५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

हाँस्यो हात्तीको छावा

बालकथा

 गङ्गा कर्माचार्य पौडेल

 

वार्षिक परीक्षापछिको स्कूल बिदामा केही विद्यार्थीहरू चितवनको सौराहामा  हात्तीको छावा हेर्न गए । हात्ती राख्ने ठाउँलाई ओरैबाट फलामको बारले घेरिएको थियो । उनीहरू बारअगाडि लाइनै उभिएर हात्तीको छावालाई हेरेर रमाइरहेका थिए ।

“ऊ त्यहाँ बारमा लाइनै बसेर हामीलाई हेरिरहेका को हुन् ! आमा,  किन त्यसरी हेरेका ! ” सानो छावाले  माउ हात्तीसंग सोध्यो ।

“तिनीहरू स्कूले केटाकेटी हुन् । स्कूल बिदा भएको बेला उनीहरू घुम्न निस्कन्छन् । आफूले घुमेको ठाउँ हेरेको वस्तुहरूबाट  ज्ञान– अनुभव बटुल्छन् । त्यस्तो ज्ञान र अनुभवले केटाकेटीहरूलाई भविष्यमा असल नागरिक बन्न सहयोग पुरयाउँछ । त्यसैले मानिसहरू अरू प्राणीभन्दा चेतनशील र बुद्धिमान् हुन्छन् नि ।”

 छावाले फेरि सोध्यो, “अनि क्वारक्वारती  हामीलाई नै किन हेरेका त !”

“ ल सुन त्यसको दुईओटा कारण छन् –  

–  हामी पृथ्वीमा भएका प्राणीहरूमध्ये  सबैभन्दा ठूलो प्रजातिका जनावर हौं । त्यस्तो ठूलो जनावर नजिकबाट हेर्दा कस्तो देखिन्छ  भनेर हेर्न आएका !

– अर्को कारण त्यस्तो ठूलो जनावरको  बच्चा कस्तो हुन्छ होला ! के खान्छ होला र कसरी खेल्छ होला भनेर तिमीलाई हेर्न आएका । माउ हात्तीले भनी ।

“ए ! भनेर छावा खुसी भयो र भन्यो“ उसो भए म उनीहरू भएनेर जाउँ ?

हेर्नुस्त उनीहरूले हातमा केरा ,सुन्तला  बदाम लिएर मलाई ला ..ला ...खान आइजा भनेर बोलाइराछन् । मलाई केरा कस्तो मिठो लाग्छ । जाउँ आमा ? छावाले माउसित सोध्यो ”।

“यहीबाट हेर त्यहाँ जान हुँदैन । उनीहरूले दिएको खानेकुरा जथाभावी खान पनि हुँदैन पेट दुख्छ हस्  ! कस्तो ज्ञानी छ मेरो छुवु  ” भनेर माउले छावालाई  आफ्नो सुँढले टाउकोमा सुमसुम्याई अनि चुप्प म्वाई खाई ।आमाको स्नेहले निथ्रुक्क भिजेको छावाले हस् भनेर टाउको हल्लायो ।

त्यही बेला केटाकेटीहरूले आहा कस्तो राम्रो चिटिक्क् परेको छावा देख्न पाइयो । उसको सानासाना  खुट्टाहरू कति राम्रा । सानो नाङ्लो जस्तो दुईओटा कान त झनै राम्रो  भन्दै प्रशंसा गरेको सुनेर ऊ खुसी भयो । एक जनाले चाहिँ  हेरहेर। “हात्तीको बच्चाको अगाडि र पछाडि दुईतिर पुच्छर रैछ  देख्योै ” भन्यो ।

आफ्नो प्रिय अङ्ग सुँढलाई पुच्छर भनिदिंदा छावाको चित्त दुख्यो । ऊ फन्किदै आमातिर हेरेर भन्यो ,“हेर्नु न आमा, मेरो सुँढलाई पुच्छर भनेका । सुँढ र पुच्छर नि छुट्टयाउन नसक्नेले के पढ्छन् होला कुन्नि !  जे पायो त्यै बोल्ने बड ! ” 

– त्यसरी नरिसाऊ  न । उनीहरू पनि तिमीजस्तै केटाकेटी छन् क्या । जिस्केर भनेको पनि हुन सक्छ । हेर त  हामीलाई देखेर उनीहरू कति खुसी भएका छन् । भोलिपर्सि ती केटाकेटीहरूले धेरै पढेर  भेटनरी डाक्टर बने भने  हामी बिमारी पर्दा उनीहरूले नै उपचार गर्छन्  नि भनेर माउ हात्तीले छावालाई सम्झाइन् ।

छावाले ए भनेर टाउको हल्लयो ।

केटाकेटीहरू फोटो खिचौंं फोटो भन्न थाले । फोटो शब्दले छावाको ध्यान खिच्यो । त्यसपछि ऊ फरक्क फर्केर केटाकेटीहरुलाई  हेरयो । केटाकेटीहरू आफू पनि छावासंगै देखिने गरी मोबाइल  र क्यामेराहरू छावातिर सोझ्याए । छावाले आफ्नो साने सुँढ उचालेर पोज दियो । क्लिक– क्लिक फोटो खिचे केटाकेटीहरूले । दङ्ग पर्दै हाँस्यो  हात्तीको छावा ।

प्रकाशित: २५ मंसिर २०७७ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App