१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

विद्यालय खुलेको पहिलो दिन

कथा

 जितेन्द्र बस्नेत

 

हिउँद छिप्पिएर चिसो बढ्न थालेपछि प्रायः बिरामी परिरहन्छिन् जयन्ती । रुघा, खोकी, ज्वरो आउने बिरामी उनका रैथाने रोग हुन् । तर, यसपटक अलिक फरक र अप्ठ्यारो अवस्था, दुई जिउकी छिन् उनी । सात महिनाको पेट छ, बिसन्चो भएर साह्रै डराएपछि जोखाना हेराउन गइन् । सबै ठीकै भने धामीले, छोरीको योग छ, असल कन्या, ठूलो नाम राख्ने तर तिम्रा लागि कति काम आउलिन् म यसै भन्न सक्दिनँ । चिन्ता नगर । मनको सन्तोक बिस्तारै जडीबुटी अनि यताउति गरेर सन्चो भइन् उनी, नभन्दै छोरी जन्मिइन् ।

सासू–ससुरा श्रीमन्सँग विहे नहुँदै अलि सानैमा खसिसकेका जयन्तीका। एउटी नन्दको विहे गाउँले, उसकै काका, मामा मिलेर भर्खर टुङ्गो लगाएका रहेछन् । आनाभएर पनि सधैँ आºना नरहेका काकाबाको भरथेगले हरेरामले भित्र्याएका थिए जयन्तीलाई । जे होस् घर बस्यो । पाँच कट्ठा बारी, मेलापात, घर धानेका थिए यी दम्पतीले । छोरी जन्मेपछि जिम्मेवारी बढ्यो । खेतीपाती कमै हुने । झण्डै दुई वर्षजति काठमाडाँ तिर आएर कहिले ज्यामी, कहिले तरकारी पसल गरेर यसो चाडबाडमा जोरीपारीका छेउमा हरेरामले ठीकै चाँजोपाँजो मिलाए । बेला मौकामा नयाँलुगा फेर्न पाउँदा जयन्ती पनि खुशी नै थिइन् । हेर्दाहेर्दै चार हिउँद काटी छोरी मीराले पनि । हलक्क बढेकी, घरका सानातिना धन्दामा खुब मन लगाउने । सरकारी नै भए पनि स्कुल हालिदिए छोरी मीरालाई । आशाको त्यान्द्रो, जयन्तीलाई पनि रहर, यो जमानामा पनि पढ्ने सौभाग्य पाइएन, छोरीलाई अलिक अगाडि बढाउन पाए आफ्नो बाटो देख्ने थिई, मनमनै सोच्थिन् उनी । विद्यालयसम्म दिनै पुरयाउने ल्याउने गर्थिन् सारथी बनेर, आशाले त रहेछ हरेक दिन बाँच्न सिकाउने । गाउँका सबै ठिटा खाडी कि खाल्डातिर, चकमन्न छ गाउँ । कतिपयका बारी बाँझै, कतै बुढाबुढी बाबुआमा कष्टपूर्ण बुढ्यौली मझेरीको थाम समाउँदै र दैलोबाट बाटो हेरेर काट्दै छन् । गाउ किन हो किन पटक्कै रमाइलो छैन पहिलेजस्तो । हरेराम पनि उडे कतारतिर २०७४ सालको दसैँको टीकाको भोलिपल्ट । मनभरि सपना र सम्झना, झोलाभरि चाहना र लहना च्यापेर ।

मेलापात, खेतीपाती, घाँसदाउरा गर्दागर्दै घडीको सुईभन्दा छिटो घुमे जयन्तीका दिनचर्या । दुई वर्ष भयो हरेराम गाउँ आएनन् । उही, बेलाबखत पैसा पठाए, फोनमा कुरा गरे । खानलाउन खासै दुःख थिएन । तर पनि जयन्ती एक्लै थिइन्, निरास थिइन्, दुई वर्षसम्म कुनै चाडबाडमा सँगै हुन पाइनन्, जेनतेन समय काटिन् । छोरी मीराले तीनकक्षा सकी, पढ्न भनेपछि हुरुक्क हुने । डाक्टर बन्ने सपना देख्न थालेकी मीरा आमाको सानोतिनो बिरामीमा पनि ठूलो हौसला दिने हुन लागी, त्यही खुशी थियो जयन्तीलाई । अनि, सबै दुःख बिर्सिन्थिन् उनी । अबको दसैँमा दुई महिनाको छुट्टीमा आउने कुरा थियो हरेरामको । पर्खनुपर्दा एक घण्टा नै वर्ष दिन हुन्छ । झन् एक वर्ष कहिले बित्नु πखुसीको क्षण आँखा झिमिक्क गर्दा बित्छ अनि कुर्नुपर्दा पात्रो पल्टाउने दिन आउन कति कठिन । समयको लुकामारी कति अनौठो र अत्यास लाग्थ्यो जयन्तीलाई ।

