४ वैशाख २०८१ मंगलबार
कला

धार्मिक चलन र महिला

धर्म विश्वासहरूको संगठित संग्रह हो, जसले सांस्कृतिक व्यवस्था, मानवीयता र मानव अस्तित्वलाई जोड्ने काम गर्छ। धर्मले सबैजसो संस्कृतिलाई प्रभाव पारिरहेको हुन्छ। धर्मशास्त्रमा महिला र पुरुषबारे विभिन्न व्याख्या र परिभाषा आउँछन्। महिलाको उल्लेख नै सबैजसो धर्ममा भिन्न मानवको रूपमा गरिएको पाइन्छ। संसारमा विशेषगरी क्रिस्चियन, इस्लाम, हिन्दू, बौद्ध, शिख, जुइस जस्ता धर्म अस्तित्वमा छन्। जब संसारका विभिन्न समाज तीव्र उद्योग, खोजबिन, आविष्कार, खेतीपाती, विनिमयतिर लम्किसकेका थिएनन्, त्यतिबेला मानिसले अनेकन् कल्पनाशीलताले प्रकृतिका चिजवस्तुमाथि अनेक प्रतीक स्थापना ग¥यो। अलौकिक वस्तुलाई संसारको सृष्टिकर्ता मानेर प्रार्थना गर्न थाल्यो। विभिन्न परम्परा वा संस्कृतिलाई जीवन जिउने आधार मान्न थाल्यो। ती परम्परा, चलन, पुस्तौँपुस्ता हस्तान्तरण हुँदै समाजकै अंग बन्न पुग्यो, जसमा महिलाले आफूलाई पनि ढाल्दै आए।  

मध्ययुगदेखि १८औँ शताब्दीसम्म महिला विकासको कुनै निश्चित क्रमिक प्रक्रिया पाइँदैन। युद्ध, लडाइँ, उद्योगधन्दाको विकास, धर्मको विकास तथा सामाजिक, राजनीतिक परिवर्तनले विश्व प्रभावित हुँदै आयो। रोमजस्ता देशमा इसाइ धर्मबाट प्रभावित कानुन बनाइएको थियो। बाइबलमा कुष्ठरोगी तथा महिलामाथि समान दयाभाव राख्ने कुरा उल्लेख गरिएको थियो। प्रारम्भिक इसाइ सभ्यतामा महिलालाई चर्चले इज्जत, सम्मान दिए पनि प्रार्थनाको समयमा उनीहरूको उपस्थिति गौण मानिन्थ्यो। महिलाको काम भनेको गरिब र रोगीको सेवा गर्नु थियो।  

यस्तै, इस्लाम धर्ममा पनि विवाह संस्थामा महिलाबाट लोग्नेप्रति सम्पूर्ण निष्ठा र कर्तव्य परायणताको अपेक्षा गरिएको थियो। इस्लाम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ कि पुरुषहरू महिलाभन्दा एक स्थानमाथि छन्। पुरुष महिलाका संरक्षक र मालिक हुन्। किनकि अल्लाहले पुरुषलाई अर्को एक अतिरिक्त शक्ति दिएका छन्।  

त्यस्तै, बुद्धको समानतावादी सिद्धान्तका बाबजुद पनि भिक्षुहरूले नेतृत्वको अधिकारलाई संस्थागत गर्दै भिक्षुणी स्थायी रूपमा धार्मिक तहमा तल्लो स्थानमा समर्पित भए। हिन्दू धर्मलाई कतिपय अवस्थामा धर्म नभनेर सनातन परम्परा, जीवन जिउने अभ्यासका रूपमा पनि लिने गरिन्छ। यो हिन्दू वा सनातन धर्मलाई भाषा, मिथक, ग्रन्थका रूपमा पण्डित, ऋषिमुनि, व्याख्याताले विकसित गर्दै लगेको पाइन्छ।

