८ वैशाख २०८१ शनिबार
कला

उत्सर्ग

कथा

जीवनका कथाहरू बाटोछेउ फुल्ने फूलहरूझैँ हुन्। हिँड्दै जाँदा, हेर्दै जाँदा, रंगीचंगी मौसमी फूलहरू वरिपरि फुलिरहेका देख्छौँ। कुनै ढकमक्क फक्रेका, कुनै भने मुर्झाएका। कुनै भित्ताका कापो चिरेर टुसुक्क फुलेका। कुनै बटुवाका पैतालामुनि कुल्चिएर पिल्सिएका। ध्यान दिएनौँ भने यी कुनै याद रहन्नन्। ध्यान दिएर हेरे यस्ता कैयन् फूल बाटोभरि यत्रतत्र छरिएका पाउँछौँ।  

यो एउटा त्यस्तै जीवनकथा हो। हिँड्दै जाँदा बाटोछेउ भेटेको एउटा सुन्दर फूलको कथा।

०००

बुङमतीबाट दक्षिणतर्फ पर्छ, फर्सिडोल। यसको दाहिनेतिर देशकै महत्वाकांक्षी आयोजनाले बागमती नदीको देब्रे किनारैकिनार ‘फास्ट ट्र्याक’ पक्रेको थियो, निजगढलाई तारो बनाउँदै। ‘पहेँला हात्ती’हरू जमिन खोस्रन तल्लीन देखिन्थे। फर्सिडोलबाट सिधै दक्षिण लागे डुकुछाप पुगिन्छ, देब्रे लागे सल्यानटार हुँदै छम्पी। देब्रे लाग्दाको बाटोको बीच कहीँकतै यो कथाको जरो भेटियो।  

घामबाट छेलिँदै, तर्किंदै उकालो लाग्दा पनि थकानले फतक्कै गलाएपछि बाटोभन्दा थोरै पल्तिरको शीतल छहारीमा लम्पसार पर्न पुगेँ। पारिपट्टि पश्चिमी डाँडामा झ्याम्म परेको रूखको छहारी मुन्तिर फर्पिङ जलविद्युत्को गोलाकार जलाशय म जसरी नै लम्पसार परेको हुँदो हो। पानीको तर्कनाले तिर्सना जगायो। साथै लगेको बोतल पानीको दुई घुट्कोले किञ्चित थकान मेटियो।

थाकेको शरीरले जमिनको आड पाएपछि आँखा बोझिलो हुन थाल्यो। वस्तुभाउ यत्रतत्र चर्दै थिए। सारुङका बथान रूखका हाँगाहाँगा चहार्दै कल्याङमल्याङ गर्दै थिए। कालोमा सेतो मिसिएको धोबी चरो छिनछिनमा पुच्छर ठाडो पार्दै भुइँमा चारो खोज्दै थियो। तलतिर कान्लामा एउटी वृद्धा कसैसँग गनगन गर्दै थिइन्। ती वृद्धाको तीखो आवाज हावाको झोक्कासँगै बत्तिँदै मसम्म आइपुग्थ्यो।  

‘नजा भन्या मान्दैनस् ? पिटम् तँलाई ? कति दुःख दिन्छ, ए बज्या ? अर्काआ बारीमा छिर्छस् ? खुट्टो भाँच्देला तेरा।’

होलान् नि तिनका चकचके केटाकेटीहरू। तिनैलाई गाली गर्दै होलान्। बरु अब लाग्नुपर्ला। यही सोच्दै उठेँ। तर, ती महिलाको निरन्तर आवाजका कारण गन्तव्यतिर लाग्नु साटो उत्सुकतावश आवाजतिर डोरिएँ।

खेतको कान्लोमा उभिएर पुगनपुग सत्तरीकी एउटी बूढीआमै लाठी उजाउँदै कसैलाई गाली गर्दै थिइन्। तर, वल्तिरपल्तिर परपरसम्म कहीँ कोही देखिन्नथ्यो। ६–७ वटा बाख्रा झुन्ड बनाएर खेतसँगैको बुट्यानका पात चुँडाल्दै चपाउँदै थिए। ती वृद्धा भने कम्मरमा हात हालेर कुप्रो जिउ छिनछिनमा सोझ्याउँथिन् र फतफताउन थाल्थिन्।

कोसँग कराउँदै होलिन् ? मनमा खुल्दुली जाग्यो।

‘के भो आमै ? कोसँग कराउँदै हुनुहुन्छ ?’  

