शुभारम्भकालमा कलाभित्र देवी–देवताले प्रवेश पाएका थिएनन्। तथापि किंवदन्ती वा लोकगाथाले भन्ने गरेको चाहिँ कलामा देवीदेवता देखापरेको झन्डैझन्डै मानवले कला बनाउन थालेदेखि नै हो। मूलतः सुरुमा कलाहरू लौकिक रूपमा निर्माण हुने गथ्र्यो। लोककला र उपयोगी कला नै प्रारम्भका कला हुन्। सम्भवतः स्वस्फूर्त बनेका लोककला वा जीवनयापनका लागि बनेका उपयोगी कलाको देवीदेवतासँग कुनै नाता थिएन। त्यतिबेला हात–हतियार, भाँडाकुँडा, गरगहना, वा वस्त्रादि र यसभित्र गाँसिएका कला प्रमुख थिए, जसलाई त्यतिबेलाको समुदायले आफूलाई जस्तो मन लाग्थ्यो, जस्तो बनाउन आउँथ्यो, वा जस्तो आवश्यक थियो, त्यसरी बनाउँथ्यो। यसमा उनीहरूको स्वतन्त्रता थियो। यसरी हस्तकलाको पनि विकास भएको पाइन्छ। सम्भवतः त्यसबेलासम्म मानव समुदायमा धर्मले गहिरो जरा गाडिसकेको थिएन।
पछिल्लो कालमा कलाविद्ले कलाको सन्दर्भ उठाउँदा थोरै धर्मका कुरा र बढी मात्रामा कलामा देवी–देवताको प्रवेशलाई आधार मानेर चर्चा गर्ने गर्छन्। कलाको चर्चा गर्दा किन देवी–देवता संलग्न भएका कलाकै कुरा उठ्ने गर्छ भन्ने सन्दर्भ पनि कम रोचक छैन। मोटामोटी रूपमा कलाको चर्चा हेर्दा, कुन राजाको पालामा बनेको, कति पुरानो वा कुन धर्मको कला हो भन्नेतर्फ कलाविद्को बढी चासो रहेको देखिन्छ। त्यस्तै, कुन राजाको कुन धर्ममा बढी आस्था रह्यो, कुन राजाले कति र कस्ता खालका मन्दिर बढी बनाए भन्ने खोजी गर्न धेरैजसो विद्वान लागेको देखिन्छ। शैलीगत वा प्रवृत्तिको सन्दर्भ उठाउँदा पनि शिला, धातु, काठ, कपडा, कागज वा ताडपत्र र भोजपत्र केमा कला सिर्जना गरे भन्नेतर्फ र लक्षणको रूपमा आसन, वेशभूषा, गरगहनामै बढी ध्यान केन्द्रित भएको देखिन्छ। तर, कलाको आन्तरिक कला तत्वमा, कलामा रहेका कलाकारको निजी स्वभाव, प्रस्तुति र संयोजन, शिल्प–दक्षता, रचना–दक्षता वा कलाकारकै बारेमा खोजी गर्न कलाविद्को चाह रहेको देखिँदैन। यसर्थ देवी–देवताका कलाका बारेमा धेरैजसो अनुसन्धान भएका छन्। अभिलेख पनि यसैमा बढी भएको छ। चर्चा पनि यसैको बढी हुने गर्छ। यसकारण आज त्यति राम्रा–राम्रा कला निर्माण गर्ने कलाकारको नाम समेत हामीलाई थाहा छैन।
विश्वमै कलाभन्दा राजनीतिको इतिहास पहिले लेखियो। स्वभावतः राजा महाराजाका बारेमा, उनीहरूले गरेको क्रियाकलाप, उनीहरूले बनाएको सामाजिक बनोट, नियम, उपनियम आदिकै मात्र इतिहास लेखियो। धेरै नजिकबाट धर्म, संस्कार, संस्कृति गाँसिएको आम समुदायसँग शासक वर्गलाई गाँसिनु पनि थियो। यसर्थ धर्म–संस्कृति र संस्कारमा राजाको आबद्धता रहनु नितान्त आवश्यक थियो। आजभन्दा फरक त्यसबखतको सोचले गर्दा व्यवहारमै राजा–महाराजा जनतासँग नजिक हुन चाहन्थे।
