सूर्यप्रसाद लाकोजू
फेदबाट होइन तिमी टुप्पोबाट पलाउँछौ ,
आफूभित्र अमिलो फल मात्रै फलाउँछौ ।
आफू केही नगरी गर्नेको नि खोइरो खन्दै,
अरूको प्रगतिमा ईरष्याको हुरी चलाउँछौ ।
वारि र पारिलाई जोड्ने गर्छ पुल,
काँडाकै बीच पनि फुल्ने गर्छ फूल ।
मन चोखो बनाएर अघि बढे साथी,
हृदयबाटै निस्कन्छ स्नेहको मूल ।
काँडा भए पन्छिन्छ फूललाई छुन्छ ,
करुणामा कान थुनी हल्ला भने सुन्छ ।
के भन्नु खै अवसरमारा बनेकालाई,
व्याख्या आफ्नो अनुकूल मात्र हुन्छ ।
गफको पहाड चुलाउँछौ,
मान्छेलाई खूब फुलाउँछौ ।
मक्ख परेपछि मान्छे,
स्वार्थको बाटो खुलाउँछौ ।
तिम्रो कुरामा नाइँनास्ति कहिले गरिन,
नभन्दासम्म आफू वरबाट पर नि सरिन ।
वर्षौंसम्म भक्तजस्तै भएर बस्दा पनि,
तिम्रो प्राथमिकता म कहिल्यै परिन ।
यता पर्यो रातो मुला उता सेतो मुला ,
आफू मात्र फल्न फुल्न पस्दै हिंड्ने डुला ।
जनता मरे पनि आफू बाँच्न चाहनेहरू
काम गर्ने केही होइन कुरा मात्रै ठूला ।
अरूलाई पिठो बेचेर तिमी चामल किन्छौ,
आफ्नो पीडा हटाउन अरुको सुख छिन्छौ ।
अचम्मकै स्वभाव बोकेर बाँचेको ए मान्छे,
आफ्नो स्वार्थ पूरा गर्न अरूलाई दुख दिन्छौ ।
जहिले पनि कुर्सीमा बस्न मन पराउँछ,
पद नपाएपछि छटपटिँदै जहाँ नि कराउँछ ।
भोट लिन गरेको एक पल्टको नमस्कारले ,
हामी जनतालाई पाँच वर्ष नमस्ते गराउँछ ।
मान्छे भएर जन्मेपछि काम नयाँ गर्नुछ,
ठूलाठूला गफ गर्दै बस्तीहरूमा झर्नुछ ।
गफानन्द स्वामीको गफ फलाक्दै ,
चन्दा मागेर भए पनि झोली आफ्नो भर्नुछ ।
ठूलो छ स्वार्थको घडा भर्न बाँकी छ,
आश्वासनको चारा नि छर्न बाँकी छ ।
अहिलेसम्म खुसी भएको छैन मालिक,
धुप, दीप दिई चाकडी गर्न बाँकी छ ।
प्रकाशित: ७ मंसिर २०७७ ०६:४६ आइतबार





