१० माघ २०७७ शनिबार
कला

कलाको मूल्य कति ?

कलाको मूल्य कति हो, कुन कला किन महँगो र कुन किन सस्तो हुन्छ ? यो एउटा अहं प्रश्न हो, सम्भवतः यसको जवाफ कसैसँग छैन । आ–आफ्ना किसिमले मान्छेहरू समय र वातावरण हेरेर आफ्ना गक्षअनुसार यसबारे चिन्तन–मन्थन र पुर्पक्ष गर्छन् । यस्तै सुनिन्छ, पढिन्छ पनि । आ–आफ्ना डम्फू बजाउने क्रममा धेरैजसोले त नबुझिने भाषामा तर्क–कुतर्क पनि दिने गर्छन् । गोलमटोल वाक्यमा रुमलेर यस विषयमा विज्ञदेखि आममान्छे आज पनि थरीथरीका बहस गरिरहेका भेटिन्छन् ।  

प्रश्न उठाउने र छलफल गर्ने क्रम रोकिएको छैन । तथापि यसको उत्तर आजसम्म पाइएको छैन । भारतका विश्व प्रसिद्ध चित्रकार हुसेनको सुरुका कालको एउटा चित्र एउटा कला प्रदर्शनीमा नौ सय रूपैयाँमा बिक्री भएन । उनी अलि निराश भए । केही समयपछि अर्का विश्वका प्रख्यात चित्रकार पिकासोसँग समान हैसियतमा उनलाई पनि एउटा कार्यक्रममा निम्तो आयो । कार्यक्रम सकेर उनी फर्केलगत्तै उनैको नौ सयमा नबिकेको त्यो चित्रलाई लाखौँ दिन तयार भएका धेरै ग्राहक उनी कहाँ आए । तर उनले यो चित्र बेचेनन् ।  

अर्का विश्व प्रसिद्ध कलाकार सेजान, जसलाई आधुनिक कलाका पिता पनि भनिन्छ । उनी चित्रहरू कोणमा ढालेर बनाउँथे, जसले गर्दा उनका चित्र बेढंगका देखिन्थे, अमिल्दा र सिकारु कलाकारले बनाएका जस्ता देखिन्थे । प्रकृतिलाई कोण, सिलिन्डर र स्पेयरबाट हेरिनुपर्छ भन्ने उनको कलागत मूल मन्त्र थियो । यस्तै विशेषता बोकेका उनका चित्र नौला भएको ठहर गरियो । उनका चित्रको भाउ बढ्यो । पिकासो र ब्राकले स्थापना गरेको क्युबिजम्को मूल स्रोतका रूपमा यही सेजानकोे कोणीय अवधारणा बन्न गयो । अर्का विश्व प्रसिद्ध कलाकार मानेका चित्रहरू सुरुवाती कालमा बिकेनन् । मजाकका साथ ग्राहकहरू भन्ने गर्थे, ‘चित्रभित्र रहेको एउटा स्याउ मात्र किन्छु, बेच्छौ ?’ अलिकति स्वाभिमान, अलिकति भोकले उनले क्यानभासबाट त्यो स्याउ मात्र काटेर पनि बेचेका छन् । आज उनका चित्र करोडौँमा बिक्छ । कुनै पनि विश्व प्रसिद्ध कलाका संग्रहालय उनका चित्रलाई आफ्ना ग्यालरीमा गौरवका साथ प्रदर्शन गर्छन् । 

 