राजनीतिमा सक्रिय, आफूलाई वैज्ञानिक र प्रगतिशील भन्ने पार्टी सम्बद्ध महिला नै धर्म तथा संस्कृतिका अवैज्ञानिक पक्ष केलाएर यी गलत छन्, यस्ता परम्परामा व्यापक सुधार गर्नुपर्छ, या यो परम्परा छोड्नुपर्छ भनेर आवाज उठाएको पाइँदैन।

हिन्दू समाजमा महिलाको स्थानका सम्बन्धमा विभिन्न धार्मिक पुस्तक, ग्रन्थले औँल्याएका छन्। उदाहरणका रूपमा मनुस्मृतिलाई हिन्दू धर्मको अर्थात् हिन्दू धर्मावलम्बीको आचारसंहिताको रूपमा विकसित गरिएको थियो। योबाहेक स्वस्थानी, स्कन्ध पुराण, चाणक्यनीति, संस्कृत भाषाका रामायण तथा महाभारत आदि ग्रन्थमा उल्लिखित कथनलाई निर्देशक सिद्धान्त मान्दै हिन्दू समाजका राजनीतिक व्यवस्था निर्माण हुँदै गए। आजसम्म पनि यी विभिन्न ग्रन्थमा उल्लिखित असल–खराब, सही–गलत, प्रमुख–सहायक, पाप–धर्म, पवित्र–अपवित्रको मानकलाई हाम्रो समाजले मान्दै आइरहेको छ।  

धर्ममा महिलाको स्थानबारे ऋग्वैदिक काल (इसापूर्व १२००–८००) सम्म पुरुष र महिलाबीच धेरै समानता र कम उचनीचको व्यवस्था थियो। पुरुषले गर्ने दैनिक कार्य महिलालाई पनि हस्तान्तरण गरिएको थियो, तर प्राचीन तथा पूर्वआधुनिक समयमा आएर कट्टर धार्मिक, सम्भ्रान्त वर्गले बलपूर्वक महिलाका अधिकारमा कटौती गरेर त्यसलाई संस्थागत नै गरे, जसमा धार्मिक ग्रन्थ मनुस्मृतिलाई हिन्दूहरूको आचारसंहिता मानियो भन्ने विभिन्न अध्ययन, लेखमार्फत जानकारी पाइन्छ।  

अंग्रेजी मानवशास्त्री इबी टेलरका अनुसार संस्कृति एउटा त्यस्तो जटिल समग्रता हो, जसमा समाजका सदस्यको ज्ञान, विश्वास, मान्यता, कानुन, नैतिकता, रीतिरिवाज तथा अन्य कुनै पनि प्रकारका सक्षमता र बानी समावेश भएका हुन्छन्। हिन्दू धर्ममा देवता र देवीहरूको प्रतीकमाथि जनमानसमा एक प्रकारको भक्तिभाव नै देखाइएको छ। एकातिर देवीहरूलाई शक्तिकी, ज्ञानकी, धनधान्यकी देवी भनेर पुजिन्छन्, अर्कोतिर प्रमुख देवता ब्रह्मा, विष्णु र महेश्वरलाई नै मानिन्छ। अझ देवतालाई आफ्ना रूप, स्वरूप फेर्न सक्ने मायावीको रूपमा पनि चित्रित गरिन्छ।

