८ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मैले गरेको त्यो गल्ती

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्व नै आक्रान्त बनेको छ। चीनको वुहानबाट सुरु भएको महामारीका कारण पहिलो विश्वका उत्कृष्ट स्वास्थ्य प्रणाली भएका देशहरू समेत कोरोना भाइरसबाट हायलकायल बने। विश्वको अर्थतन्त्रलाई नै हल्लाइदिएको यो लडाइँ लड्न शक्ति राष्ट्रसँग भएका ठूला बम र बारुद अर्थहीन बने। मिसायल र बम बोकेका सिपाही होइन, अहिले फ्रन्टलाइनका सिपाही चिकित्सक, नर्स र स्वास्थ्यकर्मी भएका छन्। संक्रमितको जीवनरक्षा गर्ने लडाइँमा संसारभरि अहिले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी छन्। संक्रमणलाई फैलन नदिन सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सुरक्षाकर्मी पनि उत्तिकै जोखिम मोलेर अहोरात्र खटिएका छन्। यसबाट कसरी जोगिने भन्ने चिन्ता सबैमा छ अहिले। ममा पनि हुनु स्वाभाविक थियो। तर जोगिन सकिनँ। मास्क, सेनिटाइजर, भौतिक दूरीसहितका सावधानी अपनाए संक्रमणबाट जोगिन सकिन्छ। पेसाको जानकारी भएकाको मनमा लाग्न सक्छ, पत्रकार कुरा गर्छन्, सावधानी अपनाउँदैनन् ? हाम्रा कतिपय व्यवहारले त्यस्तै पनि देखाउँछ। पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी भन्दैमा कोरोना नसर्ने होइन, सर्छ। किन सावधानी नअपनाएको त ? अपनाउँदा अपनाउँदै पनि स¥यो। कसरी ?

बिपी कोइरालाको १०७औं जन्मजयन्ती (भदौ २४) मुखमै थियो। उनै बिपीले स्थापना गरेको नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएको थियो। सोही सन्दर्भमा बिपी पुत्र एवं कांग्रेस महामन्त्री शशांक कोइरालासँगको अन्तर्वार्ताका लागि प्रधानसम्पादक गुणराज लुइँटेल र म भदौ २२ गते महाराजगन्ज पुग्यौं। अन्तर्वार्ता लिने र दिने दुवै एकअर्काबाट संक्रमण हुँदैन र छैन भन्ने ढुक्कमा थियौं। त्यही भएर अन्तर्वार्ताका लागि महामन्त्री कोइराला पनि तयार हुनुभयो।  गुणराजदाइभन्दा म कोइराला निवास पुग्न केही ढिलाइ भयो। म पुग्दा उहाँहरूले चियासहित कुराकानी सुरु गरिसक्नुभएको थियो। सामान्य शिष्टाचारसहित मुख्य उद्देश्यमै ध्यान केन्द्रित भयो। बिहान करिब १० बजे त्यहाँ पुगेका हामीले शशांकसँग औपचारिक र अनौपचारिक कुराकानीमा साढे दुई घन्टा बढी समय बितायौं। त्यसपछि हामी आ–आफ्नो बाटो लाग्यौं। गुणराज दाइ अफिस जानुभयो। म आफू बस्ने ठाउँतिर। त्यस दिन म अफिस गइनँ। घरबाटै केही काम गरें, बाँकी समय अन्तर्वार्ता उतार्नमै प्रयोग भयो। ढिलो गरी पारिवारिक संघर्षका केही कथा–व्यथाबाहेक उतार्ने काम सकियो।  