नेपालकै चित्रकार लक्ष्मण श्रेष्ठकै कुरा गरौँ, जो अहिले भारतको मुम्बईमा बस्छन् । उनी आफ्नो कला स्टुडियोमा पसे भन्नेबित्तिकै विश्वभरका आर्ट कलेक्टरहरू ‘भित्र के बन्दैछ’ भन्ने थाहै नपाई चित्रलाई करोडौँको मूल्य दिन तयार हुन्छन् । ‘त्यो कला मेरो भयो है’ भनेर बुक समेत गर्छन् । सन् ६०को दशकमा अमेरिकामा कलाकार कार्ल आन्ड्रेले इन्स्टलेसन स्वरूपका एक अनौठो कलालाई प्रदर्शन गरे । जसको नाम उनले ‘इक्विपभ्यालेन्ट थर्ड–१९६६’ राखे । उनले एक सय २० वटा इँटा बजारबाट किनेर ल्याए र एउटा कोठामा यसलाई सहज रूपमा लाइन मिलाएर राखे । यसपछि चारैतिरबाट प्रकाश दिएर अलि अनौठो र प्रभावपूर्ण वातावरण तयार गरे । टाइम र स्पेसको अवधारणाका साथ बनेको यो उनको काम सफल भएको भने देखिएन । यो कला कसैले पनि मन पराएनन् । उनी आफू असफल भएको ठानी बजारबाट किनेर ल्याएको इँटा पुनः बजारमा बेचिदिए । सम्भवतः जसको मूल्य शून्य भयो । एक दिन अचानक सन् १९७२ मा लन्डनको ‘टेट ग्यालरी’बाट फोन आयो, जसले उनको काम महँगो भाउ (६ हजार डलर) मा किन्न खोज्यो । उनी आफैँ लन्डन गएर टेट ग्यालरीमा यसै प्रकारको काम पुनःस्थापना गरिदिए । यो कामले महँगो मूल्य मात्र पाएन, अहिले त्यो काम हेर्न दर्शकले शुल्क तिर्नुपर्छ । 

कलाको मूल्यको सन्दर्भमा अलि पढे–लेखेकाले ‘एस्थेटिक्स जजमेन्ट’का सन्दर्भ निकाल्छन् । अलि कम जानकार राख्नेले ‘कमिसन वर्क’ कम मूल्यका हुने गर्छन् भन्ने तर्क निकाल्छन् । एस्थेटिक्सको अर्थ कलामा सौन्दर्यता रहनुपर्छ भन्ने हो । तर बुझिने गरी सौन्दर्यताको आयतन, परिवेश र विशेषता भने कतै उल्लेख छैन ।  

 यसर्थ कसैको कलाको मूल्य कसरी आँक्ने ! कलाकार प्रख्यात भएपछि उनका कला महँगो हुने हो ? वा, कला महँगो भएर कलाकार प्रख्यात हुने हो ? कतै लहडमा चित्रको मूल्य अकासिन्छ कि ? विकसित राष्ट्रका मान्छे कलालाई बढी बुझ्छन् । पैसा पनि बढी उनीहरूसँगै हुन्छ । यसो भएकाले उतातिर कलाको मूल्य पनि बढी हुन्छ र बढी बिक्ने पनि उतैतिर हो कि ? कलाको महŒव बढी बुझ्नेले बढी कला किन्ने हो कि ? सरकार वा धनाढ््य व्यक्तिले प्रोत्साहन गर्न कला किनिदिन्छ कि ? यी प्रश्नको जवाफ पाउन कठिन छ । तर, कला बिक्री भएकै छन् । कलाकार कला बेच्न लागिपरेकै छन् । तथापि यसो भनेर कलाको भ्यालुलाई मापन गर्ने आधार पटक्कै खडा नभएकै भने होइनन् । यसलाई अलि पछि विस्तारमा व्याख्या गरौँला ।  

कलामा एस्थेटिक्स  
कलाको मूल्यको सन्दर्भमा अलि पढे–लेखेकाले ‘एस्थेटिक्स जजमेन्ट’का सन्दर्भ निकाल्छन् । अलि कम जानकार राख्नेले ‘कमिसन वर्क’ कम मूल्यका हुने गर्छन् भन्ने तर्क निकाल्छन् । एस्थेटिक्सको अर्थ कलामा सौन्दर्यता रहनुपर्छ भन्ने हो । तर बुझिने गरी सौन्दर्यताको आयतन, परिवेश र विशेषता भने कतै उल्लेख छैन । अलि गहिरिएर विचार गरियो भने एस्थेटिक्सको परिभाषा आफैँमा जटिल छ । यसलाई बुझ्नु भनेको सम्भवतः टाउकाका सबै रौँ गन्नसरह हो ।