सांस्कृतिक पर्व दशैँमा विशेष गरेर देवी दुर्गाको पूजाआजा गरी धुमधामसँग मनाउने चलन छ। हिन्दू धर्मावलम्बी र बौद्धमार्गीले पनि दशैँ मनाउने गर्छन्। पारिवारिक भेटघाट, रमाइलो, खानपान, टीका, पिङ, यस पर्वको छुट्टै विशेषता देखिन्छ। लामो समयसम्म मनाउन सकिने चाड इष्टमित्र नातेदारसँगको जमघट, पारिवारिक पुनर्मिलनकै रूपमा पनि मनाइँदै आइएको छ। अझ यस दशैँको विशेष महत्व नवरात्रको नवौँ दिन देवीको पूजाअर्चना गरेर मनाउनुमा छ। दशैँको दिनबारे मिथक यो छ कि असत्यमाथि सत्यको विजय भएको अर्थात् रामले रावणसँग विजय प्राप्त गरेको, देवी दुर्गाले विश्वलाई नै आतंकित बनाउने असुर महिसासुरको वध गरी विजय हासिल गरेको आदि। देवीहरूलाई शक्तिशाली रूपमा देखाइको धार्मिक मिथक यो दुर्गाको शक्ति पनि एउटा हो। दशैँको नवरात्रि पूजाकै क्रममा पञ्चकन्यालाई देवीको रूप मानी टीका लगाइदिएर दान–दक्षिणा गर्ने चलन छ। कुमारी, बिहे नभएकी, सकभर महिनावारी पनि नभएकी कथित उच्च जातभित्रकी पञ्चकन्या खोजेर टीका लगाउने र त्यस कार्यबाट आफूलाई पवित्र महसुस गर्ने चलन आजसम्म छँदैछ। यसरी एकातिर धार्मिक अनुष्ठानले महिलालाई सम्मान गरेको पनि देखाउँछ, अर्कोतिर महिलाका नियमित प्राकृतिक प्रक्रिया, महिनावारी, वैवाहिक सम्बन्ध र दलित महिलालाई शुद्ध र चोखो मान्दैन। यस्तै व्यवहारात्मक पक्षहरू हिन्दू धर्ममा देखिएका असमान सम्बन्ध हुन् भन्न सकिन्छ। यस्तै कुरालाई हो, एक सचेत व्यक्तिले केलाउनुपर्ने।  

भारत र नेपालका हिन्दू संस्कृतिमा मिल्ने यो दुर्गा पूजामा अष्टमीको दिन देवीलाई पशु बली दिने। देवता र देवीलाई किन बली दिइयो होला ? यो प्रश्न पनि मनमा उठ्ने गर्छ।  

देवकालमा राजाका रानी तथा राजकुमारीहरूलाई एकदम सुन्दर, सुशील, रूप र गुणहरूले भरिपूर्ण रूपमा चित्रित गरिन्थ्यो। अनि त्यही रूप, गुण यौवनको आधारमा ऋषिमुनिले आशीर्वाद स्वरूप पुत्रलाभका आश्वासन दिने गर्दथे। जस्तैः एउटा उदाहरणका रूपमा कुन्तीले एक वर्षसम्म दुर्वासा ऋषिको बडो सावधानी र सहनशीलताका साथ सेवा सुश्रुषा गर्दा दुर्वासा ऋषि प्रशन्न भएर एक दिव्य मन्त्रको उपदेश दिँदै भने, ‘हे कुन्ती यो मन्त्र पढेर तिमीले जुनसुकै देवताको ध्यान गर्नेबित्तिकै तिम्रा सामुने ती देवता प्रकट हुनेछन् र ती देवता समानकै एक तेजस्वी पुत्र तिमीलाई दिनेछन्, (महाभारत कथा, ढुण्ढिराज कोइरालाद्वारा अनुदित)। यहाँ एक ऋषिले स्त्रीको सेवाबाट खुसी हुँदै देवता पुरुषको दर्शन पाउने र देवताजस्तै पुरुष जन्माउने आशीर्वाद दिन्छन्। यसले देखाउँछ कि राम्रो पुरुष पाउन, राम्रो पुरुष जन्माउन पनि पुरुषकै सेवा गर्नुपर्छ। यही मनोवृत्ति आजसम्म समाजमा देखिन्छ।

बुद्धको समानतावादी सिद्धान्तका बाबजुद पनि भिक्षुहरूले नेतृत्वको अधिकारलाई संस्थागत गर्दै भिक्षुणी स्थायी रूपमा धार्मिक तहमा तल्लो स्थानमा समर्पित भए। हिन्दू धर्मलाई कतिपय अवस्थामा धर्म नभनेर सनातन परम्परा, जीवन जिउने अभ्यासका रूपमा पनि लिने गरिन्छ। यो हिन्दू वा सनातन धर्मलाई भाषा, मिथक, ग्रन्थका रूपमा पण्डित, ऋषिमुनि, व्याख्याताले विकसित गर्दै लगेको पाइन्छ।