भदौ २३ गते घरमै बसेर बिपी र कांग्रेसलाई जोडेर एउटा समाचारको प्रारूप तयार गरेर करिब पौने ४ बजेतिर कार्यालयको भ¥याङ चढ्दै थिए, मोबाइलको घण्टी बज्यो। फोन उठाउनेबित्तिकै नागरिक अनलाइनका एक साथीले भने, ‘कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण भयो रे ! सोधिदिनू न समाचार हाल्नुप¥यो ?’ हिजोसम्म फिट नै थिए, कोरोना भयो होला ? मनमनै प्रश्न गर्दै स्वकीय सचिव भरत तिवारीलाई फोन गरें। उनले शशांकमा संक्रमण भएको पुष्टि गरे। मनमा चिसो पस्यो। मैले त्यही जानकारी सहकर्मी मित्र र गुणराजदाइलाई म्यासेजमार्फत गराएँ। कम्प्युटर खुल्दै थियो, दुई सहकर्मी भाषा शर्मा र वसन्त खड्का काममा व्यस्त थिए। त्यहीबेला गुणराज सरको फोन आयो। म उहाँको कार्यकक्षमा पुगे। अब के गर्ने ? परिवार, सहकर्मीहरूका साथै सामाजिक उत्तरदायित्व निर्वाहका लागि पनि शशांकलाई भेटेको पाँच दिन आइसोलेसनमा बस्नुपर्छ होला। हामी दुवैमा एक खालको तनाव बढिसकेको थियो। कहाँ कसरी भन्ने कुरा नहुँदै म प्रधानसम्पादक कक्षबाट बाहिरिएँ र तयार भएजति समाचार तथा अन्तर्वार्ता न्युज-यापमा राखिदिएँ। अरु सहकर्मीका समाचार सिस्टममा पहिले नै थिए। तर, त्यत्तिकै छाडेर म घर फर्कें। बाटोमा गुणराजदाइको फोन आयो, ‘बाल कता हो ?’ कार्यालयमा नदेखिएपछि उहाँले फोन गर्नुभएको रहेछ। ‘अब कहाँ कसरी बस्ने त ?’ उहाँले भन्नुभयो। मैले भनें, ‘म त फर्कें दाइ, घरमै छुट्टै कोठामा दुःखसुख गरेर बस्ने हो, अन्त कहाँ जानु ?’ उहाँको जवाफ थियो, ‘हुन्छ त त्यही गरौं।’  

कोरोना भाइरस केही होइन भनेर ख्यालख्याल नगरौं। बरु मैले जस्तो तपाईंहरूले अर्को गल्ती नदोहो¥याउनुहोला। मुखमा मास्क लाउन र हातमा सेनिटाइजर दल्न जति ध्यान दिनुहुन्छ, त्यति नै मोबाइललाई पनि संक्रमण मुक्त बनाउनुस्। त्यति मात्र होइन, सवारीसाधन वा घर, कोठाको साँचो, गोजी, ब्यागमा पनि सावधानी अपनाउनु आवश्यक छ।

सधैं ढिला गरी घर पुग्ने म चाँडै नै गेटमा देख्दा छोराछोरी फुरुङ्ङ पर्दै अघिल्ला दिनमा जस्तै एउटाले सर्फपानी र अर्को सेनिटाइजर बोकेर आइपुगे। जब मैले कांग्रेस महामन्त्री कोइरालालाई संक्रमण भएको र पाँच दिन आइसोलेसनमा छुट्टै कोठामा बस्ने बताएपछि म छिटो घर पुग्दा उनीहरूमा पैदा भएको खुसी क्षणभरमै भंग भयो। तर, मैले उनीहरूलाई संक्रमण हुँदैन भनेर आश्वस्त तुल्याएँ। म पनि ढुक्क थिएँ, अन्तर्वार्ता लिन जाँदा मात्र होइन, घरबाट बाहिर निस्कँदा पनि एउटा होइन दुइटा मास्क लगाउँथे। सेनिटाइजरको बारम्बार प्रयोग गरेकै हुन्थें। अफिस जाँदा लगाएका लुगा छुट्टै ठाउँमा राख्थें। आएपछि हातमुख धोएकै थिएँ। पछिल्लो समय बाहिर खान बन्द गरेको थिएँ। अनि कसरी लाग्छ कोरोना ?  

