१६ फाल्गुन २०७७ आइतबार
कला

छिमेकी

लघुकथा

मञ्जुश्री गिरी

 

साहिँली बज्यैलाई छिमेकीसँग रिस उठिरहन्थ्यो । रमेश घर्तीलाई उनी जातभातका कुराले घोचपेच गरिरहन्थिन् । रमेशलाई नजिकका र साँध जोडिएका छिमेकीसँग  झगडा गर्न मन लाग्दैन थियो । साहिँली बज्यैलाई आफ्ना चार   भाइ छोरा र धनमाथि धेरै नै घमण्ड थियो । खरिदारको जागिर भए पनि श्रीमतीको मितव्ययी व्यवहारले परिवार चलेकोले अभावको आभाष भएको छैन । छोराछोरीहरू सरकारी स्कुलमा पढछन् ।

साहिँला बाजे गम्भीर बिरामी भएर दिल्ली लगे तीन भाइ छोराले । कान्छा छोराबुहारी अमेरिका गएको चार वर्ष भैसकेको छ । यता हुने तीन छोराबुहारीहरू पनि अलग – अलग बस्छन् । एक्कासि कोरोनाको कहर सुरु भयो । लकडाउनले गर्दा साहिँला बाजेहरू दिल्लीमै अड्किए । बज्यै घरमा एक्लै थिइन् । गाउँमा कोही कसैको घरमा आउन जान छोडेका छन् । साहिँली बज्यै अचानक राति एघार बजे बिरामी भइन् ।

छिमेकीलाई गुहार्नुभन्दा पहिले उनले कान्छो छोरालाई फोन गरिन् । फोन उठेन । दिल्लीमा फोन गर्न मन लागेन । अनि नजिकै घर भएका तीनटी बुहारीहरूलाई पालैपालो फोन गरिन् । कोही आएनन् । बहाना बनाए । उनी आँगनमा निस्केर बसिन् । रमेश सुतेका थिएनन् । झ्यालबाट साहिँली बज्यैलाई ‘आमा, सबै ठिक छ नि’ भनेर सोधे ।

बज्यैले रुँदै ‘ ‘रमेश  मलाई अस्पताल लगिदेऊ न’ भनिन् । साहिँली बज्यैलाई लिएर रमेश अस्पताल  

पुगे । रातभरि अस्पताल बसे र बिहान घर फर्के । घरबाट खाना लिएर गए । रमेशले साहिँली आमालाई हिजोदेखि भोकै हुनुहुन्छ भनेर खाना खान आग्रह गरे ।

कहिल्यै बाहिर नखाएकी भए पनि परिस्थिति फरक थियो । भित्र भोक थियो । मनले नमाने पनि खाइन् । अरू उपाय थिएन । सात दिनसम्म साहिँली बज्यै अस्पताल बसिन् । भेट्न कोही आफन्त आएनन् । रमेशका  जोईपोइले   नै अस्पतालबाट घर ल्याएपछि साहिँली बज्यैले सोचिन् कि सानो जात भनेर सधैँ हेला गरेको छिमेकीले प्राण बचाए । हेलत्तो गरेका घर्तीले पकाएको खाना कत्ति मिठो । मनमनै यो सोचेर रमेशको घरमा आइन् र भनिन्, ‘रमेश, म आज यहीँ खाना खाने गरी आएकी, खान दिन्छौ !’

रमेशकी जहान बोली, ‘साहिँली आमा, यो घर आफ्नै सम्झिनुस् ।’

प्रकाशित: १० मंसिर २०७७ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App