काठमाडौं उपत्यकाभित्रका स्थानीय बासिन्दाभन्दा पनि बाहिरका व्यक्ति यहाँ आएर शासन गरेको इतिहास छ। पूर्वतिरबाट आएका किरातीदेखि वैशालीबाट आएका लिच्छवि वा मल्लपुरीबाट आएका मल्ल नै किन नहून्, सबैजसो बाहिरबाटै आएका हुन्। यहाँसम्म कि पछिल्लोकालमा आएर गोर्खाका राजा पृथ्वीनारायण शाह पनि उपत्यका बाहिरकै थिए। तर, सबैले काठमाडौं उपत्यकामा सदियौँदेखि चलिआएको परम्परा, संस्कार र संस्कृतिलाई नै सद्भावपूर्व, मान–मर्यादाका साथ निरन्तरता दिएका छन्। यसैले पनि हरेकजसो राजा धर्म, संस्कृति र संस्कारसँग नजिक रहेको देखिएको छ। धर्म समाजसँग गाँसिएको हुन्छ। स्वभावतः राजा–महाराजाले आफ्ना आस्था भएको धर्म वा आम समुदायले परम्परादेखि मान्दै आएको धर्मलाई बचाइराख्न पनि आराध्य देवी–देवताका मन्दिर, स्तूप, मूर्ति या चित्रकला निर्माण गर्न लगाएका छन्। कलामा रहेको ‘एस्थेटिक्स भ्यालु’ धेरैपछि मात्र हेर्न र विश्लेषण गर्न थालिएको हो। यसरी नै कलाको इतिहास राजनीतिक इतिहासको एक अभिन्न अंग हुँदै अगाडि बढेको पाइन्छ। ललितकलाको कुरा नगरीकन कुनै पनि राजनीतिक इतिहास अपुरो लाग्छ। राजनीतिक इतिहास बढी मात्रामा लेखिने हुँदा यसैको पाश्र्व भागमा गाँसिएर आउने देवी–देवताले भरिएको वास्तुकला, मूर्तिकला वा चित्रकलाको प्र्रसंग बढी देखिन गयो। लौकिक कलाको वा लोककलाको इतिहास धेरै कम लेखियो।
प्रकृतिको यो भयानक रूप मानवको उपयोगी कसरी बन्न सक्छ भनी चिन्तन गर्दा मानवमा विचारभन्दा पनि भावना अगाडि बढेको देखिन्छ। जहाँ तर्क र विचारको समाप्ति हुन्छ, त्यहाँ विश्वास र भावनाको पृष्ठभूमिमा धर्मको जन्म हुन्छ। यही यस्ता विचार, विश्वासलाई आम मानवमा विस्तारित गर्न कला उपयुक्त माध्यम बन्यो।
पहिले आफू सुरक्षित रहन वा बाँच्नका लागि मानिसले आफू बस्ने गुफा र खानेका लागि कन्दमूलको सहारा लिन थालेको देखिन्छ। जंगली जनावर सिकार गर्ने क्रममा मान्छेहरू एक समूहमा आबद्ध हुन आवश्यक भयो। सिकारको योजना बनाउनुप¥यो। भाषा थिएन, इसाराले मात्र सन्देशलाई प्रवाह गर्न सम्भवतः पर्याप्त थिएन। यस कारण पनि गुफाका भित्तामा विविध चित्र सन्देश प्रवाह गर्नका लागि बनेको देखिन्छ। प्राचीनकालका गुफाहरू हेरियो भने जनावरका, सिकार गरिरहेका सिकारीका, तत्कालीन जीवन निर्वाह गर्दाका क्रियाकलाप, नाचगानका वा यस्तै लौकिक विषयवस्तुलाई लिएर चित्र कोरेको देखिन्छ। यस बखतसम्म देवीदेवताको प्रत्यक्ष रूपमा कलामा प्रवेश भएको देखिँदैन। यसरी लेखिएका चित्र नै पछि गएर अक्षरका रूपमा विकसित भएका हुन्। इसापूर्व तेस्रो शताब्दीमा देखापरेको ब्राह्मी लिपि अक्षरको रूपमा अस्तित्वमा आयो। तर, यसभन्दा पहिला पाइएको खरोष्टी लिपिलाई पढ्न सकिएको छैन, त्यसैले यसलाई लिपिभन्दा एक चित्रको रूपमा बढी मात्रामा व्याख्या–विश्लेषण हुँदै आइरहेको छ। चीनमा उहिलेदेखि नै अक्षर लेख्न कलाकार हुन आवश्यक थियो, किनकि चिनियाँ लिपि कलात्मक मात्र होइन, राम्रो तुलिका चलाउन नजान्नेले लेख्न पनि सक्दैनथे।
