चूडामणि नेपाल ‘अकिञ्चन’
१ ) मेला
अफैभित्र रमाउने बेला हो यो,
जीवन दुई दिनको मेला हो यो ।
एक्लो – एक्लो झैं छु यो संसारमा,
खै को निर्देशकको खेला हो यो !
२ ) काली मैया
तिम्राजस्तै कोमल अवयवको तन हुँ म,
तिम्रो मुटुभित्र ढुकढुक गर्ने मन हुँ म ।
यो जीवन त खै, के हो र काली मैया,
सायद युगयुगसम्मको तिम्रो धन हुँ म ।
३ ) खोज्नुपर्छ
हिंड् जाऊँ जूनको आँगनमा खानी खोज्नुपर्छ,
डुली हिँडने बादलसँग अप्सरा रानी खोज्नुपर्छ ।
छाया दिने माया दिने मेरो प्यारो देउती मातामा,
भीरपहरा, वनजङ्गल खोलातिर पानी खोज्नुपर्छ ।
४ ) छप्काएर आउँ
हिँड एकपटक कालापानी, रिपु हप्काएर आऊँ,
हाहाकार भई सातो जाओस्, शत्रु दप्काएर आऊँ ।
कति मूकदर्शक भएर लेखिरहनु वीरताको गाथा,
बोक खुँडा, खुकुरी दुईचार जना छप्काएर आउँ ।
५ ) चोखो प्रेम
जिन्दगीमा खाएको गोल, हिसाब गरिएन,
थोत्रो टपरीमा चुहेको झोल, हिसाब गरिएन ।
साँझ,बिहान, दिनरात धाउनसम्म धाइयो,
माया पाउन, तिरेको मोल हिसाब गरिएन ।
प्रकाशित: २५ मंसिर २०७७ ०९:४१ बिहीबार





