बोधराज पौडेल
बस्तीहरूमा
अनायासै आज
झ्याउँकिरी बासे कोलाहल शब्दमा
लाग्छ आज बस्तीमा कुनै मखविल पस्यो
यी झ्याउँकिरीका बच्चाहरू कुमल्याउन
सधै झ्याउँकिरी साँझमा बास्थे
झ्याउँँझ्याउँ र झ्याइँझ्याइँ गरेर
तिनका बच्चाहरू त्यो शब्दमा
आफ्नो भाषा उर्तान सिक्थे
तोते शब्द र बोलीहरूमा
तर, झ्याउँकिरीहरूको बास्ने समय
आज बदलिएको छ
आज यी दिनमै बास्दैछन्
कोलाहल शब्दमा
टोलै बोक्ने गरेर
अनि मेरो मन तनयात्मा बन्नै सकेन
यी झ्याउँकिरीका आवाजले
म उठेर बाहिर हेर्न खोजे
अनायासै मेरा आँखाहरू
धमिला र पिरा भए
खोई केके कुरा मुखमा परे
म त बास्नै सकिन
त्यसै ठाउँमा मूर्छित भएँछु
जब म बिउँझिएँ त्यहाँ
त झ्याउँकिरीका खोस्टाहरू मात्र थिए
ती बासिरहेका झ्याउकिरीहरू
अब त निष्प्राण भइसकेका थिए
त्यसैले झ्याउँकिरी बास्दा
आज पनि म डराउँछु
ती मखविल संझेर ।
प्रकाशित: १९ आश्विन २०७७ ०८:३६ सोमबार