यही निर्धक्कताबीच पनि हामी पूर्ण आइसोलेट भयौं। घरबाटै अफिसको कामचाहिँ गरिँदै थियो। कामका लागि मात्र होइन, स्वास्थ्य अवस्थाका विषयमा चासो राख्दै गुणराजदाइले बारम्बार फोन गरिरहनुभएको थियो। कोरोना भाइरसको संक्रमण नभए पनि परिवार र अन्य सहकर्मीलाई आश्वस्त पार्न भए पनि पिसिआर गराएर मात्र पुनः कार्यालय जाने हाम्रो सहमति थियो। सल्लाहमै उहाँले चौथो दिनमा स्वाब दिनुभयो, मैले पाँचौं दिनमा मात्र दिएँ। तर रिपोर्ट एक घन्टाको फरकमा आयो, हामी दुईको। एक घन्टाअघि उहाँको रिपोर्ट नेगेटिभ आएपछि आफ्नो पनि रिपोर्ट त्योभन्दा फरक नहुनेमा म अझ ढुक्क थिएँ। तर मेरो विश्वास करिब ८ बजेतिर भंग भयो। प्रशासन प्रमुख अभिषेक श्रेष्ठले फोनमा भने, ‘बालदाइ ! तपाईं आइसोलेसनमै बस्नुहोला, रिपोर्ट पोजेटिभ आयो।’ म छाँगाबाट खसेजस्तो भएँ। मेरा विश्वास र मान्यताहरू सबै भत्किए। नौनाडी गलेर आयो। मेरो सावधानीले कोरोना लाग्दैन भन्ने दृढ विश्वास पराजित भयो, म हारें। सरकारले जारी राखेको कोरोना गणनामा म पनि अंकित भए। राज्यका लागि एकजना संक्रमित थपियो। तर म र मेरो परिवारका लागि सम्पूर्ण कुरा थियो त्यो। तर पनि सहनु र सम्झाउनुबाहेक कुनै विकल्पै रहेन मसँग। 

बिपी पुत्र एवं कांग्रेस महामन्त्री शशांक कोइरालासँगको अन्तर्वार्ताका लागि प्रधानसम्पादक गुणराज लुइँटेल र म भदौ २२ गते महाराजगन्ज पुग्यौं। अन्तर्वार्ता लिने र दिने दुवै एकअर्काबाट संक्रमण हुँदैन र छैन भन्ने ढुक्कमा थियौं। त्यही भएर अन्तर्वार्ताका लागि महामन्त्री कोइराला पनि तयार हुनुभयो।

त्यसपछि मेरो प्राथमिकता बदलियो। थालेका काम अलपत्रै छाडेर श्रीमती, दिदी र धादिङ भएका भाइलाई संक्रमण भएको जानकारी गराएँ। उनीहरू बेचैन हुनु अस्वाभाविक थिएन। कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा बुवाआमामा चैनको निद्रा हराएको अवस्थामा संक्रमण नै भयो भन्दा के हुने हो भन्ने एकातिरको चिन्ता, दुई महिनादेखि गेटबाहिर ननिस्केका बच्चाहरूमा संक्रमण होला भन्ने अर्कातिरको चिन्ता। त्यसैले बुवाआमा र बच्चाहरूलाई ढाँट्दै जाने नीति बनायौं हामीले। त्यहीबीचमा केही आफन्त, सहकर्मी र साथीभाइलाई पनि जानकारी गराएँ। संक्रमणले पार्ने असर, समाजको असहयोग, अस्पतालहरूका गैरजिम्मेवारीपनले तरंगित बनाएकोे मनमा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक, निर्देशक, कार्यकारी निर्देशक, प्रधानसम्पादकसहित सहकर्मीहरूको सान्त्वनाले केही मलमपट्टीको काम गथ्र्याे। तर, संक्रमण कसरी भयो भन्ने प्रश्नले सताइरहेको स्थितिमा अब कहाँ जाने, के गर्ने, कसरी बस्ने भन्ने अनिश्चय र अन्योल बढ्दै थियो।