नेपाली कलामा देवी–देवताको प्रवेश
नेपाली कलाको राजनीतिक इतिहासलाई लिपिबद्ध रूपमा किरातकालसम्म तान्ने प्रचलन छ। यसअघिको महिषपाल वंश र गोपालवंशचाहिँ १२औँ शताब्दीमा लेखिन थालिएको वंशावलीमा उल्लिखित सन्दर्भहरूमा सीमित गरिएको छ। किनकि कुनै पनि देवी–देवताको प्रसंगलाई यो राजवंशसँग जोडेको पाइँदैन। किरातीहरू ईसापूर्वमा नेपालमा राज्य गर्दथे, यी पशुपूजक थिए। यही पशुपूजक किरातीले पूजा गर्ने गरेको पशु पछिल्लो कालमा आएर पशुपतिनाथका रूपमा पुजिन थालेको छ। अहिले पनि धेरै हिन्दू धर्मावलम्बीले पशुपतिनाथलाई आराध्यदेवका रूपमा भक्तिभावले पूजाआजा गर्दै आएका छन्। धर्ममा कलाको कुरा गर्दा वैदिक धर्म र यसैमा आधारित मूर्ति वा चित्रकला, तान्त्रिक धर्म र यसैमा आधारिक देवीदेवताका मूर्ति वा चित्र बनाउने परम्परा नेपालमा छ।
आठौँ शताब्दीदेखि तान्त्रिक धर्म नेपालमा उदय भएको मानिन्छ। तथापि यसपछि मूर्ति र चित्र पूर्णरूपमा तान्त्रिक धर्ममा आधारित भएर बनेको देखिँदैन। नेपालको कला इतिहास क्रमबद्ध रूपमा लेखिन सकेको छैन। यसर्थ नेपालमा प्राप्त भएका देवीदेवता विभिन्न कालमा अलग–अलग रूपमा देखिन्छन्। कहिले वैष्णव धर्मका विष्णु, कहिले राम वा कृष्ण देखिन्छन् भने कहिले यक्षहरू, कहिले बुद्ध, कहिले शिव, गणेश र शैव धर्मका अनेक देवता, कहिले शाक्त धर्मका अनेक देवीहरू पनि हाम्रो कलामा प्रशस्तै आउने गरेका छन्। बौद्ध धर्मको वज्रयान सम्प्रदाय र तन्त्रयानको उदय भएसँगै धेरै हात र खुट्टा भएका, अद्भूत, डरलाग्दा, अलौकिक रूप भएका, सम्भोगरत जोडीहरू लगायत अनेक देवीदेवता नेपाली कलामा देखापरे। पहिला बौद्ध धर्ममा मात्र देखापरेका यस्ता तान्त्रिक देवीदेवता पछि हिन्दूधर्ममा पनि देखापरेको इतिहास छ। यी सबै देवीदेवता पहिला शिलाका मूर्तिमा, यसपछि धातु, काठ हँुदै ताडपत्र र भोजपत्रमा ग्रन्थचित्र, पौभा चित्रमा प्रतिविम्बित भएका छन्। कागज र कपडामा पछि चित्र लेख्न थालिएको हो।
नेपालमा वैदिक धर्ममा आधारित देवीदेवता देखिनुअघि नै यक्ष, यक्षणीलाई देवीदेवताका रूपमा कल्पना गरिएको थियो। मूलतः भारतमा समेत मौर्य राजवंशभन्दा पहिला ठुल्ठूला यक्षका मूर्तिबाहिर खुला आकाशमुनि निर्माण गरिएका हुन्थे। अलि बेढंगका, भद्दा ठूला ओठ भएका, शारीरिक स्वरूप पनि त्यति नमिलेका यक्षका मूर्तिहरूमा बाहिरी प्रभावको सन्दर्भ उठ्दैनन्। यसैले यसलाई लोककलाको नजिक राख्ने, वा व्यवस्थित हुन नसकेको कलाका रूपमा व्याख्या गर्ने प्रचलन छ। यसैका आधारमा नेपालमा लिच्छवि कालका मूर्तिभन्दा अलग्गै प्रकारका यस्तै लक्षण देखापरेका मूर्तिलाई प्रायः यक्षका मूर्ति भन्ने प्रचलन पनि छ।