रूखमा अलिअलि रहेका पातहरू पनि चैतको हुरीले गनीगनी झारिसक्यो । प्रकृतिका मौनता र शून्यताले जयन्ती विचलित हुन्थिन् । उता हावाससरि फैलिएको कोरोना सन्त्रासले विश्वको तन्मयता खोसिरहेको थियो । कहिल्यै नसुनेको र नदेखेको रोगले जताततै मनिसको जीवन क्षतविक्षत पारिरहँदा पूरै विश्वका शक्तिहरू हठात्,अवाक् थिए । जयन्तीले खासै केही बुझिनन् । छोरीको स्कुल बन्द भयो । दिनहुँ मानिस मरेका, रोगी बढ्दै गएका उपचार नभएका कुरा सुन्थिन् । अरू केही जान्दिन थिन्, कतै जानआउन पनि बन्द भयो । बाहिरबाट आउने जाने पनि पूरै रोकियो । एउटा अनौठो र डरलाग्दो यथार्थ भोग्दै थिए मानिसले । विशेष खाडीमा जान पर्खिरहेकाहरू अनि काठमाडौँ खाल्डोमा जीवन खोजिरहेकाहरू । उता हरेराम पिँजडाका सुगाजस्तै भए । निस्केर भुर्र उडी आउने मन भए पनि आउन सकेनन् । मीरा विद्यालय जान नपाउँदा दुःखी थिई । नया किताब, नयाँ झोला र नयाँ पोसाक लगाएर कक्षा चारको नयाँ कक्षा कोठामा जाने धोको थियो, सबै बन्दभयो । साथीसँग भेट्न पाइन। घरमै बसिरहँदा उनलाई ठूलो छटपटी भयो ।  

बिस्तारै महामारी विकराल बन्दै गयो । विदेशमा अलपत्र परेकाहरू आफ्नै गाउँ आउन आतुर थिए । त्यो धन, त्यो जीवन, ती आलिसान सहर र रमझम केहीले पनि तान्न सकेन देशका तन्नेरीहरूलाई । अनेक उपाय गरेर फर्किए । एक –अर्काबाट फैलिने रोग भएकाले आउनेहरू पनि चौध दिन छुट्टै बस्नुपर्ने, रोगी, बुढाबुढी, बालबच्चालाई जोगाउनुपनेर्, सन्त्रासको सामना गर्दागर्दै पनि संसारभर नै मर्नेहरूको लहर नै चल्यो । तर, आत्मीयजनको लासमा कसैले आँसु खसाल्न पाएनन् । यस्तो सुनेर जयन्ती निस्सासिन्थिन् ।