मेरो आवाज सुनेर वृद्धा बिस्तारै मतिर मोडिइन्।

‘यी क्या त, यिनारु नि।’ बाख्राको झुन्डतिर लाठीले इसारा गर्दै तिनले भनिन्, ‘साह्रै रुवाउँछन्। अर्काआ बारी बारी चार्छन्। भन्या’नि मान्नन्। अस्ति मात्र काइँलाले झटारो हानेर ऊ, त्यो सेतेको खुट्टा भाँच्दिएँ। ऐलेसम्म बिसेक भा’छैन।’  

लौ, यिनले त चारखुट्टेसँग पो बात मार्दै रैछन्, मान्छेसित बात मारेजस्तै गरी। एक मन अनौठो लाग्योे, अर्को मन रमाइलो पनि।

‘चार दिन जसोतसो बसेँ। सकिनँ। निस्केँ। बिर्दासमका कसैलाई केई भनिनँ। पैसो थिएन। ह्वाँदेखिन् सोध्दै खोज्दै, हिनेरै ह्याँसम्मन् आइपुगेँ,’ निकै बेरको निस्तब्धता पछि ‘बाख्री बज्यै’ बोलिन्, ‘घर पुग्दा रघु गइसकेको रैछ। मलाई झुक्काएर गयो, नफर्किने गरी। तर सोचेँ, त्यसको नि आफ्नै जिन्नगी छ। जियोस्।’

‘यी को हुन् त, आमै ?’ मैले जिस्किँदै सोधेँ।

‘यी मेरा बचेराहरू।’ उनी पनि जिस्किइन्, ‘आफ्ना त कोई छैनन्। यिनैलाई आफ्ना ठान्छु। आफ्ना त छाडेर जान्छन्। यिनारु तेसो गर्दैनन्। यी बरु जाती।’ कीराले खाएका बचेखुचेका दाँत देखाउँदै उनी हाँसिन्।

चाउरिएका गालाका मुजा अझ चाउरियो। आँखाका कुनोमा अरु मुजा थपिए। बूढीआमैको हँसाइमा भने पीडा मिसिएको थियो। हाँसो र पीडाको समिश्रणले एउटा विरोधाभासपूर्ण तस्बिर कोरियो।

‘काँ बस्नुहुन्छ नि आमै ?’ कुरा खोतल्ने मनसुवा भयो।

‘ऊ क्या त,’ तल्तिरको परालले छाएको जर्जर झुप्रो देखाउँदै भनिन्।

काँचो इँटाको गारोको छेउछेउको भागमा चिरा प्रस्टै देखिन्थे। बहत्तरको भुइँचालोको असर होला।  

‘अनि एक्लै बस्नुहुन्छ, आमै ?’

‘ज्या। के भन्छ ? यिनारु छैनन् र ? यी सप्पै सँगै त हुन्छन्।’ आफ्नो कुरो गरेको थाहा पाएर हो कि कुन्नि, एउटा बाख्रोले बूढीलाई एकतमासले हे¥यो।

‘यी त छँदैछन्। आफन्तहरू भन्न खोज्या नि आमै। छोरा, नाति, बुहारी !’

‘कोई छैनन् बा। एक्लै छु।’ खुइड्ढय सास फेर्दै भनिन्, ‘भए नि के। नभए नि के।’  

दुइटा बाख्रा बारी छिर्न लागेको देखेर स्याउलोको मुठो देखाउँदै कराइन्, ‘ए, आइजो। ला ला ला।’ अनि दुवैलाई अघि लगाएर केही नबोली तल्तिर झरिन्।

‘यिनी यस्तै हुन्।’ एउटा अधबैंसे पुरुष हाम्रा कुरा कुन बेलादेखि सुनिबसेका रहेछन्। मलाई हेर्दै उनले भने, ‘कहिले बोल्याबोल्यै गर्छिन्। कहिले वास्तै गर्दिनन्। यस्तै छिन्। यिनको नाम गोमा हो क्यार, तर सप्पैले यिनलाई ‘बाख्री बज्यै’ भनेर चिन्छन्। मैले जाने देखिन् यिनलाई बाख्राबाख्रीकै माझ देखेँ। आफ्ना सन्तान जस्तै ठान्छिन्। स्याहार्छिन्। सँगै बस्छिन्। जाँगरिली छिन्। यो उमेराँ नि सप्पै काम आफैँ एक्लै गर्छिन्।’  

‘तपाईं यतैको ?’