हिन्दू बाहुल्य नेपाली समाजमा हिन्दू दर्शनभित्रको जात लगायत व्यवस्थाका कारण आजका दलित र महिला उत्पीडनमा परेका छन्। भलै अहिलेको कानुनले जातीय विभेद तथा छुवाछूतलाई दण्डनीय अपराध मानेको छ। तर अझै पनि विभिन्न चाडपर्वमा अन्य कथित उपल्लो जातका महिलासँगै एउटै लाइनमा बसेर मन्दिरमा पूजा गर्ने सहजता दलित महिलालाई छैन। यी पक्षहरू पनि हाम्रा धर्म र संस्कृतिमा नखुलेका पाटा हुन्।  

मदनमणि दीक्षित आफ्नो पुस्तक ‘ऋग्वैदिक नारी चरित्र’मा लेख्छन्, ‘भारतीय उपमहादेशका प्राचीन रैथाने र आर्य उत्पत्तिका सिकन्दरदेखि मुहम्मद बिन कासिमको आगमनभन्दा पहिले यो उपमहादेशमा आएर यहाँका चार वर्ण छत्तीस जातमा समाहित हुन पुगेकाबाट निर्मित हिन्दूहरूका आजका पनि आचार, विचार, व्यवहार, पूजापाठ, चाड, उत्सव, धर्मकर्म, संस्कार आदिका पर्याप्त र वैज्ञानिक अध्ययनको शुत्रपात भएको भर्खरै साठी वर्ष हुँदैछ।’  

अवश्य पनि हिन्दू धर्म–संस्कृतिमा महिला तथा दलित, जनजातिको स्थानबारे अध्ययन, अनुसन्धान र लेखाजोखा हुँदै जालान्। कतिपय सवालमा त आन्दोलन, बहस पैरवी भइरहेछन्।  

मानव सभ्यता जंगली, सिकारी हुँदै कृषि युगसम्म आइपुग्दा दैनिक व्यवहारगत, कार्यगत कुरामा महिला र पुरुषका कार्य विभाजन हुन थालिसकेको थियो। पुरुषले आफ्नो शक्तिसँग मात्रै नभएर प्रकृतिको सहयोगबाट नयाँ सिर्जना र उत्पादन गर्न थाल्यो। उसले आफ्नो जीवनका बारेमा सोच्न थाल्यो। खेती गर्नलाई पनि धेरै जनशक्ति आवश्यक हुन्थ्यो, त्यसैले महिलालाई प्रजननका लागि महत्व दिन थालियो। त्यसपछि नै सन्तानको महत्व बढ्न थाल्यो। घुमन्ते मानिस स्थायी रूपमा एक ठाउँमा बस्न थाले। त्यतिबेलैदेखि पुरुषको दिमागमा स्वामित्वको भावना उत्पन्न हुन थाल्यो। महिला र मातृत्व भन्ने भावनाको पनि विकास हुँदै गयो। यसरी निजी सम्पत्तिको अवधारणाले ऐतिहासिक विकास क्रममा महिलाको सामाजिक स्तरमा कमी हुँदै जान थाल्यो। शासन व्यवस्था नै पितृसत्ता उन्मुख हुन थाल्यो। यो विकासक्रम आजसम्म पनि निरन्तर छ। यस्तै सिलसिलामा विभिन्न धर्म र संस्कृतिको विकास हुँदै गए र पहिले मौखिक आदेशबाट चल्ने शासन कालान्तरमा धर्मग्रन्थ तथा कानुनकै रूपमा विकास भए। महिला पुरुषले संरक्षण गर्ने जिम्मेवारीमा पर्न जान थाले। यही सिलसिलालाई ग्रहण गर्दै जाने क्रममा महिला र पुरुषबीच अग्लो होचोको नियम बन्न थाल्यो। महिलाहरू स्वयं पनि यी कुरालाई सृष्टि चलाउने आधार मान्दै जान थाले।  