नेपाली कलामा मूलतः देवी–देवता तीन–चारवटा सन्दर्भमा प्रवेश भएको देखिएको छ। विशेष गरेर विविध धर्मको प्रचार–प्रसार गर्न, आफ्नो धर्ममा आस्था वा विश्वास जगाउन र धर्मको मूल सन्देश प्रवाह गर्न सबैभन्दा सजिलो प्रभावपूर्ण माध्यम भनेको कला नै हुन गयो।
अनार्य जातिले यक्ष–यक्षिणीलाई देवीदेवताका रूपमा मान्ने गर्थे। यही यक्ष पनि पछिल्लो कालमा आएर हिन्दू धर्मको एक अलग्गै देवीदेवताका रूपमा स्थापित समेत भएको देखिन्छ। यस्ता यक्षका मूर्तिहरू भारतमै पनि ब्राह्मिनिकल कला वा कुन सम्प्रदायअन्तर्गत रहेको थियो, स्पष्ट छैन। नेपालमा पनि यसको स्पष्ट व्याख्या गरिएको छैन। जहाँसम्म चित्रकलाको प्रसंग छ, आठौँ शताब्दीका राघवदेव (जसले नेपाल संवत्को स्थपाना गरे) को र १२औँ शताब्दीमा अरिमल्लको (मल्ल काल) वरिपरिको काल नेपालको ग्रन्थचित्र निर्माणको काल रह्यो। हुन त नेपालमा प्रमाणसहित ग्रन्थचित्र चाहिँ सन् ९२० मा मात्र प्राप्त भएको इतिहास छ।
नेपाली कलामा मूलतः देवी–देवता तीन–चारवटा सन्दर्भमा प्रवेश भएको देखिएको छ। विशेष गरेर विविध धर्मको प्रचार–प्रसार गर्न, आफ्नो धर्ममा आस्था वा विश्वास जगाउन र धर्मको मूल सन्देश प्रवाह गर्न सबैभन्दा सजिलो प्रभावपूर्ण माध्यम भनेको कला नै हुन गयो। मन्दिर बनाउनेदेखि मूर्ति बनाउने कुरामा आ–आफ्ना देवी–देवतालाई राम्रो कलात्मकताका साथ प्रस्तुत गर्ने स्पष्ट मनसाय रहेको देखिन्छ। भक्तिभाव जताउने निश्चित ठाउँ मठ–मन्दिर उपयुक्त बन्न गयो। आम भक्तलाई आफ्नो भक्तिभाव जनाउन, पूजा र प्रार्थना गर्न यस्तै मूर्ति चित्रमार्फत सजिलो पनि भयो। चित्रको सन्दर्भ त अझ गहिरो छ। बौद्ध धर्ममा बज्रयानको प्रवेश भएपछि तन्त्रमन्त्रका कुराहरू, बौद्धधर्मका गुह्य रहस्य, आफूले ध्यान गर्ने कुरादेखि आम मान्छेलाई यसका ज्ञान प्रवाहित गर्ने कुरामा पनि चित्र अति उत्तम माध्यम बनेको देखिन्छ। बज्रयानका महाज्ञानी बज्राचार्यहरू कुनै गुप्त स्थानमा यसै प्रकारका तान्त्रिक पौभा वा थाङ्का अगाडि राखेर ध्यान गर्ने गर्छन्। यस्तै प्रकारका चित्रहरू राखेर यसैलाई व्याख्या गरेर पनि सन्देशलाई प्रवाहित गर्ने गर्छन्। मानवको दिनचर्यामा गरिनुपर्ने दैनिक क्रियाकलाप, चाडपर्व, जात्रा आदिमा पनि कला अभिन्न अंग भएर देखापरेको छ। चाडपर्व, जात्रा कुनै न कुनै देवी–देवतासँग गाँसेर सदियौँदेखि यसलाई प्रचलनमा ल्याइएको छ। कुनै पनि जात्राका क्रियाकलापमा विविध रूपमा कलाले प्रवेश पाएको छ। लिच्छविकालदेखि निरन्तर रूपमा मनाइँदै आएको मच्छेन्द्रनाथको जात्रा, जहाँ नेवार समुदायको ठूलो आस्था