‘हजुर, म कुलप्रसाद, यिनका छिमेकमा बस्छु।’

‘अनि यी बूढीआमैका परिवार छैनन् त ?’

‘छन् भन्ने कि छैनन् भन्ने। यिनका एउटा भाइ छ, रघु। यिनीभन्दा निकै कान्छो। सन्तानका नाममा भएको आफ्नो एउटै छोरो बिदेसिएपछि यहाँका सम्पत्ति बेचबिखन गरेर ऊ पनि छोरासँगै विदेशतिर भासिए। धन्न दिदीका लागि तलको त्यही सानो झुप्रो र सँगैको चाराना जग्गासम्म छोड्याछन्। सागपात त्यतै उमार्छिन्। वडा धाएर आउने थोरै वृद्ध भत्ताले जसोतसो गुजारा चलाउँछिन्। हुन त जानुअघि भाइ चैँले यिनलाई वृद्धाश्रम हाल्न लग्या थिए रे। चार दिनपछि भागेर आइन्।’

‘त्यसका कुरो के गर्छस्, कुले। छडेर जानेका कुरा नगर, भो,’ बूढीआमैले हाम्रा कुरा सुनिछन्।  

‘ला। आमाले सुन्नुभएछ। कुरै चैँ काट्या छैनौँ है, आमै,’ मैले हाँस्दै भनेँ। कुलप्रसाद पनि ङिच्च हाँस्यो।

मेरो कुराको बेवास्ता गर्दै बूढी बोल्न थाली। ‘बिर्दासम् (वृद्धाश्रम) कि के जाति ठाममा राख्न लग्या’थे। नौलो ठाममा बस्न सकिनँ। आफ्नै ठाम प्यारो। म नभए’सि ई बचेराहरूको नि बिचल्ली हुन्छ नि। फर्केर आएँ। के पो बिराएँ ?’ एउटा कालो पाठो बुरुक्क उफ्रेर बूढीको खुट्टामा ढेपिन आयो।

‘यी क्या त ! इनै हुन् मेरा आफ्ना। इनैसँग बस्छु। भाग्याँ जे लेख्या छ त्यही। न घटी न बढी।’ बूढीआमै खेतको डिलमा थुचुक्क बसेर पाठो खेलाउन थालिन्।

एक छिन के पो सोचिन् कुन्नि, मधुरो स्वरमा फेरि फतफताउन थालिन्, ‘मन त लाग्छ नि, आफ्नाहरूसँगै भाको। कल्लाई मन नलाग्ला र ? बात मार्दिनी, मीठो–मसिनो पकाइदिनी, प्यास लाग्दा दुई घुट्को पानी पिलाइदिनी, गाह्रोसारोमा सघाइदिनी। कोई भइदिए हुन्थ्यो जस्तो त लाग्छ नि। तर के गर्नु ?’  

बूढीआमैका आँखा थकित देखिन्थे। चाउरिएका छाला कान्तिविहीन थिए। आफ्नै सुरमा उनी कुरा राख्दै गइन्।

‘तर त्यसको (भाइको) नि के दोष ! बखतै यस्तै छ। सपैलाई विदेशकै चटारो। भाको एउटै छोरो बिदेसिएपछि ऊ पनि के गरोस्, उसलाई पनि सन्तान चाहियो। 

गोमाको घरमा आज नयाँ सदस्य थपिएको छ। उनको भाइ रघुको आगमन। १६ वर्ष कान्छो भाइ। उनको बुवाको वर्षौंको इच्छा। मर्दा दागबत्ती दिने, पिण्ड खुवाउने, वंश अघि बढाउने चाहना। जुन आज पूरा भयो। यसका लागि बूढाले के मात्र गरेनन्। 

