१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नयाँ प्रकाशन (...मैले एउटा कोरोना महाकाव्य तयार गरें । छिट्टै भेट्न आउँछु ।’)

लघुकथा

डा. पुष्करराज भट्ट

 

धेरै दिनपछि प्रकाशनगृहको ढोका खुल्यो । श्यामदेवले आफूसहित सारा कर्मचारी लगाएर सरसफाइ गरे । एकछिन साहुको कुर्चीमा बसे । उनको दिमागमा के आएछ कुन्नि, सामाजिक सञ्जालमा खुलेको पसलको फोटोसहित एउटा स्टाटस राखे, ‘आज धेरै दिनको विश्रामपछि आफ्नै कार्यकक्षमा ।’

उनले स्टाटस के राखेका थिए, काठमाडौं वरपरका साहित्यकारले प्रतिक्रिया दिन थाले ।

‘कोरोनाकालको उपयोग गरेर मैले एउटा कोरोना महाकाव्य तयार गरें । छिट्टै भेटन आउँछु ।’

‘मैले कोरानाकालका घटना समेटेर एक उपन्यास लेखेको छु । अब प्रकाशन तपाईकै जिम्मा ।’

‘चार महिना लगाएर एक कथाकृति लेखेको छु, लघुकथाको पनि तयार हुँदैछ । कोरोनाकालमा मानिसमा पीडालाई राम्ररी समेटेको छु । अब प्रकाशनको जिम्मा यहाँलाई नै दिनुपर्ला ।’

यसरी विभिन्न लेखकले विभिन्न किसिमले आफूले कोरोनाकालमा घर बसेर गरेका कार्यको वर्णन गरे । श्यामदेवले सबैलाई धन्यवाद दिए र छिट्टै भेट गर्ने आश्वासन दिए ।

‘हामीलाई लामो समय सास फेर्न नदिएर थुनेर राख्ने काम गर्नुभयो । अब हामी छरिन चाहन्छौं । हामी तपाईको कैदबाट मुक्ति चाहन्छौं’ चारैतिर रहेका पुस्तकले आफ्नो पीडा पोखे ।

‘अहिलेसम्म जति थुनिनुभयो, भयो । अब तपाईहरूको व्यवस्थापन पहिले गर्छु । नयाँ प्रकाशनको कामको प्रक्रिया चलिरहन्छ । यो ठाउँमा आउन त अझै समय त लाग्छ नै । आफ्नो हातमा मात्र आउनुपर्छ, कसलाई कसरी घुमाउने, मैले पनि जानेको छु ।’ यति भन्दै उनी पुनः सामाजिक सञ्जालमै व्यस्त हुनथाले । एकैछिनमा उनको अर्को स्टाटस देखियो ।

‘छिटोछरितो प्रकाशन र वितरणका लागि हामीलाई सम्झिनुस् न । यहाँहरूको सेवामा सदैव तत्पर छौं ।’ प्रो श्यामदेव, आशामुखी प्रकाशन । 

प्रकाशित: ४ आश्विन २०७७ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App