एस्थेटिक्सको परिभाषामा कलाको सौन्दर्यताका साथसाथै, कलाको मौलिकता, कलाको रूप (फर्म) संस्कृति, विज्ञान, नैतिकता, धर्म र दर्शन आदिलाई जोडिएको छ, जसकारण यसलाई केलाउन अझ जटिल बनाइएको छ । साइन्थियाले भने ‘एस्थेटिक्स भनेको कलात्मक अनुभूतिको अध्ययन हो, यो जटिलताको परिधिमा बसेर एस्थेटिक्स जजमेन्ट हुन सक्दैन, यो आफैँमा उत्तरविनाको प्रश्न हो’ भनेको छ ।

ललितकला विषयमा सम्भवतः सबैभन्दा बढी पुस्तक यही एस्थेटिक्सको विषयमा प्रकाशनमा आएका छन् पनि भनिन्छ । एस्थेटिक्सको मूल मर्म भनेको गुड टेस्ट (असल स्वाद) हो । तथापि सबै भावक अलग–अलग स्वादलाई मन पराउँछन् । थोरै अलमल त यहीँ पनि हुन्छ । स्वभावतः एस्थेटिकल्ली जजमेन्ट कसरी गर्ने भन्ने प्रश्न यहाँ देखापर्छ । यसर्थ, यसैलाई अलिकति सजिलो पार्न ‘कमन टेस्ट’को कुरा विद्वान्ले उठाउने गर्छन् । यसैमा पनि कलाविद् हर्बट रिडले एउटा रमाइलो सन्दर्भ उठाइदिए । कसैलाई कुनै चित्र मन परिदियो, तर यो चित्र ‘पोर–एक्सिक्युटेड’ गरेको छ भने, वा ‘रिच–एक्सिक्युटेड’ गरेको चित्र कसैलाई पटक्कै मन परेन भने, यसलाई के भन्ने ? प्रविधिले गरेको विश्लेषण र भावनाले गरेको महसुस र आत्मसात बिक्रीको सन्दर्भमा कुनले बढी भूमिका खेल्छ ? यसको मापन आजसम्म गरिएको छैन ।  

कुन चित्र कसलाई किन मन पर्छ, थाहा हुँदैन । जब कसैलाई त्यो अमूक चित्र मन परिदिन्छ, उसले त्यो चित्र आफैँसँग राख्नका लागि किन्न चाहन्छ । संसारमा अति महँगा कला यसरी नै बिक्री भएका हुन् त भनेर हेरियो भने यो कुरा गलत साबित हुन्छ । किनकि ती अति महँगा कला अक्सनमा बिक्री हुने गर्छन् । मोलतोल हुन्छ र अति धनाढ्य व्यक्तिले चित्र किन्छ । मूलतः ठुल्ठूला व्यापारीहरू, आफ्ना गर्व राख्न (संसारका सबैभन्दा ठूलो कलाकारको चित्र त मसँग छ भन्ने), वा यसलाई अझ महँगो दाममा बेच्न किनेर राख्छन् । या ठुल्ठूला संग्रहालयमा राख्न किनेर लान्छन् र यसबाट पुनः थप आर्थिक आयका लागि गतिलो माध्यम बनाउँछन् । कलाको रिसेल भ्यालुको अर्थ व्यापक रूपमा पश्चिमी राष्ट्रका सामान्य मान्छेले पनि बुझेका छन् । यसैले हरेक घरको भित्तामा कुनै न कुनै चित्र राखिएकै हुन्छन् । उनीहरूले यसलाई एउटा सम्पत्तिको रूपमा हेरेका हुन्छन् । चित्र मन पर्नु र नपर्नुको त्यस्तो ठूलो अर्थ यहाँ राख्दैन ।  

कमिसन वर्क  
‘कमिसन वर्क’को विशाल अर्थ छ । पहिला–पहिला राजा–महाराजा कलाकारलाई अलिकति पैसा दिएर आफ्ना अनुहारलाई चित्र वा मूर्तिमा ढाल्न लगाउँथे । देवी–देवताका मूर्तिहरू पनि पैसा दिएरै बनाउन लगाएका हुन् । यी सबै कमिसन वर्क नै हुन् । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले चन्द्रमान सिंह मास्के र तेजबहादुर चित्रकारलाई कलकत्ताको ‘गभर्नमेन्ट स्कुल अफ आर्ट’मा पढ्न पठाए । ती दुवै कलाकार नेपालका पहिला कलामा प्रशिक्षित कलाकार बन्न पुगे । तर, उनीहरू फर्केपछि उनीहरूबाट राणा प्रधानमन्त्रीले आफ्ना लागि आफ्नै व्यक्तिचित्र वा आफूलाई मन परेका ठुल्ठूला सिकारका चित्र बनाउन चाहेको देखियो । आज पनि यी कलाकारले बनाएका यस्ता व्यक्तिचित्र र बहुमूल्य सिकारका चित्र दरबार र संग्रहालयमा सुरक्षित छन् । यी सबै कमिसन वर्क नै हुन् । 