हामी जति पनि हिन्दू धार्मिक ग्रन्थ तथा पौराणिक साहित्य पढ्छौँ, तिनका रचयिता पुरुष नै थिए। त्यसैले नै महिलाप्रतिको तमाम धारणा बनाउने र त्यसैलाई नियम बनाउने कार्य पनि पुरुषसत्ताबाटै भयो। यसबारे समाजशास्त्री, मानवशास्त्री, विश्लेषकले थप अध्ययन, अनुसन्धान गर्ने क्रम पनि बढिरहेको छ।  

महिलाहरूको चासो र संलग्नता  

धर्म–संस्कृति र समाजमा महिलालाई कम आँकिएको देखिए पनि किन महिला चुप छन् भन्ने प्रश्न उठ्न सक्छ। तर त्यस्तो होइन, समय समयमा महिलाले आवाज उठाउँदै आएका छन्, अझै पनि विभिन्न तह–तप्कामा बहस भइरहेका छन्। नेपालमा धर्मभित्रै पनि असमानताको विषयलाई लिएर योगमाया न्यौपानेले गरेको सत्याग्रहलाई उदाहरणका रूपमा लिन सकिन्छ। योगमाया एक धार्मिक नेता र कवि थिइन्। त्यतिबेलाको हुकुमी र पितृसत्ताले महिलालाई उठ्नै नदिएको अवस्थामा योगमायाले एक विद्रोही धार्मिक नेताको छवि बनाउन सफल भएकी थिइन्। उनको योगवाणी भन्ने कविता संग्रहले त्यतिबेलाको राणा शासनकालमा महिला दमनको विषयलाई उजागर गरेको थियो।  

राणाशासन, पञ्चायती व्यवस्थाविरुद्ध तथा प्रजातन्त्र र लोकतन्त्रका खातिर त महिलाको योगदान प्रशस्तै छ नेपालमा। तर, तिनै राजनीतिमा सक्रिय र आफूलाई वैज्ञानिक र प्रगतिशील भन्ने पार्टी सम्बद्ध महिला नै धर्म तथा संस्कृतिका अवैज्ञानिक पक्ष केलाएर यी गलत छन्, यस्ता परम्परामा व्यापक सुधार गर्नुपर्छ, या यो परम्परा छोड्नुपर्छ भनेर आवाज उठाएको पाइँदैन। उदाहरणका रूपमा तीजका व्रत, छाउपडी प्रथा, महिनावारी, बिहेबारीमा कन्यादान आदि। यी उल्लेख गरिएका परम्परा उही धर्ममा गएर जोडिएका छन्।  