उसकी पनि बूढी के जाति रोग लागेर दश वर्षअघि बितिहाली। म बूढीमान्छेलाई स्यारेर बसे तेसलाई कल्ले स्यारोस् नि बुढेसकालाँ। म आफैँ डाँडामाथिको घाम छु। बच्चैदेखि ख्वाएँ, पिलाएँ, हुर्काएँ बाबै ! अब त सक्तिनँ। तिनका आफ्ना उतै छन्। अब उनैले स्यार्लान्। जाओस् उतै।’

बूढीआमा बोल्दै गइन्। आफ्ना विरह पोख्दै गइन्। कुरा सुन्दै जाँदा वरपरका सुक्खा परेका डाँडापाखामा हरियालीले पालुवा हाल्दै गयो। काटिएका रूख पलाउँदै गए। वरपरका बाक्ला बस्तीहरू बिलाउँदै गए। चाक्ला बाटाहरू साँघुरिँदै गोरेटा बने। दृश्यावली श्यामश्वेतमा परिणत हुँदै गयो। हेर्दाहेर्दै ‘बाख्री बज्यै’ कलकलाउँदी देखिन थालिन्। सँगै उभिएका कुलप्रसाद धमिलिँदै आखिर अलप भए। म आफैँ भने दर्शक बन्दै ५० वर्ष पछाडि धकेलिएँ।

दृश्य १
‘चारु, आइज न छिट्टो, है’ जाज (जहाज) आइपुग्यो क्या,’ सर्लक्क कपाल कोरेकी, बाटुलो अनुहारका ठुल्ठूला आँखामा हल्का गाजल लगाएकी, यस्तै १५–१६ की केटी आँगनबाट बुर्कुसी मार्दै बारीको मास्तिरको पाटोमा उक्लिइन्। अर्की केटी स्वाँ–स्वाँ गर्दै पछिपछि कुदिन्।

उत्तर दिशाको आकाशमा शाही नेपाली सेनाको हरियो हवाईजहाज सुलुलुलु बग्दै पश्चिमबाट पूर्व लाग्दै थियो। खोकनाको आकाश नजिकै पुग्नासाथ ६–७ वटा किर्ना जस्ता आकृति हवाईजहाजबाट फुत्तफुत्त निस्कियो।

‘हेर, हेर, गोमा। १, २, ३, ४, ५, ६...।’

केही छिनपछि ती किर्नाहरू पालैसित सेता डल्ला बने। अनि आकाशमा कावा खाँदैखाँदै मुनि कतै विलीन भए।  

‘कुन चैँ हर्के होला हगि ?’ बाटुलो आँखा गोलगोल नचाउँदै गोमाले सोधी। ‘मलाई त पुछाराँ निस्क्या चैँ हो कि जस्तो ला’छ।’

‘कत्ति न देख्या जस्तो। यति टाढाबाट। अनि तँलाई देखेर हात नि हल्लाका थे कि ?’ चारुले खिसी गरी। गोमाले मस्किँदै चारुको हातमा प्याट्ट हानी।  

‘तँलाई होला नि। हर्के भन्यो कि मख्ख पर्ने तैँ त होस् !’ चारुले हाँस्दै धारे हात लगाई।

हर्के यिनीहरूभन्दा चार–पाँच वर्ष जेठो भए पनि बच्चादेखिका गाउँले साथी। शाही सेनामा केहीअघि भर्ती भएका थिए।  

‘मैले प्यारासुटबाट हाम्फालेको हेर है’ भनेर गएका थिए, दशैँमा आएका बेला। गोमाको मन भने उहिल्यै हर्केतिर हाम्फालिसकेको थियो।

दृश्य धमिलियो। अर्को दृश्य प्रस्टियो।  

दृश्य २
गोमाको घरमा आज नयाँ सदस्य थपिएको छ। उनको भाइ रघुको आगमन। १६ वर्ष कान्छो भाइ। उनको बुवाको वर्षौंको इच्छा। मर्दा दागबत्ती दिने, पिण्ड खुवाउने, वंश अघि बढाउने चाहना। जुन आज पूरा भयो। यसका लागि बूढाले के मात्र गरेनन्। देवदेवीको भाकल, झारफुक, हरिवंश पुराण। गोमा पछिका तीनवटा गर्भ तुहिएसँगै उनकी आमाको स्वास्थ्य खस्किन थालेको थियो। भगवान्को कृपाले यसपटक भने सफल भयो।