पैसा दिएर गरिएका कलालाई ‘कमिसन वर्क’ भनियो । सबैले पैसा खर्च गर्न नसक्ने भएकाले मूलतः पहिला–पहिला अति अजंगका मूर्तिकला वा वास्तुकला यसरी नै ‘कमिसन वर्क’को रूपमा बने । यी कला आज सबैभन्दा महँगा, अमूल्य कला निधि भएका छन् । 

आज पनि धनाढ्य व्यक्ति, राजनीतिक वा अन्य क्षेत्रका व्यक्ति विशेषको सालिक बनाउने प्रचलन छ । यसरी पैसा दिएर गरिएका कलालाई ‘कमिसन वर्क’ भनियो । सबैले पैसा खर्च गर्न नसक्ने भएकाले मूलतः पहिला–पहिला अति अजंगका मूर्तिकला वा वास्तुकला यसरी नै ‘कमिसन वर्क’को रूपमा बने । यी कला आज सबैभन्दा महँगा, अमूल्य कला निधि भएका छन् । कमिसन वर्क आज आएर कम मूल्यमा कसरी निर्धारण गर्न सकिन्छ र ? आज यी कमिसन वर्कका कला नै अति महँगा साबित भएका छन् ।  

व्यावसायिक र सिर्जनशील कला  
कलाकारले कला बेच्न भनेर बनाउँछ वा भाव अभिव्यक्ति गर्न ? वास्तवमा कला सिर्जनामा ग्राहकको इच्छा र चाहनाको सम्बन्ध केही हुँदैन । तथापि धेरैजसो युवा कलाकार बिक्री हुने खालकै कला बनाइरहेका हुन्छन् । काठमाडौंको ठमेल, पाटन र भक्तपुरको दरबार स्क्वायर यसका लागि उपयुक्त ठाउँ बन्न गएको छ । नेपालमा मात्र होइन, विश्वभरि नै यसै प्रकारको प्रचलन र अभ्यास छ । स्वभावतः बाह्य पर्यटक यसका खास ग्राहकको रूपमा देखिन्छन् । यस प्रकारका चित्र वा मूर्तिको तुलनात्मक मूल्य कम हुन्छ । कुनै पनि नयाँ ठाउँमा जाँदा त्यो राष्ट्रको पहिचान झल्कने केही वस्तु जोकसैले पनि सम्झना स्वरूप लैजान खोज्छ । यसर्थ पनि नेपालबाट यस्ता कला चिनोको रूपमा बिक्री हुने गर्छ ।

  

विश्व प्रसिद्ध हिमालका चुचुरा नेपालमा छन् । लोभलाग्दा हिमाल र हिमाली भेगमा बस्ने मान्छेको दिनचर्या आदिका चित्र बढी मात्रामा पर्यटकले लैजाने गर्छन् । यसर्थ दृश्य चित्र होस्, वा परम्परागत पौभा, थाङ्का चित्र, वा लोककला (मिथिला वा नेवारी कला) होस्, यिनीहरूको बिक्री बढी हुने गरेको देखिन्छ । सस्तो बनाउने सन्दर्भमा कपी वर्कका कलाहरू, ट्रेस गरेर वा क्यानभासमा प्रिन्ट गरेर पनि यस्ता चित्र बनाउने र एकै किसिमको अनेकौँ प्रति बनाउने प्रचलन यहाँ मात्र होइन, विश्वभरि जताततै छ । कति ठाउँमा त सस्तो कागज, क्यानभास वा सस्ता रङहरू र कम मिहिनेत गरेर यस्ता चित्र बनाउने गरिन्छ । यसकारण सजिलो गरी बुझ्नका लागि यस प्रकारको कलालाई ‘व्यावसायिक कला’ भन्ने प्रचलन पनि छ ।  