स्वास्थ्यमा थप समस्या आएबाहेक बस्दै आएको कोठालाई नै संक्रमणपछिको पनि आइसोलेसन बनाउने निष्कर्षमा पुगें। त्यसका पछाडिको कारण थियो, सरकार र उसले बनाएको आइसोलेसनप्रतिको अविश्वास। दोस्रो परिवारसँग छुट्टिएर बाहिर बस्दा बाल मनोविज्ञानमा पर्ने असर र उमेरले पाको बन्दै जानुभएका बुवाआमामा संक्रमण भएको जानकारी र त्यसले बढाउने तनाव। आफूलाई त त्यसै थियो, अझ थपिने थियो नै। बरु गाह्रोसारो नपर्दासम्म दुःखसुख परिवारकै प्रत्यक्ष निगरानीले रोगविरुद्धको लडाइँ सहज हुनेछ। तर, आइसोलेसनलाई कसरी व्यवस्थित बनाउने र परिवारका अन्य सदस्यलाई कसरी संक्रमण हुनबाट जोगाउने भन्ने मुख्य चुनौती थियो। त्यसले पढेको मात्र होइन परेका (कोरोना संक्रमण भएका) सँगको परामर्श महत्वपूर्ण हुन्छ। त्यही भएर बिहान उठ्नेबित्तिकै सहकर्मी दाजु श्रीराम सुवेदीको शरणमा परें। आइसोलेसनको बसाइलाई अझ व्यवस्थित र सुरक्षित बनाउन उहाँसहित चिकित्सकीय सल्लाहअनुसारको तयारी सके पनि मनले संक्रमण भएको विश्वास गरिरहेको थिएन। मैले पुनः परीक्षण गराउने निधो गरें। तर त्यो दिन सम्भव भएन। आइतबार फेरि पिसिआरका लागि स्वाब दिएँ।

कसरी र कहाँबाट स-यो त कोरोना ? गाउँघरतिर बेलाबेला सुन्ने गरेको थिएँ, मलाई हुनुपरेको फलानोलाई दोष पाउन। कांग्रेस महामन्त्री कोइराला र मलाई पनि त्यस्तै भयो। भाइरस महामन्त्रीबाटै आयो होला तर सावधानी मेरो पुगेन। मुखमा मास्क, भौतिक दूरी र हातमा सेनिटाजर त लगाएँ, कोइरालासँगको अन्तर्वार्ता रेकर्डका लागि प्रयोग गरेको मोबाइलमा मेरो सावधानी पुगेन। गल्ती त्यहीँ भयो। उहाँका अगाडि दुई घन्टासम्म रहेको मोबाइलमा संक्रमण फैलाउन सक्ने भाइरसहरू बसे, अरू सावधानी अपनाएकाले ढुक्क भएर हिँडेको मैले मोबाइलमा कोरोना भाइरसको बोकेर हिँडेको पत्तै भएन। तैपनि झिनो आशा थियो, दोस्रो रिपोर्ट नेगेटिभ आउँछ कि भन्ने। तीन दिनपछि फेरि स्वास्थ्य सेवा विभागले टेलिफोनमार्फत रिपोर्ट पोजेटिभ आयो। स्थानीय तह र त्यहाँका स्वास्थ्यकर्मीले कन्ट्याक्ट ट्रेसिङ, कहाँ कसरी बस्ने र स्वास्थ्य अवस्थाको जानकारी लिन एकपटक फोन गर्नुबाहेक राज्यको उपस्थिति छैन। होम आइसोलेसनमा बसेका मजस्ता धेरै संक्रमित ठीक भइसके कि अस्पतालमा उपचार गराइरहेका छन् भन्नेबारे राज्य अनभिज्ञ छ। संक्रमित गैरजिम्मेवार भएर समुदायमा खुलेआम हिँडडुल गरिरहेको छु कि निधन नै भइसक्यो, सरकारलाई कुनै जानकारी छैन।  

