१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

वसन्त श्रेष्ठका मुक्तकहरू

मुक्तक

मुक्तककार वसन्त श्रेष्ठ ।

माया

कोही भन्छन् उनको माया अग्लिएको पहाड जस्तो

कोही भन्छन् उनको माया  बगरको बालुवा जस्तो

तर मलाई त लाग्छ  मेरो माया सधैं सधैं  

आफ्नै गमलामा भर्खर टुसाएको पालुवा जस्तो।  

जिन्दगी

जीत मात्र मिठो लाग्ने यो जिन्दगीमा

हार पनि संगै हिँड्दो रहेछ यो जिन्दगीमा

हार संधै नमिठो लाग्ने यो चोलामा  

हार स्विकार्नु पनि जित हुँदो रहेछ यो जिन्दगीमा।  

माया

जन्मपछि नै जिन्दगीले सुन्न चाहँदोरहेछ मीठो गीत  

वयस्कमा जीवनले खोजी हिँड्दो रहेछ मायालु प्रीत

माया नै मायाको यस मायावी संसारमा

जीवनको हर मोडमा भिन्न हुँदोरहेछ मायाको रित।  

शहर

व्यस्त भएर समय दौडिरह्यो सधैंसधैं  

मानिस मेसिन बनेर हिँडिरह्यो सधैंसधैं  

आफन्तको भींडमा पनि एक्लैएक्लै

अपरिचितझैं बाँचिरह्यो संधैसंधै।  

गाउँ

उज्यालो झर्छ डाँडाघरेको धुरीबाट

साँझ पर्छ माइलीको घाँसको भारीबाट

अपरिचित गाउँमा पनि विनानाताका

आफन्त भेटिन्छन् प्रत्येक घरघरबाट।  

अमेरिका

प्रत्येकको गन्तव्यको चाहनाको एउटा देश

समस्या पूर्ति भैहाल्छ नि भन्ने भ्रमको देश

यथार्थमा अस्तित्व रक्षाका लागि लड्दालड्दै

माकुराको जालोभित्र बन्दी बनिसकेको देश।  

गर्दै नगर

भो अब अडबांगे कुरो हामीसँग गर्दै नगर

यात्रा अन्तै मोड्ने कतै कुनै कल्पनै नगर

अब त सबैलाई चेतना भएकै होला

जनतालाई जिस्काउने अब चेष्टा गर्दै नगर।  

नअल्मल्याउ अब  

सोचे धेरैले रुखले छहारी पक्कै दिन्छ भनेर

ठाने कसैले घाम बादलभित्र मात्र लुक्दैन भनेर

तर १२ वर्षमा पनि कुकुरको पुच्छर बांगाको बांगै भनेझैं  

नअल्मल्याऊ अब कसैलाई सत्ता बाँडफाँड अनिवार्य भनेर।  

रंगीन पातप्रति  

शारदीय मौसममा रंगीचंगी बनेर म झुलेको छु

उन्मत्त बैंसले भरिपूर्ण यौवन पोखिन म आतुर छु

कोही न भए पनि ए हुरी या बतास त आइदेऊ

लुटपुटिएर तिमीसँग मेरो बैंस साट्न आतुर छु।  

दौडेको देख्छु जताततै

कोही हिँड्न छोडेर दौडिएझैं लाग्छ जताततै  

कोही हिँड्न नसकेर घस्रिएझैं लाग्छ यताउतै

हिडें अवश्य पुगिन्छ दौडिए लडिन्छ थाहा नभएर होला

अचेल नाम र पदको मोहमा सबै दौडेको देख्छु जताततै।  

प्रकाशित: २३ भाद्र २०७७ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App