सिर्जनशील कलाकार वास्तवमा कला बेच्नका लागि बनाउँदैनन् । उनीहरू आफ्नो जीवन निर्वाहका लागि आफ्ना कृति बेच्ने गर्छन् । बाध्यतामा मन मारेर सस्तोमा भए पनि आफ्ना कला बेच्छन् । यथार्थमा यस्तो हुँदैन । किनकि कुन कलाको कति मूल्य हो भन्ने कलाकार स्वयंलाई थाहा हुँदैन । विशेषगरी अलि बढी मिहिनेत परेको स–साना रेखा, रङ र स–साना यथार्थ रूप थुप्रो मात्रामा बनाई महिनौँ लगाएका कृति शिल्पकलाका रूपमा थोरै महँगो पनि हुन्छन्, तथापि शिल्पका आधारमा गरिएको मूल्य निर्धारण एउटा निश्चित घेराभन्दा पर जाँदैन । अभिव्यञ्जना र विचार बोकेका कलाको मूल्य उकालो लाग्ने अवसर पायो भने धेरै माथि जान्छ । यसैले पनि आजका अधिकांश युवा कलाकार आफ्ना कलाको अनेक व्याख्या विश्लेषण गर्न र कन्सेप्चुयल आर्ट भन्न हतारो गरिहाल्छन् । अझ यो सामाजिक सवालमा जोडिएको सन्दर्भ बढी मात्रामा निकाल्ने गर्छन् । यसको मुख्य कारण भनेको अवसर पाए यस्ता कला ठूलो मूल्यमा परिणत हुन्छ । यसो भन्दैमा सबै कलाले मूल्य पाउने होइन ।  

कला बेचिन पनि विभिन्न तहमा कालान्तरमा बन्दै गएको हो । सजिलोका लागि कलाका विज्ञले यसलाई दुई भागमा विभाजन गरिदिए– व्यावसायिक कला र ललितकला ।  

कला बेच्ने वा नबेच्ने सन्दर्भमा सिर्जनशील कला र व्यावसायिक कला भनेर दुई खण्ड बनाई आम कलाकारमा स्थापित गर्ने काम गरियो । जुन कला बेच्नका लागि ग्राहकको चाहना–इच्छा बमोजिम बनाइन्छ, त्यसलाई व्यावसायिक कला भनियो । जुन कला बेच्नका लागि नसोचेर आफूलाई मनले चाहे अनुसार बनाउने र आफैँ मूल्य तोकी बेच्ने गरिन्छ, त्यो कला सिर्जनशील भयो भन्ने मान्यता स्थापित गराइयो । विशेष योजना नै बनाई कलाकारलाई कालिगड वा शिल्पीको उपमा समेत भिराएर व्यवसायी कलाकार भन्न थालिएको पनि धेरै भयो । तथापि नबेचिने भनेर भनिएका सिर्जनशील कला नै व्यावसायिक कलाभन्दा सयौँ गुणा महँगोमा बेचिन्छन् । यसरी वर्गीकरण गर्ने क्रममा उपयोगी कला, जुन कला उपयोग हुन्छन् भन्ने सन्दर्भमा देखाप¥यो । पछि यही कला पनि बिक्री–वितरण हुन थाल्यो । नितान्त संस्कारमा आबद्ध भएर बनाइने कला, जुन बेचिन हुँदैन भन्ने मान्यता थियो, तर हिजोआज यस्ता कलालाई मौलिकता भनेर बेच्न थालिएको छ । निस्वार्थ वा भक्तिभाव, वा धर्मको एक अंगका रूपमा बनाउँदै आएको कला वा मानवको संस्कृति संस्कारको एक अंग बनेका नितान्त व्यवसायभन्दा परका कला पनि आज बेचिने दौडमा सबैभन्दा अगाडि छन् । पूजाआजा गर्न देवी–देवताका मूर्ति वा चित्रलाई बेच्न हुँदैन भन्ने मान्यतालाई पर सारेर यसैलाई पनि अहिले अझ महँगो मूल्यमा बेच्ने गर्छन् ।  

