८ वैशाख २०८१ शनिबार
कला

मुनामदनभन्दा प्रेमिल आमाबुबा

अनुभूति

क्याप्सन  बाबा र आमाका साथमा सुमन थापा ‘संगम’

 

 

...

 

सेती नदी भित्रभित्रै गहिरिँदै बगेझैँ आँखाले देखेका र जीवनले भोगेका धेरै अनुभुतिहरू मनभित्र व्याख्या गर्न नसकिने गरी रुमलिन्छन्। प्रकृतिको प्रेमिल चित्रण गर्दागर्दै म हराउँछु प्रेमको भावनामा र अनुकम्पित हुन्छु।

प्रेमको वर्णन कसरी गरूँ ? सबैले वर्णन गर्ने मुनामदनको प्रेम, रोमियो जुलियटकोे प्रेम, हिर–राझाको प्रेम यी सबैभन्दा प्रगाढ प्रेम मैले आफ्नै आमाबाबाको प्रेम देखेकी छु।  

प्रेमको सहारामा रित्तो हात जन्मथलो छाडेर हिँड्नुभएको थियो आमाबाबा।  

पहाडकी छोरी पहाडजस्तै हिम्मत र भीरमा फुलेकी गुराँसजस्ती हुनुहुन्थ्यो मेरी आमा। विसं २०१५ मा राजा वीरेन्द्र घोडामा बसेर पोखरा सवारी हुँदा राजा हेर्न भनी हिँडेका बाबा त्यही सिलसिलामा पोखरा पढ्न निस्कनुभएछ! बाबा गाउँकै हिरो, २०२२ सालमा एसएलसी पास गर्ने गाउँकै पहिलो व्यक्ति हुनुहुन्थ्यो।  

पहाडको उचाइ, पहाडदेखि हाम्फालिरहेका झरना र खोल्सा, भीर छेक्न उभिए जस्ता लामबद्ध रूखहरू, घाँटु र सोरेठी नाच्दै हिँड्ने साथीसंगी, सुसेली सुसेल्दै  हिँड्ने पातहरू र सँधै पर्खिबस्ने बाटाहरू सबैसबै छोडी गाउँबाट लाहुर लाग्नुभएछ बाबा। गाउँमा हिरो भएर हिँडेको छोराले सैनिकको त्यो नियमभित्रको भोकप्यास र कुटाइ सहन नसकी र आफूले सोचेजस्तो नभएपछि गाउँ फर्कनुभएछ।  

तिनताका रित्तै घर फर्कनु सजिलो थिएन। उहाँ स्याङ्जाको वालिङ बजारमा फोटो स्टुडियो संचालन गरी बस्नुभएछ। लक्का जवान बाबाको वालिङमा गुराँस फूलजस्ती मेरी आमासंग प्रेम भएछ। २०२९ सालमा विवाह बन्धनमा बाँधिएर वालिङ छोडी सम्पतिका नाममा एउटा क्यामेरा, ५ सय रुपैयाँ र हृदयभरि प्रेम बोकी नेपालगन्ज झर्नुभएछ।  

आमा सिपैया हुनुहुन्थ्यो । सीपकी धनी उहाँ निटिङ मेसिनबाट स्विटर बुन्ने गर्नुहुन्थ्यो। बाबाआमाको निश्छल प्रेमबाट फक्रिएकी फूल मेरो जन्म नेपालगन्ज भएछ। म जन्मँदा आर्थिक अवस्था कमजोर थियो। छिमेकीसामु सुत्केरी आमा दिनभर आराम गर्ने र रातभर स्विटर बुन्ने गर्नुहुन्थ्यो र! प्रेमको बलमा निस्केको दम्पतीको जीविकोपार्जन भनेको बाबाको क्यामेरा र आमाको स्विटर बुन्ने सीप मात्र थियो।  

जीवन यात्रामा प्रेमले संघर्ष गर्ने शक्ति प्रदान गर्दो रहेछ। नेपालगन्जमा दुःखजिलो गर्दागर्दै बर्दियामा पुनर्वासको जग्गा वितरण गर्दैछ भन्ने थाहा पाएपछि बर्दिया जानु भएछ। पुनर्वासले प्रतिपरिवार ३ बिघा जग्गा दिएको रहेछ। भारतको सिमानामा त्यो पनि पूरै जंगल नै जंगल फँडानी गरेर बस्नुपर्ने जग्गा। त्यो जग्गा लिएर स्याल चितुवासँग जुध्दै खेतीयोग्य बनाएर प्रेमको सुन्दर संसार बसाल्नुभएछ।  

म सम्झन्छु, बिहानी लाली चोरेर भुइँभरि ओछ्याइवरी मलाई बस्न अह्राउनुहुन्थ्यो र आफू काँडा र बुट्यान छिचोल्दै पँधेरी पुग्नुहुन्थ्यो आमा। घरदेखि करीब ७ सय मिटर टाढा थियो पँधेरी। म पनि उहाँको पछिपछि लागेर पँधेरी नै पुग्थें।

