्थ थर भएका नेवार्नी नानीहरू त मैले हाईस्कुल र क्याम्पस दुवैमा गरी केही वर्षै पढाएका चेलीहरू नै थिए । र, साथमा तिनीहरूका दाजु वीरेन्द्र कायस्थ पनि थिए । हामी आफ्नो परिवारका तीन प्राणी ओर्लेपछि लगत्तै ती बाबू पनि ओर्लेका थिए आफ्ना बहिनी र भान्जीहरूका निम्ति बोतलमा पानी भर्न । अनि, भरी बोतल झ्यालबाट उनीहरूलाई हस्तान्तरण गरेर हामीसित कुराकानीमा अल्झिराखेका थिए । विनोद दाइ बसभित्र पसेर आफ्नो आसनमा बसिसक्नुभएको थियो । हामी तीन जना अर्थात् वीणा, वीरेन्द्र र मचाहिँ सडकदेखि पश्चिमतिर आफ्नै साइडमा आफ्नो बसको ढोकाछेउ उभिएर गफिँदै थियौँ । बसको ढोका खुलै थियो । त्यसरी उभिएको केही छिनपछि म पानीको बोतल लिएर बसभित्र छिर्न तर्खराउन थालेँ । त्यस क्रममा मैले वीणालाई भनेँ— “वीणा, कति बाहिर उभिराख्नु ! लौ हिँड, बसभित्रै गएर बसौँ ।”

उनले मप्रति भक्तिभाव देखाउँदै भनिन्— “पहिले हजुर चढ्नोस् न ।” मैले हप्काउँदै भने— “बसमा चढ्नका लागि पनि के पहिले हजुर भनेको ! जो चढे पनि त हुन्छ नि । म तिम्रो अभिभावक हुँ, यस्तो बीच राजमार्ग र भीडभाडको मामला छ । तिम्रो सुरक्षा गर्नु त मेरो दायित्व नै हो नि । त्यसैले म तिमीलाई चढाएर मात्र आफू चढ्न चाहन्छु । लौ, खुरुक्क चढिहाल !” त्यसै बेला वीरेन्द्रले भने— “म्याडम, अहिले जाम खुलेकै छैन, खुल्ने टुङ्गो पनि छैन अनि फेरि बसमा चढ्न किन त्यतिकै हतारिनु ! आउनोस् अभैm एकछिन यतै उभिएर कुरा गरौँ । बस खुल्न लागेपछि चढौँला नि !” वीणाले पनि उनको कुरालाई ठीकै मानेर चढ्न रुचि नदेखाएपछि म एक्लै चढेँ र ‘ए’ साइडको ‘११ र १२’ नम्बरको हामी दुई जनाको साझा सीटमा पुगेर बोतल बिसाई टुसुक्क बसेँ । यति नै बेला अलिकति जाम खुल्यो र हाम्रो बस हतारहतार गुडेर १०–१२ मिटरजति अघि बढी फेरि अडियो । अनि, लगत्तै वीरेन्द्रले हस्याङफस्याङ गर्दै बसको ढोकामा झुन्डेर भित्र चियाउँदै मलाई भने— “सर, म्याडमलाई त गाडीले किच्यो ।” यति बेला दिउँसोको ठीक चार बजेको थियो । सुनेर अक्क न बक्क भएँ म र उनलाई भनेँ— “हँ, के भनेको तपाईंले ! मैले क्यै पनि बुझिनँ, फेरि भन्नोस् ।” उनले अत्तालिएको स्वरमा दोहोरयाए— “म्याडमलाई बसले किच्यो सर ! चाँडै जाऔँ ! बसले हानेर लडेपछि उहाँ ‘लौन मलाई कसैले तानिदिनुहोस्’ भन्दै हुनुहुन्थ्यो तबसम्म बसको पछाडिको पाङ्ग्राले उहाँको दाहिने गोडा किचिहाल्यो । तान्नै भ्याइएन”