यिनै धर्म–संस्कृतिमा भएका विभेद केलाउने त्यस विषयमा बोल्ने सन्दर्भमा भने महिलाहरूबीच नै एकमत हुन सकेको छैन। लामो समयदेखि भएको सामाजिक अभ्यास अनुरूप कतिपय महिलाले आफूमाथिको विभेद र उत्पीडनलाई नियमित प्रक्रिया जस्तो ठानेको पनि पाइन्छ। गरिबी, अशिक्षा, राजनीति र शासन–प्रशासनमा कम पहुँच आदि कारण महिलाले आफू हेपिएको हेक्का राख्न सकिरहेका हुँदैनन्। कतिपय अवस्थामा महिलाले हिन्दू धर्मका आध्यात्मिक पाटोलाई अँगालेसँगै आफ्ना जीवनका दुःख–पीडा भुलेको, मन आनन्दित भएको, अलौकिक शक्ति प्राप्त गरेको पनि बताउँछन्। कतिपय सचेत भइसकेका महिलाले पनि ‘आखिर प्राचीनकालदेखि नै समूहमा बस्दै जाँदा परिवारमै पनि पुरुष सदस्यलाई मुखिया बनाउँदै आइएको रहेछ, के भो त समाजलाई बिग्रन नदिन, अनुशासनमा राख्न पनि एकजना त मुखिया बन्नैपर्छ। त्यसैले परिवारको पुरुष सदस्य बाबु अर्थात् श्रीमान् या छोरालाई नै त्यो अधिकार दिए भइहाल्छ नि’ भन्ने गरेको पनि पाइयो। प्रायः मानिस आध्यात्मिक चिन्तन विकृत हुने, अन्य धर्मले जरो गाड्ने, आफ्ना धर्म–संस्कृति मासिने, समाज भाँडिनेजस्ता तर्कले पनि धार्मिक ग्रन्थ र चालचलनप्रति बोल्न चाहँदैनन्। धर्म भनेको न्याय पनि हो भनिन्छ, तर त्यही धर्ममा मान्छे–मान्छेबीच विभेद, महिला–पुरुषबीच विभेद देखेर भोगेर आएका पनि छौँ। एक प्रकारले सोच्ने हो भने धर्म एक अमूक परिकल्पना हो। समाजमा राज्य व्यवस्था, संविधान, कानुन, नीति–नियम बनिसक्दा पनि समाजले महिलालाई या पिछडिएका वर्गलाई त्यही पाप र धर्म, हुने र नहुनेकै नजरले हेरिरहनु र त्यस्तै व्यवहार गरिरहनु भनेको पछौटे समाजकै पक्षमा हिँडिरहनु हो।  

धर्म र संस्कृति एकअर्कासँग सम्बन्धित छन्। हिन्दू संस्कृति वा परम्परा पहुँचवालाको स्वार्थ अनुसार प्र्रयोग र व्याख्या हुन जाँदा महिला तथा बालिका अझ प्रताडीत हुन पुगेका छन्। हाम्रा परम्परा, सामाजिक चलनहरू वास्तविक जीवनसँग गाँसिएरभन्दा पनि धार्मिक साहित्यिक ग्रन्थलाई जोडेर विकसित भएका छन्। समानता सबैलाई प्रिय लाग्छ, तर मान्छेको स्वभाव सकभर हिंसा लडाइँ गर्न नपरोस् भन्नेमै केन्द्रित हुन्छ। त्यसमाथि महिलाहरू आफ्ना सन्तानका खातिर कतिपय सामाजिक पारिवारिक हिंसा वा भेदभाव सहेरै बस्न तयार हुन्छन्। पुँजीवादी अर्थ–व्यवस्था र व्यक्तिगत सम्पत्तिको मोहजालले पनि महिलाहरू भइरहेकै व्यवस्थामा अभ्यस्त जीवन बिताइरहेको पाइन्छ। उनीहरू अझै पनि कुनै घटना तथा विषयमाथि स्वतन्त्र विचार राख्न वा त्यस्तो विचार बनाउन आफूलाई स्वतन्त्र महसुस गर्दैनन्। विद्यालय तहदेखिकै पुस्तकमा ठूलाले भनेको मान्नुपर्छ, ठूला मान्छेसँग मुख लाग्नु हुँदैन भन्ने शिक्षा दिइन्छ। तर, ठूलो को हो वा के हो भन्ने स्पष्ट रूपमा बताइँदैन। यसरी धेरै अस्पष्टताबीच आजका बालबालिका हुर्कन्छन्। यस्तो परिस्थितिमा महिला मात्रै होइन, कुनै पनि विभेदमा परेको व्यक्तिले स्पष्ट आवाज उठाउन नसक्ने हुन्छ। यद्यपि, पछिल्ला बहस, राजनीतिक परिवर्तनले मानिसलाई आफ्नो अधिकारका लागि आवाज उठाउन प्रेरित गरेका छन्। आशा गरौँ, धर्म–संस्कृतिका विकृति हटाएर हाम्रो समाज अगाडि बढ्नेछ।

प्रकाशित: १ कार्तिक २०७७ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App