म त नेपालगन्जमै जन्मिएकी थिएँ, पछि ३ भाइबहिनी बर्दियामा जन्मिए र कान्छा भाइ नेपालगन्ज जन्मियो। कान्छा भाइ नजन्मँदै बाबाआमा व्यवसाय गरेर छोराछोरी शहरमा राख्ने सोचले नेपालगन्ज फर्कनुभयो। नेपालगंन्जमा फेरि शून्यबाट स्थापित हुनुपर्ने भएकाले मलाई र भाइलाई बर्दियामा गाउँले फुपूको सहरामा छोडेर दुइटी बहिनी लिएर नेपालगन्ज आउनुभयो। त्यतिबेला म ९ वर्षकी थिएँ होला, भाइ मभन्दा दुई वर्ष स्यानो थियो।  

हामी दुई दिदीभाइ स्कुल गएर फर्कन्थ्यौ तर घरभित्र जान डर मान्थ्यौ साँझ पर्दासम्म फुपूको बाटो हेर्दै बाटेसंगै कल्पनाका राजारानी र सुन्दर महल बनाउँदै पर्खिरहन्थ्यौं। फुपू आफ्नो घरधन्दा सकेर आएपछि साँझको दियोसंगै घरभित्र पस्थ्यौं।  

म अलिक बिद्रोही स्वभावकी थिएँ। घरभित्र जान डर लाग्थ्यो तर कसैले कुनै अपशब्द बोल्यो भने तुरुन्तै जाइलाग्थें। यसैक्रममा स्कुलमा एकजना भाईले धेरै गाली ग¥यो। त्यसलाई भाइ र मैले यसरी कुट्यौं कि ऊ रगतले लतपत भयो।  

हामी उसलाई छाडेर भाग्दै खोला किनारमा बाबियोको झाडीभित्र घाम अस्ताउन्जेल लुकेर बस्यौं।  

एकान्त बगरमा रमाउन पनि प्रेम चाहिन्छ। अजम्बरी जस्तो बनेका वेदनाहरू  प्रेमको न्यानोले क्षणभरमै पग्लन्छ। अस्ताउँदो घामले पनि उत्सव मनाउँछ प्रेममा र ऊ अलप भएको हुन्छ फेरि फर्कने बाचाका साथ केही क्षणलाई। प्रेमयात्रामा जिन्दगीप्रतिको मोह सम्पूर्ण स्वतन्त्रता यथार्थ हुन्। प्रेम अदृश्यको भावलोकमा हराउनु र फेरि बिउँझिएर हेर्दा बाहुपासमा सोही प्रेम प्राप्ति हुनु यो त भाग्यमानीहरूले मात्र प्राप्त गछन् होला। यहाँनेर मेरा बाबाआमाको प्रेमलाई भाग्यमानी मान्छु।  

कहिल्यै बाबाआमा चर्को गरी बोलेको सुनिनँ तर प्रेमले मात्र पनि सबै नपुग्दो रहेछ बाबाले स्टुडियो र आमाले स्विटर बुन्ने मेसिन चलाउने कामलाई सुचारु गर्नु भयो। रातदिन मेसिन चलाउँदाचलाउँदै आमालाई बाथ रोगले ग्रस्त बनायो। आमा हिँड्न सक्नु हुन्नथ्यो। बोकेर शौचालय पु¥याउनुपथ्र्यो। हामी ठूलो भएपछि दिनभर रातभर नसुती पालो गरेर स्विटर बुन्थ्यौं।  

आमा मायाकी खानी हुनुहुन्थ्यो, कुनै दुःखी देख्नु भो भने ल्याएर खाना खुवाउनु र उसको गन्तव्यसम्म पुग्ने बस भाडा व्यवस्था गरिदिनु उहाँको धर्म थियो। गाउँका मान्छेहरू बजार गर्न आउँदा बस्ने खाने थलो हाम्रै घर हुन्थ्यो। मेरो बिहे भैसकेपछि पनि उसरी नै मान्छे आउँदा आमाबाबा नभएको बेला भाइ बहिनीहरू लुकेर बसिदिन्थे र गाउँलेहरू लाचार भएर फर्कन्थे।  

समय बित्दै थियो। आमा धेरै अशक्त हुनु भएको थियो। उपचारका निम्ति बाबाले दिल्ली अस्पतालसम्म पनि पु¥याउनुभयो। दुखाइ कम गर्नेबाहेक अरू औषधि हुन सकेन। यसै क्रममा आमालाई एपन्डिक्स भयो। बाथका कारण आमाले दुखाइ कम हुने औषधि लिइरहनु भएको थियो एपेन्डिक्सको दुखाइ त्यति थाहा पाउनु भएन पछि फुटिसकेपछिको असह्य पीडाले आमा कोठामा छटपटाइरहनु भएको रहेछ। मैले देखें, म एक्लै थिएँ आफैंले पछाडि बोकेर अस्पतालका लागि निकालें र नेपालगन्ज मेडिकल कलेज लगें बाबालाई पछि पसलबाट बोलाए। हामी आमाको उपचारमा लाग्यौं।

