१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आइ लभ यु कोरोना !

लघुकथा

रमानन्दकी श्रीमती छायाँले भनिन् , ‘कति घरमा थन्किनु, अब त दिक्क भइसक्यो ।’  

क्षितिजतिर हेर्दै रामानन्दले भने, ‘कोरोनाको कारणले छ महिनादेखि अफिस जानु परेको छैन । घरमा बसीबसी तलब पाकिरहेको छ । त्यही पनि तिमीलाई दिक्क भयो !’ 

छायाँले भनिन्, ‘अफिस नगएर त झन् बर्बाद भयो त । तलब जाबोले के हुन्छ ! यसो यताउता हुन्थ्यो र पो जीवन सजिलो भएको थियो । पोहोर सालको मरेका तर लगत नकाटिएका वृद्धवृद्धाका नाममा आएको वृद्धभत्ताको रकमले किनेको जग्गाले खूब भाउ पा’को छ ।’

रमानन्दले भने , ‘घर बसेर के भो त !’ फायल घरमै बसेर सदर गर्नुपर्छ मैले ।  कोरोना पार्क बनाउने ठेकेदारले पनि हाम्रो अकाउन्टमा राम्रै रकम हालिदिएकै छ ।’ 

छायाँले खुसी व्यक्त गर्दै भनिन् , ‘आइ लभ यु कोरोना ! भाग्यमा श्री लेखेपछि बगरको बालुवा पनि सुन हुन्छ भनेको यही होला ।’

फोनको घन्टी बज्यो । रामानन्दले स्क्रिनमा हेर्दै भने , ‘गाउँबाट जीवनजीतले गरेको रहेछ ।’

छायाँले आवेगिलो भाषामा भनिन्,  ‘कोरोनाले त्यसको कम्पनी नै बन्द भएछ । त्यस्ता सडकेको के उठाउनुहुन्छ फोन ! भो नउठाउनू ।’

रमाकान्तले भने,  ‘हो नि बेला न कुबेला फोन गरिरहन्छ । साथी भनेर के गर्नु, सडक छाप भइहाल्यो जीवनजीते ।’ 

भोलिपल्ट पल्लो टोलबाट बहिनी माया दौडिँदै आइन् र एकैसासमा छायाँलाई भनिन् , ‘दिदी, जीवनजीतले फोन गरेर भनेको मलाई । हजुरको फोन लागेन भन्दै थियो । हाम्रो बुवालाई कोरोना सङ्क्रमण भएछ । कुनै अस्पतालले लिन मानेन छ । यताउता गर्दागर्दै बुवा त बित्नुभयो रे !’

प्रकाशित: १६ कार्तिक २०७७ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App