स्पष्टसित उनको त्यो संवाद सुनेपछि खङ्ग्रङ्गै भएँ म । भनननन रिङटा लाग्यो मलाई । भाउन्न भएर आँखाको अघिल्तिर पूरै अन्धकार छायो । अब अर्धबेहोसी पारामा बसबाट तल झरेर हस्याङफस्याङ गर्दै कुदेँ म उनको पछिपछि । अब राम्रैसित जाम खुलेकाले धमाधम सारा गाडीहरू आ–आफ्ना यात्रु टिपेर घस्रिँदै घुइँकिन लागे । वीरेन्द्रलाई पछ्याउँदै दस–पन्ध्र मिटर तल्तिर उही अघि आपूm पानीको बोतल लिएर बसमा चढेको ठाउँमा म पुग्दा त सडकको पश्चिमी किनारको छेउमै नरनारी र केटाकेटीहरूको विशाल घुइँचो लागेको ! सबै घेरा हालेर झुम्मिरहेका ! केही इन्चको दूरीमा असङ्ख्य–असङ्ख्य ट्रक, बस, मिनीबस, जीप आदि नानाथरी गाडीहरू एक–अर्कालाई उछिनपाछिन र तँछाड–मछाड गर्दै ज्यानामारा पाराले कुदिरहेका ! वीरेन्द्रले भीडलाई चिर्दै मलाई घेराभित्र पु¥याएपछि देखेँ— चालीस–बयालीस उमेरकी, गोरी र दोहोरो ज्यानकी एउटी भर्भराउँदी युवतीको खुट्टा त्यस अतिव्यस्त राजमार्गको पिचसडकको डिलमा र जीउचाहिँ सडकको पश्चिमपट्टि फालिएको र उनी इन्तु न चिन्तु हुँदै लडिरहेकी ! दाहिने खुट्टाको सेन्डिल घोप्टो अवस्थामा एकछेउमा मिल्किराखेको र मोजा लगाइराखेको खुट्टाबाट रगतको धारो छुटेर त्यो गेग्¥याने र धुले भुइँमा नाङ्लोभरिको दह जम्दै गरेको ! वरिपरि झुम्मिएका असङ्ख्य मानिसहरू घाइतेको त्यो मर्मान्तक वेदना र छटपटीको विशुद्ध रमिते दर्शक बनेका !
हो, उनी मेरी श्रीमती ‘वीणा’ नै रहिछिन् । हरे ! अब कसरी के गर्ने होला त हँ ? पापी खबर सुन्दा मात्र त आधा मुर्दा बनेका थिए मेरो मन, मुटु र मगज उनको त्यो दुर्गतिलाई आफ्नै सग्ला आँखाले टुलुटुलु हेर्नुपर्दा त अब झन् म भावनात्मक रूपमा भुतुक्कै भएँ ।
अब कता के गर्ने हो ? त्यो चिन्नु न जान्नुको ठाउँमा कोसित कस्तो चाहिँ सहारा माग्ने हो ? ‘चिनेका र भरपर्दा मान्छे’ भन्नु एक जना उनै वीरेन्द्र कायस्थ मात्र थिए । कोक्किँदै र भक्कानिँदै “बाबू !” भनेर उनको आधार लिन खोज्दा उनले विनम्रतापूर्वक तर टकटकिएको जबाफ फर्काए — “सर ! हामी चढेर आएको बस हिँड्न लाग्यो । मैले सरलाई यहाँ रहेर सघाउनु त पर्ने हो तर मेरा बहिनी र भान्जीहरू अलपत्र पर्छन्, बसको छतमाथि हाम्रो थुप्रै सामान पनि छ । उनीहरूलाई झनै टेन्सन हुन्छ । त्यसैले म त जानैपर्छ । ल सर, के गर्ने ! यस्तै प¥यो ।”
अब मैले उनलाई पाउमा पर्दै बिन्ती गरेँ— “बाबू ! तपाईँ यति निठुरी बनेर जान पाउनुहुन्न । तपाईँका बहिनीहरू मेरा पूर्वछात्राहरू हुन् । सबै वयस्क छन्, बच्चाबच्चीका आमासमेत भइसकेका । उनीहरू एक्लाएक्लै पनि छैनन् । पाँच–सात जनाको समूह नै छ । उनीहरू आ–आफ्ना बच्चा र सामानको सम्भार गर्न सक्छन् । तर, यहाँ यसरी भर्खरै बसले किचेर घाइते तुल्याइएकी मेरी श्रीमतीको मार्मिक अवस्था र किंकर्तव्यविमूढ बनेको मेरो संवेद्य अवस्थामा यो चिन्नु न जान्नुको ठाउँमा तपाईँबाहेक मेरो सहायक को हुनसक्छ र तपाईँ साथ छोड्न खोज्दै हुनुहुन्छ ? तपाईँले त्यसो गर्नु भनेको हामीलाई ज्यूँदै मार्नु हो । त्यसैले, बिन्ती छ, तपाईँ हामीलाई छोडेर नजानोस्, बरु अब के गर्ने ? र घाइतेलाई कसरी जीवितै काठमाडौँ पु¥याउने ? त्यसबारे लागिपरेर मलाई सक्तो सहयोग गर्नोस् ।”