कला प्रदर्शनी  
आज समसामयिक कला प्रदर्शन कक्षमा पुग्दा महँगो प्राइस–ट्यागका साथ पुग्छन् । रमाइलो कुरा त युवा कलाकारको प्राइस–ट्यागमा बढी मूल्य अंकित भएको हुन्छ । पुरानो र स्थापित कलाकारको मूल्य भने कम हुने गर्छ । जति लेखिएको हुन्छ, त्यति मूल्य कलाकारले पाउँछ वा पाउँदैन, यो एक अलग्गै सवाल भयो । तर, सिर्जनशील भनिने यो कला प्रदर्शनको एक मात्र धेय आज आएर बिक्रीमा केन्द्रित रहेको देखिएको छ । कलाको मूल्य कति राखिनुपर्ने हो, कुनै मापदण्ड छैन । कलाकारले आफूखुसी जति राखे पनि हुन्छ । सामान्यतः क्रेताले दिने आधारमै अन्ततः त्यो कलाकृतिको मूल्य निर्धारण हुन्छ । तथापि क्रेता अनुसार यस्ता कलाको मूल्य निर्धारण हुने हुँदा कुन कलाकारको कलाको मूल्यको स्तर कति हो भन्ने आज पनि खुलस्त भएर आउन सकेको छैन । कला ग्यालरीले आफ्नो कमिसन कति काट्ने (सामान्यतः ३० प्रतिशत हुने गर्छ) निश्चित गर्ने प्रचलन छैन । कलाकार आफैँले कति पैसा पाएका छन् भन्न रुचाउँदैनन् । कलाकारले पैसा पाउने क्रम भने न्यून रहेको यथार्थ कसैबाट छिपेको छैन ।  

अहिले भारतमा एउटा प्रचलन आएको छ । राम्रा–राम्रा ठूला कलाका ग्यालरीले कलामा निर्धारण गरिएको मूल्यको निश्चित प्रतिशत पहिला नै बुझाउनुपर्छ । सम्भवतः सरकारको यही निर्देशन छ । यसैले बिक्री हुन सक्ने मूल्यलाई प्राइस ट्यागमा राख्ने प्रचलन छ । त्यहाँ समसामयिक कलामा पनि ट्याक्स लाग्छ । यसर्थ पनि कलाको मूल्य धेरै हदसम्म पारदर्शी हुने गर्छ । यसो भएकाले भारतका बैंकमा कलालाई धितो राखी ऋण लिने प्रचलन पनि छ । जहाँ स्वभावतः अमूक कलाको मूल्य निर्धारण गर्ने निश्चित प्रक्रिया र मापनका सूचक पनि छन् । नेपालमा कला यसरी व्यवस्थित हुन सकेको छैन ।  

आज कला भावनाको अभिव्यक्तिभन्दा पनि मूल्यको कुरा बढी हुने सुनिन्छ । दुई दशकअगाडि र अहिलेको कला प्रदर्शनी फरक ढंगको देखिन्छ । कलाको नयाँ स्वरूप इन्टलेसन वा पर्फमेन्स वा अन्य कला सिर्जना हुँदा पनि पछिल्तिर पैसा र केही सामाजिक सवाल बोकेर आउने प्रचलन बढेको छ । यसो भन्दै गर्दा पनि पहिलाभन्दा स्थानीय आर्ट कलेक्टर थोरै मात्रामा देखिन थालेको छ । ग्यालरीमा पनि पहिलेको तुलनामा अलि बढी कला बिक्री हुन थालेको पक्कै हो । अन्तर्राष्ट्रिय आर्ट कलेक्टर नेपाल पसेको देखिँदैन । किनकि नेपालका स्थापित समसामयिक कलाकारको नाम र कामबारे यथेष्ट मात्रामा चर्चा हाम्रो छिमेकी राष्ट्रसम्म पनि पुगेकोे देखिँदैन । आ–आफ्ना पहँुचमा भएका बाहिरका क्रेताले पनि ती कलाकारकै चित्र वा मूर्ति किनेको देखिन्छ । अन्तर्राष्ट्रिय आर्ट कलेक्टरलाई नेपाल भित्र्याउन, अक्सनका संस्कार बसाउने कार्य गर्न कलाका थुप्रै आधारभूत कुरा बाँकी छन् ।