गोमाको बुवाको सपना त सफल भयो तर यसको मूल्य गोमाकी आमाले आफ्नो प्राणको आहुति दिएर चुकाउनुप¥यो। कमजोर शरीरले सुत्केरो शुद्ध कटाउन सकिनन्। गोमा र रघुले आमा गुमाए।

भाइलाई गोमाले नै हेर्नुप¥यो। यता, एक वर्ष नबित्दै कान्छीआमाको गृह प्रवेश भयो। उमेरमा गोमाभन्दा दशै वर्षले जेठी। नाताले मात्र आमा। बानीले साह्रै चोथाले। धन–सम्पत्तिका लागि गरेको बिहेमा माया–प्रेमको कुनै स्थान हुन्न। तिनी आएसँगै अशान्तिले घरमा बास ग-यो।

दृश्य फेरि बदलियो।

दृश्य ३
लुकुण्डोल माथिको डाँडामा एक जोडी ढुकुर उड्दै–उड्दै आई रूखको हाँगामा बस्यो। त्यही हाँगोको ठीकमुनि अर्काे जोडी ढुकुर थियो। सिरसिरे हावाले केटीको सर्लक्क कोरेको कपालको एकछेउ फुत्कायो र अनुहारभरि फिँजायो। केटो चाहिँले फिँजिएको केश उनको कान पछाडि सिउरिदियो। केटी घोसेमुन्टो लागेर हाँगोको टुक्रोले केही कुरो भुइँमा कोर्दै मेट्दै थिइन्।

‘घरमा बिहेको कुरो चल्न थालेको दुई वर्ष भो। तिमीलाई थाहै छ। बहाना पनि कति बनाउनु,’ केटोले भन्यो। केटी केही बोलिन।  

‘यसपालि पोस्टिङ पछिम (पश्चिम) प¥या छ। जानुअघि बिहे गरेर जा भनेर घरमा ¥याख¥याख पा¥या छन्। के गरुम्, भन।’

‘तिम्लाई थाहै छ। भाइ त्यति स्यानो छ। बिचल्ली हुन्छ तेसको।’

‘हेर, गोमा। अहिले नै घर छाडेर मेरोमा आऊ भन्या पनि त छैन नि। बिहे गरौँ। त्यसपछि केही वर्ष माइतमै बस्नू।’

‘सौतेनी आमा कस्ती छे तिम्लाई था नभा हो र ? बे भएर माइत बस्न दिन्नन्। अहिले नै कुन बेला लखेटुँझैँ गर्छिन्। बाउलाई टेर्पुच्छर लाउँदिनन्। बोक्सी जस्ती छिन्। म नहुँदा भाइको के हालत गर्ला। भन न।’  

‘त्यसो भनेर बिहे नगरी बस्ने त ?’

‘भनेँ त। रघुलाई अलि ठूलो हुन्दिउँ। आफैँ आफ्नो ख्याल गर्न सकोस्।’  

हर्के केही बोलेन। बरु गोमाले नै कुरो टुंग्याई, ‘अब म जान्छु, भाइ भोकाको होला।’

निराश हर्के केही नबोली हिँड्यो। फर्केर पनि हेरेन। भावहीन आँखाले गोमा ऊ ओझेल नपरुन्जेल हेरिरही।  

त्यसको एक महिनामा हर्केको घरबाट बाजागाजासहित जन्त निस्क्यो र चारुको घरमा पस्यो। गोमा भने ढोकाले छेलिएर त्यो रमिता हेरिरही। पिठ्युँमा आफ्नो अबोध भाइलाई बोकेर आफ्नो जिन्दगी रमिता बनेको हेरिरही।  