अमेरिकासहित शक्ति राष्ट्रहरू समेत हायलकायल भएका बेला सरकारले साँच्चै यसलाई नियन्त्रणमा लिन चाहेको हो भने संक्रमितप्रति निगरानी राख्नुपथ्र्याे। हुन त कतिपय बुजु्रगहरूले भन्दै आएका छन्– हाम्रोजस्तो विपन्न मुलुकले योभन्दा के गर्न सक्छ ? ठिकै हो, सरकार र शासकहरू गैरजिम्मेवार बन्दा योभन्दा बढी केही गर्न सकिँदैन। आफ्नो पार्टीको आन्तरिक विवाद नमिल्दासम्म पाँच महिना लामो लकडाउन गरेर संक्रमणसँग जुध्न कुनै तयारी नगरेको नेकपा नेतृत्वको सरकारले विवाद सल्टेको भोलिपल्ट संक्रमण तीव्र गतिले बढे पनि सबै कुरा सुचारु गर्ने निर्णय ग-यो। आफ्नो जिम्मेवारीबाट पन्छियो। यसबाहेक उसले केही गर्न सक्दैनथ्यो ? त्यसैले त नागरिक थप जिम्मेवार हुनुपरेको छ। तपाईंलाई केही नहोला तर तपाईंको असावधानीले घरपरिवार, साथीभाइ, समाजमा संक्रमण फैलिन सक्छ। त्यसले आफैं सजग र सचेत बनौं। कोरोना भाइरस केही होइन भनेर ख्यालख्याल नगरौं। बरु मैले जस्तो तपाईंहरूले अर्को गल्ती नदोहो-याउनुहोला। मुखमा मास्क लाउन र हातमा सेनिटाइजर दल्न जति ध्यान दिनुहुन्छ, त्यति नै मोबाइललाई पनि संक्रमण मुक्त बनाउनुस्। त्यति मात्र होइन, सवारीसाधन वा घर, कोठाको साँचो, गोजी, ब्यागमा पनि सावधानी अपनाउनु आवश्यक छ।  

हुन त कतिपयले कोरोना भाइरस केही होइन भनेको र लेखेको सुनेको छु। जसले भोगेको छ, उसलाई थाहा हुन्छ यसको पीडा। भाइरसको संक्रमण र त्यसको लक्षण देखिँदा हुने पीडा त आफ्नो ठाउँमा छ। ढोकामा राखिदिएको खाना तान्दै खाँदै गर्नुपर्दाको पीडा अनि भाइरसले शरीरमा संक्रमण गर्ने र त्यसका लक्षणहरू देखिएकालाई मात्र थाहा हुन्छ, यो के हो र कतिसम्म दुःख हुन्छ भन्ने।  

भाइरस शरीरमा सक्रिय हुँदा कमजोर अंगमा यसले आक्रमण गर्न थाल्छ। जसले गर्दा रुघा र सुक्खा खोकी लाग्नु, अधिक ज्वरो आउनु, टाउको दुख्नु, श्वास प्रश्वासमा समस्या आउनेजस्ता लक्षण देखिन्छन्। त्यति मात्र होइन, मुखमा स्वाद नआउनु र गन्ध चाल नपाउनु, दिसा लाग्नु, पिसाबमा पनि समस्या देखिनु, ज्यान दुख्नु, अधिक शिथिलपना आउनु, शरीर चिलाउनु, राता बिबिरा आउनु पनि यसका लक्षण हुन्। कसैमा यीमध्ये धेरै लक्षण देखिन्छ। केहीमा एक–दुईवटा मात्र देखिन सक्छन्। सबैलाई एकै प्रकारको लक्षण देखिने होइन, देखिँदै नदेखिन पनि सक्ने चिकित्सकले बताउँदै आएका छन्।  