 बिस्तारैबिस्तारै बाध्य भएर मानिसहरू आफ्नो जीविकोपार्जनतिर लागे । बाहिरबाट पनि आउनेहरू नियमपूर्वक आए । हरेराम पनि तीन महिनादेखि काम बन्द भएर कोठामा एक्लै बसेका रहेछन्, बिहानबेलुकी खान दिएको भरमा उनले तलब पाएका रहेनछन् । घरमा आउँदा के गर्ने, रोग लागेमा कसरी उपचार गर्ने? धेरै समस्याहरूले घेरयो हरेरामलाई । तैपनि काठमाडौँ ओर्लिए, चौध दिन एकान्तवास बसे, जाँच गराए, परीक्षण सामान्य देखिए पछि गाउँ आए । आशाका सबै ढुकुटीहरू रित्ता भए पनि हरेरामलाई देखेपछि जयन्तीमा आँट आयो । छोरी हलक्क बढेको देखेर हरेरामका आँखा रसाए । दसैँ नजिकिँदै थियो । रोग र शोकले धेरैको घर संसार उजाडेको कुरा उनीहरूले पनि सुने । सँगै आएको साथी घर नपुग्दै बितेको खबर सुनेपछि तीन दिन खाना खाएनन् हरेरामले । आखिर,शोकको सौन्दर्य आँशु हो कि क्रन्दन धेरैलाई छोडेर गयो आफ्नो छाप । गाउँमा केही दिन त ठीकै थियो । एक हप्तापछि जयन्ती बिरामी परिन् ।चिसो सुरु हुँदै थियो, उनलाई ज्वरो, खोकी, टाउको दुख्ने व्यथाले समात्यो । कोरोनाको आशङ्का बढेकाले छरछिमेकी छेवै परेनन् । हतारहतार जँचाउन लगे । कति ठाउँमा वास्तै भएन, बल्लतल्ल सदरमुकामको सरकारी अस्पतालमा जँचाउँदा कोरोना पुष्टि भयो । आखिर हरेरामबाट उनलाई कोरोना सरेछ । उनलाई पनि जाँच गर्दा कोरोना देखियो । कत्रो बिल्लीबाठ !

दुवै जना उतै थन्किए, छोरीको बिचल्ली भयो । अस्पतालमा खासै रेखदेख नहुने, दुवै जना छुट्टाछुट्टै थिए । हरेराम त सामान्य नै थिए । जयन्ती पहिलेदेखि नै बिरामी भइरहने भएकाले निकै थला परिन् । सास फेर्न गाह्रो भएपछि छोरी भेट्ने इच्छा गरिन् तर उनको इच्छा असम्भव थियो ।उनलाई आईसियुमा राखिएको थियो । एक हप्ता नबित्दै जयन्ती यस संसारबाट बिदा भइन् । न शोक न संस्कार कहाँ पुगिन् उनी । यता हरेराम बेहोस जस्ता भए । निस्किन पाएनन् । शोकमा छोरीलाई कस्ले भन्ने, कस्ले सम्झउने ! कत्रो यातनाका दिनहरू बेहोरे उनले ।

एक हप्तापछिको परीक्षणमा उनमा कोराना नरहेको पुष्टि भएपछि ऊ घर फर्कियो तर रित्तो हात । यता छोरी मीरालाई छिमेकी र काकाले सम्झाएर राखेका रहेछन् । धेरै रोए हरेराम छोरीलाई भेटेपछि । दसैँ सँगै मनाउने सपना दशा भएपछि उसमा कुनै आँट आएन । आफ्ना आफन्त कोही सान्त्वना दिन आएनन् । परीक्षणको गलत नतीजाले पहिला नै उनी ठगिएका रहेछन् । कस्तो लापरवाही सानो बिरामले एउटा सिङ्गो संसारको विघटन भयो ।

शरद सकिएर हिउँद लाग्न सुरु भयो । कोरोनाको प्रभाव घट्दै गएका समाचारहरू आउँदा गाउँका स्कुलहरू खुल्न थाले । छोरीलाई स्कुल त पठाउनै परयो । त्यही पुरानै झोला र किताब बोकाएर उनले स्कुल खुलेको पहिलो दिन छोरीलाई पठाए । हात समातेर पुरयाउने आमा नदेखेर मीराले फर्केर हेरी । उता उसका बुबा सागबारी खन्दै थिए । ऊ अँध्यारो मुख लगाएर एक्लै गई । स्कुलको गेट नजिकै पुगेर एकैछिन टक्क उभिएर हेरी, उसका आँखा रसाए । एक हातले आँसु पुछ्दै फरक्क फर्किएर हात हल्लाई तर त्यहाँ कोही थिएनन् । सायद उसले सम्झिई, उसकी आमा उसलाई पुरयाएर फर्किन लागिन् । ऊ झस्किई, रसाएका उसका आँखाबाट आँसु खसे । एक हातले आँसु पुछेर बिस्तारै ऊ विद्यालयभित्र पसी ।

प्रकाशित: २६ मंसिर २०७७ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App