दृश्य छिटोछिटो परिवर्तन हुन थाल्यो, सिनेमाको पर्दामा झैँ। म मौन द्रष्टा बनेर गोमाले रोइरोई बिताएका कैयन् रात हेरिरहेँ। आफ्ना भाइका लागि आफ्नो जीवन समर्पण गर्दै बिनाबिहे, बिनासन्तान नै पनि ‘आमा’को भूमिका निभाउँदै गरेको हेरिरहेँ। भाइको खुसीमा खुसी हुँदै रमाउँदै गरेको हेरिरहेँ। अनि फेरि हेर्दाहेर्दै उनको फक्रेको बैँस मुर्झाउँदै गएको चुपचाप हेरिरहेँ।

दृश्य धमिलिँदै गयो।

दृश्य ४
धमिलिएको दृश्य प्रस्टिँदासम्म २० वर्ष बितेछ। गोमाको भाइ रघु हुर्कियो।

यसबीच उनीहरूका बाले संसार छाडिसकेका थिए। त्यसको वर्षदिन पनि नहुँदै गोमाकी सौतेनी आमा अर्कैसित पोइला गइन्।  

त्यसपछि आमा भने पनि दिदी भने पनि गोमा थिइन् रघुका लागि। हर्केसँगको बिछोड र रघुप्रतिको जिम्मेवारीका कारण उनले आफ्नो घरजमको विचारलाई सधैँ लत्याइरहिन्। बरु रघुको खुसी नै आफ्नो जिन्दगीको उद्देश्य सम्झिइन्।  

बिहेका लागि लायक भइसक्दा आफ्ना भाइका लागि उनले एउटी आमाको कर्तव्य पनि पूरा गरिन्। एउटी सुन्दर बुहारी उनी आफैँले खोजिन्। रघुलाई बेहुलाको भेषमा आफैँले सजाइन्।  

रघुलाई त्यो भेषमा देख्दा भने गोमाको मन कटक्क खायो। २० वर्षअघिको त्यो बिहे, जुन बिहेले उनको सपना भताभुंग भएको थियो, आज तिनको सम्झनाले घाउ फेरि बल्झियो। रघुले नदेख्ने गरी पछ्यौरीले आँसु पुछिन्। सधैँझैं आज पनि आफ्नो पुरानो घाउ लुकाइन्।  

धुमधामसित बिहे भो। बुहारीले घर सम्हाल्न थालेपछि गोमालाई सजिलो भयो। सुखका दिन आएझैँ महसुस गरी।  

अर्को वर्ष रघु छोराको बाउ बन्यो। रघु अब रामेका बाउ कहलिए।

त्यही वर्ष देशमा परिवर्तन आयो, व्यवस्था परिवर्तन भयो। रामे सानै थियो, जब देशमा क्रान्तिको आगो दन्किन थाल्यो। विद्रोहका घटनाले जनता विग्रहमा पर्न थाले। गाउँघरमा बासथलो छोड्ने प्रवृत्तिको सुरुवात भयो, र सुरक्षित गन्तव्य खोज्दै राजधानी तथा सदरमुकाम छिर्ने प्रचलन बढ्यो। संंक्रमणकालीन स्थितिमा रोजगारीको अभाव सिर्जियो। बिदेसिने युवाको संख्या ह्वात्तै बढ्यो। गाउँघरहरू उजाडिन थाले।  

रहरहरूमा अल्झिने सहरको कथा भने भिन्न थियो। यहाँ बाध्यताले भन्दा रहरले बिदेसिने धेरै थिए। रामे पनि सहरिया साथीभाइको संगतले उनीहरूकै लहैलहैमा विदेशको सपना देख्दै हुर्केे। र, आखिर एकदिन बिदेसिएरै छाडे।

दृश्यान्त
म देख्दैछु, एउटा ठूलो मन्दिर नजिकैको थोत्रो न थोत्रो घर। त्यही घरको एउटा साँघुरो कोठामा गोमा र रघु वार्तालाप गर्दैछन्।

‘दिदी ! मन्दिर दर्शन गर्दागर्दै रात प¥यो। आज घर फर्कन भ्याइन्न। यतै बस्नुपर्छ। भोलि सखारै फर्कम्ला। हुन्न ?’

‘हुन त हुन्थ्यो। नौलो ठाम। निदाउने पो कसरी खै कुन्नि ? बरु यो कुन ठाम हो, बाबु ?’