र विश्वास जोडिन गएको छ। पानी नपरेर खडेरीबाट बच्न मनाइने यस जात्रामा नयाँ काठ काटेर मात्र रथ बनाइँदैन, रथमा कलाकारले कलात्मक बुट्टा भर्नेदेखि देवीदेवताका रूप पनि अंकित गर्ने प्रचलन छ। लिच्छविकालदेखि नै चलन चल्तीमा आएको जय बागेश्वरीको मन्दिरमा हरेक १२ वर्षमा नयाँ चित्र लेखिने प्रचलन आजसम्म पनि जिउँदै छ। नेपाली कलामा देवी–देवतालाई सम्मानपूर्वक राख्दाराख्दै १५औँ शताब्दीताका नयाँ ढंगको शैलीले प्रवेश ग¥यो। कमिसन ओर्कको रूपमा बन्ने गरेका यस्ता चित्रमा आममान्छेलाई पनि संलग्न गराएर देवीदेवता र आम मान्छेलाई एउटै चित्रमा चित्रण गरिएको प्रसंग रमाइलोसँग आएको देखिन्छ।
मूलतः नेपाली कलामा सुरुका कालदेखि कहिले सेकुलर र कहिले सेक्रेट आर्टले ठाउँ पाउँदै आएको देखिएको छ। कति बेला नेपाली कलामा देवीदेवता छिरेका छन्, कुनै कलाका बिनादेवीदेवताले भरिएको हुन्छ। हुन त यो परम्परा नेपालबाटै सुरु भएको हो÷होइन, यसै भन्न सकिन्न। किनकि भारतमा १६औँ शताब्दीतिर देखापरेको मुगल कला नितान्त सेकुलर आर्टको विशेषता लिएर देखापरेको थियो भने यसैको प्रभावमा विकसित भएको राजस्थानी कलामा राधा र कृष्णको जोडीले ठाउँ पाएको देखिन्छ। यसरी कला सेकुलरबाट सेक्रेटतर्फ सहजै मोडिएको देखिन्छ। नेपालको तराईमा देखिने मिथिला कलामा अधिकांश लौकिक कलाको बोलबाला रहे पनि धेरै ठाउँमा राधाकृष्णको जोडी पनि देखिन्छन्। नेवार समुदायको लोककला (पुँज्या)मा अनेक प्रकारका बुट्टा, पातका लहरा गाँसिँदै देवीदेवताकै वाहन वा प्रतीकात्मक पशुपक्षी देखिन्छन्। नेपाली परम्परागत कलाका नाममा चिनिने सबैजसो मूर्ति वा चित्र देवीदेवताकै हुन्छन्। यस्ता मूर्ति वा चित्रको अहिले व्यवसाय पनि हुने गरेकाले यसका केही स्वरूप समय अनुसार परिवर्तन भएका छन्, तापनि आधारभूत विशेषता भने परिवर्तन भएको देखिँदैन। निश्चित देवीदेवताका आसन, आयुध, रङहरू, मूल देवी–देवतासँगै रहनुपर्ने अन्य देवी–देवता आदिलाई चित्रण गरिँदा आज पनि यसलाई कायमै राखिएको छ। अझ भन्नैपर्दा यस्तो पौभा र थाङ्का नै नेपाली कलाको मौलिक कला बन्न गएको छ। नेपालको कला भनेर यसैलाई चिन्ने गर्छन्। अहिले नेपाली कला समसामयिक धारामा प्रवेश गरेपछि पनि यस्ता देवीदेवतालाई मूल पात्रमा लिने सन्दर्भ अझ बढेर गएको छ। यस्ता पौभा कलामा पे्रममान चित्रकार, सूर्यबहादुर चित्रकारदेखि लोक चित्रकार, उदयचरण श्रेष्ठ हुँदै समुन्द्रमान सिंह श्रेष्ठ लगायत चित्रकार संलग्न भएका देखिन्छन्। यस्तै कलामा नौलो प्रयोग, नयाँ आकृति, प्रस्तुति, नयाँ संयोजनका साथ समुन्द्रमानका पौभाचित्र अद्भूत नै देखिन्छन्।
देवताको प्रसंग