चिकित्सकका अनुसार लक्षण नै छैन भने पनि होमआइसोलेसन वा आइसोलेसनमा बस्दा चिसो, पिरो र तारेको खानेकुरा खानुभएन। रुघा, खोकी, ज्वरो आउन नदिन पूर्वसावधानी अपनाउन सुझाउने गरेका छन्। घाँटीमा समस्या आउन नदिन बाफ लिने, पखाला चल्न सक्ने भएकाले खानामा सावधानी अपनाउनुप¥यो। शरीरमा ज्वरो र अक्सिजनको मात्रा कति छ भने त्यसमा ध्यान दिनु आवश्यक हुन्छ। अक्सिमिटले शरीरमा ९० भन्दा तल ८९ देखियो भने चिकित्सकको परामर्शमा कृत्रिम अक्सिजनको सहयोग लिनुपर्ने अवस्था आउन सक्छ। त्यसैले आवश्यक पर्दा तत्काल अस्पतालसम्म पुग्न सक्ने गरी एम्बुलेन्स र अस्पतालको कनेक्सनमा सकेसम्म बस्नु राम्रो हुन्छ।  

त्यस्तै, भिटामीन ‘सी’, ‘बी’, ‘डी’ र प्रोटिनयुक्त खानेकुरा खान र झोलिलो पदार्थको अत्यधिक मात्रामा सेवन गर्न चिकित्सकले सुझाउने गरेका छन्। भिटामिन ‘सी’ को मात्रा बढाउन कागती खानु र प्रोटिन युक्त खानेकुराका लागि व्यक्तिको हैसियतअनुसार मकै, भटमास, कोदोदेखि काजु, ओखर, बदामलगायत कुरा पहिलेको भन्दा बढी खानु आवश्यक छ। हरिया सागपात, सलाद, रेसादार फलफूल र शरीरमा पानीको मात्रा कम हुन नदिने तातोपानी प्रशस्त खाने। कागती, मह, गुर्जो, तुलसी पत्ता, अदुवा, बेसार, दालचिनी, मरिच, ज्वानो, जिरासहित खानेकुराको प्रयोग पनि उपयुक्त हुन्छ। व्यायाम, ध्यान आदि शारीरिक स्फूर्ति र मानसिक तनाव हटाउन थप सहयोगी बन्छन्।  

आइसोलेसन र होम आइसोलेसनमा बस्दा सकेसम्म कोठाबाट ननिस्कने, निस्कनैपरे हातमा सेनिटाइजर र मुखमा मास्क लगाएर मात्र निस्कने। आफू बसेको छेउछाउ सकेसम्म परिवारका अन्य सदस्य आउन नदिने, आउनैपरे मास्क र फेससिल लगाउने, फर्केलगत्तै साबुनपानीले हातमुख धुन लगाउने। आफूले प्रयोग गरेका भाँडाबर्तन आफैं व्यवस्थापन गर्ने। बसेको कोठाको झ्यालबाहेक ढोका खुला नराख्ने। साझेदारी गर्नुपर्ने ठाउँमा सकेसम्म आफू गएको केही समयपछि मात्र परिवारका अन्य सदस्यलाई हिँडडुल गराउने। सकेसम्म सर्फपानीले दिनमा दुईपटक भुइँ पुछ्ने। सकेसम्म शौचालय अलगअलग प्रयोग गर्ने। सम्भव नभए परिवारका अन्य सदस्य गएपछि मात्र आफूले प्रयोग गर्ने र फेरि प्रयोग गर्नुअघि सर्फपानीसहित कीटाणु नष्ट गर्न सक्ने केमिकल प्रयोग गरेर मात्र प्रयोग गर्न चिकित्सकले सुझाउने गरेका छन्।  

मैले पनि यसरी नै १८ दिन गुजारें। नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक, निर्देशक, कार्यकारी निर्देशक, प्रधानसम्पादकसहित सबै सहकर्मी, शुभेच्छुक, शुभचिन्तक, आफन्त, साथीभाइको न्यानो माया, शुभकामना, शुभेच्छाले बढाएको आत्मबलले संक्रमण पुष्टि भएको ११ दिनमै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। तपाईंहरू सबैप्रति आभारी छु। सावधानी अपनाऔं, स्वस्थ्य रहौं।

प्रकाशित: १७ आश्विन २०७७ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App