मेरो अनुनय–विनयले उनलाई पगाल्यो र उनी मलाई साथ दिन राजी भए । बहिनीहरूलाई त्यही बसमा जान दिएर मलाई सघाउनपट्टि लागे । जाम खुल्यो र धमाधम बसहरू कुद्न थाले एकपछि अर्को गरेर । हामी चढेर आएको बस पनि घुइँकियो हाम्रा पोकापन्तराहरू लिएर । घाइतेको अवस्था अर्धबेहोसी थियो । स्थानीय बासिन्दाहरूले उनलाई घेरा हालेका थिए विशुद्ध रमिते बनेर । घाइतेको उपचार कहाँ गर्ने ? त्यहाँको हेल्थपोस्टमा लैजाने कि ? एम्बुलेन्स पाइए काठमाडौँ नै कुदाउने ? त्यस अपरिचित ठाउँमा कसरी के चाहिँ गर्ने ! सोधखोज गर्दा त्यहाँ एम्बुलेन्स नभएको थाहा भयो । माघ महीनाको छोटो दिन । दिउँसोको साढे चार बजिसकेको छ र जाडोले कक्रक्क पार्दै ल्याएको छ । म त्यसै बिलखबन्दमा परेँ । वीरेन्द्रबाबूले पनि तत्कालै कुनै निक्र्याैल निकाल्न सकेनन् । काठमाडौँ कसरी र कति वेला पुगिने हो कि आजको वास गजुरीकै फुटपाथमा हुने हो ? त्यो पनि टुङ्गो थिएन । भीड लागेका सयौँसयौँ जना आ–आफ्नै किसिमले सल्लाह दिन्थे । कोही कोही पुलिसलाई खबर गर्न भन्थे । गाडीले किचेको आधाघन्टा बितिसकेको थियो । प्राथमिक उपचारसम्म नपाएर घाइतेको अवस्था झन्झन् जटिल हुँदै गइरहेको थियो । त्यस महाआपत्कालमा मेरो होसहवास नै गुम भइसकेको थियो, सुद्धिबुद्धि नै हराइसकेको थियो ।
त्यहाँ रात बिताउने कुरै थिएन, घाइतेलाई प्राथमिक उपचार गराएर काठमाडौँको कुनै ठूलो अस्पतालमा पुरयाउनु नै बुद्धिमानी हुने थियो तर परिस्थिति त्यसका निम्ति सहज थिएन । त्यसैले त्यतिकै रन्थनिइरहेका थिए मेरा मन–मस्तिष्क ।
त्यसै बखत खै कतातिरबाट हो एक जना प्रहरी आइपुगे । उनी त्यहाँको चौकीका असइ रहेछन् । एउटा अति व्यस्त राजमार्गको चर्चित बस्तीबीच दुर्घटनास्थलमा ढिलै भए पनि उनको उपस्थितिले मलाई अलि आश्वस्त तुल्यायो । उनले हाम्रो परिचय र दुर्घटनाबारे सोधखोज गरे । मैले बेलिबिस्तार लगाएपछि र घटनाका प्रत्यक्षदर्शी केही महिलापुरुषले पनि थपथाप पारेपछि असइ साहेबले हामीप्रति सहानुभूति व्यक्त गर्दै क्रुद्ध वाणीमा भने— “यी साले ड्राइभरहरूको मन बढेको छ । यिनलाई तह लगाउन मैले जानेको छु । ” र सहज वाणीमा मसँग भने— “यो त पुलिस केस हो । यसमा तपाईँको अलिअलि खर्च त हुन्छ, तर म तपाईँलाई न्याय दिलाएरै छाड्छु । लौ हिँड्नोस् मसित प्रहरी कार्यालयमा लिखित निवेदन दिन ।”
मैले केही पनि सोच्नै सकिन । जड भएँ म । आफ्नो दायित्वअनुसार पुलिसले अपराधीमाथि कारवाही प्रक्रिया अघि बढाउला रे, तर मेरी श्रीमती उपचार प्रक्रियाचाहिँ के होला नि ! यहाँ त ठूलो अस्पताल नै छैन । न्याय खोज्ने क्रममा कतै श्रीमतीको ज्यानै गुमाउनुपर्ने त होइन ! यसरी एकदमै अन्योलग्रस्त भएँ ।