आमाको उपचार नेपालगन्ज मेडिकल कलेजमा भैरहेको थियो। सानो शहर, सानो मानिने एपेन्डिक्स पनि पत्ता लगाउन सकेन दुई दिनसम्म स्लाइन र पेनकिलर मात्र दिएर राख्यो। अन्तिम अवस्थामा हामी आफैंले जिद्दी गरेर अस्पतालबाट रिफर गरायौं। बहिनी करुणाले प्लेनको आकस्मिक टिकट बनाइन र काठमाडौको टिचिङ  अस्पताल त पु¥यायौं तर आमालाई घर फर्काउन सकेनौं। विसं २०६० साउन ११ गते आमाको देहावसन भयो।  

मुनामदन जस्तो जोडीको विछोड भयो। घर फर्केर गयौं। काजकिरिया सकियो सबै फर्किए बाबा एक्लो हुनु भयो।  

बाबालाई पनि २०६६ सालमा युरिन इन्फेक्सनका कारण ओम अस्पतालले इन्जेक्सन दिएको थियो। त्यो इन्जेक्सन सुट नभई जहरमा परिणत हुन पुग्यो। त्यो बेला म काठमाडौ आइसकेकी थिएँ, बाबा मसंगै हुनुहुन्थ्यो। बाबा रातिको १ बजे सुतिरहेको मान्छे ठूलो आवाज गरेर चिच्याउनुभयो र बेहोस हुनुभयो। आमालाई जसरी बोकेर निकालेको थिएँ त्यसैगरी बाबालाई पनि बोकेर निकालें टिचिङ अस्पताल पु¥याएँ। त्यहाँबाट वीपी मेमोरियल अस्पताल लग्यौं। बाबालाई भेन्टिलेटरमा राख्नु प¥यो।  

मैले आमालाई पनि त्यसै गरी निकालेर अस्पताल पु¥याएको थिएँ तर फर्काउन सकिँन, कतै बाबालाई पनि फर्काउन सक्दिन कि भनेर म खान न पिउनु गरि निकै रोएँ तर भाग्यमानी रहेछु।  

डाक्टरहरूको अथक प्रयासले बाबालाई फर्काउनसकें । त्यसबेला खटिनुहुने डाक्टरलाई आदर सम्मानका साथ प्रेम गर्छु, गरिरहनेछु।

प्रेमले हृदयका कुनाहरू फुटाएर बास बसेको हुन्छ र त विछोड हुँदा असह्य पीडा दिएर जान्छ। बाबालाई पनि त्यही भएको थियो जता पनि आमाकै स्पर्श थिए। घरका प्रत्येक ईटाहरूमा आमाकै पसीना र प्रतिबिम्ब थियो त्यसैले बाबालाई जहिल्यै रुवाउँथ्यो त्यो घर र सम्झनाहरूले।  

शौचालय आमालाई सजिलो हुने गरी बनाइएको थियो। शौचालय गयो त्यहीँ रुने, बाटो हिँड्दा रुने । देख्दा सम्झाउँथ्यौ नदेख्दा कति रुनुहुन्थ्यो होला बाबा!  

बाबा आमाको नाममा सामाजिक काम गरिरहनुहुन्छ। नेपालगन्जमा सडक बत्ती, यता आफ्नो जन्मथलो पहाडमा पानीका धाराहरू लगाउनुभएको छ। अझै बाबालाई लिएर कतै घुम्न जाँदा आमालाई सम्झिएर ‘काली मेरा औंला नछोडी हिँड है। मेरा आँखाबाट यो नयाँ शहर सुन्दर ठाउँ हेर है’ भन्दै हिँड्नुहुन्छ।  

साँझबिहान ‘मेरी काली तिमी जहाँ छ्यौ सुखसंग बस’ भन्दै आमाकै आराधना गरेको देखेकी छु। बाबाको प्रेम जुनीजुनी अमर रहिरहनेछ।

खोलाले पनि सुसाउँदै आमासामु बाबाको खबर पु¥याउँछ होला। बतासले पनि बाबालाई छोएर बाबाको स्पर्श आमासामु दिन्छ होला। बादलले आफ्ना ती बादलका कपासहरू काटेर धागो बनाई आमालाई स्विटर बुनिदिन्छ होला। बाबाको प्रेमले आमाको स्वर्ग बाबाकै मुटुमा छ भन्ने लाग्छ। निभेर पनि प्रगाढ बलिरहने प्रेमको दियो हुनुहुन्छ मेरो बाबाआमा ।

यो गीत सुन्दा बाबा आमाको प्रेम झलझली सम्झनामा आउँछ ।

सयौ जुनी पाउन, सकिन्छ सकिन्न।

एकै जुनी बाँचूँ,, मीठो माया साँचौ ।

तिमीलाई मेरो माया अर्पण गरें

तिमीलाई जीवन सपर्पण गरें।  

प्रकाशित: ६ आश्विन २०७७ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App