बजारको क्रय शक्ति  
मूलतः कला बिक्रीको कुरा बजारको क्रयशक्ति, समुदायमा रहेको कलागत संचेतना, कलालाई प्राथमिकता आदिसँग जोडिएको हुन्छ । पहिलो त कला क्रेताको पहँुचमा पुग्नुपर्छ, त्यसपछि कला किन्नुपर्छ भन्ने ज्ञान हुनुपर्छ । त्यस्तै, कलालाई घरमा सजाउने संस्कारको विकास हुनुपर्छ । व्यक्ति विशेषको आयले धेरै कुरा निर्धारण गर्छ । सबैभन्दा मुख्य कुरा खर्चको प्राथमिकीकरण कता जान्छ, यो महŒवपूर्ण हो । रिसेल भ्यालुको वस्तु र विलासिताको वस्तुको पहिचान, निवेश र लगानीले सम्भवतः जीवनको योजना पनि सन्तुलनमा आउँछ होला । कला आफैँमा महँगो होइन, तथापि आज समाजमा कला महँगो हुन्छ, किन्न सकिँदैन भन्ने जनमानसमा व्याप्त छ । कला प्राथमिकतामा पर्न सकेन । किनकि समुदायमा कलागत संचेतनाका लागि चाहिने आधारभूत संरचना, औपचारिक र अनौपचारिक शिक्षाको प्रक्रिया कतै पनि बनेको देखिँदैन । देशभित्रै र बाह्य कलाका क्रेतासम्म हाम्रा कला नपुग्नु, राष्ट्रको कलागत नीति र कार्यान्वयन फितलो हुनु आदिले सम्भवतः कलाकारको कलाको बिक्रीमा गहिरो असर गरेको छ । यसर्थ कलाकारहरू कला राष्ट्रले किनिदिनप¥यो भनेर कराई हिँड्छन् । राष्ट्रले हाम्रा कलामा गौरव गर्नुपर्ने हो । हिजो र आजको कलालाई कसरी संरक्षण गर्न सकिन्छ, कलाकारलाई कसरी प्रोत्साहन, सम्मान गर्न सकिन्छ भनेर राज्यले सोच्न जरुरी छ । व्यक्ति विशेष कलाकारको आयआर्जनको सन्दर्भमा मात्र होइन, यी अति महŒवका कलाको माध्यमबाट राष्ट्रले कसरी अर्थोपार्जन गर्न सक्छ भनेर पनि राज्य चनाखो हुनुपर्छ । राज्य नै लाग्ने हो भने कलालाई पस्केर बाह्य पर्यटक भिœयाउन सकिन्छ । यसबाट अझ गुणस्तरका कलाको सिर्जना हुने, कलाको मूल्य बढ्ने हुन सक्छ ।  

यसो नहँुदा कलाकार पनि ‘कला यसै पनि बिक्दैन’ भनी बढी पैसा राखेर प्रदर्शनीमा झुन्ड्याउने गर्छन् । कलामा आम मान्छको खासै चाख नहँुदा प्रदर्शनीमा पुग्ने दर्शकको कमी हुन्छ । कतिपय प्रदर्शनीमा पुग्नेहरू पनि किन्ने मनस्थिति कम बोकेर पुगेका हुन्छन् । कलाको अर्थ (के बनाएको रहेछ भनेर बुझ्न) खोज्ने र यसैको वरिपरि चर्चा गर्न रुचाउने भावक बढी देखिन्छन् । स्थानीयमा कला किनौँ भन्ने मनसाय पटक्कै नभएकाले सही क्रेताको खोजीमा बाह्य मान्छेका शरणमा जाने प्रवृत्ति अहिले ह्वात्तै बढेको छ । यसर्थ पनि नेपाली कलाको मौलिकता हराउँदै जान थालेको छ । हिजोआज देखिने कलाको स्वरूपलाई गहिरो गरी नियाल्यौँ भने त्यसलाई कला भन्ने कि नभन्ने स्थितिको सामना गर्नुपर्छ । यस्तो अवस्थामा हाम्रो कलाको मूल्य कति हो भनी कसरी खोज्ने ? यस्तै प्रश्न मात्र बोकेर बस्नु सम्भवतः आजको नियति बन्न पुगेको छ ।  
(लेखक कलाकार तथा कला समीक्षक हुन् ।) 

प्रकाशित: १३ मंसिर २०७७ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App