‘धर्मशाला हो दिदी। तिमी ह्याँ सुत्नु, म अर्को कोठामा सुत्छु। भोलि झिसमिसेमा निस्किनुपर्छ। अहिले सुत है।’

रघु निस्केपछि धेरै बेरसम्म गोमा अनिदो बसिन्। नौलो ठाउँमा के निद्रा लाग्नु। कोल्टे फेर्दाफेर्दै रात कट्यो। झ्यालको कापबाट उजेलो छि¥यो। बाहिर मन्दिरतिर घन्ट बजेको सुनिन थाल्यो। मान्छेका कल्याङमल्याङ सुनियो।  

बिहान त भयो। बिहानीसँगै रघु भने फर्केन। धेरै बेर कुरिन्। कोठा बाहिर निस्केर खोजिन्। आफूजस्तै वृद्धवृद्धाको भीडमा खोजिन्। सोधखोज गरिन्। तर भेटिएनन्। उनी आत्तिइन्। रोइन्। कसैले आएर उनलाई सम्झायो। यही अब उसको घर रे। किन यो मेरो घर ? मेरो आफ्नै घर छ नि। लैजाओ मलाई। म घर जान्छु। उनी चिच्याइन्। अत्तालिइन्। तर सबैजना उनलाई भावशून्य मुद्रामा हेरिरहेँ, मानौँ यो उनीहरूका लागि दैनन्दिन देखिरहने रमिता हो। ऊ भने रोइरही, अत्तालिँदै रोइरही।

दृश्यको वरिपरि बाक्लो कुहिरोले छोप्न थाल्यो। जब छ्याङ्ङ भयो, देखेँ मेरो छेवैमा ‘बाख्री बज्यै’ सुँक्क सुँक्क रुँदै थिइन्।  

०००

‘चार दिन जसोतसो बसेँ। सकिनँ। निस्केँ। बिर्दासमका कसैलाई केई भनिनँ। पैसो थिएन। ह्वाँदेखिन् सोध्दै खोज्दै, हिनेरै ह्याँसम्मन् आइपुगेँ,’ निकै बेरको निस्तब्धता पछि ‘बाख्री बज्यै’ बोलिन्, ‘घर पुग्दा रघु गइसकेको रैछ। मलाई झुक्काएर गयो, नफर्किने गरी। तर सोचेँ, त्यसको नि आफ्नै जिन्नगी छ। जियोस्। जस्तै भए नि तेस्का भलो होस्। जाँ गए नि सुखी होस्। आखिर हो त ऊ मेरो भाइ !’

म निःशब्द बसेँ। भन्ने शब्द केही पाइनँ। चुपचाप सुनिरहेँ।

‘यस्तै हो बा। गुनासो छैन। भाग्याँ जे छ त्यही। न घटी न बढी,’ खिस्स हाँस्दै खेतको डिलबाट बूढी उठ्न खोजी। कुलप्रसादले सघायो।  

सुस्त सुस्त पाइला चालेर जाँदै गरेकी ‘बाख्री बज्यै’लाई हेर्दै गर्दा मलाई त्यो फूलको याद आयो, जुन फूलले अरुको फूलदानीमा सजिन, अरुको जीवन सुवासित गर्न आफ्नो जीवन उत्सर्ग गर्छ। अनि जब तिनको काम सकिन्छ, बिना हिच्किचाहट मिल्काइन्छ। तर रछ्यानमा मिल्काइँदा पनि त्यो फूलले गुनासो गर्दैन। बरु फेरि त्यतै कतै रछ्यान माथिको भित्ते पाखोमा जेनतेन पलाउँछ। अरु फूलको झुन्डबाट एक्लिएको त्यो फूल हावाको झोक्कासँगै बत्तिँदै मुस्कुराइरहन्छ।

दिन ढल्कँदो थियो। बेलैमा छम्पी पुग्न म हतार–हतार उकालो चढ्न थालेँ। फर्केर हेर्दा स्याउलोको मुठो देखाउँदै ‘बाख्री बज्यै’ कराउँदै थिइन्, ‘यी, आइज। ला ला ला।’  

सानो कालो पाठो बुरुक्क उफ्रेर उनको खुट्टोमा ढेपिन पुग्यो।
००० 

प्रकाशित: १० आश्विन २०७७ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App