मिश्रको यो एक प्राचीन किंवदन्तीको चर्चा गरौँ। सदियौँअघि मानवले खानाका लागि मिश्रको नाइल नदीमा डबुल्की मार्दा जलचर प्राप्त भयो। आभार व्यक्त गर्नमाथि आँखा उठाउँदा सूर्यको दर्शन भयो। र, सूर्यलाई आफूभन्दा शक्तिशाली ठानी दाताका रूपमा भक्तिभाव उत्पत्ति भयो। यसरी मानवमा सूर्यप्रति समर्पणको भाव उम्रिनु स्वाभाविक प्रक्रिया रह्यो। बिस्तारै यसैका सामाजिक प्रथा पनि बस्यो। पछि कालान्तरमा याचना, प्राथना र पूजाआजा हँुदै सूर्य नै भगवान्का रूपमा रहेको गाथा छ।
अर्को प्रसंगचाहिँ सिन्धु घाँटी सभ्यतासँग सम्बन्धित छ। इसापूर्व २५०० तिर (यसको समयबारे विभिन्न विद्वान्का भिन्दाभिन्दै तर्क छन्) देखापरेको मानिने सिन्धु घाँटी सभ्यता, जुन अहिले पाकिस्तानमा पर्छ, यसको उत्खननपछि प्राप्त अनेक पुराताŒिवक वस्तुमा स–साना माटाका मूर्ति पनि प्राप्त भए। इसापूर्वमा विकसित भएको यस सभ्यतामा मानवले प्रयोग गर्ने भाँडाकँुडादेखि सामान्य मान्छेका मूर्ति नै बढी मात्रामा प्राप्त भएका छन्। तथापि कुनै–कुनै मूर्तिलाई विशेष जोड दिएर कलाविद्ले वैदिक देवी–देवतासँग जोड्न खोजेको देखिन्छ। यसपछि कलामा देवीदेवताको चर्चा गर्दा भारतमा उदय भएको इसापूर्व चौथो शताब्दीको मौर्यकालको सन्दर्भ हेर्नुपर्छ। यही वंशका ईसापूर्व तेस्रो शताब्दीका अशोक सम्राटपछि स्पष्टसँग बौद्ध धर्मलाई धुमधामका साथ प्रचार–प्रसार गरियो। र, यसैसँग गाँसिएर बौद्ध धर्मसम्बन्धी बौद्ध प्रतीकात्मक वस्तुहरू कलात्मक रूपमा स्थापित हँुदै गए। ब्राह्मी लिपि पनि यसैबखत अस्तित्वमा आएको हो। बौद्ध वास्तुकला, स्तूप, स्तम्भकला, (सम्भवतः बिहार पनि) आदिसँगै यसैबखत मानव समुदायमा देवीदेवताका अमूर्त वा प्रतीकात्मक रूपहरूले प्रवेश पाएको देखिन्छ। अलिकति कमजोर भए पनि यसैबखत ब्राह्मिनिकल धर्म पनि अस्तित्वमै थियो। तथापि आधिकारिक रूपमा देवी–देवताका रूपहरू र मन्दिरहरू बनेको भेटिँदैन। यसपछि भारतको कुषाणकालमा विशेष गरेर मथुरामा बुद्धको मानव–स्वरूपको मूर्तिको निर्माण भयो। सम्भवतः यही नै पहिलो मानव–स्वरूपको बुद्धको मूर्ति हो भन्ने गरिन्छ। यसैबेला गान्धारमा ‘ग्रिको रोमन’ शैलीका प्रशस्तै रूपमा राजा–महाराजाका मूर्ति बनेको पाइन्छ।
इसापूर्व पहिलो दोस्रो शताब्दीदेखि अजन्ता गुफा बन्न थालेपछि अजन्ताका २८ वटा गुफामध्ये अधिकांश बौद्ध स्तुपा, बुद्धका अनगिन्ती मूर्तिहरू, बिहारहरू बनेका छन्। भित्ताभरि बुद्धका जातक कथामा आधारित चित्र चित्रित गरिएका छन्। यी कलाले सम्भवतः दक्षिण एसियाका सबैजसो मुलुकका कलामा गहिरो प्रभाव पा¥यो। यस प्रकार भारतमा गुप्तकालसम्म आइपुग्दा विशेष गरेर ईसाको पाँचौँ शताब्दीमा त अति राम्रा, घतलाग्दा बौद्ध धर्मका जातककथामा आधारित चित्र, अनेक मूर्तिहरू, बिहारहरू प्रशस्तै रूपमा बनेको देखिन्छ। यसै बेला गुप्तकालमा