घाइते दुर्घटित अवस्थामा नै सडक किनारमा उत्तानो परेर लडिराखेकी थिइन् ऐया पानीपानी भन्दै । नजीकै उभिएका विनोद दाइ ‘मेरो बैनी’ भन्दै डाँको छोडेर रोइरहनुभएको थियो । घाम अस्ताउने तर्खरमा थियो । ती असइ साहेब आफूसँगै प्रहरी कार्यालयमा गएर निवेदन दिन करमाथि कर गर्दै थिए । त्यस परिस्थितिमा मेरो सूझबूझले पटक्कै काम गरिराखेको थिएन । त्यसैबेला दर्शकहरूमध्येबाट एकजना हक्की अधबैँसे पुरुषले मलाई संबोधन गर्दै भने— “यी पुलिसहरूको जातलाई तपाईले चिन्नुभएको छैन । यिनको कुरामा लाग्नुभयो भने तपाईँले न्याय त पाउनुहोला, नपाउनुहोला शङ्कै छ तर श्रीमतीको ज्यानचाहिँ पक्कै गुमाउनुहुनेछ । अब आफैं भन्नोस्, तपाईँलाई न्याय चाहियो कि श्रीमतीको ज्यान !” मैले भने— “मलाई श्रीमतीको ज्यान चाहिन्छ ।” त्यसपछि उनले थपे— “त्यसो हो भने तुरुन्तै कुनै बस रोकाएर उहाँलाई काठमाडौँ लगिहाल्नोस् ।”
उनको भनाइले मलाई गजबको दिशानिर्देश ग¥यो । उनी जनकपुर—काठमाडौँ चल्ने ‘जानकी’ नाउँको बसका मालिक रहेछन् र जनकपुर नै घर रहेछ उनको । अब उनी पनि हाम्रा सहयोगी भए । पोखरा—काठमाडौँको एउटा बस पनि तत्कालै त्यहाँ आइपुग्यो र त्यसलाई रोकेर वीरेन्द्रबाबू तथा तिनै संवेदनशील र सहयोगी स्वभावका अपरिचित अधबैँसे पुरुषको समेत सहयोगमा विनोददाइले र मैले कसैगरी वीणालाई उचालेर त्यस बसभित्र पु¥यायौँ । तर त्यहाँ कुनै पनि सीट खाली थिएन । ए र बी दुवै साइडका अघिल्ला चारजना यात्री महानुभावहरूलाई आफ्नो परिस्थिति अवगत गराएर घाइतेलाई सुताउनका लागि सीट छोडिदिन बिन्ती बिसायौँ । उनीहरूले अत्यन्त सहानुभूतिशील भएर सीट छाडिदिए । र, देब्रेतिरको सीटमा टाउको र दाहिनेतिरको सीटमा गोडा अनि दुवै सीटहरूको बीचको खाली भागमा मुढामाथि ढाड रहने गरी वीणालाई उत्तानो पारी सुतायौँ । त्यसपछि तिनै अपरिचित सहयोगी पुरुषको सल्लाहमा वीरेन्द्रबाबूले औषधि पसलबाट पेनकिलर औषधि किनेर ल्याई घाइतेलाई खुवाए । अब बस हिँड्यो । आँसुआँसु भएका मेरा आँखाअघिल्तिर सिनेमाको दृश्यजस्तै झलझलाकार भएर मेरो तीतो अतीत उदायो ।
२०३२ साल वैशाखमा बिहे भएकी मेरी पहिली श्रीमती कल्पना मुटुको जीर्ण रोगको सिकार भएर अनवरत रूपले सत्र वर्षसम्म उपचारमा लागिपर्दा पनि ४१ वर्षकै कलिलो उमेरमा २०५४ सालको नौरथाको पञ्चमीका दिन स्वर्गीय भइन् तीनजना लालाबालालाई टुहुरा तुल्याएर । त्यसको साढे पाँच वर्षपछि यिनै वीणासँग मैले दोस्रो गरेँ । र बिहाको तीन वर्ष पनि पुग्न नपाउँदै आज उनलाई बसले किच्यो । उफ् आफ्नो क्रूर नियतिलाई धिक्कार्नुबाहेक अरू के नै पो गर्न सक्थेँ र म !
