२७ श्रावण २०७९ शुक्रबार
कला

सन्दीप खत्रीका १० गजल

गजल

गजलकार सन्दीप खत्री ।

फरक के छ यहाँ बाध्यता र रहरको  

पीडा उस्तै उस्तै त हो मूल र नहरको ।

 

पुराना संस्कृति विर्सिएर देखासिकी गरेपछि

संस्कार उस्तै त छ गाउँ र शहरको ।

 

मुखमा राम राम, बगलीमा छुरा भएपछि

आखिर के फरक भयो अमृत र जहरको ।

 

कोही सुखी छैन यहाँ धनी होस् या गरीब

समस्या एकै त छन् महल र टहरको ।

 

फूलले काँडालाई घोचिदिने चेतावनी दिएछ

काँडाकै संरक्षणमै हुर्किएर फुलेको विर्सिएछ ।

 

बाबुलाई घर छाड्न धम्क्याईरहने छोराले  

प्यासमा बाबुकै जुठो गिलाँसमा पानी पिएछ ।

 

जुनदिन घारका माहुरीहरू आपसमा लड्न थाले

रानो माहुरी शान्ति खोज्न घरबाट निस्किएछ ।

 

म मौन बसेको अवस्थामा नजिक आएर कोही

बिष्फोट हुनैपर्ने गरि पटक पटक जिस्किएछ ।

 

मन भतभति पोलेको छ र पनि के गरूँ

समयले सवथोक खोलेको छ र पनि के गरूँ ।

 

बाढी नै आउने गरी अविरल वर्षा भईरहेको छ

पीडाले भित्री मन बोथोलेको छ र पनि के गरूँ ।

 

हिजो सँगै भएका घर परिवार र साथीसँगको

दैवले पनि सम्बन्ध छोमोलेको छ र पनि के गरूँ ।

 

समयको चक्रले कहाँ कहाँ पु¥याउँदो रहेछ

पीडाले सबथोक झिँजोलेको छ र पनि के गरूँ ।

 

मनका पीडा, दुखहरू भुलाउँछ मेरो म्याग्दी

प्रकृतिका अनुपम उपहार देखाउँछ मेरो म्याग्दी ।

 

निलगिरी, धौलागिरि, गुर्जा हिमाल राम्रा

विरामीलाई तातोपानीले निको बनाउँछ मेरो म्याग्दी ।

 

के लानुहुन्छ कोसेली अनि म्याग्दी जिल्लाको चिनो

सिस्नो, टिम्मुर, धजरा, ग्रुन्द्रक पठाउँछ मेरो म्याग्दी ।

 

स्वर्गलाई एक पटक धर्तिमै हेर्न चाहनुहुन्छ भने

घोडेपानी, रुप्से, टोड्के, रुइसे, मालिका घुमाउँछ मेरो म्याग्दी ।

 

प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक कुराहरू  

गलेश्वर, थालिनाच, रावणको जन्मकथा सुनाउँछ मेरो म्याग्दी ।

 

५.

तिमी पारी म वारी बीचमा कालीगंगा थियो

दुई किनार भए पनि मन त्यसै चंगा थियो ।

 

कल्पनामै सयौ पटक स्पर्श नगरेको होइन

तिमी आयौ नजिक वस्यौ मन झनै दंग थियो ।

 

सादा यो जीन्दगीको खालि पानाहरूलाई  

मेरा लागि तिम्रो माया जीवन भर्ने रंग थियो ।  

 

नचाहेरै कति कुरा मनभित्र गुम्सिरहेका बेला

मेरो कुरा तिमीले बोल्यौ मन झनै फुरुङ थियो ।

 

६.

तिमीले मैले गरेका ती वात भुल्न हुन्नथ्यो

संगै विताएका सुनौला रात भुल्न हुन्नथ्यो ।

 

मैले हारेर नै जितेकी हौ तिमीले  

दुःख पर्दा दिएको साथ भुल्न हुन्नथ्यो ।

 

खै किन हो अचेल स्वार्थी बन्दै गएकी छौं

हार मान्दा दिएको आँट भुल्न हुन्नथ्यो ।

 

मेरो साथ छाडे पनि सारा बाचा तोडे पनि

सँगसँगै भिजेको त्यो वर्षात भुल्न हुन्नथ्यो ।

 

७.  

तिमी मेरो साथमा हुँदा रातै मजाको

मध्यरातमा गरेका ती बातै मजाको ।

 

एक अर्काको परिपूरक बन्नुपर्छ भन्दै

दुख पर्दा तिमीले दिएको साथै मजाको ।

 

तिम्रो रुपको बयान म गर्न सक्छु कहाँ ?

विष छुँदा पनि अमृत बन्ने हातै मजाको ।

 

तिमी अनि मेरो वीचमा समाजले लगाएको

बन्धन तोडि नाता गाँस्यौ आँटै मजाको ।

 

८.

भित्र भित्रै गुम्सीएका चाहनाको भारी रैछ

हेर्छु जताजतै अभाव अनि हाहाकारी रैछ ।  

 

सत्य कुरा नबुझेरै बोल्नेहरूको विगविगी छ

हेर्दा साधु लागे पनि बगलीमा आरी रैछ ।  

 

आफूले आफैंलाई महान ठान्ने पनि छन

महान भन्ने त्यो डेडु यतै वरिपरि रैछ ।  

 

आफू राम्रो बन्नलाई दोष लगाउँनै पर्छ र ?

मान्छे भन्दा यो समाजमा कुकुर बफादारी रैछ ।

 

कसैले यहाँ चेली बेच्ने दामका लागि हो

कसैले आफैंलाईँ बेचेको मामका लागि हो ।

 

फाइदाका लागि ठालूको पाउ मोल्नेको भीडमा

हर्के पाउ परेको कामका लागि लागी हो ।

 

खान नपाई अभावले ग्रसीत भईरहेका बेलामा

नदिने दान, चन्दा बोल्ने नामका लागि हो ।

 

बोलिदिने कोही छैनन् अन्यायमा पर्दा सज्जन

ठूलाबडा बोल्ने सधैं हरामका लागि हो ।

 

१०

कसैले सोध्दा तिम्रोबारे म के जवाफ दिउँ  

खोज्छु धेरै बहाना तर पाउँदिन केही निहुँ ।  

 

सुन्छु तिम्रो अस्तित्व लिलामीमा छरे  

त्यही पीरले लाग्छ सराव नै पिउँ ।

 

तिम्रो स्वाभिमान लुटिँदै गर्दा मुकदर्शक बनेपछि

घृणा लाग्छ यस्तो जीवन पनि खै के जिउँ ।  

 

सम्हालिन्छु अनि फेरि तिम्रैबारे सोच्ने गर्छु

नेपाल आमा तिम्रो फाटेको मन म कसरी सिउँ ।

प्रकाशित: १२ भाद्र २०७७ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App