ब्राह्मिनिकल धर्मको पुनरोत्थान हुँदै भक्तिको अवधारणा आयो। यसका लागि अनेकौँ वैदिक देवी–देवताका मूर्ति बन्न थालेको इतिहास छ। यो अवस्थालाई कुनै कुनै विद्वान्ले इसापूर्व दोस्रो शताब्दीसम्म पनि तानेका छन्। यसपछि रामायण, महाभारत पनि लिपिबद्ध गरियो भन्ने भनाइ छ। यसबेलादेखि देवी–देवतालाई एक अलग्गै रूपमा राख्न विशेष ठाउँको व्यवस्था स्वरूप मन्दिरहरूको निर्माण भएको देखिन्छ। यसपछिका दिनमा अनेक देवीदेवता प्रकाशमा आए। यसैबेला अजन्ता गुफा सँगसँगै भारत वर्षमा यस्ता साना–ठूला अनगिन्ती गुफा पाइएका छन्। कति गुफामा राम्रा–राम्रा मूर्ति र चित्रहरू पनि प्रशस्तै रूपमा पाइएका छन्। यसबेला मानव–निर्मित यस्ता गुफा बनाउने प्रचलन पनि खुबै बढेको देखिन्छ। प्रकृतिले बनाइदिएका गुफामा कलाको सिर्जना गर्न, कडा चट्टानहरूलाई फोडेर गुफा निर्माण गर्न, अनि यसैमा कलाको निर्माण गर्न करिब–करिब यस बखतमा होडबाजी चलेको जस्तो देखिन्छ। यस प्रकारले धर्ममा कला संलग्न नभएको भए, वा कलामा देवी–देवता नभएको भए यसको अस्तित्व कस्तो हुन्थ्यो होला, एउटा विचारणीय प्रश्न यहाँ देखिन आउँछ।
कलाको प्रसंग निकालिराख्दा धर्मको उपस्थिति अनिवार्य रूपमा किन हुन्छ ? वा, कलामा देवीदेवता किन अनिवार्यजस्तै देखिन आउँछन् ? आजका दिनसम्म पनि देवीदेवताका चित्र वा मूर्तिहरू मात्रै अधिक मात्रामा किन उपलब्ध भएका छन् ? यस्ता अनेकौँ प्रश्नहरू घरीघरी किन आउँछन्। यी जिज्ञासा सदियौँदेखि मानवमा रहेका छन्। यसका लागि भरपर्दो एउटा कथन जनमानसमा व्याप्त छ, त्यो के हो भने, आदिमकालदेखि नै मानवको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रह्यो। प्रकृतिमा रहेको असीम शक्तिको परिकल्पना मानवले आदिम कालदेखि महसुस गर्दै आएको देखिन्छ। यो असीम शक्तिले एकातर्फ आनन्द, सुन्दर वातावरण प्रदान गरेको छ भने, अर्कोतर्फ प्रकृतिको विनाशकारी स्वभावले मानवमा एक प्रकारको भयको भावना पनि सिर्जना गरेको पाइन्छ। अनि, प्रकृतिसामु निरीहता वा असमर्थताको अनुभूत भएपछि मानवमा समर्पणको भाव विकसित भएको देखिन्छ। यो समर्पण धर्मको अभिन्न अंग अर्चना, आराधना र बन्दनाको स्वरूपमा देखाप¥यो। मानवले सामूहिक रूपमै यो भयबाट उन्मक्त हुन धर्मका विविध रूप सिर्जना गर्दै अगाडि आएको देखिन्छ। प्रकृतिको यो भयानक रूप मानवको उपयोगी कसरी बन्न सक्छ भनी चिन्तन गर्दा मानवमा विचारभन्दा पनि भावना अगाडि बढेको देखिन्छ। जहाँ तर्क र विचारको समाप्ति हुन्छ, त्यहाँ विश्वास र भावनाको पृष्ठभूमिमा धर्मको जन्म हुन्छ। यही यस्ता विचार, विश्वासलाई आम मानवमा विस्तारित गर्न कला उपयुक्त माध्यम बन्यो।
(लेखक कलाकार तथा कला समीक्षक हुन् ।)
प्रकाशित: १ कार्तिक २०७७ ०३:५० शनिबार