अझ जाम खुलेपछि कुद्ने हतारोमा त्यस बसका चालक, कन्डक्टर र खलासीले आफ्नो बसले मान्छेलाई ठक्कर दिएर किचेको थाहै पाएनन् क्यारे ! नत्र त बसलाई ब्याक गरेर झन् किचीमिची मारि नै दिन्थे होलान् घाइतेलाई । गाडीका चालकहरूका यस्ता आपराधिक क्रियाकलाप बारम्बार सुनिने गरेकै हो । तै हाम्रो भाग्य बलियो रहेछ र एउटा खुट्टा मात्र किचिएर घाइते मात्र भइन् वीणा । नत्र त बाप्m रे ! त्यसको कल्पना मात्रले पनि कहालिएर अर्घमृत हुन पुगेँ म ।
अँ त, किच्ने धरानको अग्नि बस कहाँ पुग्यो, हामी चढेर आएको कलैयाको अग्नि बस कहाँ पुग्यो, त्यसको छतमाथि रहेका हाम्रा पोकापन्तराको अवस्था के छ ! केही पनि थाहा भएन । केही किलो मिटर बाटो काटेपछि हाम्रो बस फेला परयो र अहिले चढेको बसका चालकलाई भनी कलैयादेखि आएको हाम्रो बसलाई रोकाएर हामी त्यसमै चढ्यौँ । यसमा पनि घाइतेलाई उसैगरी सुताएर राखियो ।
गल्छी पुगेपछि दैवसंयोगले काठमाडौँ नै जान लागेको एउटा रित्तो एम्बुलेन्स फेला परयो र उनै वीरेन्द्र बाबूको सहयोगले घाइतेलाई र बसमाथिका आफ्ना सामानहरूलाई एम्बुलेन्समा सारयौं । अब वीरेन्द्र बाबूले मसित बिदा लिए र बहिनीहरूसँगै बस्न गए । मैले अनन्त आभार अर्पेँ उनलाई ।
अनेक जाममा जाकिँदै र भीडहरूलाई छिचोल्दै एम्बुलेन्स राति साढेसात बजे कलङ्की पुग्यो । त्यहाँ एकछिन रोकाएर एउटा पसलमा गई काठमाडौँ निवासी आफ्ना साढुभाइहरू र सालालाई फोन गरेँ मैले । अनि उनीहरूकै सल्लाहमा एम्बुलेन्सलाई वीर अस्पतालतिर कुदाइयो ।
जामको कारणले यहाँ पनि केही ढिलो भयो । राति आठ बजे बल्ल पुगियो वीर अस्पताल । त्यहाँ आकस्मिक इमरजेन्सी कक्षको बाहिरपट्टि ढोकैछेउ फेला पर्नुभयो साढुभाइ गेहनाथ ढुङ्गाना र केपी शर्मा सुवेदी अनि सालीहरू शीला, नीला, उर्मिला र साला विमल पोखरेल पनि । उनीहरू सबै जना हामीभन्दा पहिले नै अस्पताल पुगिसकेका रहेछन् । घाइतेलाई उनीहरूको जिम्मा लगाएपछि घन्टौँदेखि कुनै तरहले बाँधिराखेको मेरो धैर्यको बाँध अब एक्कासि फुटेर छताछुल्ल भयो र डाँको छुट्यो क्वाँक्वाँ !
वीणालाई आकस्मिक कक्षको बेडमा सुताएर उपचार थाल्ने क्रममा उनका जुत्ता–मोजा फुकालेपछि पो देखियो उनको घाइते खुट्टाको हाड–मासु त कसाईले अचानोमा राखेर खुकुरीले छ्याकछ्याक पारेर काटेको राँगा–बोकाको मासुको लोथ्राजस्तै भएको रहेछ ।
(निर्मोही व्यासको ‘मायामहल’ संस्मरण संग्रहबाट !)
प्रकाशित: २६ मंसिर २०७७ ०९:२५ शुक्रबार





